नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ बाँके बगियास्थित सरस्वती मन्दिर जिल्लाकै ठूलो सरस्वती मन्दिर हो । हरेक वर्ष माघ महिनाको श्रीपञ्चमीका दिन ठूलो मेला लाग्ने सो मन्दिरमा रहेको सरस्वतीको मूर्ति यस क्षेत्रकै पहिलो मूर्ति रहेको बताइन्छ । तत्कालीन समयमा रामलीला मैदानको जमिनमा स्थापित सो मन्दिरको स्थापनाबारे जानकारबीच फरक फरक मत पाइन्छन् ।
तत्कालीन समयमा रामलीला मैदानको जमिनमा ठूलो बगिया थियो, आज भन्दा करिब ७० वर्ष पहिले नेपालगन्जमा हालको युद्ध संस्कृत विद्यालय स्थापना भएको थियो । त्यसपछि मंगलप्रसाद स्कुलको स्थापना भएपछि विद्यालयहरू खुल्ने क्रम बढ्दै गयो । विद्यालय बढ्दै गएपछि सरस्वती पूजाको दिन बालबालिकाहरूलाई अक्षरारम्भ गराउने तथा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्न उपयुक्त मन्दिर नभएका कारण त्यस स्थानमा सानो सरस्वती मूर्तिको स्थापना गरिएको बताइन्छ ।
तत्कालीन समयमा श्रीपञ्चमीको दिन यस क्षेत्रका सबै विद्यालयहरूले नयाँ बालबालिकाहरूको अक्षरारम्भ सरस्वती मन्दिरबाटनै गर्ने गर्दथे । सबै विद्यालयहरूबाट शिक्षकसहित बालबालिकाहरूलाई सरस्वती मन्दिर ल्याएर आउने र उनीहरूलाई पहिलो अक्षरारम्भ गरी गुरुहरूलाई अबिर लगाएर बालबालिकाले ढोग गरि गुरु शिष्यको नाता कायम गर्ने प्रचलन रहेको थियो । अर्को रोचक कुरा के थियो भने तत्कालीन समयमा बालबालिकाहरूको अक्षरारम्भ सस्वती मन्दिरको भित्तामा श्री गणेश, अ, आ, ह, व्यक्तिको नाम आदि लेखेर आरम्भ गर्ने गरिन्थ्यो । सरस्वती मन्दिरमा रानीतलाउ नजिकै अवस्थित मन्दिरमा बाहुन पाण्डुले पूजाआजा गर्ने गरेका थिए । यो प्रचलन २०२४÷२५ सम्म कायम थियो । पछि नेपालगन्जमा विद्यालयहरूको संख्या बढ्दै गएको र पुरानो सरस्वती मन्दिरमा ठाउँसमेत साँघुरो हुन थालेपछि वि.सं. २०६० साल माघ १२ गते श्रीपञ्चमीको दिन सरस्वती मन्दिर नजिकै संगीतालय सञ्चालन गर्दै आएका डा. कृष्ण जंग राणा तथा श्रीमती शान्ता राणाले सरस्वतीको मूर्ति भक्तिपूर्वक स्थापना गरेको पाइन्छ ।
मूर्ति निर्माण भने चर्चित कलाकार तथा मूर्तिकार आशाराम मौर्यले गरेका थिए । सरस्वतीको नयाँ मूर्ति स्थापना भएपछि पनि मन्दिरको बारेमा जानकारी भएकाहरूले पूजा गर्दा पहिले नयाँ मूर्तिकै उत्तरतर्फ रहेको सरस्वतीको पुरानो मूर्तिमा मात्रै पूजा गरेर नयाँ मूर्तिमा पूजाआजा गर्ने गर्दछन् । पहिले मन्दिर व्यवस्थापन समिति गठन गरि मन्दिरको रेखदेखको जिम्मेवारी सुरेशकुमार शर्माका छोरा नातिहरूलाई दिइएको भए पनि पछिल्लो समय मन्दिरको सम्पूर्ण रेखदेखको जिम्मेवारी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयले लिएको छ ।
यसरी स्थापित सानो सरस्वती मूर्तिको बाहिर २०६८ साल साउन २७ गते स्व. रत्न पोख्रेलको सम्झनामा खड्का परिवारले ४ थान मन्दिरमा ढोका र दियो १०८ थान निर्माण गरेको पाइन्छ भने ठूलो मूर्तिको माथि छाना लगाएर हाल मूर्तिको संरक्षण गरिएको छ । केही व्यक्तिहरूले भने सो स्थानमा सरस्वतीको मन्दिर १ सयदेखि १ सय २० वर्ष पहिले भएको दाबी गर्दछन् । तत्कालीन समयमा जिल्लामा बडा हाकिम बस्न थालेपछि मन्दिर नजिक नभएका कारण छोरीको पूजाआजाका लागि सरस्वतीको सानो मूर्ति बनाएको बताइन्छ । मन्दिर स्थापनापछि केही वर्ष बडा हाकिमकी छोरीले मन्दिरमा पूजा गर्ने गरेको र बडा हाकिम नेपालगन्जबाट बाहिर गएपछि सो मन्दिरमा स्थानीयहरूले पूजाआजा गर्न थालेको बताइन्छ । तर श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन नियमित पूजा गोश्वाराका गाईबाजे अर्थात् बाहुन पाण्डुले गर्ने गरेको कुरामा भने सबैको एकमत देखिन्छ ।
सरस्वती मन्दिरको अर्को रोचक प्रसंग पनि छ । श्रीपञ्चमीको दिन सो मन्दिरमा हरेक वर्ष मेला लाग्छ, विद्यार्थीहरू तथा अन्य व्यक्तिहरू बिहानै नुहाइधुवाई गरेर सरस्वतीको पूजा तथा आराधना गर्न त्यहाँ पुग्ने गर्दछन् । सरस्वतीको मूर्तिमा पूजा गरे पश्चात् चढाइएको फूलले आफूलाई मन पर्ने व्यक्तिको नाम भित्तामा लेख्ने चलन छ । सरस्वती पूजाको दिन सरस्वती मन्दिरको चारैतिर भित्ता नामले रंगिने गर्दछ । त्यस दिन आफूले माया गर्ने व्यक्तिको नाम लेखेर पवित्र मायाको इजहार गरे सो पूरा हुने विश्वास छ । तर यस विषयमा नेपालगन्जका साहित्यकार तथा जानकार बिष्णुकुमाल भने सहमत छैनन् । उनी पछिल्लो समय विद्यार्थी तथा युवाहरूमा विकृति मौलाउँदै गएकोे बताउँछन् । श्रीपञ्चमीको दिन बालबालिकाहरूको अक्षरारम्भ गर्न भित्तामा लेख्ने प्रचलन हो त्यसलाई बङ्ग्याएर अहिले त्यसको गलत प्रयोग भइरहेको उनको भनाइ छ ।
विद्याकी देवी सरस्वतीको पूजा श्रीपञ्चमीको दिन हुन्छ । जुन दिन हरेक नयाँ बालकालिकाहरूको अक्षरारम्भ गर्ने दिन हो, त्यसैले सरस्वतीको पूजा गर्दा पवित्र मनले शिक्षा तथा ज्ञान प्राप्तिका लागि गर्नु पर्दछ र सोही अनुसार मन्दिरको व्यवस्थापन गर्न सकेमा सरस्वती मन्दिरको पौराणिक महत्व स्थापित हुन सक्छ ।