विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले उब्जाएको तनावसँगै २४ घण्टा अस्पतालको ड्युटी र कामको थकानले लुथुक्कै भएको भारी शरीर बोकेर डेरा पुगेकी थिए । शारीरिक, मानसिक र भावानात्मक चापका बिच गर्नु परेको लामो ड्युटी सकिएपछि खाना भन्दा बढी निन्द्राको महत्व बढेको महशुस हुन्छ । खाना प्राथमिकतामा नपरेको धेरै भयो । त्यस बेलुका करिब ९ बजेतिर बिस्तामा पल्टिएकि म मनमा अनेकौ कुरा खेलाउँदै गर्दा कतिखेर निदाएछु, पत्तै भएन ।
एक्कासी बिहान फोनको घण्टि बजेसँगै झसंङ्ग बिउझिए । हेरे, आमाको फोन आएको रैछ । आमा कलिङ देख्ने बित्तिकै यो ओठमा आफै मुस्कान आयो र माइन्ड यसैपनि फ्रेस भयो ।
आमा भन्दै फोन उठाए । सन्चो बिसन्चोको खबर सँगै फेरि अहिले चर्चा परिचर्चामा रहेको त्यै कोरोनाको कुरा आयो । आमाले सोध्नुभयो –‘कोरोना कत्तिको छ तेरो अस्पतालमा ? यहाँ गाउँमा त सबैजना भाईरल ज्वरोको कारण सुतिरहेका छन्, एउटा घर खाली छैन ।
मैले हतार हतार हाम्रो घरमा त कसैलाई छैन नि आमा ? भनेर सोधे । आमाले बोल्दै जानुभयो ‘छोरी मलाई पहिला पहिला छोरी नर्स भन्न पाउँदा खुब गर्वले छाति फुल्थ्यो । कसैले छोरी के गर्छे भन्न नपाउँदै मेरो छोरी नर्स हो भन्न कति आतुर हुन्थे । तर अहिले मलाई डर लाग्छ । सधै डाक्टर नर्स मरेको खबर सुन्दा मनै खिन्न भएर आउँछ । आत्तिएर फोन गर्न मन लाग्छ । बरु अहिले जागिर छोडेर आईजा, आफु बाँचे त जागिर कति पाउलिस, पाउलिस ।’
…… एकछिन दुवै आमाछोरी चुपचाप भयौ ।
त्यसपछि म बोले । आमा, अहिले अप्ठ्यारो परिस्थिति देखेर हजुरलाई डर लाग्यो होला । तपाईले नै हैन अप्ठ्यारोमा कहिल्यै नआत्तिनु, दु : खमा परेका आफ्नाहरुको साथ कहिल्यै नछोड्नु भनेर सिकाएको । अहिले यस्तो संकटमा देशलाई म जस्ता कयौ नर्सको आवश्यकता छ आमा, सबैको आमाले यस्तै भनेर जागिर छोड्न लगाएपछि छोरी ‘छाति दुख्यो, नानी मलाई श्वास फेर्न गाह्रो भाको छ’ भनेर छट्पटिदै अन्तिम आशा अस्पताल र हामी छोरी (नर्स) सोचेर आउने आमाबुवाको सेवा कस्ले गर्ला ? यस्तो बेला देशको साथ छोड्न सकिएला र आमा ? छोरी तिमी एकदम सहनशिल, साहसी हुनु, दुख पर्दा नआत्तिनु, अप्ठ्यारोमा साथ नछोड्नु भनेर सानोमा दिनदिनै सिकाउनु भएको अझै बिर्सेको छैन । हजुर माया, ममता र हिम्मतको खानी हो । बरु मलाई यो रोगसँग लड्ने हिम्मत दिनुस्, पछि हट्ने कुरा नगर्नुस् ।’
आमा केहि बोल्नु भएन । लामो सुस्केरा मात्र सुनियो । मैले भनिहाले, ‘म नर्स बन्दिन भन्दाभन्दै जबरजस्ती नर्स पढाउने तपाई अहिले डरले पर भाग्न लगाउँदै हुनुहुन्छ ? मलाई पहिले यो पढ्न मन नलागेपनि अहिले नर्स हुँ भन्दा गर्वले छाती फुल्छ आमा । देशको लागि हतियार उठाउँने सिपाहि नभएपनि सेतो कोट लगाएर एउटा युद्ध लडिरहेकी छु । मलाई पछि हट्न नभुन्नु । बरु चाँडै देश कोरोनाबाट मुक्त होस् भनेर प्रार्थना गर्नुहोस् आमा ।’
म अलि बढी भावानात्मक भएछु । आँखा यसै रसाए । त्यसपछि आमाले लामो सास फेर्दै भन्नुभयो, ‘छोरी, आमाबुवा छोराछोरीको खुशिको लागि स्वार्थी बन्छन् । म पनि त्यस्तै आमा त हो । तिमी मेरो आशा भरोशा हौ । आफ्नो ख्याल राख्नु, मास्क र त्यो रिामी हेर्न जाँदा लगाउने तलदेखि माथी सम्म ढाकेको सेतो कपडा लगाई राख्नु । खाना समयमै खानु । अब तिमी आफै धेरै बुझुने भएकि छौ , के क रगरौ त ।’ अनि मैले पनि आफ्नो ख्याल राख्नु आमा भन्दै फोन राखे ।
फोन काट्नु अघि आमालाई भन्न मन थियो, ‘आमा, मलाई तपाईले आफ्नै हातले बनाएको खाना खान मन छ, तपाईसँग बसेर कयौ नसुतेको दिनको थकान मेट्न मन छ । यो कोरोनाको भिडमा लडिरहेकि हामी जस्ता तमाम् दिदिबहिनीको हबिगत सुनाउन मन छ, श्वास फेर्दा फेर्दै प्राण त्यागेका कोरोना संक्रमितहरुको असली दृश्य सुनाउन मन छ ।’
तर, अहिले म त्यो भन्न सक्दिन आमा । तपाई मलाई देखेर नडराउनुस्, म पनि हिक्मत हार्दिन । एकदिन कोरोनाको अन्त्य हुनेछ र तपाईलाई भेट्न चाँडै आउनेछु । अनि सँगै बसेर खुशियाली मनाउनुपर्छ । बस्, अहिले मेरो आत्मबल बढाउने साहस दिनोस् । तपाई जस्तै आमाबुवाको सेवा गर्न पाउँदा गर्वले छाति फुल्छ मेरो ।
(थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्टाफ नर्स पदमा कार्यरत हुनुहुन्छ ।)