म अछामको मान्छे । ९ कक्षा पढ्दा महिनावारी भएपछी एसएलसी पास भइ जिल्ला नछोड्दासम्म करीब दुई वर्ष छाउगोठ बसेको अनुभव छ ।
पेशागत कामको सिलसिलामा करिबकरिब देशभरका मान्छेसङ्ग सम्बन्ध र सम्पर्क भयो । मेचीदेखि महाकालीसम्मका भूइँ मान्छेदेखि मै हुँ भन्नेसङ्ग चिनजान भो, सङ्गत भो ।
कर्णालीवारीका प्राय मान्छेले म सुदूरपश्चिमको भन्ने थाहा पाएपछी सोध्छन्, ुसुदूरपश्चिममा कस्तो छाउपडी छ है ।
उहाँहरूको बुझाई सुन्दा कतिपयलाई जवाफ दिएकी छु, ुहो हाम्रोमा छाउपडी छ्न् । छाउपडी महिला नहुने हो भने त मानव बस्ती नै कसरी हुन्थ्यो र ?
तपाईंहरू मध्ये धेरैलाई थाहा छैन । अछाम लगायतका जिल्लामा छाउपडी भनेर महिनावारी भएकी महिलालाई बुझिन्छ । अहिले म महिनावारी भएकी छु, घर भन्दा अलग बसेकी छु भने मलाई छाउपडी (महिनावारी भएकी महिला) भनेर बुझिन्छ ।
तर अचम्म त के भने कथित सम्भ्रान्तहरू, सहरियाहरू, जन्मिदै किताबको भारी बोकेर बोर्डिङ स्कुल जाकिएकाहरू, सर्टिफिकेटका लागि दुई चार वर्ष विदेश बिताएर आएकाहरू हाम्लाई सिकाउन आउछ्न्, कक्षा दिन आउछन् र भन्छन्, आछाम, छौपडी ।
ए भगवान, महिनावारी प्रथा कहाँ छैन भन्या ? झापामा छैन ? सोलुखुम्बुमा छैन ? जहाँ जहाँ नेपाली अझ हिन्दूहरू छन् , त्यहाँ त्यहाँ महिनावारी बारिन्छ । मेरा आफन्तहरू अमेरिका छन्, अस्ट्रेलिया छन्, अफ्रिका छन्, साउदी छन्, त्यहाँ पनि उनीहरू महिनावारी बार्छन् । मेरा साथीहरू सुदूरपश्चिमका भन्दा पूर्वेली धेरै छन्, उनीहरूको घरमा चार पाँच दिनसम्म महिनावारी भएकी महिलालाई अलग राखिन्छ । अनि छाउपडी भनेर सुदूरपश्चिमको मात्रै बदनाम किन ? केका लागि ? कहिलेसम्म ? जिब्रो बटार्दैमा, लवज बिगार्दै, शब्द र त्यसको भावलाई बागमतीमा सेलाउँदैमा सभ्य भइदैन, शिक्षित भइदैन । त्यो त केवल पाखण्डीपन मात्रै हो ।
माफ गर्नुहोला, रिस र डाह कसैको शहरियापनसङ्ग होइन, हुन सक्दैन र हुनु पनि हुन्न । तर कोही कर्णालीवारीको शहरिया हुँदैमा सुदूरपश्चिमलाई हेप्न पाउनु पर्छ भन्ने सोच गलत हो । हानिकारक हो । सिङ्गो सुदूरपश्चिम र त्यहाँका मान्छेमाथिको अपमान हो । यो स्वीकार्य छैन, हुनुहुन्न ।
हे सुदूरपश्चिमवासी हो, तिमीहरूको एकता अब छाउ भन्ने शब्दविरुद्ध पनि हुनुपर्छ है ।
र साफेबगर नगरपालिका अछामका मेयर कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिका अछामका अध्यक्ष हर्क साउद, उपाध्यक्ष माया कुँवर र संसदको महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल, अभियन्ता पशुपति कुँवर, पत्रकार मेनुका ढुंगाना लगायतलाई सलाम, जसले गत वर्ष अछामका छाउगोठहरूको नामोनिसान मेटाउने कामको अभियान थाले ।