– – पवनराज उपाध्याय (तिमिल्सिना) –
बाँके जिल्ला धार्मिक तथा साँस्कृतिक दृष्टिकोण ले अति महत्वपूर्ण मानिन्छ । बागेश्वरी देबीको उत्पती स्थल मानिएको यो पबित्र स्थलमा कहिले देखि बागेश्वरी मन्दिरको स्थापना भयो भन्ने सम्बन्ध मा एकिन नभए पनि देबि उत्पतिसँग सम्बन्धि धेरै रोचक प्रसङ्ग तथ्यहरु अध्ययनको क्रममा फेला परेका छन् ।
पहिलो प्रसँग :
बागेश्वरी देबीको सम्बन्धमा डोल्पा जिल्लाको कोतगदी गाउँको कोतगदीमा अबस्थित त्रिपूरा सुन्दरी भगवती सँग रहेको देखिन्छ । जस अनुसार बि.सं. १४११ सम्म कोतगदीको उच्च टाकुरामा एउटा साधारण ढुंगाको ओखल थियो । गाउँबाट केही टाढा भएपनी स्थानीय बासिन्दाहरु त्यसै ओखलमा धान कुट्न जान्थे, कारण जति धान त्यस ओखलमा कुट्यो त्यतिनै चामल आउँथ्यो । अन्य ओखलमा धान कुट्दा आधा मात्र चामल आउंथ्यो । यसले गर्दा यस ओखलको रहस्य पत्ता लगाउन गाउँलेहरुको उत्सुकता जाग्यो र ओखलको रहस्य पत्ता लगाउन कुमाइ बिष्ट नामक मानिसले ओखल खन्न थाले । किनकी यसको मुनितिर अबश्यनै कुनै रहस्य लुकेको हुनुपर्छ भन्ने गाउँलेहरुको धारणा थियो । पहिलो दिन ओखलको पिंध छिचोल्न सकेनन् र घर फर्की आए, भोलिपल्ट जाँदा पहिलो दिन खनेको ठाउँ जस्ताको त्यस्तै देखि अब रातदिन खन्ने निधो गरि खन्दै गए र एकदिन बिहान कलिलो सुर्यको किरणको साथसाथै ओखलको पिंध छिचोली सक्दा सिङ्हासनमा बसेकी श्री भगवती त्रीपुरा सुन्दरिका ९ वटा मुर्तिको सिरमा घृतपुर्ण घदा सहित दर्शन पाउने शुभ अबसर कुमाइ बिष्टले पाए । यस्तो अद्भुत दृश्य देखे पछि कुमाइ बिष्टले घिउको घदा झिकी पर सारे । त्यो घदा सार्ने बितिकै घदा मुनि बसेकी ९ वटा भगवतीको मुर्ती अलग भइ नौ वटा पुतलीको रुप धारण गरि उडेर गए । उडेर जाने मध्य जेठि बहिनी बाजुरा जिल्लाकी बढिमालिका तथा बुढिनन्दा भगवतीको नामले प्रसिद्ध भइन् । अर्की बहिनी जुम्ला जिल्लाको हात सिन्जा गाउँमा पुगेर कनिका सुन्दरी भगवती नामले प्रसिद्ध भइन् । अर्की बहिनी जाजरकोटको तल्लुमा पुगिन् भने अर्की बहिनी अर्घाखाँचीमा र अर्की बहिनी सल्यान पुगेर खैराबाङ भुबनेश्वरी भगतीका नामले प्रसिद्ध भइन् । एउटी बहिनी नेपालगञ्ज पुगेर बागेश्वरी भगवती नामले प्रख्यात भइन् । बाँकी तीन बहिनी बाला, त्रीपुरा र सुन्दरी चाहिँ उढेर जान खोज्दा कुमाइ बिष्टले समात्नु भयो र त्यसै समय उहाँ बेहोस भएर भुईंमा लडेर मुर्छा पर्नुभयो र देबि चढिनु भयो र भन्नुभयो– हामी नौ बहिनी भगवती हौं तिमी कुमाइ बिष्टले हाम्रो पुजा आजा गरि राम्रो तरहसंग सुरक्षा गरि राख्नु । यसरी बाला, त्रिपूरा र सुन्दरि डोल्पामैं रहि एकै शक्ति भई बाला सुन्दरी नामले प्रसिद्र भए ।
दोश्रो प्रसङ्ग :
दोश्रो प्रसंग अनुसार भारतको तुल्सिपुरमा रहेको पाटन देबिमा एउटा बाघ देखिएछ । उक्त बाघले त्यहाँका मानिसहरूलाई दुःख दिन लाग्दा त्यहाँका मानिसहरुले उक्त बाघलाई लखेटेर हाल बागेश्वरी मन्दिर भएको ठाउँमा आइ पुग्दा बाघ एउटा गुफा भित्र पसि त्यहाँ रहेको एउटा प्वालमा पसेछ । मानिसहरुले बाघको पत्तो लगाउन उक्त प्वालमा बाँस घुसारे तर बाघको पत्ता लागेन । पछि बाँस झिक्दा बासको टुप्पोमा रगत चुहियो र प्वालबाट पनि रगत निस्की बागेश्वरी मन्दिरको पुर्ब पट्टि पोखरीमा बराबर रगत जम्मा भएछ । त्यो देखी डराएका मानिसहरुले त्यही प्वाललाई देबि मानी स्थापना गरे ।
तेस्रो प्रसंग :
तेस्रो प्रसंग अनुसार, प्राचिन समयमा बागेश्वरीको आसपासमा जङ्गल भएकाले आसपासका गाउँले गोठालाहरु भैंसी चराउने डोरी बाट्ने काम गर्दथे । त्यहाँ रहेको एउटा ढुङ्गामा खर पिट्ने काम पनि गर्दथे । एक दिन एउटा गोठालाले उक्त ढुङ्गा घर लैजाने प्रयास गर्दा लग्न नसकेकाले उक्त ढुुङ्गामा अलौकिक शक्ति रहेको बिश्वास गरि पुजा आजा गर्न थाले । कालान्तरमा उक्त ठाउँमा नै बागेश्वरी देबिको स्थापना भएको अनुमान पनि गरिएको छ ।
चौथो प्रसंग :
चौथो प्रसंग अनुसार, हाल बागेश्वरी मन्दिर भएको ठाउँमा सति देबिको जिब्रो पतन भएको थियो । त्यसैले सुरुमा यस्को नाम बाक्यश्वरी हुँदै पछि बागेश्वरी भयो । दुर्गा सप्तसतीको देब्या कवजको ३३ औं श्लोकमा रोम्क्रुपेत्रु कौबेरी त्वछ बागेश्वरी तथा लेखिएबाट यस कुराको पुष्टि हुन्छ । जहाँ, जहाँ सति देबिको अङ्ग पतन भएका छन्, त्यहाँ, त्यहाँ खाल्डाहरु बनेका छन् । कारण सति देबिको अंग पृथ्वीले धान्न नसक्दा खाल्डो हुन गयो । यहाँ पनि जिब्रो पतन हुँदा पृथ्वीले धान्न नसकी खाल्डो हुन गयो जुन खाल्डो आज भोलि बागेश्वरी मन्दिरको भित्र देबिको मुर्ती मुनि छोपेर राखिएको छ । जो खुल्ला दर्शनमा मात्र देख्न सकिन्छ । भारतीय उपमहाद्धिपमा यस्तो खाल्डा भएको बागेश्वरीको मन्दिर कहिं पनी छैन । जसले गर्दा पनि यस ठाउँमा सति देबिको जिब्रो पतन भएको कुरालाई नकार्न सकिन्न । तर प्राचीन धार्मिक साहित्यहरुमा सतिदेबिका अङ्ग पतन भएको ठाउँहरुको सुचिमा नेपालगन्ज कतै उल्लेख छैन तर त्यस बेलामा यो ठाउँ घनघोर जङ्गलको बिचमा हँुदा स्थानको नामकरण नभएको र त्यहाँ सिद्धपिठ बागेश्वरी देबिको उत्पत्ति भएको धेरै समयपछि मात्र यस स्थानको नामकरण भएको हुन सक्छ ।
पाँचौं प्रसङ्ग :
पाँचौं प्रसंग अनुसार, आज भन्दा दुई हजार बर्ष अगाडि यो ठाउँ घनघोर जङ्गलले ढाकिएको थियो । नेपाल भारत तिर्थ यात्रा गर्ने तिर्थ यात्री र तपस्वीहरु यहि ठाउँको बाटो भएर आउने जाने गर्दथे । त्यसै क्रममा नेपालबाट भारत जान लागेका दुई महात्मा (गुरु, चेला) यस ठाउँमा बास बस्न पुगेछन् । देबिको स्थान भएको नजिकै सुति रहेका बखत गुरु महाराजलाई सपना भयो । जगदम्बा देबिको दर्शन भई मेरो स्थान यतै कतै छ भन्ने बाणि भयो । गुरु महाराज ब्युझिए । चेलालाइ उठाए र देबिको स्थान खोज्न थाले । दिन भरिको परिश्रम पुर्ण अन्वेषण पछि साँझको सुर्यास्त समयमा एउटा गहिरो खाल्डो भेटियो । जो देबिको स्थान थियो । त्यस पछि गुरु र चेला को सल्लाह बमोजिम त्यस ठाउँमा मन्दिर बनाउने निधो गरे । उक्त स्थान नजिकै पुर्ब तिर एउटा ठुलो पोखरी थियो । त्यहीको माटो पानी ल्यायी मन्दिर बनाउन थाले । गुरु र चेला दिन भरी काम गर्दथे मन्दिर बनाउँथे तर राति मन्दिर भत्किन्थ्यो । मन्दिर भत्किने क्रम छैटौं दिन सम्म चल्यो । सातौ दिनको बिहानी पक्षमा गुरुलाइ सपना भयो कि देबिको स्थानमा बलि नचढाएर मन्दिर बन्दैन । यस कुराले गुरु आत्तिए । धार्मिक तपस्वी गुरु तिर्थ यात्रा गर्न भनेर हिंडिरहेको ब्यक्तिले जंगली जनावरहरुको बलि दिन चाहेनन् । उनले स्वयम् आफै देबिको लागि जिउँदै समाधी लिने बिचार गरे । यसकुरा ले गुरु र चेला बिचमा मतभेतद भयो । चेलोले आफू समाधी लिने कुरा गुरुलाई भन्यो । गुरुले मानेन्, अन्तन्त गुरु नै देबिको लागि जिउँदै समाधीमा बसे । चेलाले उनलाई माटोले पुरिदियो । त्यस्को भोलिपल्ट देखि चेलाले मन्दिर बनाउन थाल्यो र मन्दिर पनि बन्यो । ती गुरु महाराजको समाधी आज पनि बागेश्वरी मन्दिर पुर्ब रहेकोे पिपलको बोट कै पुर्बी छेउमा अबस्थित छ । त्यस पछिको समयमा चेलाले देबिको पुजाआजा गर्दै आयो । त्यस पछि उनका छोरा हरुले पुजा आजा गरे । यो क्रम पछि सम्म पनि चली रह्यो । ती चेला पुजारी का धेरै पुस्तामा हाल बागेश्वरी मन्दिरका मुल पुजारी चन्द्रनाथ योगी, हरिहर नाथ योगिले पुजा आजा गर्दै आएका छन् ।
(बाजुरामा जन्मेका तिमिल्सिना नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्वर २० थपुवा बाँके निवासी हुन् । उनी हाल नेपाल ब्राम्हण संघ नेपालगञ्ज २० का सचिब छन् – सम्पादक)