– लुना बुढाथोकी –
कोरोना भाइरस COVID – 19 को महामारीले विश्व आक्रान्त भईरहेका बेला विश्वका धेरै देशहरु लकडाउनको विषम् परिस्थिति झेल्न बाध्य छन् । यो विषम् परिस्थितिबाट नेपाल पनि अछुतो रहन सकेको छैन । लकडाउनको अवधिमा घर बसिरहँदा अभिभावक र बालबालिका संगको सामिप्यताले बालबालिकामा भने पक्कै केही प्रभाब परिरहेकै होला । डा. मारिया मण्टेश्वरीद्वारा प्रतिपादित शिक्षण बिधि “मण्टेश्वरी बिधि” को व्यापकतासंगै अहिले विश्वका धेरै देशहरुमा मण्टेश्वरी बिद्यालयहरु स्थापना भएका छन् । हाम्रो परिवेशमा सामान्यतया २ बर्ष उमेर समुहका बालबालिकाहरु मण्टेश्वरी बिद्यालयमा जाने गर्दछन् । अहिलेका अभिभावकको व्यस्तताका कारण मण्टेश्वरी विद्यालय कामकाजी अभिभावकका लागि एकदमै सजिलो भएको छ । बिहान हतार–हतार काममा निस्कदा आफ्नो बालबालिकाहरुलाई मण्टेश्वरी विद्यालयको पूर्ण भरमा छोडेर गएका अभिभावकको बेलुका मात्रै भेट हुने गर्छ । धेरै समय विद्यालयमा बिताउने भएकाले कतिपय बालबालिकाले त बुबासंगको सामिप्यता पाएका हुँदैनन् । सानै उमेरदेखि विद्यालय जान शुरु गर्ने र विद्यालय पछिको समय पनि अभिभावकका लागि त्यति प्रयाप्त नहुने हुँदा कतिपय बच्चामा उमेर अनुसार बिकास भएकोे देखिदैंन ।
अहिलेको समय लकडाउन अवधि अभिभावक र बालबालिकाहरुका लागि एकदमै प्रभावकारी बनाउन सकिन्छ । अभिभावकहरुले अहिलेको समयलाई जति सक्यो बालबालिकाहरुको रुचि र उनीहरुको सहयोगमा बिताउने हो भने हामीले सकारात्मक नतिजा पाउन सक्छौं । नानी बाबुहरुलाई आमा र बुबाको उत्तिकै साथको खाँचो हुन्छ । बुबाको साथबाट बच्चामा आत्मबलको विकास हुन्छ भने आमाको साथबाट उसमा सृजनशिलताको विकास हुन्छ । अहिले कतिपयहरु लकडाउनको मारले बन्द भइरहँदा कतिको मनमा बच्चाको पढाई बिग्रियो, बानी बिग्रियो, पछि बच्चालाई एक्कासी पढ्न गाह्रो हुन्छ भन्ने लागेको होला तर हामीले यो समयमा यदि उनीहरुको भावना, ईच्छा र चाहना अनुरुप क्रियाकलाप गर्न सक्यौं र सिकायौं भने विद्यालयको कमी महशुस हुँदैन ।
यदि हामीले गम्भिरताका साथ सोच्यौं भने अरु बेला काममा जाने अभिभावकका लागि आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझ्ने उत्तम समय पनि हो । वास्तवमा भन्ने हो भने सबैभन्दा गाह्रो काम हाम्रा नानी बाबुहरुलाई दिन बिताउन भएको छ । अभिभावकहरुलाई त लकडाउनको समय बिताउनलाई थुप्रै काम छन् जस्तै : अध्ययन, सामाजिक सञ्जाल, नयाँ–नयाँ खाने परिकार बनाउने आदि । तर ती नानीबाबुहरुको भावना कसले बुझ्ने ? अहिले हामी घरमा खाली छौं तर बच्चाको लागि समय छैन । अझ भन्ने हो भने आमा–बुबा दुबै मोबाईलमा व्यस्त अनि बच्चाले के गर्ने ? उसले राखेका समान चलाउन थाल्छ, चकचक गरिरहन्छ । यसका निम्ति बालबालिकालाई घरमै व्यस्त हुने वातावरण बनाउनु पर्दछ ।
डा. मारिया मण्टेश्वरीले ज्ञानको प्रबेशद्वार मानिने पाँच (५) ज्ञानिन्द्रीयहरुलाई सक्रिय बनाई जसको माध्यमबाट नाँकले सुँघेर, आँखाले हेरेर, कानले सुनेर, जिब्रोले स्वाद लिएर र छालाले छामेर बच्चालाई हर कुराको ज्ञान दिन सक्छौं । सिकाउनका लागि हाम्रो घर भित्र नै थुप्रै सामाग्री हुन्छन् तिनीहरुको प्रयोगबाट सिकाउन सकिन्छ । अहिलेको परिवेशमा सबैभन्दा बढि प्रोत्साहन पढाई र लेखाईमा मात्रै दिने गरेका
हुन्छन् । किताब र कपि खोलेन भने अभिभावकको नजरमा बच्चा बेकामको ठहरिन्छ । हामी यो बुझ्दैनौ कि शिक्षाको उद्धेश्य भनेको बालकको सर्बाङ्गिण बिकास हुनु हो । त्यसैले उनीहरुलाई व्यस्त राख्न उनीहरुको उमेर अनुुसार काम दिनुपर्छ । यदि यो बिदामा उनीहरुलाई आफ्नो जिम्मेवारी कामहरु जस्तै कपडा लगाउने, जुत्ताको लेस बाँध्ने, कागजहरुबाट बिभिन्न बस्तुहरु बनाउन लगाउने, जिक्स पजलबाट बस्तुहरु जोड्न लगाउनु पर्दछ ।
यो उमेर भनेको बाल मष्तिस्कले एकदमै छिटो टिप्ने उमेर पनि हो । दुइ (२) बर्ष देखि छ (६) बर्ष सम्मका बालबालिका मध्य नब्बे (९०) प्रतिशतको मष्तिस्क तिब्र गतिमा चलेको हुन्छ । त्यसैले हामीले यो उमेरमा उनीहरुलाई जस्तो कुरा दिन्छौ, उनीहरुले पनि त्यही व्यवहार देखाउँछन् । यति मात्रै नभएर बच्चालाई बिहान बेलुकाको समय तालिका बनाएर ध्यान, योग अभ्यास पनि गराँउदा उत्तम हुन्छ । तर योग अभ्यासका नाममा बच्चालाई हामीले दबाब भने दिनुहुदैन । कुनै पनि करकाप बिना उसलाई स्वतन्त्र रुपमा सिक्ने बातावरण बनाउनु पर्छ । बच्चालाई कस्तो बनाउने भन्नेमा अभिभावकको पहिलो हात हुन्छ ।
आज पनि हामीले जानी या नजानी बच्चाहरु माथि बिभिन्न व्यवहारहरु देखाइरहेका हुन्छौं । हामी यो बुझ्दैनौं कि प्रत्येक बच्चा खास (बिशेष) हुन्छन । उनीहरु भित्रको अन्तरनिहित क्षमतालाई पहिचान गर्नु, प्रस्फुटित गराउनुको साटो उनीहरुको कमजोरीलाई लिएर अन्य बच्चासंग तुलना गरिरहेका हुन्छौं । जबकि यो कार्य अभिभावकले झुक्किएर पनि गर्नुहुँदैन । त्यस्तै हामीले हिजोका दिनमा समय दिन नसक्दा नानी बाबुलाई बाहिरको जंक फुड खुवायौं, उनीहरुले घरको खानाको स्वाद पनि बिर्सिए मोबाईल दिएर छोड्यौ, आज यो उनीहरुको बानी भयो । अभिभावकका कारणले देखिएका व्यवहारहरुमा उल्टै बच्चाका अगाडी उसको कम्जोरी खोतल्दिने गर्छौ । आजभोलीको विशेष दिनमा यि जति पनि गलत कुराहरुलाई हटाइ बालबालिकाहरुलाई नयाँ सृजनात्मक कुराहरु सिकाउदै उनिहरुले गरेका राम्रा कामको प्रशंसा समेत गर्न सक्नु पर्दछ । उनिहरुले गरेका आफ्ना उमेर अनुसारको हरेक क्रियाकलापहरुलाई सकरात्मक तरिकाले हेरिदिनु पर्दछ ।
बाल मनोबिज्ञ गिजु भाईको अनुसार
बाल प्रश्न,
म खेलु कहाँ ?
म उफ्रु कहाँ ?
म गाँउ कहाँ ?
म बोलु कहाँ ?
कुरा गर्छु, आमालाई झर्को लाग्छ ।
खेल्न थाल्छु, बुबालाई झ्ँवाक चल्छ ।
गाउन थाल्छु, तँ चुप बस् भन्छन् ।
अब तपाँई नै भन्नुहोस्, म कहाँ जाउँ ? के गरुँ ?
यसर्थ अभिभावकले मनन गर्नै पर्ने कुराहरु हामीले कसरी सिकिराखेका हुन्छौं, यो विषय चर्चा गर्न जरुरी छ ।
हाम्रो सिकाईको अवस्था : पढेर १० % of what we read, सुनेर २० % of what we hear, चित्रबाट ३० % of what we see, श्रव्य दृष्यबाट ५० % of what we hear & see, भ्रमणबाट ७० % of what we say of write. आफ्नै अनुभवबाट ९० % of what we say as we do a thing.
त्यसैले भनिन्छ, सुनेको कुरा बिर्सिन्छ, देखेको कुरा सम्झिन्छ, गरेको काममा सक्षम भईन्छ । यसका लागि हामीले बालबालिकाहरुलाई सक्रिय बनाई हामी सहयोगी मात्र बन्ने हो । अन्तमा मण्टेश्वरी शिक्षा आजको आवश्यक्ता हो, यहि शिक्षण पद्धतिलाई घरमा प्रयोगमा ल्याउन सक्यौं भने साच्चिकै लकडाउन अवधि प्रत्येक अभिभावक र बालबालिकाका लागि स्वर्णिम समय बन्न सक्छ ।