तिम्रा ति निर्दोष दुई गाजलु नयनमा
मोती दाना आँसुहरु टलपल हुँदैथिए,
तिमीले हातहरु उठायौ, मुटु दबायौ
भिषण प्रयास गर्यौ अनि आँखा भित्रै लुकायौ !
मन थियो सायद ति मोतीहरुलाई भुइभरि पोखिन !
नाईं तिमीले त्यसो हुन दिइनौ !
त्यसो हुनुपनि हुँदैन !
मैले बुझे तिमीमा अथाह शक्ति छ !
तिमीलाई लाखौंको आशिष छ !
मृत्युलाई जित्न सक्ने हिम्मत छ !
तिमीले अब यस्तो शक्ति र सोच राख
त्यो जाबो रोग त के मृत्यु पनि तिमीसंग डराउने छ !
साँच्चै तिमी महान छौ !
तिम्रा कर्म र ब्यवहार महान छन् !
आज हृदयले तिमीलाई सलुट ! गर्यो ।
अन्तर आत्मका सातै पत्रले तिम्रो दिर्घायुको कामना गर्यो ।
तिमीले भन्दै गयौं – मान्छेले जीवनमा मलामी कमाउनु पर्छ !
समयले आज यो पनि सिकायो-पैसा नि कमाउनु पर्ने रहेछ !
हो तिमीलाई समयले चोट दियो र जान्यौ !
तिमीलाई त्यो घाउले दर्द दियो र जान्यौ !
तर मैले त तिम्रा ति निर्दोष नयनलाई नियालेर जानें !
मैले त तिम्रा ति घायल आवाजहरुलाई महसुस गरेर बुझें !
कति दुख्छ होला !!
कसरी सहन्छ्यौ ? त्यो मर्म ?
अनि त यि आँखाहरु रोए !
मन हजार टुक्राटुक्रा भयो !
कालो चस्मा भित्र लुकाउन खोजे मेरा आँखाहरुलाई
तर आँखाको के लाग्थ्यो भावुक त मन थियो !
रोकिएनन् आँसुहरु अनि चुपचाप पुछिरहें !
उनलाई छिट्टै सन्चो गरिदेऊ भगवान भनेर सोचिरहें…….!
(क्यान्सर रोग बिरुद्धको उपचार गराईरहेकी महिला बिकास निरिक्षक बिन्दु कुवँरलाई समर्पित कविता – सम्पादक)
- दिला शाह, नेपालगन्ज