बन्द गर गीतहरू, तिम्रो याद आउने चिजहरु

साँच्चै रहेछ ! उहाँको प्रकाशले म उज्यालो भएको रैछु ! उहाँ गएपछि मेरो सिन्दुर चुरा, पोते सम्पुर्ण श्रृङ्गार हरायो ! म उजाड भए ! रुखबाट छुट्टिएर भुइँमा झरेर हावाले लछारपछार पारेर ठाउँ ठाउँमा च्यातिएको पहेँलो पात जस्तै भए ! साँच्चै उहाँ जुन हुनुहुँदो रैछ । धेरै बेरसम्म आकासमा हेरेर रोइरहें । नरोऊ तिम्रो म छु भनेर मलाई उठाएर साथ दिने मेरो कोही थिएन ।

दिला शाह

सुत्ने कोठाको माथि भित्तामा उनको र मेरो ठूलो फोटो झुन्डिएको थियो । फोटोमा उनले मलाई पछाडिबाट अंगालो हालेर मुस्कुराएका थिए । म रातो साडीमा सजिएकी थिएँ । आँखामा गाजल थियो । हातभरी चुरा, सिउँदोमा सिन्दुरको लालिमा थियो । निधारको रातो टिका र गुलाबी ओठमा लजालु मुस्कान थियो ।

उक्त फोटोलाई हेर्दा सधैं मलाई आफ्नो अतितको याद आउँथ्यो । भर्खरै नयाँ जीवन सुरु गर्दैछु जस्तो लाग्थ्यो । आफ्नो श्रीमानको बलियो साथ, त्यो पल ! म आफुले आफैलाई धेरै भाग्यमानी सम्झन्थें । बिडम्वना, कुनै दिन यस्तो पनि आउला भनेर कल्पना कहिल्यै गरिन ! तर त्यो दिन उक्त फोटो हर्दा मन भक्कानिएर आयो । फोटोमा भएको हाम्रो सुन्दर जोडी, त्यो सुखद पल अब मसँग थिएन । मेरो प्रिय जीवन साथीलाई मैले गुमाएको थिएँ ।

एक जोडी परेवा छुट्टिएका थिए ।

मनमा हजार चिरा परेर आउँथ्यो । कस्तो गाह्रो गरेर भित्र मुटु दुख्थ्यो । स्वास फेर्न मुश्किल हुन्थ्यो ।

फोटोसँगै गुनासो गरें, “मलाई एक्लै छोडेर हजुर कहाँ जानुभयो ? बाँचुञ्जेल साथ दिन्छु भनेर मलाई जिउँदै छोडेर हजुर एक्लै कसरी जान सक्नुभयो ?” हजुर यति धेरै निष्ठुरी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन ।

हामी सधैं सँगै हुन्थ्यौं । कतै कामले बाहिर जानुपर्दा कति पटक फोनमा कुरा गर्नुहुन्थ्यो । तर यत्रो दिन सम्म हजुरको आवाज सुन्न पाएको छैन । हजुर सदाका लागि म बाट टाढा भएको भनेर अहिले पनि मैले विश्वास गर्न सकेको छैन ।

के मृत्युु यति निष्ठुरी छ ?

अब यो घर संसार मलाई सुनसान लाग्छ ! म बिना हजुरलाई न्यास्रो लागेन ?,

धेरै पटक फोटोमा भएको श्रीमानलाई सोधिरहे अहँ ! उहाँ पटक्कै बोल्नु भएन !

कसरी बाँच्नु ? अब एक्लो जीवन ! अब हजुर नै भन्नुस् ! , मैले घन्टौंसम्म फोटोसँग गुनासो गरिरहें ।

दिदीले मेरो अवस्था हेर्न सकिन र फोटो खोसेर अन्तै कतै लुकाएर राखी । उसले फोटो लुकाए पनि उहाँका अनगिन्ती यादहरु मसँग थिए । बैठक कोठामा उहाँका धेरै फोटोहरु थिए । सिसाको दराजभरी उहाँका किताबहरु थिए । प्रमाणपत्र र अन्य कागजातहरुमा पनि उहाँकै अनुहार देखिन्थ्यो । कोठाको भित्तामा लगाएको आसमानी रंग उहाँकै रोजाईको थियो । झ्यालका चक्लेटी पर्दाहरु उहाँकै रहरहरु थिए । जताततै यादै यादको महा संग्राहालयथियो ।

पहिलो यनिभर्सरी डेमा उहाँले दिएको उपहार थियो, उहाँ र मेरो नाम लेखेको लकेट वाला सिक्री । त्यो उपहार हातमा लिएँ । झनै मन भक्कानिएर आयो । क्वाँ क्वाँ गरेर रुन पो थालेछु ! फेरि अर्को कोठामा छोराले सुन्ला भनेर मनमनमा चिच्याएर रोएँ । छोरा छोरीका पास्नी बर्थडे र अन्य रमाइला चाडबाडमा सँगसँगै भएका तस्बिरहरुमा मुस्कुराएका पलहरु सम्झन्छु । त्यहाँ जताततै साथमा थियौं ।

सँगसँगै बगेका नदिका दुई किनार भए झै भयौं ! नदि त छुट्टिए पनि सागर गएर मिल्थे तर हाम्रो मिलन कहिले ? उहाँ खरानी भएर उडिसक्नु भएको थियो ! सत्य त्यही थियो र पनि मनलाई सम्झाउन कठिन भइरहेको थियो ।

तेह्र दिनको कठिन समय सकिएको थियो । सेतो कपडामा बेरिएर क्रिया बस्दै गर्दा आफुले आफुलाई दह्रो गरेर सम्हालें । आफन्त साथी भाई, इष्टमित्रहरु भेट गर्न आउँथे । अलि टाढा बसेर कुराकानी गर्थे । सबैले भन्थे, आत्तिनु हुँदैन । तपाई आफ्ना सन्तानको लागि पनि हाँस्दै बाँच्नु पर्छ । तपाई त साहसी हुनुहुन्छ । आमा हिम्मतको अर्को नाम हो । त्यतिबेला लाग्यो, हो मैले हिम्मत जुटाउनुपर्छ । सन्तानको लागि भए पनि म साहसी आमा बन्नुपर्छ । जति अधुरा सपनाहरू छन् ति सबै मैले पुरा गर्नुपर्नेछ । म कमजोर हुनुहुँदैन ।

सकारात्मक सोचाइलाई प्रवल बनाएकोले होला त्यो समय बिताएँ । कसरी बिताएँ ? उहाँको प्रिय शरीरमा आगोले कसरी झोसे ? अहिले सम्झिँदा अचम्म लाग्छ !

म को हुँ ? आफैसँग प्रश्न गर्छु । उत्तर पाउँदिन । आफ्नो प्रिय जनको मृत्युु यति भयावह हुन्छ भनेर मलाई थाहा थिएन ! छोरी विवाह पछि ज्वाइसँगै अष्ट्रेलियामा बस्छे । ठूलो छोरा बुहारीसँगै अमेरिकामा बस्छ । सानो छोरा काठमाडौंमा बसेर पढ्दै थियो । भर्खर अठार बर्षको उसले उल्टै मलाई सम्झाउँछ । उसको सामु रुन सक्दिनँ ।

लकडाउन छ बाहिर भएका आफन्त सन्तानहरु चाहेको बेलामा कसरी आउन सक्थेर ? सन्तानहरु जहाँ जता भए पनि मेरो लागि उहाँ र उहाँको लागि म थियौं । बच्चाहरु भनेका हामीले श्रृजना गरेका कुरा त हुन् । उनिहरुलाई जे गर्दा खुसी मिल्छ त्यही गर्छन् तर हामी एक अर्काको साथ रहनुपर्छ भनेर चित्त बुझाउँथ्यौ ।

अब कसलाई हेरेर चित्त बुझाउनु मैले ? त्यत्रो दिनको थकाइ पछि छोरा निस्लोट भएर निदाएको थियो । दिदी बहिनीहरु आ आफ्नो घरमा गए । हामी छौ भन्ने साथी भाइ मुखका मात्रै रहेछन् । आखिरमा साथमा कोही नहुने रछेन् ! जे सुखमा हजारौं साथीहरू हुन्छन् । संसार सुन्दर लाग्छ । तर दुःखलाई एक्लै सहनु पर्ने रहेछ ! यो दु:खमा म एक्लो छु ।

रात सुन्दर थियो । पुर्णिमा भएकोले होला आकासमा जून टह टह लागिरहेको थियो । मलाई घरको छतमा जान मन      लाग्यो । बिस्तारै माथि उक्लिए । माथि जाँदा पनि खुट्टाहरु लरखराएका थिए ! कस्तो कमजोर भएँछु !

कस्तो सुनसान ! कस्तो उदासी ! उफ ! म थचक्क भुइँमा बस्छु ।

यादहरु छताछुल्ल भएर पोखिन्छन् । हामी प्राय जून लागेको रातमा हामी छतमा गएर बस्ने गथ्यौै । उज्यालो जूनलाई हेर्दै अनेकौं कुरा गर्थौ । म कहिलेकाही भन्थे, उ त्यो जून उदाउने डाँडामा जान पाए, म बाबु र नानीलाई देख्ने थिएँ । अमेरिका र अष्ट्रेलियामा के गर्दै होलान् ? कसरी सुतेका होलान् ? के खान्छन् ? कस्ता छन् ? आफ्नै आँखाले हेरे आउने थिए ! म पनि जुन हुन पाए सारा संसार घुमेर, उनिहरुलाई एक झलक हेरेर भए पनि आउने थिएँ ।

उहाँ भन्नुहुन्थ्यो,– उनिहरु दिनहुँ कुरा गर्छन् र पनि आमाको मन ! कति चिन्ता गर्छौं ? साथमा भएको जूुनलाई महसुस गर ! म तिम्रो जून होइन ? मसँग साथमा भएर तिमी उज्याली भएकी होइनौं ? हाम्रो उज्यालोले हाम्रो संतानहरुलाई सधैं उर्जा दिन्छ । आशिर्वाद दिन्छ ।, यस्तै यस्तै भनेर उहाँले मलाई हसाउँदै सारा संसारलाई भुलाइदिने माया गर्नु हुन्थ्यो ।

साँच्चै रहेछ ! उहाँको प्रकाशले म उज्यालो भएको रैछु ! उहाँ गएपछि मेरो सिन्दुर चुरा, पोते सम्पुर्ण श्रृङ्गार हरायो ! म उजाड भए ! रुखबाट छुट्टिएर भुइँमा झरेर हावाले लछारपछार पारेर ठाउँ ठाउँमा च्यातिएको पहेँलो पात जस्तै भए ! साँच्चै उहाँ जुन हुनुहुँदो रैछ । धेरै बेरसम्म आकासमा हेरेर रोइरहें । नरोऊ तिम्रो म छु भनेर मलाई उठाएर साथ दिने मेरो कोही     थिएन ।

मनमा लाग्थ्यो, कतैबाट आइपो हाल्नु हुन्छ कि ? टुप्लुक्क मेरो अगाडि उभिएर भने हुन्थ्यो, ए ! तिमी किन रोएको? तिम्रो जून तिमीसँगै छ । भनेर तर सब कुरा मेरो भ्रम मात्रै थियो ।

त्यतिबेला मात्रै मैले बाल्यकालमै बिधवा भएकी अमर न्यौपानेले लेखेको सेतो धरतीकी पात्रलाई सम्झेँ । साँच्चै कथा पो रैछ ! अनि एकल जीवन बिताइरहेका आरती, जयन्ती, दिलमाया, पिमा र अप्सराहरु जस्ता दिदीबहिनीहरुलाई महसुस       गरें !  कठै ! कसरी काटे होलान् ति भयंकर एक्ला रात दिनहरू ? कसरी सहे होलान् समाजका कटाक्ष र घृणाहरु ? कसरी बाँचे होलान् ति महान दिदीबहिनीहरु !

आफुलाई परेपछि पो पिडाको गहिराइ मापन गर्न सकिने रहेछ ! तीज, तिहार, चाडपर्व आउँदा रातै श्रृङ्गारमा सजिने म अब कसरी ति चाडपर्व मनाउला ? कलिलो उमेरमा एकल भएकी महिलालाई सबैले घृणा गर्छन् भन्छन् अब त्यो कुरा म कसरी सहुँला ? बदमास पुरुषका पापी नजर र कटाक्ष म कसरी सहुँला ? जोडिपारीले हातमा हात समाएर सँगसँगै हिडेका दृष्यहरु हेरेर म कसरी मन बुझाउँला ? छोरा बुहारीले एक्ली बुढी भनेर हेला गर्लान् कसरी बाँचुला ? अनगिन्ती प्रश्नहरुले मनमा भुईंचालो गइरह्यो । धेरै बेर सम्म छतमा लडेपछि सुस्त सुस्त उठेर तल झरे ।
उहाँले र मैले माया गरेर रोपेका फुलहरु बगैचामा ओइलाएका थिए । शायद फुलहरुलाई पनि उहाँको अभाव महसुस भयो होला । अनेक थरीथरीका फुलहरु रोप्दै गर्दाका रमाइला यादहरु तछाडमछाम गर्दै भेल बनेर आइरहेका थिए । धेरै समय सम्म ति फुलहरुसँग बसेर रोए । बिस्तारै भित्र छिरे ।

वाथरुममा पसेर धारा खोलेर एक्लै भिजिरहे । कतिदिन उहाँले नुहाउँदै गर्दा उहाँको ढाडको मैलो मिचिदिएकी थिए । म बिरामी पर्दा हात समातेर बिस्तारै वाथरुमा लिएर उहाँले मलाई नुहाइदिनुभएको थियो । त्यहाँ भित्ताको हेङ्गरमा एउवटा नीलो रंगको टावेल झुन्डिएको थियो । त्यो उहाँको थियो । आफ्नै नितान्त ! उहाँ भन्नुहुन्थ्यो, यसमा मेरो मात्रै हक छ । तिमीले मायाले किनेर दिएको यो मेरालागि प्रिय छ । उहाँको मनपर्ने रंगको टावेल मैले नै उहाँलाई दिएकी थिए ।

टाबेल समाएर छातीमा टाँसेर रोए । उहाँको शरीरको सुगन्ध अझै थियो ! झनै कल्पिएर रोए ।

उहाँलाई अचानक ज्वरो आउन थालेपछि अस्पतालमा लिएर भर्ना गरेकी थिए । उहाँ भन्नुहुन्थ्यो, रोग, नदि, आगो जस्ता कुरासँग लापरबाही गर्नुहुँदैन । समयमै उपचार गर्नुपर्छ । हामी सचेत थियौं । उपचार गर्दागर्दै छट्पटीदै उहाँले संसार छोड्नुभयो । त्यसैले अचेल मलाई अस्पताल मृत्यु खाना जस्तो लाग्छ । अस्पतालका डाक्टर नर्स दिनरात नभनेर उपचारमा खटिएका थिए । तर पनि उहाँलाई बचाउन सकेनन् । शायद उहाँको मिति पुगेको हुनुपर्छ तर पनि उहाँले सधैंको लागि आँखा बन्द गरेको त्यो ठाउँ सम्झिनै मन लाग्दैन ।

संसारका धेरै मानिसहरुले आफन्त गुमाएका छन् तर आफुलाई आफ्नै पीर ठूलो लाग्दो हो शायद ! पापी कोरोनाले मेरो शरीरको आधा अंग नै खोसेर लगेको अनुभव भएको छ । सँगसँगै मिलेर सजाएका सपना, हाम्रो सानो घर संसारमा हामी कति खुसी थियौँ । जताततै उहाँका यादहरु अनगिन्ती छन् । यस्तो लाग्छ, सबै कुरा भुलाइदिने दवाइ पनि बनाउनुपर्ने बैज्ञानिकहरुले !

ओछ्यानमा जान्छु फेरि मन मुटु टुक्राटुक्रा भएर दुख्छ । बार्दलीमा जान्छु छुट्टै यादहरुले सताउन थाल्छन् । कहाँ जाऊ ? के गरुँ ? कसो गरुँ ?
मनभित्र हनहनी आगो बलेको महसुस हुन्छ ! कति रुनु अब आँसुहरु पनि सकिएका छन् ! निः शब्द दिल टुटिरहेको छ !

टाउको उठाएर हेर्छु , जून पश्चिममा अस्ताउँदै थियो । बिहान भएछ ! नजिकैको मन्दिरमा शंख घंटको आवाज आउँदै थियो, टाढा कतैबाट अल्लाहको ध्वनि गुन्जदै थियो , तातो हावा उस्तै चलेको थियो । हरेक बिहान यिनै आवाजहरुसँगै हामी उठ्थ्यौ ।

तर अबका हर बिहान म एक्लै उठ्ने छु ? आफुले आफैलाई प्रश्न गर्छु । रात रोएरै बितेको थियो । बिहानले पनि उहाँकै याद अँझ धेरै बोकेर ल्याएको थियो । जहाँ जाऊ, जे गरुँ मात्रै उहाँको सम्झना आउँथ्यो ।

लाग्यो, यो संझिने मन नभैदिए पनि हुन्थ्यो नि ! हरेक कुरामा उहाँकै यादहरु छन् । उहाँका यादहरु भुलाउने कुनै ठाउँ छैन !
भर्खरै स्वर्गारोहण हुनुभएका सबैका प्रिय गायक, प्रेम ध्वज प्रधानले गाएको गीत मैरै लागि गाए जस्तो लाग्यो –

पर लैजाऊ फुलहरु,
छोपिदेऊ तारा जुन,
बन्द गर गीतहरू,
तिम्रो याद आउने
सबै चिजहरु….

(कोभिड १९ का कारण जीवन साथी गुमाएका प्रियजनहरुमा समर्पित)

 

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech