कथा : कल्पनाको अस्पताल

पवित्रा ओली

कान्छी उठ ! मामाले फोन गरिसक्यो ।
मम्मी कराउँदैै हुनुहुन्थ्यो । म सधैं ढिलो उठ्ने मान्छे, आज बिहानै ४ः३० मा मम्मीको आवाजले बिउँझिए । माईजुको अपरेसन भएको थियो । मामा घर जानुपर्दा कुर्ने कोही नभएर अस्पताल म जान्छु भनेकी थिए ।

उठेर नित्यकर्म सकेपछि म अस्पताल हिँडे । सुनसान थियो नेपालगञ्ज । सायद, जाडो महिना भएर होला मर्निङ्गवाकको लागि मानिसहरू पनि खासै हिँडिसकेका थिएनन् । अस्पताल पुग्दा पनि सुनसान थियो अस्पताल । थरिथरिका रोगले थला परेका बिरामीहरू पनि आनन्दले निदाएका थिए । त्यसैले पनि म हिँडेको प्रष्टै सुनिन्थ्यो ।

म माइजुको अपरेसनपछि पहिलो पटक कुर्न गएकी थिए । माइजु पनि रातभर त्यो खुट्टाको पीडाले छट्पटाउनु भएकोले होला, म त्यहाँ पुग्दा एकछिन निदाउनु भएको रहेछ । म केही नबोली चुपचाप सुतिरहेकी माइजुको छेउमा टुसुक्क बसे । शान्त त्यो माहोलमा एकछिन आफ्नो वरिपरिको वातावरण नियाले । रोगसँग लडिरहेका बिरामीहरूले लामो अनि गहिरो सास फेरिरहेको प्रष्टै सुनिन्थ्यो । म एकपल नि नसोची त काँ बस्न सक्छु र ?

***************

बिरामीहरुतिर एक एक नजर लगाए । परको खुला झ्याल, त्यहाँबाट देखिने निलो आकाश नियालिरहे । लाग्यो, त्यो निलो आकाशलाई चुनौति दिने हरियो चौर यहि अस्पताल वरिपरी भैदिए । अस्पतालको गेटैमा सजिएका हरिया रुख, हरेक वार्डको संकेत हरियो पात । यो हस्पिटल भित्र पनि सकारात्मक प्रभाव पार्ने खालका हरिया बोटहरू हरेक बिरामी को बेड नजिक भइदिएको भए !

तिनै हरिया बोटहरुबाट कलिला मुना पलाइरहेको, आहा ! झ्यालबाट आउने त्यो चिसो हावाका कारण तिनै कलिला मुना नाचिरहेको हेर्न पाए ! मगमग बास्नादार रंगीविरंगी फूलहरू यी बिरामीकै बेड नजिक फुलिरहेको भए ! अझ तिनै सप्तरङ्गी फूलहरूमा माहुरी र पुतली भुनभुनाउन आउने भए ! साँच्चै कस्तो हुने थियो होला है हस्पिटलको माहोल ?

बिरामी सञ्चो हुनुमा बिरामीको वरिपरिको वातावरण अनि उसको उच्च आत्मबलले धेरै फरक पार्छ अरे । बिरामी बस्ने वार्ड नै हरियाली भइदिए त बिरामीलाई हस्पिटल, हस्पिटल लाग्ने थिएन होला अनि मन बहकाउने बाटो पनि मिल्ने थियो होला । कोही जन्मिँदा थप उर्जा थप्थ्यो होला । कोही मर्दा आँसु बहेको हेरिदिने साथी बन्थ्यो होला । अनि कोही सिकिस्त हुँदा आत्मबल बढाइदिने शुभचिन्तक हुन्थ्यो होला ।

**********
माइजु बिउँझेर खुट्टा चलाएपछि म झस्किएँ । म त कल्पनामै डुबेछु, हरियाली र रंगीन अस्पतालमा हराएछु । कल्पनामा डुबेर हाँसिरहेकी पो रहेछु । बिरामी हेर्न आएकी म, ध्यान कहाँ, के सोच्दै रहेछु । बल्ल पो माइजुलाई हेर्न थाले । ……

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech