– दिला शाह –
म आफुलाई सम्हाल्ने भए देखि आमासँग मात्र थिएँ । बुवा भन्ने कस्तो थिए ? मलाई केही पनि याद छैन । घरको भित्तामा यताउता कतै तस्बिर टाँसिएको पनि थिएन ! अरुका बाबाहरुलाई देख्दा मलाई पनि मेरो बाबा खै ? भनेर आमालाई प्रश्न गर्न मन लाग्थ्यो तर मेरी आमाले कहिल्यै पनि बाको विषयमा कुरा गर्न दिनुभएन । बाको कुरा गर्न बित्तिकै रिसाएर झर्किनुहुन्थ्यो । त्यसपछि म चुपचाप रहन्थें । मनमा एउटा अधुरोपना सधैं रहिरहन्थ्यो ! धेरै समय बित्यो । म लगभग ११, १२ बर्षको थिएँ । बाल्यकाल देखि नै आफुलाई एक्लो एक्लो अनुभव गर्दै आएँ । स्कुलमा जाँदा पनि चुपचाप एकान्त कुनामा बस्ने टोलाउने, यस्तै थियो मेरो दैनिकी । धेरै पटक शिक्षक शिक्षिकाले नसम्झाएका होइनन् तर पनि मेरो मनको पीडा कस्ले बुझ्छ र जस्तो लाग्ने ! जताततै शुन्यता जस्तो अनौठो पीडाले चिथोरी रहन्थ्यो ! आमाले के काम गर्नुहुन्छ भन्ने कुरा पनि मलाई थाहा थिएन । नयाँ नयाँ कपडा बदल्ने ओठमा लपक्क लाली दल्ने मगमग बास्नादार अत्तर शरीरमा छर्केर शहरतिर हिड्ने उहाँको काम हुन्थ्यो । आमा तपाई कहाँ जानुहुन्छ ? के काम गर्नुहुन्छ ? भनेर एकपटक सोधेको थिएँ तर उहाँले मलाई खाऔला झै आँखा तरेर गाली गर्नुभयो ! तँलाई किन चाहियो ! अलच्छिनी डङ्किनी ! तँ बोक्सीलाई घिचाउँनलाई त काम गर्नु पर्यो नि, तेरो बा त ज्युदै मरिहाल्यो । तँ मेरो घाँटीको पासो बनेकि छेस् । जति घिच्नु छ घिच् ! स्कुल जा ! बढी कुरा केही नसोध मसँग ! के बित्छ होला ? एउटी सानी बालिका जो आफ्नी आमासँग आमाको कामको बारेमा सोध्ने अधिकार राख्दिन ! रुन त कति रोएँ कति हिसाब छैन । त्यो दिन पनि खुब मन दुख्यो ! झोलामा किताब हालेर स्कुलतिर लागें । दिनभरि पछाडि बेन्चमा बसेर आँसु बगाइरहें । कसैले सोधेन के भयो भनेर ? किनकि प्राय रुनु नै मेरो दैनिकी हुन्थ्यो । साँझ घरमा जाँदा माहोल अलि फरक थियो । एकजना युवक अर्थात आमा भन्दा अलि बढि उमेर लाग्ने पुरुष पनि आमासँगै थिए । घरमा विभिन्न किसिमका खानेकुराहरु पाकेका थिए, आमा पनि खुब खुसी थिइन् । म घरमा पुग्न बित्तिकै उसले मलाई काखमा लियो । कति राम्री छोरी आमा जस्तै भनेर भन्यो । तर मलाई मेरी आमासँग तुलना गरेको पटक्कै मन परेन ! किनकि मेरो मनले मेरी आमालाई घृणा गर्न थालेको थियो !
त्यो दिन आमाले पनि खुब चेपारो घसिन् । चुपचाप बस्छे ज्ञानी छे । घरको काम सब गर्छे । आदि आदि ! त्यो साँझ घरमा छुट्टै उल्लास थियो । त्यो पुरुषले मलाई बाहिर लिएर गयो । चक्लेट र केही खानेबुराहरु किनिदियो । एउटा सानो डल पनि किनिदियो । तिमीलाई के के मनपर्छ ? भनेर सोध्यो ? मैले पनि खुब खुसी भएर सबै कुराहरू गरें । बाबाको माया र काख कस्तो हुन्छ होला ? भनेर सोच्ने मान्छे म अचानक यस्तो माया गर्ने मान्छे पाउँदा कल्पना गरें “बाबाहरु यस्तै हुन्छन् होला ! जो आफ्ना सन्तानको खुसीको लागि आफ्ना रहरहरुको बलिदान दिन्छन् ! सोधेँकी थिएँ – तपाई मेरो बाबा हो ? उसले अलि असजिलो मान्दै बोलेको थियो – हो हो म तिम्रो बाबा जस्तै हो ! बाबा जस्तै भनेपछि सोचेँ, अँझ साँच्चिकै बाबा त झन् कति राम्रा हुन्छन् होला ? यही सोचेर एकछिन टोलाईरहे ! त्यो बाबा जस्तै मान्छे मलाई संसारकै राम्रो मान्छे लाग्यो । मेरो कल्पनाको बाबा जस्तै ! धेरै चक्लेट खानेकुरा कापीकलम र गुडिया समेत किनिदियो उसले मलाई । ती सब कुरा पाएर म खुब खुसी भएँ । आमा र त्यो पुरुषले सँगै घरमा दियो जलाए । सँगसँगै खाना पकाए मलाई खुब माया गरेर खुवाए त्यसपछि म आफ्नो कोठा गएँ । धेरै सारो चक्लेटहरु कापीकलम र अन्य खानेकुरा खेलौनाहरु समेट्दै खेलिरहे । सानो गुडियालाई काखमा च्यापेर खेल्दाखेल्दै कतिबेला निदाएँछु थाहा भएन । केही समयपछि म बिउँझिएँ । पानी प्यास लागेको थियो । रात चकमन्न थियो । उठेर भान्छामा पानी खान गएँ पानी खाएर फर्किदै थिएँ आमाको कोठातिरबाट अनौठो आवाज आइरहेको थियो । अनुत्तरित प्रश्नहरुले खलबली मच्चिरह्यो । त्यसदिन यता त्यो मान्छे र आमा सधैं साँझ घरमा आउँने बस्ने गर्नथाले । कुनै दिन त दारु खाएर फिट्टु भएर लत्रिदै आएर सुत्थे । उनिहरु होटल बाट खाएर आएको दिन म भोकै पेट सुत्थें । कुनैकुनै दिन उनिहरु घरमा पनि आउँदैनथे । म बाटो पर्खिएर बस्दा बस्दै निदाउँथे । यसरी नै लगभग एक बर्ष जति बित्यो । मेरो दैनिकी र जिन्दगी उस्तै थियो । म बाह्र पूरा भएर तेह्र बर्षको भएँ उनै आमाले भने अनुसार ! एक साँझ उनिहरु अबेर घर फर्किए ! आमाको हालत एकदमै बेहोस जस्तै थियो । उनलाई उक्त पुरुषले सहारा दिदै आमाको कोठा सम्म पुर्यायो । आमा गम्लङ्ग बिस्तरामा घोप्टो परेर सुतिन् । के भए छ भनेर म नजिकै गएको के थिएँ, मदिराको गन्ध टड्कारो आईरहेको थियो । आमाले धेरै दारु पिएको कारण आफुलाई सम्हाल्न सकिरहेकी थिइनन् । एक बर्ष जतिको उनिहरुको क्रियाकलापले मलाई थाहा भइसकेको थियो कि, उनिहरु हरेक रात मदिरा पिउँछन् र घिनलाग्दो गरेर मातिन्छन् । त्यो साँझ त्यो पुरुष भने आमा जसरी मात्तिएको थिएन ! तर उसको मुखबाट पनि मदिराको गन्ध त आइरहेको थियो । आमा सुते पछि ऊ बाहिर निक्लियो र बाथरुममा पस्यो । म मेरो कोठा पसें । उस्तै अन्धकार बाहिर चुक झै कालो हुँदै थियो । झ्यालबाट बाहिर हेर्दा सधैं डर लाग्ने गर्थो मलाई ! चुपचाप बसें । एकछिन पछि ओछ्यानमा पल्टिएर निदाएँछु । ढोकामा टकटक आवाज आएपछि म बिउँझिएँ । ढोकामा उही बाउ जस्तो मान्छे उभिएको थियो । के भयो ? आमलाई त ठीक छ ? यति भन्दै थिएँ उ जवर्जस्ती मेरो कोठा भित्र छिर्यो र आफैले ढोका बन्द गर्यो । उसको अनुहार एकदमै डरलाग्दो भएको थियो । उसले आफ्ना लाललाल आँखाले मलाई खाँऔला झै गरेर हेरिरहेको थियो । म डराएँ । उसले मेरो शरीरमा बलजफ्ती गर्नथाल्यो । तपाई त मेरो बाबा जस्तै ब्यक्ति होइन ? अनि यो के गर्नुभएको ? भनेर हात जोडें ! उसले आगोको फिलिङ्गा जस्ता आँखाहरुले डस्दै भन्यो, बाबा जस्तो पो हो त ! तर तेरो बाबा नै त होइन नि ! यति भन्दै उसले मलाई लुट्यो । त्यस पछि म बेहोस भएछु म बिउँझिदा मेरो शरीर रगताम्य भएको थियो । रणभुमीको मुर्छित सैन्य झै म लत्रिदै लत्रिदै आमाको कोठा गएँ । आमा उस्तै अँझ लम्पसार सुतेकै थिइन् । नजिकै गएर आमा ! आमा ! भने । आँखा खोलेर उनले मलाई हेरिन् ! म आफ्नो हालत देखेर आमा आत्तेर उठ्लिन् र मलाई अंगालोमा राखेर सान्वना देलिन् भन्ने भावमा थिएँ । आमा उठ्ने छिन् र त्यो पापी मान्छेको बारेमा मलाई बताउँने छिन् र उसलाई सजाय दिनेछन् । आत्तिने छिन् । त्यस्तो पापीलाई बिश्वास गरेकोमा पश्चाताप गर्नेछिन् ! तर मैले सोचेजस्तो केही पनि भएन ! उनले सहजै भनिन् , केही हुन्न ! नरो जा ! घाउमा तेल बेसार लगा ! केही समय पछि आफै सन्चो हुन्छ ! यस्तै हो हामी छोरीको जीवन ! यति भनेर उनी फेरि घोप्टो परेर सुतिन् । उनलाई दारुको नसाले छोडेको थिएन ! म अवाक भए ! अब भने मलाई यो संसारमा बाँच्नु थिएन ! जे जस्तो अवस्थामा छु यत्तिकै निक्लन्छु र आत्महत्या गर्छु भनेर घरबाट निक्लन खोजें । घाइते शरीर लिएर घरबाट निक्लिएँ । घर भन्दा अलि पर एउटा पुल थियो । सोचेँ अब यही पुलबाट हामफालेर मर्छु । त्यहाँ सम्म पुग्दासम्म मेरो शरीरबाट धेरै रगत बगिरहेको थियो । बिसाउँदै लत्रिदै त्यहाँ सम्म पुगें ! अब पालो पुलको डन्डा माथि चढ्ने र हाम फालेर मर्ने ! मात्र यत्ति सोचिरहेको थिएँ । पुल सम्म त पुगें तर घाइते शरीरलाई त्यो पुलको माथिल्लो डन्डा सम्म उचाल्न सक्ने ताकत भएन ! सोचे अब उता छेउबाट हाम फाल्छु । बगरका ठुल्ठुला ढुङ्गाहरुमा बज्जारिनेछु र मर्ने छु ! छेउमा गएर हाम फाल्न मात्रै के लागेको थिएँ ! भित्र हृदयबाट एउटा अनौठो आवाज आयो । त्यो आवाजले मलाई बोलाइरहेको थियो । नमर्न आग्रह गरिरहेको थियो ! मैले आफ्नो दिलको आवजलाई सुस्तरी सुने र मर्नको लागि उठाएका पाइलाहरुलाई पनि पछाडि सारें !
त्यसपछि सुरु भयो मेरो संघर्ष, म लत्रिदै घिस्रिदै धेरै पर पर सम्म पुगें ! टम्म परेको मैदान र सुन्दर शहर थियो । गाडीहरु हुलका हुल आइरहेका थिए । म थोरै भए पनि अक्षर चिन्ने भएकी थिए । त्यो ठाउँको बोर्डमा लेखिएको थियो नेपालगन्ज राँझा भनेर । त्यही ठाउँमा काठमाडौ लेखेको ठूलो गाडी खडा थियो ड्राइभर खलासीले प्यासेन्जर खोज्दै थिए । मलाई त्यही गाडीमा पसुँ पसुँ जस्तो लाग्यो र सुटुक्क भित्र पसें र पछाडिको सिट मुनि गएर घुर्सीएँ । दिनभर भोकभोकै हिडेको घाइते शरिरिक अवस्थामा पनि म किन बाँच्न चाहिरहेको थिएँ ? म आफैलाई थाहा थिएन ! कहाँ जाने ? कसरी बाँच्ने ? कुनै पनि कुराको ठेगान थिएन ! एकछिन पछि गाडीमा सबै यात्रुहरु बसे गाडी चल्नथाल्यो । सबभन्दा पछाडिको लामो सिट मुनी लामो परेर सुतेकोले होला मलाई कसैले देखेनन् । गाडीमा यात्रुहरु पनि त्यति थिएनन् पछाडिको सिट तिर कोही आउँदै आएनन् । आएर देखे पनि मलाई के के डर थियो र ? थिएन ! मुटु र कलेजो एक हुने गरेर हल्लाउँदै गाडीले पच्छारी रह्यो । मर्न निक्लेको मान्छे म किन मर्न सकिन ? मलाई जीवन प्यारो लाग्यो ! शायद भगवानको मर्जि थियो । म बाँच्नु थियो ! गाडी काठमाण्डौं पुग्दा साँझ पर्न आँटेको थियो । यात्रुहरू सबै बसपार्कमा झरे । बस खाली भयो । ड्राइभ खलासी बाहिर हिसाब किताब गर्दै थिए । त्यही मौका पारेर म बिस्तारै बाहिर निक्लन्छु । र हिडिरहन्छु । यात्रा कहाँसम्मको हो ? थाहा थिएन । गाडी र मान्छेका हुलहरुमा म उकुसमुकुस हुन्थे । तैपनि म हिडिरहे अनन्त यात्रामा ! खाली पाउहरुले कति माइलको यात्रा पार गरे मलाई थाहा छैन । कुन ठाउँ गाउँ जाँदै छु ? त्यो पनि थाहा छैन ! तर म हिडिरहें । साँझ झमक्क पर्यो । सडक पेटिमा केही मानव आकृतीहरु लस्करै सुतेका थिए । त्यतै नजिकै गएर म पनि कुक्रुक्क परेर सुतें ! रात छिप्पिदै गयो , जाडो बढ्दै गयो, मलाई लाग्छ शायद त्यो पुस माघको महिना हुनुपर्छ ! सडक पेटीका मानव आकृतीहरु सल्वलाउँथे । मलाई एक किसिमको डर लाग्थ्यो ! उही राक्षसको अनुहार आँखा अगाडि आउँथ्यो र बेस्सरी चिच्याउन मन लाग्थ्यो ! फेरि आफुलाई जवर्जस्ती सम्हाल्न प्रयत्न गर्थें । थाकेको शरीर लखतरान थियो तर पनि निद्रा बिल्कुलै थिएन ! भोको पेट बेसरी बाउँडिएको थियो ! आँखा चिम्लन खोज्छु उहीँ बीभत्स अनुहार र घटना मेरो आँखा अगाडि आउँछ अनि बेस्सरी चिच्याउछु ! वातावरण सुनसान थियो ! कति कतिबेला त्यही नजिकै सडकबाट सानासाना गाडीहरु हुँईकिन्थे ! म चिच्याएको सुनेर सडक पेटिमा सुतेका मानव आकृतीहरु चलमलाउन थाल्छन् कुनै कुनै मानव छायाहरु उठेर म तिर आउन थाल्छन् म झनै आत्तिन्छु र चिच्याउँछु !
सडकमा गुडिरहेको एउटा सेतो कार टक्क रोकिन्छ ! गाडीको सीसा खुल्छ ! मेरो शरीरमा फोकस गरेर एउटा उज्यालो पोखिन्छ । सुन्छु, ए ! सानी बच्ची रहेछ बिचरी ! के भयो ? जाऔं न उसलाई लिएर आऔ ! म अँझै खुम्चन्छु ! किनकि अब मलाई कसैको पनि बिश्वास थिएन ! जो आमा भन्ने शब्द र साईनोले नै मलाई यति लापरवाह ब्यवहार गरेको थियो, बाबा जस्तै भन्ने मान्छेले नै मलाई जिउँदै निलेको थियो ! गाडीबाट झरेर दुईवटा आकृती म तिर बढ्छन् । म अँझ डराउँछु ! तर्सिन्छु ! भाग्ने कोशिस गर्छु तर अँह ! उठ्नै सक्दिनँ ! एकजना महिला जसले मलाई समाउनु भयो ! कहिल्यै महशुस नगरेको आमाको त्यो स्पर्शको अनुभुती भयो ! अन्तिम सहारा भगवान भनेझैं उहाँ मेरो भगवान भएर आउनु भयो ! म बर्षौ पछि आमा भेटें झै उहाँको काखमा निर्धक्क निदाउँछु । उहाँको साथ पछि संसार सुन्दर लागेको छ । धेरै पछि थाहा पाए, त्यो सडक पेटी काठमाडौको रहेछ ! ती मलाई उठाएर लिने महान आमा अनुराधा कोइराला हुनुहुँदोरहेछ ! जो मानवको रुपमा साँच्चिकै भगवान हुनुहुन्छ ! अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार तथा दुखमा परेका चेलिहरुको पनि सहयोग गर्नुहुन्छ । उहाँले मलाई आफुसँगै राख्नु भयो । च्याथिएको घाउमा धेरै दिन सम्म महल लगाईदिनुभयो । म छोरा मान्छेका आकृतिहरुसँग डराउँथे तर उहाँले मलाई सबै छोरा मान्छेहरु गलत हुदैनन् भन्ने कुरा बिश्वास दिलाउनु भयो । मैले कल्पेर मुर्छित हुँदै आफ्ना सबै घटनाहरु सुनाउँथे । उहाँले त्यो तीतो अतितलाई भुल्न आग्रह गर्नुहुन्थ्यो । मलाई विभिन्न सीपमूलक कार्यमा अभ्यस्त राख्नु भयो । हिम्मत र साथ दिनुभयो । म फेरिबाट स्कुल जान थालें । पढाइमा खुब मेहनत गर्थे । अब्बल बनेर पुरस्कार पाउन थालें । तब गुरुवर्ग र शिक्षक शिक्षिकाहरुले पनि धेरै माया गर्नुहुन्छ । एस एल सिमा राम्रो नम्बर ल्याएर पास भएँ । मलाई बाल अधिकार र मानवको न्याय र कानुन सम्बन्धिको ज्ञान हाँसिल गर्न खुब मन लाग्यो र पढे पनि । ल क्याम्पस काठमाडौंमा उत्कृष्ट छात्र भएर नाम कमाएँ । यसै बिषयमा पिएचडी सम्मको अध्ययन गरेको छु । त्यसपछी राजधानीका धेरै कलेजहरुमा म आफ्नो बिषयमा अध्यापन गराउँछु । सधैं अनाथ जस्तो मान्छेले सबै थोक पाएँ । उहाँको छत्रछायामा नै मैले आमाको ममता पाँए ! मरिसकेको लाशमा फेरि प्राण भर्न सफल भएँ । एउटा खुसहाल र जिम्मेवार घर परिवार पाएँ र परिवारको महत्त्वलाई बुझ्न सफल भएँ । सबैभन्दा ठूलो कुरा जीवन पाएकी छु । आफु जस्तो दुखमा परेकाहरूलाई साथ र सहयोग गर्छु । उनिहरुको अधिकारको लागि लड्छु ! तर मेरो देशमा विडम्बनापूर्ण अवस्था छ । कैयौं कलिला छोरिहरु लुटिएका छन् । निर्मला पन्त जस्ता कलिला किशोरीहरुका ज्यान गुमेका छन् । सरकार मौन छ ! पैसा पावर र पहुँचको खेलमा अपराधहरु लुकाईन्छन् । अपराधीहरुलाई संरक्षण गरिन्छ । दुःख लाग्छ यस्ता कुराहरू देख्दा ! तर हाम्रो तर्फबाट निरन्तर प्रयास भइरहेको छ । सबै जनाले आ आफ्नो तर्फबाट सकारात्मक कदम चाल्न जरुरी छ । नत्र के थाहा भोलि तिम्रै हाम्रै आमा छोरीहरु पनि लुटिनसक्छन् ! होश राखौ ! मेरो नाम “शिखा“ हो ! म अहिले ३४ बर्षको भएँ । म एक कानुनबिद् पनि हुँ ! अन्यायमा परेका महिला र बालबालिकाको लागि वकालत गर्छु । यसै क्रममा मलाई बुझ्ने र धेरै माया गर्ने सहयात्री पाएको छु । उहाँको नाम शेखर हो । उहाँ पेसाले एक प्रोफेसर हुनुहुन्छ । एक छोरा र एक छोरी दुई सन्तान छन् । म धेरै सामाजिक संघ संस्थाहरुमा पनि काम गर्छु । चावहिलमा सानो घर बनाएकाछौ । बिहेवारी देखि माइती, आफ्नो मान्छे सबै मेरो लागि अनुराधा मुवा र धेरै महिला दिदीबहिनीहरु हुनुहुन्छ । मेरो उहाँहरुले सहारा नदिएको भए म उहिले नै मरिसकेको हुन्थे होला । म अहिले आफ्नो जीवनसँग धेरै खुसी छु । धेरै परिचय दिनुभन्दा पनि म एक असल र सचेत मानव भएर अरुको मानव अधिकार , बाल अधिकारका बिषयमा अग्र पंक्तिमा बसेर काम गर्दै बाँच्न पाएकोमा गर्व गर्छु । त्यो भंयकर अतिततिर फर्केर सोच्न पनि मन लाग्दैन । अतितलाई सम्झिंदा मन कुँडिएर आउँछ ! एउटा धोको मनमा छ, यदि कुनै दिन त्यो राक्षसलाई भेट्न पाएँ भने मुखभरीको थुक उसको अनुहार भरी थुकिदिन मन छ र आफ्नै हातले कनचडी फुट्ने गरेर हिर्काएर सोध्न मन छ, ए ! राक्षस् के तेरो घरमा आमा छैनन् ? त मान्छे होस् की पशु ? पशुमा पनि तँ भन्दा बढी नै सोच्ने मन हुन्छ ! तर तँ ? म जस्ता कलिला छोरीहरू छैनन् तेरो घरमा ? मानव शरीरको नाममा त कलंक होस् ! तँ अपराधी होस् तँ जस्तो नर पिसाचलाई यो धर्तिमा बाँच्न अधिकार छैन भनेर ! त्यो पापीनी आमा जो आफ्नो सन्तानलाई आमा जस्तो बनेर संरक्षण गर्न सकिनन् ! उनलाई पनि एक पटक सोध्न मन छ आमा के तिमी साँच्चै मेरी आमा थियौ ? यदि आमा थियौ भने आफ्नै सन्तान प्रति त्यति गैर जिम्मेवार किन ? के थियो तिम्रो बाध्यता ? या तिमी नारी र आमाको नाममा एक कलंक मात्रै थियौ ?? किन गरेऊ त्यस्तो निर्मम ब्यवहार मसँग भनेर ? त्यो रात अरु कसैले नसुने पनि तिमीले त सुन्न सक्थ्यौ नि ! मेरो चीत्कार ??? नेपालगन्ज सहर भन्दा माथि राँझा पछाडिको कन्ठीपुर भन्ने गाउँको त्यो घरमा अँझै पनि मेरो चीत्कार गुन्जिरहेको छ होला !
– शिखा बि.सी., नेपालगञ्ज