“जन्मँदै आँधी हुरी चल्यो पातहरू सबै झरेर गए !
हौसला राखेपछि आफैसँग फेरि हराभरा भयो !
मैले जबदेखि होस सम्हालें तबदेखि नै एक अलग घृणित जीवन बिताउन थालें । मलाई देख्नेहरू सबैले आँैल्याएर गिज्याउथे । कसैले मामु भन्थे, कसैले छक्का भन्थे, कसैले हिजडा भन्थे, कसैले गे भन्थे त कोही नानी भन्थे । मैले होस सम्हालेँदेखि नै म यस्तै यस्तै नामले पुकारिन्थे । एकजोडी प्रेमका उदाहरण मेरो मातापिताको सपना चक्नाचुर भएको थियो । अस्पतालमा जन्मेको म डाक्टरले महिला र पुरुष कुन संज्ञा दिऊ यो बच्चालाई ? भनेर सोधेपछि बुवा आमा झसङ्ग भएर आत्तिएका थिए रे ! तर पनि आफ्नो सन्तानलाई त्याग्न सक्ने सामथ्र्य उनीहरूमा भएन र घरमा लिएर गए । त्यो रात आमाबुवा रातभरि सुतेनन् रे । एकले अर्कोसँग प्रश्न गर्दागर्दै उज्यालो भयो होला शायद !
आफ्नो पहिलो सन्तान जन्मेको खुसी बाँड्ने सौभाग्य उहाँहरूले पाउनु भएन । एकदमै नजिकका बाहेक बाहिरका मान्छेहरूले मलाई देखेका थिएनन् । तर पनि यदि भोलि समाजले थाहा पाए भने कति लाज होला यस्तै थियो उहाँहरूको मनमा न भन्दै त्यस्तै भयो । म जब जब ठूलो हुँदै गएँ तब म मा एक अनौठो परिवर्तन आउँदै गयो । मेरो आधा शरीर पुरुषको जस्तो आधा महिलाको जस्तो लाग्ने भयो ! उसै त हाम्रो समाज त्यसमा झन् मेरो अवस्थाले त उल्कापत नै खडा ग¥यो । जब स्कुल जान थाल्थेँ, हिजडा आई हिजडा भनेर ढुंगा हान्थे । घरका झ्याल ढोकाबाट हेरेर ए छक्का भनेर बोलाउथे । ए छक्का नचनिया यस्तै के के हो के के ? मलाई समाजले यत्रतत्र जताततै गलत नजरले हेर्न थाल्यो, अर्कै ग्रहको प्राणी जस्तो व्यवहार गर्न थाल्यो । म भित्र भित्रै गलिसकेको थिएँ । यस्तो लाग्थ्यो, यो धर्ती दुई टुक्रा परेर फाटोस् अनि म त्यसैमा भित्र कतै विलीन होऊ !
पहिलो सन्तान यस्तो जन्मिएको पीडाले धेरै वर्षसम्म बुबा आमाले दोस्रो सन्तान बनाएनन् । तर पछि बुबा र बुबाका बुबा आमा, आफन्तको चाहना बमोजिम तेह्र वर्षपछि आमा फेरि गर्भवती हुनुभयोे । त्यसपछि मेरो जीवन झनै कठिन भएको थियो । हरदिन घर परिवारले भन्थ्यो कि, यो हिजडाको अनुहार हेर्नू हुँदैन । फेरि जन्मने बच्चा पनि यस्तै हिजडा भएर जन्मन्छ ।
अब यति कुरा थाहा भएपछि भने अब मलाई त्यो घरमा बस्न मनै लागेन । मैले तत्कालै त्यो घर छोड्ने सोच बनाएँ । कहाँ जाने ? के गर्ने ? केही पनि थाहा थिएन । तर जसरी पनि म त्यो समाजबाट धेरै टाढा जान चाहन्थे । घरबाट त हिडें तर जहाँ गएपनि समाज त त्यही थियो । म मान्छेहरूका खेदाइहरू भन्दा टाढा कतै जान सकिन ।
हिजडाको हुलमा हिँडेर कम्मर मर्काएर नाच्न अब मलाई मेरो अन्तर आत्माले दिएन । म त्यो भिडबाट आफूलाई अलग गर्न चाहन्थे । हामीलाई लगाइएको हिजडाको ट्यागको बारेमा लड्न चाहन्थे । मेरो शरीर अजंगको थियो साथै शक्ति पनि त्यत्तिकै अंजगकै थियो । मैले सोचे अब केही गर्नुपर्छ । मैले मेरो शरीर र जीवनलाई सम्मान गर्नुपर्छ । ताकि म जस्ता धेरै बेनाम जिन्दगीलाई नाम र पहिचान दिनुपर्छ । तबदेखि म एउटा गोदाम घरमा काम गर्नथाले । साँझ, बिहान, दिउँसो गोदामका सामानहरू मिलाउने बोरीहरू उठाउने आदि इत्यादि । यति गरेपछि दुई छाक खाना र रात बिताउनको लागि गोदामको एउटा कुनामा छत पनि मिलेको थियो । मलाई देख्ने मान्छेहरूले अनौठो तरिकाले हेर्थे तर मलाई दुनियाँको मतलब थिएन । अब आफ्नो इरादामा म झुक्नेवाला थिएन ।
गोदाम घरको मालिकसँग कुरा गरेपछि बिस्तारै म आफ्नो पढाइलाई निरन्तरता दिनथाले । साँझ बिहान खुब काम गर्थे दिनमा स्कुल । पढ्दै गए । काम गर्दै रहें । आफू र आफ्नो जिन्दगीसँग खुसी हुँदै गएँ । भगवान् शिवले नटेश्वर रूप धारण गरेझैं म आफुले आफैलाई भगवान् सरह सम्मान दिन थालें । तबदेखि मेरो जिन्दगी बदलिँदै गयो । भनिन्छ नि, आफैंप्रति विश्वास राख, आफैलाई सम्मान गर । दुनियाँले घृणा गरेर केही फरक पर्दैन । तब ममा उमंगले भरिएको एउटा सुन्दर जाज्वल्यमान ज्वाला मै भित्र पैदा भयो । तब न यो समाजले गर्ने जस्तोसुकै पीडाहरूलाई पनि राग पार्नसक्ने एउटा दरिलो विश्वास ममा पैदा भयो ।
म उनीहरूको लागि लड्नु थियो जो मानवरूपी आकार मन र पूर्ण जीवन पाएर पनि यो समाजले किन स्वीकार गर्दैन ? तेस्रो लिङ्गी भनेर हाम्रो पहिचान कहिले हुने ? यावत विषयमा धेरै लडाइँ गर्नुप¥यो । सुप्रिमकोटको ढोकासम्म धेरै पटक पटक पुगेर लडेको छु । यो संसारमा जन्मिएका मानिसको पहिचान महिला पुरुष अर्थात छोरा र छोरी मात्र नभएर अन्य भनेर लेख्ने अप्सन राखिनु पर्छ भनेर धेरै लडियो । हामी जस्तै समाजले घृणित गरेका धेरै पात्रहरूको स सम्मानित जीवनको लागि आवाज उठाउन मेरो पछाडि हजारौंको संख्यामा जन सागर उर्लियो र आखिरमा सरकारले तेस्रो लिङ्गीको दर्जा दिएर छाड्यो ।
मेरो नाम बिसखा हो । बि, सखा मतलब कुनै साथी नभएको प्राणी यस्तै थियो रे पन्डितले मेरो नामाकरण गर्दा बोलेको शब्द ! दुखका साथ भन्नुपर्छ कि, म त्यस्तो समाजमा जन्मिएँ ! जहाँ म जन्मिएकोमा खुसी होइन दुख मनाइयो । बेनाम जिन्दगीको दर्जा दिएर घर समाज र आफन्तबाट टाढा लखेटियो । तर खुसीका साथ यो पनि भन्नपर्छ कि, जे होस् म मानव हुँ । जुन समाजले मलाई र म जस्ता धेरै मनहरूलाई कुठाराघात गरेको थियो त्यही समाजबाट माथि उठेर एक उदाहरण बन्न सफल भएको छु । सजिलो बाटो र अरूले निर्माण गरिदिएको गोरेटोमा हिड्न त जो कोही पनि सक्छ । असली मानिस त्यो हो जसले सहेर घृणाका रापिला तापहरूलाई पनि हिम्मतका साथ आफ्नो बेग्लै पहिचान बनाउँछ । हो म त्यो ज्वाला हुँ ।
मेरो घर बिराटनगरमा छ । मेरो “ सखा“ नामक संगीत स्कुल, कलेज छ । म सँग १० जना जति त टिचरहरू मात्रै हुनुहुन्छ । क्लासिकल नृत्य, नृत्यनाटक सिक्नको लागि बर्षौ सयौंैं बिद्यार्थीहरू आउनुहुन्छ । यहाँसम्म कि, विदेशबाट पनि धेरै स्टुडेन्टहरू हामी कहाँ कला संगीत नृत्य सिक्न आउनुहुन्छ । हाम्रो कलेजबाट सिकेको कला श्रृजनाहरूले विश्व जगतमा अत्यन्तै धेरै नाम कमाएका छन् । इन्डियन लिटिल च्याम्पियन र हलिउड शोमा समेत भाग लिएर मोडलहरू जितेका छन् । दुःख लाग्छ कि, त्यो सन्तान जो मेरो बुवा आमाको छोरा जस्को जन्मको लागि म बाधक हुने भएकोले घर छोडेर निक्लनु परेको थियो । तर त्यही छोराले आफू अमेरिकाको पि आर भएर बुबा आमालाई वृद्धाश्रममा छोडेर गएको थियो । जुन कुरा थाहा पाएपछि म आफंैले खोजी गरेर उहाँहरूलाई आफ्नो साथमा राखेको छु । संसारका सारा सुख सयल , खानपिन र विभिन्न सयौं देशहरूको भ्रमण गराएको छु । सायद सन्तान सुखको अनुभूति उहाँहरूलाई सधै गर्वित गर्छ होला !
कहिलेकाहीँ अतीत सम्झेर गुनासो गर्नु हुन्छ । मेरो जीवनमा गरेको एउटा अन्याय सम्झेर पश्चाताप गर्नु हुन्छ । म हाँसेर भन्छु, हजुरहरू होइन हाम्रो समाजको सोच र संस्कार दोषी हो ! यदि मेरो जीवनमा यस्तो चुनौतीपूर्ण अवस्था आउथेन भने आम म जस्ता धेरै बेनाम जिन्दगीको पक्षमा न्याय गर्न सक्ने थिएन । तसर्थ जे भयो राम्रो भयो, तब उहाँहरू मुस्कुराउनु हुन्छ । जब उहाँहरूको ओठमा मुस्कान देख्छु, खुसीले प्रफुल्ल हुन्छु । अझै सकारात्मक हिम्मत बढेर आउँछ ।
म आफूले आफैसँग गर्वले झुक्छु किनकि पहिले आफूले आफैलाई सम्मान गर्छु । आफैंमा अटुट विश्वास राख्छु, नत्र यो दुनियाँले त उहिले नै मलाई कुल्ची सकेको हुन्थ्यो । म यहाँसम्म आइपुग्दापटक पटक लडेको छु, घाइते भएको छु । लड्नु, घाइते हुनु समस्याको कुरा होइन तर, लडेर फेरि उठ्ने प्रयास नगर्नु समस्या हो । म लडेर घायल भएपछि झनै बलियो गरेर उठेको छु । उठेको मात्र कहाँ हो र ? अझ पागलपन लिएर दौडिएको छु र त आज यो सन्तुष्टिको साथ बाँचेको छु ।
त्यसैले कृपया मान्छेको रूप रंग आकार प्रकारलाई होइन ! उसको भावना व्यवहार र क्षमतालाई कदर गर्नुहोस् । निष्फिक्री बिना भेदभाव सम्मानित तरिकाबाट बाँच्ने वातावरण दिनुहोस् । धन्यवाद ।
बिसखा अर्याल, बिराटनगर