हरेक व्यक्तिको सफलताको पछाडि उसको लगनशीलता र मेहनतले ठूलो प्रभाव पार्ने गर्छ । असल कर्म गर्ने मान्छे सबैको प्रिय हुन्छ अनि त्यस्ता मान्छेलाई आमनागरिकहरुले रुचाउने गर्छन । अनि जीवन्त रहन्छन् पनि । जुन अवसर सबैले पाउँदैनन् । कतिपय व्यक्तिहरुले सत्कर्म गर्ने अवसर पाएता पनि सम्मानजनक रूपमा प्रस्तुत हुन सक्दैनन् । सफल त्यस्ता व्यक्तिहरु हुन्छन् जसले आफ्नो जिम्मेवारीलाई चुनौतीपूर्ण अवस्थामा पनि सामना गर्दै पूरा गर्न सक्छन् । यस्ता व्यक्तिभित्रको सूचीमा आफ्नो नाम लेखाउन सफल भएका छन् नरेश श्रेष्ठ । नरेश श्रेष्ठ भन्ने बित्तिकै नचिन्ने बिरलै होलान । नरेशले स्वास्थ्य क्षेत्रमा दुई दशक भन्दा धेरै समय बिताइसकेका छन् । कर्म गरेर समय कटाउनु एउटा पाटो होला तर नरेशले आफ्नो कार्यअवधिको समयमा थुप्रै मानसम्मान पाउन सफल भएका छन् । त्यहीँ सम्मानले नरेशलाई देशभर चिनाएको छ । जुन कुरा चर्चा गर्न लायक छ अनि स्वास्थ्यका क्षेत्रमा कार्यरत लाखौं—लाख स्वास्थ्यकर्मीका लागि प्रेरणा गर्न योग्य छ, नरेशको कथा ।
हरेक व्यक्तिको जीवनमा केही न केही कर्म गर्ने लक्ष्य हुन्छ । अनि त्यो लक्ष्यमा पुग्नको लागि धेरै संघर्ष गर्नुपर्छ । सानै देखि मेहनती र जिज्ञासु स्वभावका नरेशलाई स्कुल पढ्ने बेलामा आफ्नो बुबा शिक्षक भएकाले शिक्षक बन्नुपर्छ भन्ने लाग्थ्यो । उनका बुबाले पनि यही कुरा सम्झाउने गर्थे । मेरो छोरा शिक्षक नै बनोस् भन्ने चाहन्थे उनका बुबा । नरेशले एसएलसीसम्मको अध्ययन सकेपछि उनको बुबाले स्वास्थ्य क्षेत्र ठीक हुने बताए । नरेशले पनि यो कुरामा सहमति जनाए । अनि मनैदेखि दत्तचित्त भएर स्वास्थ्य सेवा रोजे र अध्ययन सुरु गरे । त्यहीँ अध्ययनको सुरुवातमै उनको जीवनको सफलताको कथा लेखिएको रहेछ ।
माता चन्द्रकुमारी श्रेष्ठ र पिता मुक्ति प्रसाद श्रेष्ठको कोखबाट विक्रम संवत् २०३३ साल कात्तिक १२ गते जन्मिएका नरेश श्रेष्ठ सबैका मन मन्दिरमा बसेका छन् । उनको जन्म प्युठान जिल्लाको भिङ्ग्री भन्ने स्थानमा भएको हो । भिङ्ग्री अहिले स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ मा पर्छ । उनी बुबाआमाका जेठा सन्तान हुन् । उनका तीन भाइ र एक बहिनी छन् । उनका बुबा स्वर्गबास भइसकेका छन् । आमा अहिले ६८ वर्षकी छिन् । नरेशकी आमाले पनि जीवनको लामो समय स्वास्थ्य क्षेत्रमा बिताई सकेकी छिन् । नरेश स्वास्थ्य क्षेत्रमा सक्रिय भएर काम गर्दै जाँदा उनकी आमा चन्द्र कुमारीलाई पनि स्वास्थ्य क्षेत्रमा काम गर्न रहर जाग्यो । त्यसपछि उनले अनमीको भूमिका निभाइन । यसपछि नरेशलाई अझै उत्प्रेरणा मिल्दै गयो ।
नरेशलाई आफ्नो जन्मभूमिप्रति अथाह माया र ममता छ । उनी रहेक कार्य गर्दा आफ्नो जन्मदाता र जन्मभूमि स्मरण गर्ने गर्छन । उनी सम्भव भएसम्म वर्षमा एकपटक जन्मस्थान प्युठानको भिङ्ग्री पुग्छन् । विशेषगरी नरेश विजया दशमीको बेलामा त्यस ठाउँमा पुग्ने गर्छन । अन्य समयमा पनि फुर्सद हुँदा पुग्ने गरेको उनी सुनाउँछन् । उनलाई प्युठानको धार्मिक तीर्थस्थल स्वर्गद्वारी जान निकै मन लाग्छ । त्यहाँ जाँदा उनी त्यस स्थानको दृश्यलाई नियाल्छन् । नेपालगन्जका प्युठानी चिनेजानेका व्यक्ति भेटिँदा समेत उनले आत्मीयताको महसुस गर्छन । त्यस ठाउँमा लामो समय बस्न नपाए पनि जागिर भने त्यही ठाउँबाट सुरु गरे । उनले त्यस स्थानमा तीन वर्षको उमेर छँदा छाड्नु प¥यो । उनका बुबाले मुगु जिल्लामा शिक्षण पेसामा काम गर्ने भएकाले उनी तीन वर्षको उमेरमा बुबासँगै मुगु जिल्ला पुगे । त्यसपछि उनको बाल्यकाल मुगुमै बित्यो । एसएलसीसम्मको अध्ययन नरेशले मुगु जिल्लामै गरे । मुगुमा अहिले उनी त्यति जान पाउँदैनन् । तर मुगुका यादहरु उनका मानसपटलमा छाइरहन्छन् । मुगुमा अहिले उनका माइला भाइ बस्छन् । मुगुको घरलाई पनि उनी धेरै स्मरण गर्छन । त्यहाँ भएका साथीभाइले उनलाई धेरै उत्साह प्रदान गर्ने गर्छन । त्यहाँबाट विजयी हुने मन्त्री सांसदहरुले पनि स्वास्थ्य सेवामा सहयोगका लागि आग्रह गर्ने गर्छन । जागिरको धेरै अवधि हुम्लामा बिताए नरेशले । उनले त्यहाँ ११ वर्ष बिताएका छन् । उनी हुम्लाको सबै क्षेत्रमा काम गरेको सम्झन्छन् । हुम्ला जिल्लासँगको आत्मीयता पनि नरेशसँग उस्तै छ ।
नरेशका घरपरिवार अहिले दाङ जिल्लामा बस्छन् । दाङको घोराही नगरपालिका वडा नम्बर १५ आनन्दपुरमा उनको घर छ । दाङमा पनि उनले केही समय काम गरे । उनी दाङमा सेवा गरेपछि हुम्ला पुगेका हुन् । उनको आमाको स्याहारसुसार अहिले उनका कान्छा भाइले गरिरहेका छन् । नरेशको घरपरिवारले उनलाई साथ र सहयोग गरेको छ । उनको श्रीमती पनि स्वास्थ्य क्षेत्रमा छिन् । जसले गर्दा नरेशलाई समय व्यवस्थापनमा पनि कुनै समस्या छैन । उनको बाल्यकालमा त्यतिधेरै दुःख सहनु परेन । बुवाआमासँग बसेर कक्षा ८ सम्म पढे त्यसपछि होस्टेलमा बसेर पढे । साथीहरुसँग सानैदेखि मिलनसार भावना देखाउने नरेशको जीवनमा निराशपन आएको छैन । उनले मृत्यु हुनै लागेका धेरै व्यक्तिहरुलाई बचाउन सकेका छन् । उनको युवा अवस्था काममै बित्यो ।
अध्ययन गरेपछि सरकारी जागिरे जीवन सुरु गर्न धेरै नै संघर्ष गर्नुपर्छ । निकै ठूलो प्रतिस्पर्धा पार गर्नुपर्छ । तर नरेश जेहेन्दार र लगनशील छात्र भएका कारणले होला परीक्षा दिएको एकैपटकमा नेपाल सरकारको अहेव पोष्टमा नाम निकाले र आफ्नो जन्मस्थान भएको जिल्लामा स्वास्थ्य सेवा दिन सुरु गरे । उनले एकै पटकमा नाम निकाल्न सक्छु भन्ने विषयमा कल्पनासमेत गरेका थिएनन् । तर नरेशले नसोचेको सफलता हात पारे । त्यसपछि उनले जागिर गर्दै अध्ययनलाई पनि अगाडि बढाए । नरेशले विक्रम संवत् २०५३ सालबाट सरकारी सेवामा प्रवेश गरेर काम सुरु गरेका हुन् । त्यसपछि नरेशले विक्रम संवत् २०५७ सालमा हेल्थ असिस्टेन्ट पनि पास गरे । उनी पास गरेकै वर्ष बढुवा भए । यसलाई नरेश जीवनको सबैभन्दा खुसीको दिन ठान्छन् । जुन कुरा नरेशको मेहनतको परिणाम हो । नरेश अहिले जनस्वास्थ्य अधिकृत ७ औं तहमा कार्यरत छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियामा उनी कार्यरत रहेता पनि बाँके जिल्लामा पनि उनले कोरोना संक्रमितहरुको उपचारमा र शव व्यवस्थापनमा सहज होस् भनेर समन्वयकारी भूमिका निभाइरहेका छन् ।
नरेशले थुप्रै जिल्लामा कार्यअनुभव लिइसेकेका छन् । हिमाली जिल्लादेखी तराईका जिल्लासम्मको कार्यअनुभव छ उनीसँग । तीनवटै भौगोलिक क्षेत्रका नागरिकहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा नजिकैबाट अध्ययन गरेका नरेशले यतिबेला कोरोना भाइरसको महामारीको अवस्थामा देखिएका नयाँ÷नयाँ भेरियन्टको कोरोनाबारे पनि अध्ययन गरिरहेका छन् । आफूले अध्ययन गरेको कुरा सबैलाई जानकारी गराएर सहयोग गर्ने गरेका छन् ।
नरेशलाई सामाजिक काम गर्न निकै आनन्द आउने गर्छ । समयलाई व्यवस्थापन गरेर स्वास्थ्य सेवा दिन सकेकोमा उनी गर्व गर्छन । उनी आफूले गर्ने काममा धेरै खुसी छन् । अहिले स्वास्थ्य क्षेत्रमा उनको व्यस्तता झनै बढेको छ । कोरोना भाइरसको महामारीको समयमा मात्र होइन अन्य समयमा पनि उनलाई धेरैजना बिरामीहरुले खोज्ने गर्छन । उनले सिधै बिरामीको चेकजाँच नगरे पनि स्वास्थ्य परामर्श दिने गर्छन । उनले समन्वयकारी भूमिका निभाउने काममा पनि राम्रो पहिचान बनाएका छन् । उनी कोरोना संक्रमित बिरामीहरुलाई नजिकै गएर सेवा दिन्छन् । आफूले कोरोनाको दुइवटै खोप लगाएकाले नडराएर काम गर्ने गरेको अनुभव सुनाए । नरेशले अहिलेसम्म पिसिआर जाँच समेत गरेका छैनन् । पिसिआर चेक गरेपछि १४ दिन सेवा गर्न नमिल्ने भएकाले पिसिआर चेक नगरेको उनले बताए । उनलाई एकछिन पनि अस्पताल नपुग्दा आफूलाई के बिर्सेजस्तो हुने गर्छ । उपचार गराउँदै गरेका व्यक्ति हुन् वा मृतक व्यक्तिका परिवार सबैलाई भेटेर सहानुभूति दिने गर्छन उनी ।
यही कामले नरेशलाई कोभिड हिरो समेत बनायो । उनी कुनै चलचित्रका नायक होइनन् । उनले फिल्मी अभिनय गर्दैनन् । तर पनि सबैले कोभिड हिरो भनेर देशभरमा चिन्छन् । एकाउन्टबिलिटी ल्याबले उनलाई कोभिंड हिरो भनेर राष्ट्रिय सम्मान ग¥यो । यो सम्मानले उनको पहिचान चुलियो । यो पहिचानले उनलाई अझै अध्ययनशील बनाएको छ । पछिल्लो समय कोभिडको अवस्था कस्तो छ, कुन उमेर समूहको मृत्यु भएको छ भन्ने जस्ता विषयमा अध्ययनको गति बढाएका नरेशले विश्वमा भइरहेको समाधानको उपायबारे पनि बुझिरहेका हुन्छन् । अनि यो कुराको व्यवहारिक पाटो खोज्ने गर्छन । उनी भन्छन्,‘कोरोना खोप लगाएका मान्छे मरेका छैनन् ।’ उनी कोभिडबारे अध्ययन गर्नका लागि पनि धेरै सल्लाह लिने गर्छन ।
अहिले कसरी बिरामीलाई बचाउने भन्ने कुरामा चिन्तनशील छन् नरेश । नरेशले कोभिड हिरोको रूपमा उपनाम पाएपछि कामको गतिलाई बढाएका छन् । उनले नेपाल सरकारको निर्देशिका अनुसार परम्परा अनुसार घरमा शव दाहसंस्कारका लागि दिने भनिएको कुरालाई पनि कार्यान्वयन गर्न सकेका छन् । स्थानीय तह र घरपरिवारसँग समन्वय गरेर उनले शव व्यवस्थापनको कामलाई पनि प्रभावकारी रूपमा गर्दै आएका छन् । उनीप्रतिको विश्वास अहिले झनै धेरै बढेको छ । जनताका बीचमा र बिरामीका बीचमा औपचारिकता निभाउन सक्नु उनको अर्को खुबी हो ।
उनलाई भगवान् शब्दले धेरैले सम्बोधन गर्छन । यो शब्दले उनलाई कामप्रति अझै उत्साह थपिएको छ । २४ घण्टा सेवामा खटिँदा पनि कुनै थकान महसुस नहुने नरेश बताउँछन् । उनले सामाजिक सञ्जालमार्फत् पनि धेरैलाई सेवा दिएका छन् । उनी बिरामीहरुले छिटो—छरितो सेवा पाउनु पर्छ भन्ने कुरालाई महत्व दिन्छन् । उनका सहकर्मी र स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले गर्ने सम्मानले उनको काममा उत्प्रेरणा थपिएको छ । कामको व्यस्तताका बीच पनि लोक सेवा तयारी कक्षा पढाउँदै आएका छन् उनले । केही समय निकालेर विक्रम संवत् २०५९ सालदेखि लोक सेवा तयारी कक्षा पढाउँदै आएको उनले बताए ।
अहिले पनि उनको घरमा कोरोनाको विषयमा धेरै कुरा हुन्छ । कोरोना संक्रमणको यो अवधिमा काम गरेर पुरस्कार पाउँदा र सम्मान पाउँदाको खुसी बुबालाई सुनाउन नपाउँदा नरेशलाई दुःख लाग्छ । खुशीयालीमा उनी स्वर्गीय बुबालाई धेरै सम्झने गर्छन । उनको सक्रियतालाई देखेर अन्यन्त्र जिल्लाबाट पनि कामका लागि आग्रह गर्ने गर्छन । उनले अहिले बाँके र बर्दियामा कोरोना उपचार कार्यको समन्वयकारी जिम्मेवारी लिएकाले जान नसकेको बताउँछन् । उनी आफूले लिएको जिम्मेवारी पूर्ण रूपमा पालन गर्नु पर्छ भन्ने ठान्छन् र सोही अनुसार काम गर्छन ।
उनको घरपरिवारका अधिकांश सदस्यहरु व्यापारी छन् । तर नरेशको परिवार रोजगारमै सीमित रहन पुग्यो । उनले बुबाले पनि राष्ट्रिय सम्मान पाएका थिए । उनका बुबाले पनि आम्दानी भन्दा पनि नाम कमाएकाले आफूलाई पनि यही कुराले प्रेरणा मिलेको बताए ।
उनको कर्मले घरपरिवार तथा समुदायले पनि सम्मान गर्ने गर्छन । आफूले गरेको संघर्ष सफलतामा परिणत भएकोमा खुसी व्यक्त गर्छन नरेश । उनले शारीरिक दुःख गरेनन् । तर मानसिक रूपमा निकै मेहनत गरेर अध्ययन गरे । सफल हुन अनेक योजना बनाए । अनि सोही योजना अनुसार काम गरे । त्यही लगनशीलताले नै नरेशलाई सफल बनायो । उनका आफन्तहरुले बिहान १० बजेदेखि ५ बजेसम्म्म मात्र जागिर समय भएकोले धेरै समय काम गर्दा स्वास्थ्यमा असर पर्ने बताउँछन् । तर यो कुराले आफूलाई कुनै फरक नपर्ने नरेश बताउँछन् । सत्कर्म गरेपछि सफल भइन्छ भन्ने कुरामा नरेश विश्वास गर्छन । उनले आफूलाई रिस नै नउठ्ने गरेको बताए । कसैले चित्त दुखाएमा मौन बस्ने गरेका छन् नरेश ।
उनलाई सुरुमा असल शासन मिडियाले कोभिडविरुद्ध काम गरेको भन्दै सम्मान ग¥यो । त्यसपछि दोस्रो पुरस्कारका रूपमा राष्ट्रपतिबाट जनसेवा श्री चौथो पदक पाए । तेस्रो पुरस्कारको रूपमा नेपाली सेनाबाट प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ति पदकसमेत प्राप्त गरे । यस्तै चौथो पुरस्कारका रूपमा एकाउन्टबिलिटी ल्याबबाट कोभिड हिरोबाट सम्मानित हुन पुगे ।
यिनै पुरस्काहरुले अझै सेवामुखी बनाएको छ नरेशलाई । कोभिड रोग बढ्दै गइरहेको अहिलेको अवस्थामा नरेशले बिरामीहरुलाई परेको समस्या समाधान गर्न लागि परेका छन् । कसैले सेवा लिन पाएका छैनन् भने सेवा लिने वातावरण मिलाइदिने काम गर्छन । अहिले नरेशले बाँके र बर्दिया दुवै जिल्लामा उत्तिकै समय दिएर काम गरेका छन् । आर्थिक रूपमा विपन्न वर्गका बिरामीहरुलाई व्यक्तिगत रूपमा पनि सहयोग गर्दै गएका छन् । सहज सेवाका लागि समन्वय र सहकार्य गर्दै आएका छन् । अहिले उनको काम देखेर थुप्रै निजी अस्पतालहरुले बोलाइरहेका छन् तर पनि उनी सरकारी सेवामै रमाई रहेका छन् । उनलाई दोब्बर पारिश्रमिकको अफर आउँदा पनि आफूलाई सरकारले दिएको जिम्मेवारीमै कटिबद्ध भएर काम गर्न रुचि लागेको बताउँछन् । विभिन्न गैर सरकारी निकायबाट आएको अफरलाई उनले सकारात्मक रूपमा लिएता पनि अहिले आफूले गरिरहेको कामलाई नै निरन्तरता दिने उनले बताए । अब बाँकी जीवन पनि स्वास्थ्य सेवामै बिताउने उनले प्रण गरेका छन् । मेहनती, इमान्दार र कर्मशील स्वास्थ्य क्षेत्रका व्यक्तित्व नरेश श्रेष्ठको आगामी जीवन अझै सुखद् र सफल बनोस् । शुभकामना ।