- दिला शाह –
प्यारा नानीहरू हृदयभरिको प्यार छ । आराम छु आराम चाहन्छु ।
नानीहरू हो मैले तिमीहरूलाई सानै देखेकोले नानी शब्दद्वारा सम्बोधन गरेकी हुँ । किनकि स्कुल पढ्ने भाइबहिनीहरु कलिला हुन्छन् । सुकुमार हुन्छन् । सरल हुन्छन् । सोझा हुन्छन् । इमान्दार हुन्छन् । ज्ञानी हुन्छन् । विवेकी हुन्छन् । अनि नानी शब्दमा धेरै प्यार पनि हुन्छ त्यसैले नानी भनेकी हुँ । अन्यथा नठान ल !
नानीहरू दिनको संकेत बिहानीले गर्छ भन्ने उक्ति सुनेकै हौला तिमीहरूले । हो तिमीहरू भनेको आजका बिहानी हौ, कलिलो जून घाम हौ सिंगो देशको संवाहक हौ र भोलिको सिङ्गै देश हौं । देशले ठूलो अपेक्षा गरेको छ राष्ट्रको भरोसा भनेकै तिमीहरू हौ भनेर । त्यसैले पनि भोलिको लागि आज पृष्ठभूमि तयार पार्नुपर्छ । उज्यालो दिन भित्र्याउनको लागि अनवरत कसरत गर्नुपर्नेछ र भोलिका चुनौतीका बिरुद्धमा उत्रनको लागि आफुलाई तयार पार्नुपर्ने छ । यसकारण आज जति सजिलो छ भोलि यो अवस्था रहने छैन । जीवन छोटो भए पनि यात्रा लामो हुनसक्छ तसर्थ मैले भोलिका तिमीहरूका लागि पत्र लेखेकी छु । मलाई आशा एवं बिश्वास छ मेरो पत्रले तिम्रो भोलिको जीवनमा समय सापेक्षताको अद्भुत सहयोग गर्ने छ र राष्ट्रले पीडा भोग गर्ने छैन ।
नानीहरू हो मान्छे जन्मदै कोही महान बन्दैन । सबै असल मान्छेहरू अध्ययनशील र लगनशील भएर सफल भएका हुन् । तिमीहरूलाई थाहै छ सेक्सपियर गरिव परिवारमा जन्मेर पनि बिश्वबिख्यात महान नाटककार बन्न सफल भए । मुर्ख भएर पनि कालिदास विद्वान बने । दिनदुःखीहरुको परोपकारले नै फ्लोरेन्स नाइटिङ्गेललाई Lady with the lamp बनायो । त्याग र धैर्यताले महात्मा गान्धीलाई सबैको नमुना बनायो । निरन्तर अनुसन्धानले म्याडम क्युरीलाई बिश्वले सम्मान गरिरह्यो । अथक प्रयास र अनुसन्धानले विल्भर राइट र ओर्भिल राइटलाई बिश्व आकासमा उडाइरह्यो । तिमीहरूलाई लाग्छ बिश्वका अन्य मुलुकका मान्छेहरुले मात्र चमत्कारी पुर्ण कार्य गर्नसक्छन्, त्यसो त कदापि होइन त्यस्तो कदापि नसोच, महान ब्यक्तिहरु जन्माउन नेपाली धर्ती पनि कम उर्वर छैन ।
साहस र त्याग नभएको भए चौध बर्षका कलिला बालक तेम्वाछिरी शेर्पा सगरमाथा चुम्न सक्दैनथे होलान् । ठूलो छाती र आँट नभएको भए अमरसिंह थापा इतिहासमा अमर बन्ने थिएनन् होला । गहन अध्ययन र चिन्तन नभएको भए पारिजात देश बिदेशमा सुवासित बन्दिन थिन् होला । दह्रो विश्वास र हिम्मत नभएको भए नारी भएर पनि पासाङ ल्हामु शेर्पा सगरमाथामा झन्डा गाड्न सफल हुन्नथिन् होला । कमलो भावना र गरीब परिवारमा नजन्मेका भए लक्ष्मीप्रसाद देवकोटा महाकवि बन्दैनथे होला । बुद्धि र चिन्तन नभएको भए बालकृष्ण सम नेपालका नाट्य सम्राट हुदैनथे होला ।
अन्याय र अत्याचारको प्रतिकार नगरी बसेका भए गंगालालहरु सहिद भएर सबैको मनमुटुमा बस्न सक्दैनथे होला । चाहना र साधन नगरेका भए नारायण गोपाल प्रत्येक नेपालीको झुपडीमा गुन्जदैनथे होला । जनताको लागि लडाइँ नलडी दरबारको सुख सयलमा बसेका भए मदन भण्डारी जननेता बन्दैनथे होला । दुःख र संङ्घर्षबाट लडिबुडि खेलेर माथि नउठेको भए झमक घिमिरे आज एउटा कुनामै कुल्चिएकी हुन्थिन् होला । यौन चाहनालाई नत्यागेका भए बालागुरु षडानन्दको इतिहास पढ्नुपर्दैनथ्यो होला । गौतम बुद्धले दरबारको सुख सयल नत्यागेका भए आज बिश्वले बुद्धत्व प्राप्त गर्न सक्ने थिएन आदि, आदि ….. !
भाइबहिनी हो मलाई दुःख यस मानेमा लागेको छ कि, हिजोको बिधार्थी जीवन र बर्तमानको बिद्यार्थी जीवनमा आकास पातालको फरक देखिएको छ । हिजोको बिद्यार्थी जीवनमा देखिएको अभावले परिश्रम गर्न सिकाएको थियो, गरीबीले अध्ययनशील बन्न सिकाएको थियो ।समस्याले चुनौतीसँग जुध्न सिकाएको थियो । संकटले नव श्रृजनाको लहर ल्याएको थियो र गुणात्मक जनशक्तिको उत्पादन भएको थियो । यसो भनेर बर्तमान सन्दर्भमा असल जनशक्ति उत्पादन नभएको भन्ने मेरो आशय होइन । सवाल के हो ? संख्यात्मक रूपमा हिजो जति गुणात्मक जनशक्ति देखिएको थियो त्यसको तुलनात्मक रुपले वर्तमानमा गौण देखिएको छ । विडम्बना के छ भने उम्रदै तीन पात भने झै आजकाल ससाना स्कुले नानीहरू रस, रंगमा बढी उद्यत भएका छन् । हरेक पोष्टकार्डमा प्रेम अंकुराएका छन् ।
आँखामा गाजल र ओठको लालीले उमेर नपुग्दै प्रेम रसमा डुब्न इशारा गरिरहेको छ । कपाल र नङ्को श्रृङ्गार अनि मगमगाउने अत्तरको बासनाले यौनईच्छालाई बढावा दिएको छ । खुकुलोमा खुकुलो र कसिलोमा कसिलो पोषाकले चेतनामा ह्रासपना ल्याएको छ । किताबका पानाभरि छरिएका अक्षरहरुमा फिल्मी नायक नायिकाहरु छचल्किएका छन् । फेसबुक, टुइटर, म्यासेन्जर र इन्स्टाग्रामका पानाभरि झुट र टाइम पासका कहानीहरु छरिएका छन् । हिडार्इं, घुमाइ, खानपान, बोलाईमा बाहिर देशको हावा चलेको छ, कतै नभएको बिकासे श्वरुप प्रर्दशन गरिएको छ ।
प्रकृतिपनालाई कृत्रिमताको लेपनले हर क्षेत्रमा बिकृती र बिसंगतीलाई प्रशय दिईरहेको छ । सादा जीवन उच्च बिचार भन्ने आदर्श वाक्यलाई उपेक्षा गरिएको छ । चेतना श्रृङ्गार गर्नुको बदला शरीर श्रृङ्गारको महत्त्व दिनुले के पाठ सिकाएको छ भने स्यालले कुखुरा लग्यो भन्दा पनि स्याल पल्क्यो भन्ने चिन्ताले सताएको छ । प्रेम त ढुक्कुरले पनि गर्छ । कुकुरले पनि गर्छ तर त्यसका पनि निश्चित आधारहरु हुन्छन्, निश्चित समय हुन्छ । भन्न खोजेको के हो भने जसले समयको सही सदुपयोग गर्छ त्यही सफल ब्यक्ति बन्छ । यद्यपी प्राकृतिक कृयाकलापलाई ईन्कार गरेर प्रेम गर्न हुन्न चाहिँ भनेको होइन, आफ्नो उच्चशिक्षा अध्ययनलाई पुर्ण नगरी बिचैमा रसरंगमा ध्यान दिदा जीवन अपुर्ण मात्र होइन ब्यर्थ रहने ब्यहोरा जानकारी गराउन मात्र खोजेकी हुँ ।
नानीहरू हो यो देश तिम्रो हो, भोलिको भविष्य तिम्रो हो । त्यसैले केही पाउनको लागि केही गुमाउनु पर्छ नै । महान उद्देश्यमा आत्म त्याग्न गर्ने प्राणी भनेको मान्छे नै हो । हुन त देशमा ब्याप्त बिबिध असंगत पक्षहरूले तिमीहरूको मनोबल गिरेको होला । यहाँ केही हुँदैन भनेर नकारात्मक बिचारले प्रश्रय पाएको होला तर हरेक मान्छे आशावादी बन्नुपर्छ । हामीलाई थाहा छ दन्केको आगोमा दाउरा थपेर आगो निभ्दैन । उडुस पर्यो भनेर घर जलाउनु मुर्खता सिवाय केही होइन । त्यसैले बिद्यमान समयका थुप्रै असंगत पक्षहरुको बिरुद्धमा तिमीहरू एकजुट भएर लाग्दा राम्रो हुनसक्छ ।
समाजलाई सभ्य स्वच्छ ढंगले गतिशील बनाउ बिधार्थी समुहको अहम् भुमिका रहन्छ । बिद्यार्थीको शक्ति अजय हुन्छ । बिद्यार्थीको न्यायोचित मागको सवालमा विश्वासका ठूला—ठूला राष्ट्रहरुपनि झुकेको इतिहास साक्षी छ । बिद्यार्थीमा पहाड फोर्ने शक्ति हुन्छ । आकास थर्काउने शक्ति हुन्छ । धर्ती गुन्जाउने शक्ति हुन्छ । हिमाल झुकाउने शक्ति हुन्छ । त्यो शक्तिलाई उचित निर्देशनद्वारा उचित स्थानमा सदुपयोग गर्ने क्षमताको पनि आवश्यक्ता हुन्छ । नेल्सन मन्डेला २८ बर्ष जेलमा बसेर पनि जनताकै लागि लडिरहे । अब्राहम लिंकन पनि अमेरिकी सामन्तहरुको बिरुद्धमा लडाइँ लडेर नै राष्ट्रपति बन्न सफल भएका हुन् । त्यसैले राष्ट्र र राष्ट्रियता भन्दा ठूलो कुरा केही हुँदैन भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्नसक्यौं भने निश्यपनि तिमीहरू देशका असल नागरिक बन्ने छौ र नेपाल आमाका असल सन्ततिको रुपमा गर्वका साथ बाँच्न सक्नेछौ ।बिद्यार्थीहरुमा मुलतः अनुशासनको ज्यादै महत्त्व रहन्छ ।
जीवनको गहनता भनेकै अनुशासन हो । अनुशासनले नै सफलताको शिखरमा पुर्याउँछ । अनुशासनले ज्ञान सिकाउँछ ज्ञानले विवेक बढाउँछ विवेकले क्षमता बृद्दि गर्छ र समाजमा प्रतिष्ठित बनाउँछ । आजकालका केही स्कुले ठिटा ठिटीहरु आफुलाई स्वघोषित बढप्पन देखाउन रुचाउँछन् । आफ्नो हैसियत भुलेर समाजलाई चटक्कै बिर्सन्छन् । नसालु पदार्थको सेवनले कुलतमा फसेका छन् । अनावश्यक फेसनले समाजमा बिकृती भित्र्याएका छन् । जसले आफ्नो स्तरलाई दिनानुदिन गिराएका छन् । यो धर्तीमा रहेर आकासको जूनतारा टिप्न खोजेझै गर्छन् । यस्ता भुलहरु जानेर होस् या नजानेर यदि तिमीहरूले पनि गलत गरेको महशुस गरेका छौ भने अँझै केही बिग्रेको छैन आफुलाई सच्याउने प्रयास गर पक्कै पनि असल जनशक्ति बनेर गन्तव्यमा पुग्न सक्नेछौ ।
बिधार्थी भनेका समुन्द्र हुन् जसले थुप्रै फोहरहरुलाई बगाएर समाज स्वच्छ पार्न सकोस् । नम्र बन्नुपर्छ जसले रिसका धनीहरु पनि रिस बिहिन बन्न सकुन् । निश्वार्थ बन्नुपर्छ जसले समाजको भलाईको लागि उदाहरण बन्न सकुन् । त्यसै लेखनाथ पौडेलले भनेका होइनन् —उपकारी गुणी ब्यक्ति निहुरन्छ निरन्तर, फलेका बृक्षको हाँगा नझुकेको कहाँ छ र ?
अन्त्यमा यो देश तिम्रै हो, भबिष्य तिम्रै हो । आफ्नो चिजलाई कस्तो बनाउँनुपर्छ गहन चिन्तन गर्नेछौ । किताबका सुनौला अक्षरले तिम्रो भविष्यका बारेमा के बोलेका छन् ? कलमले के—के श्रृजना गर्ने हो ? बहुत ख्याल गर्ने छौ भन्ने म आशामा छु । म जस्तै हजारौं लाखौं आमाहरु आफ्ना सन्ताहरुलाई सबल सक्षम र सफल देख्न चाहन्छन् । आशा छ तिमीहरूको सही निर्णय र सफल जीवनको आशा गरिरहेका कोही आमाले पनि निराश हुनु पर्ने छैन र रुनु पर्ने छैन । आफ्ना सन्तान प्रति गर्वले हाँसेर बाँच्ने छन् । हामीलाई थाहा छ —फुलको बास्ना डाँडावारी मान्छेको बास्ना डाँडापारी । त्यसैले तिमीहरू यो देशका अमर सिपाही बन्ने छौ । आमाको आशामा तुषारापात हुन दिने छैनौ भन्ने आशाका साथ कलम रोकेंं ल ……..!