नमस्कार शाह
नागरिकहरू मिलेर निश्चित उद्देश्य प्राप्तिका लागि स्थापित सङ्गठनलाई नागरिक समाज भनिन्छ । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई सामाजिक रूपान्तरणको माध्यमको रूपमा स्विकारेका छन् । नागरिक समाजले नागरिक हक र कर्तव्यका बारेमा वकालत गर्दछ । देशमा सुशासन कायम गर्न सहयोग गर्नु नागरिक समाजको महत्वपुर्ण कार्य हो । आम चासोका विषयहरूमा जनतालाई जागरूक गराई सरकारको काममा सहयोग गरि दिगो शान्ति, समृद्धि र सुशासन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हो ।
नागरिक समाज भ्रष्टाचार, बिकृति, बिसंगतिका विरुद्धमा खरो भएर उत्रने गर्दछ । नागरिकहरु सार्वभौम हुन्छन्, उनीहरुको हक, अधिकार कहिँ, कतैबाट कुण्ठित हुनु हुँदैन भन्ने कुरालाई जहिले पनि नागरिक समाजले उठाउने गर्दछ । जनताद्धारा जनताका लागि गरिने शासन प्रणालीलाई प्रजातन्त्र, लोकतन्त्र भनिन्छ, प्रजातन्त्रमा जनता सार्वभौम हुन्छन् । स्वतन्त्रता, मानब अधिकारको रक्षा, सुशासनको बाहाली, सुरक्षा, शान्ति, कानुनको शासन प्रजातन्त्रका बलिया आधारस्तम्भ हुन् । जुन प्रणालीमा शासन सञ्चालन गर्नका लागि जनताले आफ्ना प्रतिनिधि चुनेर पठाउँछन् । ति प्रतिनिधिहरुले नागरिकका पक्षमा काम गरे कि गरेनन् भनेर निरन्तर रखवारी गर्ने एक मात्र स्थायि संरचना नागरिक समाज हो ।
प्रत्यक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलका नेता, कार्यकर्ता, सरकारी कर्मचारीहरु, सुरक्षाकर्मी, उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएका स्वतन्त्र बृद्धिजिवी, समाजसेवी, सामाजिक कार्यकर्ता, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको लोकतन्त्रप्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिक प्रत्यक्ष संलग्नता नभएका सचेत व्यक्तिहरुको निष्ठावान समूह हो ।
नागरिक समाज आफैमा सचेत र सरकारलाई खवरदारी गर्ने स्वतन्त्र अस्तित्व भएको व्यक्तिहरुको समूह हो । यो स्थायि प्रतिपक्ष हो । जसले सरकारका सकारात्मक र राम्रा कार्यहरु सफल पार्न सहयोग गर्दछ । सरकारलाई जवाफदेही बनाउन दबाबमूलक कार्य गर्ने, समाजको आवाजविहिन, पिछडिएका वर्ग, समूदायको आवाज बुलन्द गर्दै सरकारलाई सहि बाटोमा हिँड्न उत्प्रेरित गर्ने, जनचेतनामूलक कार्यहरु गर्ने, सरकारलाई जहिले पनि कानून बनाउन, भएका कानून कार्यान्वयन नभएको अवस्था रहे कानून कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने कार्य नागरिक समाजले गर्दछ ।
नागरिक समाजको परिभाषा ४ सय वर्षअघि भएको पाईन्छ । समाजशास्त्री सिसिरोले समाजमा असमान क्षमता भएका तर स्वतन्त्र र समान रूपमा सहभागी हुनसक्ने नागरिकको समूहलाई नागरिक समाज हुन् भनेको पाइन्छ । नागरिक समाज नागरिकका मौलिक अधिकारको रक्षा, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धताका लागि लड्छन् । लोकतान्त्र्रिक मूल्य र मान्यता अवलम्बन गरेका राष्ट्रहरुमा नागरिक समाजको भूमिका अपरिहार्य हुन्छ । नागरिकका आवाज उठाउन र समाजिक सवाल उठान गर्नका निमित्त नागरिक समाजको परिकल्पना गरिएको हो । नागरिक समाज सँगठित स्वतन्त्र शक्ति हो, जसमा गैर सरकारी, गैर राजनितीक व्यक्तिहरु सँलग्न रहन्छन् । जसले नागरिकका निम्ति सामाजिक आन्दोलनहरु, अभियानहरु सञ्चालन गर्दछ । यो स्वयंसेबि सँस्था हो । जसले साझा बिषयमा सधैं स्थानीय श्रोत, साधनको उपयोग गरेर काम गर्दछ । नागरिक सवालका बिषयमा सरकारलाई दवाब दिने, सरकारी कमि, कमजोरीहरु बिरुद्ध आवाज उठाउने, सरकारी निती तथा कार्यक्रमहरुको अनुगमन गर्ने, रचनात्मक सुझाबहरु दिने काम गर्दछ । यो सँगठित तथा असँगठित रुपमा रहन सक्दछ । यो अनुशासित शक्ति हो, जसले जनता प्रति सरकारलाई जवाफदेही बनाउने कोशिस गर्दछ । ठूला, ठूला सामाजिक अभियान तथा परिवर्तनमा नागरिक समाजले अहम् भूमिका खेल्ने गर्दछ ।
नेपालकै ईतिहाँसलाई हेर्ने हो भनेपनि नागरिक समाजले ठूल–ठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् । चाहे २०४६ को पहिलो जनआन्दोलन होस्, चाहे २०६२÷२०६३ को दोश्रो जनआन्दोलन होस् या अन्य आन्दोलन, ति सबै आन्दोलनमा नागरिक समाजले अग्रणी र नेतृत्वदायी भूमिका निर्बाह गरेको थियो । त्यति मात्र नभई नागरिकको चेतना स्तर अभिबृद्धि गर्न, सामाजिक परिवर्तन गर्नका लागि नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लोकतन्त्रलाई सहि मार्गमा हिँडाउन, सामाजिक सन्तुलन कायम गराउने मार्ग तर्फ अग्रसर हुने जिम्मेवारी नागरिक समाजको हो ।
नेपालको परिवर्तनका खातिर गरिएका सबै आन्दोलनहरुमा नागरिक समाजले निर्बाह गरेको भूमिका, नेपालको शान्ति प्रक्रियामा द्वन्द्वरत पक्ष र सत्तापक्षलाई एकैथलोमा ल्याई शान्ति स्थापनामा नागरिक समाजले खेलेको भूमिका कसैले भुल्न सक्दैन ।
तर पछिल्लो समय नयाँ संबिधान जारी सँगै देश संघियतामा अघि बढिरहेकोछ । तीन वटा सरकारले अभ्यास हामीले गरिरहेका छौं । यो परिवर्तित अवस्थामा नागरिक समाजले विगतमा खेलेका र विधमानमा खेल्न सक्ने भूमिकालाई समिक्षा गर्नुपर्ने बेला आएको छ । नागरिक समाज कतै सेलाएको हो कि, कमजोर भएको हो की भन्ने प्रश्नहरु छरफस्ट रुपमा सुन्न पाईन्छ । प्रष्ट रुपमा भन्नु पर्दा परिवर्तित अवस्थामा नागरिक समाज कमजोर भएकै हो, यसको कारण नागरिक समाजनैं बिभिन्न दलहरु बिभक्त हुनु, बिभाजित हुनु, संगठित हुन नसक्नु लगाएत छन् ।
अर्काे तर्फ नागरिक समाजलाई अन्तराष्ट्रिय गैससहरुले समेत बिगारिदिएका छन् । हरेक कार्यहरुको गैससकरण, परियोजनाकरण गरिदिने मनोबृत्तिले पनि नागरिक समाज परनिर्भर भईरहेको छ । उसो त सबै नागरिक समाज एउटै छातामुनि अट्दैनन् । यो सत्य कुरा हो तर साझा कुरामा एक त हुनै पर्दछ । यस्तो अवस्थामा नागरिक समाजका मूल्य एवं भूमिकालाई अझ प्रभावकारी बनाउँदै विचलित राजनीतिक व्यवस्था एवं चिन्तित समाजलाई ट्रयाकमा ल्याउन नागरिकका पक्षमा निष्पक्ष भूमिका खेल्न नागरिक समाज पुनः जागृत हुनु आवश्यक छ ।
यस सन्दर्भमा चर्चित समाजशास्त्रि डाक्टर सौभाग्य शाहद्धारा लिखित Civil Society in places ; Soft state and regime change in Nepal नामक पुस्तकमा उनले नेपालको नागरिक समाजको आलोचना गरेका छन् । उनले नेपालका राजनितीक दल र नागरिक समाजको भुमिकामा खासै फरक नरहेको टिप्पणि गरेका छन् भने नागरिक समाजलाई एनजिओकरण गरिएको यथार्थ तथ्य प्रस्तुत गरेका छन् । देशमा कानुनको शासन सुनिश्चित गर्न, नागरिक हक, अधिकार संरक्षित गर्नुको सट्टा राजनितीक दलहरुको जस्तो काम गर्ने, शक्ति र सत्ताको ख्याल गर्ने, कुनै एउटा पार्टीको पक्षपोषण गर्ने जस्ता प्रबृति नेपालको नागरिक समाजमा देखिएको उनको भनाई छ । उनले भने जस्तै नेपालमा नागरिक समाजका बारेको बुझाईमा धेरैलाई भ्रम छ ।
नागरिक समाजको खोल ओढेर पार्टीको पक्षपोषण गर्नु हुँदैन । स्वतन्त्रता र निष्पक्षता नागरिक समाज का गहना हुन्, चरित्र हुन् । यहि चरित्रबाट नागरिक समाजको मर्यादा बढेको हो तर नागरिक समाजको खोल ओढेका अवसरवादी तथा गैर नागरिक समाजका सदस्यहरुका कारण यसको मर्यादा घट्दै गईरहेको छ । एउटा दलको नेता, कार्यकर्ता पनि नागरिक समाज, फौजदारी अभियोग लाग्ने गरि अपराधिक काम गर्ने व्यक्ति पनि नागरिक समाज, सरकारी जागिरे, रात दिन पैंशा कमाउन तल्लिन व्यक्ति पनि नागरिक समाज, स्वतन्त्र ढँगले कुनै दलको सदस्यता नलिएको, सरकारी जागिर नखाएको व्यक्ति पनि नागरिक समाज भएपछि कसलाई नागरिक समाज भनेर चिन्ने ? सर्बसाधारण अन्यौलमा छन् ।
यिनै कारणले नागरिक आन्दोलन नै डगमगाएको छ । केही नागरिक अगुवा राजीतिक रंग देखाउदै सत्ता नजिक पुगिदिँदा सिंगो नागरिक आन्दोलनलाई कमजोर बनाइदिएको छ । निर्लज्ज अगुवाकै कारण नागरिक आन्दोलन बदनाम मात्रै भएको छैन विभाजित र विवादित बन्न पुगेको छ ।
पहिले नागरिक अधिकारका लागि भन्दै नागरिक समाजको आन्दोलनमा देखिएका अगुवा कुनैपार्टी बिशेषका एजेन्डा बोकेर सडकमा निस्किनेदेखि कसैको स्वार्थ सिद्धीका लागि समेत प्रयोग भैदिदा नागरिक समाजले बिश्वास गुमाई रहेको छ । अमुख पार्टीका झण्डा बोक्दै मरिमेटी लागेका ब्यक्तिहरु आफूलाई नागरिक अगुवा भन्न रुचाउँछन् । कतिपय नागरिक आन्दोलनको भरमा नागरिक आन्दोलनका अगुवा पार्टीको कोटामा संसदमा पुगेका छन् ।
अवसर नपाउँदा सम्म नागरिक समाज, अवसर पायो भने राजनीतिक नेताहुने प्रबृत्तिले पनि नागरिक समाज प्रतिको जनबिश्वास घटेको छ । विषय वस्तु नै नबुझी, त्यसको गहिराई सम्मको अध्ययन नगरी, त्यसले दुरगामी रुपमा पार्न सक्ने असरको सामान्य आकलन सम्म नगरी प्रतिक्रिया दिने, सतही विश्लेषण गर्ने केही अगुवाहरुका कारण पनि नागरिक समाज बिबादित बन्ने गरेको छ ।
नागरिक आन्दोलन नागरिक समाजका व्यक्तिलाई राजनीतिक उचाईमा पुग्ने माध्यम कदापी होइन नत कुनै राजनीतिक दलको कोटामा परि विभिन्न आयोगमा मनोनित हुने र जागिर खाने माध्यम नै हो यो कुरा सबैले बुझ्न जरुरी छ ।
पछिल्लो समय क्षेत्रिय, जातियताका नाममा नागरिक समाज स्थापना गरेको पाईन्छ । यसले द्वन्द्व सृर्जना गर्ने काम बाहेक केही पनि गर्दैन । अर्काे तर्फ नागरिक समाजका धेरै चर्चित अगुवाहरुको सक्रियता कम छ, दुई तिहाईको सरकारले गरेका गलत कामका बिरुद्ध नागरिक समाज बोलेको पाईदैन, आवश्यक परेको समयमा आन्दोलन उठ्न नसक्नु, आवाज उठ्न नसक्नु पक्कै पनि राम्रो पक्ष होईन, अर्काे तर्फ सरकारले पनि नागरिक समाजलाई नजर अन्दाज गरेको पाईन्छ ।
जनताले पठाएका प्रतिनिधिहरुबाटै सरकार बनेता पनि उनीहरु अधिकारमा पुग्दा जनता प्रति जवाफदेही नहुन सक्ने खतरा बढि हुन्छ, त्यस्तो अवस्थामा जनताले सरकारका बिरुद्ध स्वतन्त्र ढँगले आवाज उठाउन सक्दछन्, बिरोध जनाउन सक्दछन् । यस्तो बेला नागरिक समाजले सरकार र जनता बिच पुलको काम गर्नु पर्दछ, सहजिकरणको भुमिका निर्बाह गर्नु पर्दछ । यस तर्फ नागरिक समाजको सक्रियता अपेक्षित हुन्छ ।