भनिन्छ देखेको भन्दा लेखेको हुन्छ । यो पुरानो उखान नेपाली समाजमा प्रचलित छ । कहिलेकाही मान्छेले सोचेको र देखेको भन्दा फरक बाटोमा हिँड्नुपर्नेे अवस्था आउँछ । हरेक मान्छेले बाल्यकालमा आफ्नो भविष्यको लक्ष्य निर्धारण गरेका हुन्छन् । धेरै मान्छेहरुको बाल्यकालको इच्छा र लक्ष्य एउटा हुन्छ भने पछि गएर लक्ष्य परिवर्तन भएको उदाहरणहरु धेरै छन् । त्यस्तै मध्येका एक हुन् स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह । बुवा स्व. कृष्णबहादुर शाह र आमा स्व. गगन कुमारी शाहको कोखबाट विक्रम संवत् २०१९ साल साउन ११ गतेका दिन नेपालको तत्कालीन कर्णाली अञ्चल हालको कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको रारा पञ्चायतमा शाहको जन्म भएको थियो ।
उनले सोचेका थिएनन् विकट क्षेत्रमा जन्मिएको व्यक्ति युवा अवस्थामै जागिर खाएर भविष्यमा कुनै सरकारी कार्यालयको प्रमुख भएर जनताको सेवा गर्ने अवसर आउला भनेर । सामान्य कृषक परिवारमा जन्मिएको मान्छेले यस्तो अवसर पाउँछु भन्ने सपना पनि थिएन शाहमा । कृषक परिवारमा जन्मिएका उनले सानै उमेरमा पढाइ सुरु गरे । बुबा आमाले कृषि पेशा गर्ने र परिवारमा पढेलेखेको र जागिर गर्ने व्यक्ति कोही नभएकाले उनलाई पढ्नका लागि त्यति सहज भने थिएन । शाहको पालामा गाउँमा एसएलसी पास गरेको मान्छेनै थिएनन् । पढ्नलाई गाउँमा नत विद्यालय थियो न त पढाउने शिक्षक नै । गाउँकै व्यक्तिहरु मिलेर सामान्य लेखपढ गर्ने गरी बनाएको सामुदायिक विद्यालय (पछि रारा प्राविको रुपमा नामाकरण भएको) मा सानै उमेरमा उनले पढाइ सुरु गरे । उक्त विद्यालयमा पढाउने शिक्षकहरु सामान्य लेखपढ गरेका व्यक्तिहरु थिए । शाहले कखरा देखि कक्षा ५ सम्म त्यही विद्यालयमा पढे । बिना कापी किताबको पढाइ हुन्थ्यो त्यतिबेला त्यो ठाउँमा । अहिलेको जस्तो न त पाठ्यपुस्तक थिए, न कापी कलम, न त लेख्ने कालोपाटी । सामान्य लेखपढ गरेका गाउँले शिक्षकहरुले धुलेपाटीमा (माटोको धुलोमा) लेखेर पढाइ हुने गरेको शाह बताउँछन् । बिना पुस्तक मौखिक रुपमा पढेर कक्षा १ देखि ५ सम्म पुगे शाह । सामान्य परिवारमा जन्मेका शाहलाई घरको आर्थिक समस्याको कारण बजारको राम्रो विद्यालयमा पढ्न जान सक्ने वातावरण थिएन । तर पनि बिहान साँझ घरको काममा सघाएर भए पनि पढाइलाई निरन्तरता दिँदै गए । सानैदेखि मेहनती र लगनशील भएको कारण पढाइमा कहिल्यै फेल भएनन् । बिदाको दिन साथीभाइसँग गाई गोरुको गोठालो लागेर जंगलमा जाने र अरु दिन विद्यालयमा गएर बित्थ्यो उनको बाल्यकालको समय । पढाइका अलावा घरको काममा धेरै समय खर्च गर्ने उनको भविष्यको सपना वकिल हुँदै न्यायाधीश बन्ने थियो । सुरुमा न्यायाधीश बन्ने इच्छा भए पनि विस्तारै गाउँका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुले बिरामीहरु जाँचेको, झोला बोकेर गाउँमा बिरामीको उपचार गर्न गएको देखेर शाहको इच्छा परिवर्तन भयो । स्वास्थ्यकर्मीहरुबाट प्रेरित भई स्वास्थ्यकर्मी बनेर विकट गाउँमा जनताको सेवा गर्ने लक्ष्य बनाए उनले । जहाँ इच्छा त्यहाँ उपाय भने झैं अथक मेहनत, निरन्तरता र प्रतिबद्धताका कारण उनको सपना पूरा भएरै छाड्यो । बाल्यकालमा साथीभाइसँग बाल खेल खेल्न मन पर्ने भए पनि घरको कामले गर्दा खेल्न पाउने समय पनि पाएनन् शाहले । सानैदेखि समाज सेवा र सृजनानात्मक काममा रुचि भएका शाह सामाजिक भावना भएका एक इमान्दार, सरल, कर्तव्यनिष्ठ, कर्मठ राष्ट्रसेवक हुन् ।
सामान्य परिवारमा हुर्किएले प्राविसम्म गाउँकै स्कुलमा पढेका शाहले ६ देखि ८ कक्षासम्म सुर्खेतको जन माविमा अध्ययन गरे । गाउँको सामान्य विद्यालयबाट सुर्खेत झरेका उनलाई सुर्खेमा घुलमिल हुन समस्या भएको थियो । एकैपटक सुर्खेत आएपछि पाठ्यपुस्तक र कालोपाटी देख्न पाएको शाहको अनुभव छ । कक्षा ८ सम्म जन मावि सुर्खेतमा पढेका शाह फेरि २०३६ सालमा मुगुको महाकाली मावि गमगढीबाट एसएलसी गरे । एसएलसी पास गरेपछि शाहले आफ्नो इच्छा अनुसार २०३९ सालमा सुर्खेतको सिएमए क्याम्पस (त्रिविवि) बाट सिएमए पास गरे । सिएमए पढ्दै गर्दा उनको परिवार २०३५ सालमा बाँकेको साबिक चिसापानी गाविस हालः बैजनाथ गाउँपालिका वडा नम्बर १ मा बसाइँ सरेर आएको थियो । तत्कालीन समयमा सरकारले बस्ती नै सारेर बर्दियामा व्यवस्थापन गरेको थियो । १ वर्ष बर्दियामा बिताएपछि बस्तीनै बाँकेको चिसापानीमा सरेको थियो । बस्तीनै मुगुको राराबाट आएको हुनाले त्यो बस्तीको नामै रारा बस्ती रहेको छ । सिएमए पास गरे लगत्तै शाहले बाजुरामा अस्थायी जागिर गर्ने अवसर पाए । स्वास्थ्य चौकीमा अहेवको रुपमा नियुक्त पाएका शाहले २० वर्षको कलिलो उमेरमै जागिर पाएर जनताको सेवा गर्ने अवसर पाए । ६ महिनासम्म बाजुरामा काम गरेका शाहलगत्तै भेरी अस्पताल नेपालगन्जमा सरुवा भइ काम गरे । शाहले जागिर सुरु गर्दा ३ सय ९० रुपैयाँ तलब थियो । अस्थायी सेवामा कार्यरत रहेकै समयमा २०४१ सालमा अहेव पदमा नाम निस्किएपछि स्थायीी रूपमा जुम्ला अस्पतालमा उनको पोस्टिङ भयो । स्थायी रुपमा काम सुरु गर्दा उनको तलब वृद्धि भई ७ सय १५ पुगेको थियो । दुई वर्ष जुम्ला अस्पतालमा काम गरी सकेपछि शाह एचए पढ्नलाई विधा लिएर त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज पुगे । एचए पढाए सकेलगत्तै २०४६ सालमा हेल्थ असिस्टेन्ट पदमा नाम निकाली गमगढी स्वास्थ्य चौकी मुगुको प्रमुखको रुपमा पोस्टिङ भयो । २०४९ सालसम्म मुगुमा काम गरेपछि फेरि उनी बि.पी.एच अध्ययनको लागि महाराजगन्ज गए । २०५१ मा विपीएच गरेका शाहले त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जबाट एमपीएच गरेका छन् ।
पढाइमा कहिल्यै नथाक्ने शाहले २०५१ देखी २०५४ सम्म गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निमित्त प्रमुख र २०५४ देखि २०६० सम्म जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा काम गरेका शाहले २०६१ मा जनस्वास्थ्य अधिकृत पदमा लोकसेवा आयोगबाट देशैभरबाट पहिलो नम्बरमा नाम निकाली स्वास्थ्य कार्यालय दैलेखमा सिफारिस भए । २०६१ देखि ६४ सम्म दैलेखमा काम गरेका शाहले २०६४ देखि २०६६ सम्म मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतमा काम गरिसकेका छन् । २०६६ सालमा वरिष्ठ जनस्वास्थ्य अधिकृतमा बढुवा भएका उनले २०६६ देखि २०६८ सम्म जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा निमित्त कार्यालय प्रमुख, स्वास्थ्य कार्यालय सल्यानमा ८ महिना निमित्त कार्यालय प्रमुख, २०६९ देखि २०७० सम्म कालिकोट स्वास्थ्य कार्यालयको निमित्त कार्यालय प्रमुख, २०७० देखि २०७२ सम्म स्वास्थ्य कार्यालय जाजरकोटको निमित्त प्रमुख, २०७२ देखि २०७३ सम्म जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको निमित्त कार्यालय प्रमुख, २०७३ देखि २०७४ सम्म स्वास्थ्य कार्यालय जाजरकोटको निमित्त प्रमुख, २०७४ मा जनस्वास्थ्य प्रशासक ९ औँ तहमा बढुवा भई २०७४ देखि २०७६ सम्म स्वास्थ्य कार्यालय सुर्खेतको कार्यालय प्रमुखको रूपमा काम गरी सकेका धिरजंग शाह २०७६ को कर्मचारी समायोजनपछि २ वर्षदेखि स्वास्थ्य कार्यालय बाँकेको कार्यालय प्रमुखको रुपमा कार्यरत छन् ।
आफूले काम गर्ने कार्यालयमा आफ्नो कार्यकालमा इमान्दारितापूर्वक केही नयाँ र सकारात्मक काम गर्नु पर्छ भन्ने विचार बोकेका शाह जहिले पनि कार्यालयको काममा बढी व्यस्त देखिन्छन् । नागरिकका कुरा सुन्ने, सकारात्मक जवाफ, समयमा सही निर्णय, समान व्यवहार, संस्थागत जिम्मेवारी, जनताप्रति जवाफदेहिता, जस्ता विषयमा ध्यान दियो भने सेवाग्राहीलाई सन्तुष्ट पार्न सकिन्छ भन्ने विचार भएका शाहले जुन जुन ठाउँमा काम गरे त्यहाँ केही न केही नयाँ काम गरेर छाप छोड्न सफल शाहको ३६ वर्षे जागिरे जीवनमा कुनै पनि किसिमको आरोप लागेको छैन ।
बाँके जिल्ला जनस्वास्थ्य कार्यालयमा रहँदा जिल्लाहरुको कार्य सम्पादन मूल्याङ्कन अघिल्लो वर्ष २० औं स्थानमा रहेकोमा २०६÷२०६७ मा बाँके जिल्ला चौथो स्थानमा रहेको, २०६७ श्रावण महिनामा नेपालगन्ज नगरपालिकालगायत केही अन्य स्थानमा फैलिएको हैजाको माहामारी दुई हप्ताभित्रमा पूर्ण नियन्त्रणमा आएको, २०७१÷०७२ मा स्वास्थ्य कार्यालयहरुको कार्य सम्पादन मूल्याङ्कनमा जाजरकोट जिल्ला अघिल्लो वर्ष ५४ औं स्थामा रहेकोमा २२ आंै स्थानमा पर्न सफल भएको, जाजरकोट जिल्लामा तत्कालीन ३० गाविस मध्ये २४ गाविस पूर्ण खोप गाविस घोषणा गरिएको, २०७१ साल चैत्र महिनामा जाजरकोटमा फैलिएको स्वाइन फुलु एक महिनाभित्रै नियन्त्रणमा आएको, २०७३÷७४ मा जिल्ला स्वास्थ्य कार्यालयहरुको कार्य सम्पादनमा सुर्खेत जिल्ला प्रथम भएको, २०७५ वैशाख ३० गते सुर्खेत जिल्लालाई पूर्ण खोप जिल्ला घोषण गरेको, बेरुजु रकम फछ्र्यौट गर्ने क्रममा दुईपटक पुरस्कृत भएको, विगत १० वर्षबाट प्रत्येक वर्ष बाँके जिल्लामा सञ्चालित हात्तीपाइलेको आम औषधि सेवन कार्यक्रममा २०७६÷०७७ मा विगत ५ वर्ष यताकै उच्च प्रगति (७४%) प्राप्त गर्न सफल भएको, देशका ५८ जिल्लाहरु पूर्ण खोप जिल्ला घोषण भई सक्दा पनि बाँके जिल्ला पूर्ण खोप घोषण हुन नसकेको अवस्थामा मिति २०७७ चैत्र ६ गतेका दिन बाँके जिल्ला पूर्ण खोप जिल्ला घोषण भएकोलगायतका सकारात्मक कार्यहरु शाहको नेतृत्वमा भएका छन् ।
बाँके जिल्लामा कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदै गर्दा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा शाहको नेतृत्वमा स्वास्थ्य कार्यालय सुरुबाट नै निरन्तर रूपमा सक्रिय रहँदै आएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका केही क्रियाकलाप सुरु गर्न २०७६ माघ २४ गते (लुम्बिनी प्रदेशमा पहिलो सुरुवात) सरोकारवालासँगको समन्वय बैठक भई सचेतनामूलक क्रियाकलापका लागि जिम्मेवारी बाँडफाँड तथा सहभागिताको निर्णय गरिएकोमा जिल्लाका सीमा नाकाहरु जमुना, सुइया बगोडा, विमान स्थलमा हेल्थ डेस्क स्थापना, क्वारेन्टाइन निर्माणका लागि मापदण्डलगायत समायानुकूलका केन्द्र तथा प्रदेशका जानकारी तथा परिपत्रहरुसहित पालिकासँग समन्वय तथा सहजीकरण, सुरुको अवस्थामा जिल्लामा पिसीआर परीक्षण हुन नसकेको अवस्थामा स्वावहरुको संकलन तथा ढुवानीको व्यवस्था, संक्रमणको शंका भएका बिरामी तथा समूहहरुको तथा क्वारेन्टाइनको अवधि पूरा गरेकाहरुका लागि आरडिटी तथा पिसीआर का लागि स्वाब संकलन, कन्ट्याक्ट टे«सिङ, आरडिटी तथा पिसीआर स्वाब संकलन तथा परीक्षणबारे प्रदेशको समन्वयमा स्थानीय पालिकाहरुका स्वास्थ्यकर्मी टिमलाई तालिमको व्यवस्था, केन्द्र सरकारबाट प्राप्त हुने कोभिड–१९सुरक्षा सामाग्रीहरुको माग गर्ने र सुरक्षा तथा सव व्यवस्थापनका लागि वितरण, हेल्थ डेस्क स्थापनाको समयबाट नै नाकामा एम्बुलेन्सको आलोपालो परिचालनका लागि एम्बुलेन्स संचालन समितिसँग समन्वय, संक्रमितहरुलाई अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा एम्बुलेन्समा बिरामी ओसारपोसारमा सहयोग, अनुगमन तथा सुपरीवेक्षण क्वारेन्टाइन, हेल्थ डेस्क, आइसोलेसन केन्द्रहरुमा रहेकाहरुको साथै अवधि पूरा गरी घर फर्किएकाहरुका लागि जनस्वास्थ्य मापदण्डहरु पालनाका लागि स्थानीय सरकारसँग निरन्तर समन्वय तथा सहकार्य, डिडिएमसीको बैठक र बैठकका निर्णयहरुको कार्यान्वयनका साथै प्रमुख जिल्ला अधिकारी ज्यूको निर्देशन अनुसार कार्य गरेको, केन्द्र, प्रदेश तथा डिइओसी बीच समन्वय गर्दै कोभिड–१९ को निर्धारित ढाँचामा तथ्यांकको व्यवस्थापन, पछिल्लो समय कोभिड १९ को दोस्रो लहरको नियन्त्रण रोकथाममा सहभागी हुँदै प्राप्त एन्टिजेन परीक्षण र कोभिड–१९ को खोप दिने कार्यमा डिसीएमसी तथा स्थानीय तहहरुको सहकार्यमा संलग्नलगायतका कार्यहरु शाहले नेतृत्व गरेको स्वास्थ्य कार्यालयबाट भएका छन् ।
ऐन, नियम, कार्यविधि, र निर्देशिकाको पूर्ण पालना गरेर काम गर्दा कसैबाट पनि गुनासो सुन्न नपर्ने बताउने शाह भ्रष्टाचार पद विशेषले नभई नियतवश गर्ने कुरा हो भन्छन् ।
स्वास्थ्य कार्यालय बाँकेको कार्यालय प्रमुख भएर काम गर्न पाउनु अवसर, चुनौती र सम्भावनाको रुपमा लिएका उनले विभिन्न केही सुगम र धेरै बिकट क्षेत्रमा काम गरिसकेको अनुभव छ । स्वास्थ्य क्षेत्रमा कर्मचारीको दरबन्दी मिलान हुन नसक्नु, केही ठाउँमा आवश्यक्ता भन्दा कम र केही ठाउँमा बढी कर्मचारी हुनु, पछिल्लो केही वर्ष आमा मृत्युदर बढ्नु, नयाँ सरचना भएकाले स्वास्थ्य सेवाले गति लिन नसक्नु, जिल्ला जनस्वास्थ्य कार्यालय हुँदा हरेक कार्यक्रम अनुसारको फोकल पर्सन भए जसरी हाल पालिकामा त्यो व्यवस्थापन हुन नसक्नु, समयमा औषधी खरिद हुन नसक्नु, स्वास्थ्य कार्यालयको भूमिका कटौती हुनु, औषधी खरिद प्रक्रिया व्यवस्थित हुन नसक्नु जस्ता विषय बाँके जिल्लाका स्वास्थ्य क्षेत्रका समस्या तथा चुनौतीको रुपमा रहेको शाहको अनुभव छ ।
नेपाल सरकारले बनाएका नीति, नियम अक्षरशः पालना गरी जवाफदेहिता र पारदर्शिताका पक्षमा प्रतिबद्ध रहेका शाह मिलनसार र सरल स्वभाव भएका सरकारी अधिकारी हुन् । प्राप्त जिम्मेवारी प्रभावकारी हिसाबले सम्पादन गर्दा मात्र पनि उदाहरणीय बन्न सकिन्छ भन्ने मान्यता बोकेका शाह लोभ लालच नदेखाउने, कार्यालय मितव्ययी हिसाबले चलाउने, सबैलाई समान व्यवहार गर्ने, राजनैतिक हिसाबले तटस्थ रहने, विवादरहित निर्णय गर्न सक्ने भएमा मातहतका कर्मचारीहरुका लागि प्रेरणाको स्रोत बन्न सकिने बताउँछन् ।
क्षमता अनुसारको जिम्मेवारी, कामको उचित मूल्याङ्कन, उचित प्रशंसा र प्रोत्साहन, जिम्मेवारी अनुसाारको सेवा, सुविधा, समयबद्ध बढुवा र काम गर्ने वातावरण भयो भने काम गर्दा आत्म सन्तुष्टि मिल्ने शाहको भनाइ छ । थाइल्याण्ड, भारत, जापान र नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका शाह यस वर्ष सम्मानीय राष्ट्रपतिबाट “प्रवल जनसेवा श्री पदक” बाट सम्मानित भएका छन् । विभिन्न जिल्ला स्वास्थ्य कार्यालयहरुमा काम गर्ने क्रममा मन्त्री, सचिव र सांसदको हातबाट सम्मानित तथा पुरस्कृत भएका शाह विभिन्न संघ संस्थाबाट समेत सम्मानित भएका छन् । नमुना कार्यालय बनाउने, फरक तरिकाले सेवा प्रदान गर्ने शाहको अबको लक्ष्य रहेको छ ।