छाउ गोठको जञ्जिर कहिले सम्म ?

दिला शाह

“क्या यै थो भयो दैव ! छोरीकन बाघले खाइगो ! कै थो अभागी चाँदो हैच ! हे भिमे ! हे सागे ! क्यान अर्यौ यै थो ? मुकन पनि लैजाऊ…..!“

गत बर्ष संस्थागत कामले कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिंजा बडिमालिकामा पुगेको थिएँ । साँझको समयको वातावरण मनमोहक थियो । गाउँको हरियाली वातावरण वारिपारी देखिने पहाडका सुन्दर दृश्यहरु लोभलाग्दा थिए । बाहिरबाट हेर्दा गाउँ जति सुन्दर थियो गाउँ भित्रका पीडाहरु दर्दनाक रहेछन् ।

गाउँ घुम्न निक्लिंदा देखिएको दृश्य थियो त्यो । आँगनभरि मान्छेहरू थिए । अलाप बिलाप गरेर एक महिला रोइरहेको सुनेर म त्यतैतिर तान्निएँ । के भए छ ? भनेर नजिकै गएर हेरें । सबै दृश्य देखेपछि म अवाक भएँ ! केही बोल्नै सकिन ! शरीरबाट खलखली पसिना बगिरहे । सुनेको थिएँ, छाउगोठका कुराहरू ! पढेको थिएँ, छाउ गोठ भित्र बलात्कृत भएका छोरीका कथाहरू ! हेरेको थिएँ टेलिभिजन र मोबाइलमा केही दृश्यहरु ! र कल्पना गरेर टोलाएको थिएं, धेरै बेर सम्म ! तर पढ्नु, सुन्नु, कल्पना गर्नु र वास्तविकता भोग्नुमा धेरै फरक पर्दोरहेछ ! छाउ गोठमा बसेकी बालिकाको मृत्युु भएको थियो । जसको मृत्युु पनि यति बीभत्स तरिकाले भएको थियो कि, सम्झिंदा पनि मुटु पोलेजस्तो हुन्छ । आफुले टेकेको जमिनमा भुईंचालो गएजस्तो हुन्छ ।

त्यो सानो १३ बर्षको बालिकाको शरीरभरी नीलडाम थिए । रगताम्मे शरीरभरि ठाउँ ठाउँमा घाउहरु थिए । दाहिने हात भाँच्चिएको थियो । शरीरमा कपडा थिएन । शरिर क्षतबिक्षत थियो । भयावह, भयानक दर्द थियो, तर आँखामा एउटा गहिरो शून्यता थियो । मुटुको गति बन्द भएको थियो । शरीर चिसो भइसकेको थियो । उफ ! किशोरावस्थाका अनगिन्ती सपनाहरू छाउ गोठमा अस्ताएका थिए ! एउटा छोरीको नलेखिएको कथा, अखबारका पानामा नछापिएको समाचार ! रिल होइन रियल ! छाउ गोठको दृश्य ! म स्तब्ध भएँ ! बाघले खाएको हो या मानव रुपी पिचासले खाएको हो ? प्रश्न अनुत्तरित थियो ! छाउपडीको कथा भित्रको ब्यथा असहैय थियो !

के हो त छाउपडी प्रथा ?
महिनावारी संसारभरि निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने शारीरिक तथा जैविक प्रक्रिया हो । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा लगायत कर्णाली प्रदेशका केही जिल्ला र ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई छाउपडी गोठ भनिन्छ ।

छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो । यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ । मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा अहिले पनि कायमै छ । छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक, पटक अप्रीय घटना हुन थालेपछि त्यहाँका महिला चिन्तित छन् । त्यस भेगका सबै महिला यो परम्पराबाट पीडित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ । रजस्वला हुनु भनेको छोरीको परिपक्वता सँगै प्रजनन् क्षमताको पनि सुरुवाती चरण हो । यस्तो संवेदनशील समयमा माया ममता हौसला दिनुको सट्टा त्यस्तो अमानवीय व्यवहार गर्नु कहाँसम्मको कुरीति हो ?

रजस्वला हुँदा शरीर कमजोर भएको हुन्छ । एउटा किशोरीको शारीरिक र मानसिक अवस्थामा बदलाव आइरहेको हुन्छ । अनौठो बेचैनी र कौतुहलताले ब्याकुल बनाइरहेको हुन्छ । यस्तो अवस्थामा परिवारले साथ सहयोग हौसला र माया गर्नुको सट्टा घरदेखि कोसौं टाढा पशलाई बाँधेर राख्ने गोठमा छोड्नु कहाँ सम्मको मानवता हो ?

जुन समयमा विभिन्न पौष्टिक आहारको आवश्यक्ता हुन्छ त्यो समयमा दही, दुध, घिउ जस्ता पोषणयुक्त खानेकुराहरु छुन नदिनु । खानु त परकै कुरा भयो । अझ भनौं रजस्वला हुँदा घाम पनि देख्नु हुँदैन, मर्दको मुख हेर्नू हुँदैन, किताब कपीकलम छुनुहुँदैन, ओठाकोठा, भान्सा, करेसा, रुख बिरुवा केही छुनुहुँदैन भन्ने चलन र मान्यता कहाँसम्मको जायज हो ?

केही बर्ष पहिले डोल्पा जाँदा त्यहाँका महिला दिदीबहिनीहरुको अवस्था पनि त्यस्तै दयनीय देखेको थिएं । एकजना दिदी जसको पाठेघर खसेर उठ्न बस्न गाह्रो ! काखमा सानो नानी महिनावारी हुँदा भैंसी बाँध्ने गोठमा बसिरहेकी भेटें । उनले आँखाभरी आँसु पार्दै भनिन्– यस्तो मान्छेको जुनी लिएर बाँच्नु भन्दा त पसुको जीवन ठीक !सोच्नु त कति पीडा भयो होला ? उनी र उनी जस्ता महिलाहरूका दुःखद अवस्थाहरुको बारेमा महसुस गरेर लेख्नलाई पनि मसँग हिम्मत आइरहेको छैन । पतिलाई यौन सुख दिन नसकेकोमा सौता बेहोर्नु परेको ! गुप्ताङ्गको मुखैमा झुन्डिएको मासुको डल्लो ! अर्थात आङ् खसेको पीडा कस्ले बुझ्ने ? लाज सरम सामाजिक कुसंस्कारको जालोमा चुर्लुम डुबेको समुदाय, समाज र आफन्तले लगाउने बचन र लाल्छना बाफरे ! कसरी सहेका होलान् यत्रा दुःख पीडाका अजङ्गका भारीहरु ?

एसएलसी दिएर बसेकी बैतडीकि मनकली, बाह्र बर्षकी सुर्खेतकी अल्का, एक्काइ बर्षकी बझाङकी राधिका, बत्तीस बर्षकी दार्चुलाकि गिता, अछामकी चेली, दैलेखकि छोरी सुदूरपश्चिमका चेलीबेटीहरु कतिका जीवनहरु छाउ गोठमा नै अन्त भएका छन् । यति सुन्दर जीवनलाई छाउ गोठको अध्यारो भित्र अन्त गर्नुपर्दा कति पिडा हुन्छ होला ? कल्पना गर्न पनि डरलाग्छ । महिलारूलाई सधैं किन घृणा गरियो, गरिन्छ ? हाम्रो धर्म र संस्कृतिले विभेद नगरेको कुरालाई यो समाजले किन विभेद गर्यो ? यो सबै पुरुष प्रधान सोचको उपज हो । पितृतसत्तात्मकताको धारणाको प्रतिफल हो ।

जुम्लामा बसेर धेरै बर्ष सम्म पत्रकारिता गरिरहेकी एकजना बहिनीले रेडियोमा जनचेतनामुलक कार्यक्रम चलाउँछिन् । उनी भन्छिन् –देशकै विकट र पिछडिएको क्षेत्र जुम्लामा बसेर पत्रकारिता गरिरहँदा मैले गरीबि, अभाव, अशिक्षाले निम्त्याएका कहर र महिलाहरुले भोग्नुपरेका अथाह पीडा नजिकबाट नियालेको छु । सामाजिक कुरीति छाउपडीले जुम्ला र वरपरको ठाउँलाई दिएको गहिरो घाउ पनि मैले नजिकबाट देखेको छु । तर त्यही समाजको आफू पनि हिस्सा भएकाले त्यसबाट म पनि अछुतो रहन सक्ने कुरै भएन ।

गाउँबाट सदरमुकाम आउँदा छुइ हुन्छौ कि, नाई ? भनेर सोध्ने गरेको र आफुले हुन्छु भन्दा कोठा नपाएको तीतो अनुभव सुनाउँछिन् –म आँफु जनचेतनाका कुरा गर्छु तर आफ्नै दुःख कस्ले बुझिदिने ?

समाजमा गहिरोसँग जरा गाडेको यो संस्कारलाई निर्मुल गर्नको लागि मानव अधिकार आयोग लगायत महिला अधिकारकर्मीहरु, एनजीओ आइएनजीओहरु निरन्तर लागिपरेका छन् तरपनि यो कुरा सजिलोसँग निर्मुल भने हुँदैन । किनकि विभिन्न अर्गनाइजेसनहरुले महिलाहरुलाई जागरुक गर्दै आए पनि गाउँका धामीझाँक्री र अगुवाहरूले विभित्र किसिमका अफवाहहरु फैलाउँदै आएका छन् । रजस्वला हुँदा छोइछिटो गरेमा देवता रिसाउने र कुलकै नास हुने । घर परिवारको विनाश हुने जस्ता डरहरु फैलाउने भएकोले डराउने गरेको कतिपयको गुनासो छ । नयाँ पिढीका युवा युवतीहरुलाई एकदमै गाह्रो भएको कुरा ब्यक्त गर्छन् । पढेलेखेका र शिक्षाका कुरा गरेर रजस्वला नबार्ने कुरा गरेमा बुढापाका र आफन्तहरु रिसाउने गर्छन् । यस्तो समयमा मानसिक टर्चर हुन्छ भन्छन् । यस्तो कुरितीको जडा नै उखेलेर फ्याँक्नको लागि महिलाहरूलाई मात्र जागरुक बनाएर हुँदैन, त्यहाँका पुरुष जनप्रतिनिधिहरु गाउँका अगुवा धामीझाँक्रीहरु र बुढापाकाहरुलाई पनि सचेत गराउनुपर्ने देखिन्छ ।

वि.सं २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसूची ४ बमोजिम नेपाललाई सात प्रदेशमा बिभाजन गरियो । जनसंख्याको आधारमा कम र क्षेत्रफलको आधारमा बढी रहेको कर्णाली प्रदेश भित्र पर्ने अधिकांश जिल्लाहरूमा यो कुरीतिले जडा गाडेको छ । भौगोलिक दृष्टिकोणले ठूलो भए पनि शिक्षा स्वास्थ र अनेकौं अभावमा परेको कर्णाली र सुदुरपश्चिम प्रदेशमा भइरहेका यस्ता किसिमका कुसंस्कारहरुलाई निर्मुल गर्नको लागि राज्यले अन्यत्र प्रदेशहरुमा भन्दा यथेष्ट बजेट छुट्याउन जरुरी छ । उक्त बजेटलाई सही रुपमा सदुपयोग गर्नपनि नितान्त आबश्यक्ता छ । कर्णाली प्रदेशको भूमि र यहाँका अमुल्य जडिबुटी फलफुल र बिबिध खानीहरुको जगेर्ना गरेर नेपाललाई आर्थिक पाटोमा पनि समुन्नत बनाउनको लागि शिक्षाको जरुरत छ । विश्व एक्काइसौं सताब्दीमा आईपुग्दा पनि हामी छुवाछूत र छाउ गोठको बिषयमा अल्झियौ भने यो देशको समुन्नति कहिले गर्ने ?

छुवाछूत जस्ता कुप्रथाका कारण बर्सेनि हज्जारौं बालबालिकाहरूको ज्यान गएको छ । कतिको जीवन अलपत्रमा परेको छ । छाउ गोठमा जंगली जनावरको सिकार भएर होस् या मानवरुपी ब्वाँसा गिद्दहरुको पन्जामा परेर होस्, जाडोमा चिसोले कठाङ्ग्रिएर, गर्मिमा किरा फटयांग्रा र मच्छरले टोकेर धेरै किशोरीहरुले अतुलनीय पिडासँगै ज्यान गुमाउनु परेका तीता यथार्थहरु छन् । छाउ जस्ता अमानवीय प्रथालाई प्राथमिकता दिनुले भोलि देशका संवाहक बालबालिकाहरु यसरी कोपिलामै निमोठिरहेका छन् । यस्ता अपराध गर्नेलाई राज्यले कडा कार्वाही गर्नुपर्छ । ताकि फेरि फेरि उक्त गल्ती दोहोर्याउँन कल्पना पनि नगरुन् ।

छाउपडी प्रथालाई न्यूनीकरण गर्न राज्यले सामाजिक, सांस्कृतिक, नैतिक, धार्मिक, चेतनामूलक विकासका यथेष्ट योजनाहरु बनाएको छ तर ती योजनाहरुलाई कुन हदसम्म अबलम्बन गर्याे ? के राज्यले सबै योजनाहरु असफल भइसकेपछि छाउपडी प्रथा उन्मूलनका लागि अन्तिम अस्त्रका रूपमा यस प्रथालाई अपराधीकरण गरी कानुनको सहारा लिएको छ ? के त्यसो भए छाउपडी सम्बन्धी कानुनको पूर्ण कार्यान्वयन भई छाउपडी प्रथा उन्मूलन हुने अवस्थामा छ ? के छाउपडी प्रथाविरुद्ध बनेका कानुन अन्तिम अस्त्र सावित हुनेछन् त ? यस बिषयमा गहन रुपमा सोच्न जरुरी छ । जो जहाँबाट सम्बन्धि छौं त्यहीँबाट सचेत हुन जरुरी छ ।

छाउपडी सम्बन्धि कानुन
मानव अधिकारसम्बन्धी मुख्य नौ अन्तर्राष्ट्रिय महासन्धिहरुको नेपाल पक्ष राष्ट्र भएकाले नेपाल भेदभावजन्य, अपमानजनक व्यवहारविरुद्ध कानुन निर्माण गरी लागू गरेको छ । नेपालको संविधानको मौलिक अधिकारअन्तर्गत भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धको अधिकारको व्यवस्था गरेको छ । नेपालको सर्वाेच्च अदालतले २०६२ सालमा नेपाल सरकारको नाममा परमादेशसहितको फैसला गरेको छ । महिनावारीसम्बन्धी कुरीतिजन्य व्यवहारलाई मुलुकी फौजदारी संहिता ऐन २०७४ ले कसुरमा दर्ज गरेको छ । उक्त कानुनमा छाउपडी सम्बन्धी कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था समेत गरेको पाइन्छ तर कानुन बनाउनु र लागू गर्नु अलग कुरा हो । हाम्रो समाजमा दिनानुदिन यस्ता अमानवीय घटनाहरू भइरहँदा कहाँ कतिसम्म लागू भयो त कानुन ?

अन्तमा,
छुइ हुँदा अर्थात रजस्वला हुँदा हेलाँ होचो गर्ने होइन । यो बेलामा अरुबेला भन्दा अँझ धेरै सफासुघ्घर हुन जरुरी छ । पौष्टिक आहार दही, दूध, ध्यु, फलफूल, माछा, मासु, अन्डा खाने र थोरै काम धेरै आराम गर्न जरुरत छ । रजस्वलाका बेला रक्तश्राव हुनेहुँदा यो बेला बढि ख्याल गर्न जरुरी छ । उज्यालो घाम लाग्ने कोठामा बस्नु, सुत्नु ठीक हुन्छ । अरुबेला भन्दा यो समयमा शरीर कमजोर भएको हुन्छ त्यसैले घरपरिवारले जवर्जस्ती काममा लाद्नु हुँदैन । किशोरीहरुको बारेमा त झन् बिशेष ध्यानाकर्षण गर्नुपर्छ । पहिलोपटक रजस्वला हुँदा त्यसैपनि आत्तिएका हुन्छन् यस्तो बेलामा माया गरौँ, हौसला र हिम्मत दिऊँ । दसौं कोष टाढा एकान्त छाउमा छोड्ने होइन । आजको किशोरी भोलिको आमा हो । आमा स्वस्थ भए मात्र उसको कोखबाट जन्मने बालक स्वस्थ हुन्छ अनि मात्र यो देशमा असल सुपुत्री र सफल सुपुत्रहरुको जन्म हुनेछ । जुन प्रकृयाका माध्यमबाट हाम्रो जन्म भयो या हुन्छ त्यस्तो सुन्दर प्रकृयालाई धर्म र संस्कारको नाम दिएर पशुवत ब्यवहार नगरौं ।

यसरी सबैले बुझेपछि न त जुम्लाकी आमाले बिलौना गर्नुपर्ने छ न त अछाम, दैलेख, सुर्खेतका किशोरीहरु लुटिने छन् न त सुदूरपश्चिमका छोरीहरूको बेदना झल्किनेछ । अब छोरीहरु चन्द्रमामा पुग्नुपर्ने छ । वायुयान लिएर खुल्ला आकास सयर गर्नुपर्ने युगमा छोरीहरुका सपनाहरू छाउ गोठमा किचिमिचि हुनुहुँदैन । अब पंख दिनुपर्छ छोरीहरूलाई छाउ गोठको जन्जिर होइन । अब छोरीहरुका चित्कारमा मिसिएर कर्णाली रुनु हुँदैन । बरु सयपत्री फुल झै हाँस्नुपर्छ ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech