विदेश लिने दलालले धोका दिएको रहेछ । मलेसिया पुगेको दुई महिनामै म भागेर नेपाल आएँ । त्यहाँ पाएको दुख वर्णन गरेर साध्य नै छैन । विदेश जाँदा घरमा आमा, श्रीमती र सानो छोरीलाई आश्वस्त पारेको थिएँ, तिम्रा हरेक इच्छा आकाङ्क्षा र रहरलाई पूरा गर्ने छु भनेर । बुवा बिरामी हुँदा लागेको ऋण पनि तिर्न बाँकी थियो । बुढी आमाको फाटेको चोलो फेरिदिने इच्छा थियो । श्रीमतीलाई एकसरो सुनगहना लगाइदिने ठूलो धोको थियो । छोरीलाई राम्रो स्कुलमा पढाउने रहर थियो । त्यहीँ रहरले मलाई डोर्याउँदै मलेसियासम्म लगेको थियो । आखिर सोचे जस्तो कहाँ हुन्छ र । सोचेजस्तो सजिलै मेरा रहरहरू पूरा हुनुको साटो सबै कुरा लथालिङ्ग भएको थियो । जीवन अस्तव्यस्त र छताछुल्ल भएको थियो । बुबाले सम्हालेर राखेको गैरी खेत पनि साहूको नाममा सबै बन्दगीमा थियो ।
काठमाडौं झरेपछि म गाउँमा जान सकिन । कति धेरै आशामा बसेकी मेरी आमाको अगाडि खाली हात जान सक्ने हिम्मत मलाई आएन । श्रीमतीका सप्तरंगी सपनाहरू ओइलाएको हेर्न सक्ने आट मेरो नयनमा थिएन । सानी मुनाका रहरहरूलाई पूरा गर्नु थियो । विदेश जाँदै गर्दा आमाले निधारमा टीका लगाएर आशीर्वाद दिँदै “धेरै पैसा कमाएर आउन, शत्रु बैरीका आँखा उँधो गर्नु, धनी बन्नु, छोरा छिट्टै आउनु, म बाटो पर्खेर बस्ने छु भनेको कुरा सम्झिरहन्छु ।” आमाका शब्द आशा र भरोसा सम्झन्छु । घर जान भनेर धेरैपटक गाडी चढे पनि घर जान सक्ने हिम्मत ममा कहिल्यै आएन । एक दिनको कुरा हो घर जान भनेर चढेको गाडीबाट झरेर रत्न पार्कको गेटको वरिपरि फनफनी घुमिरहेको थिए त्यतिबेलै एकजना अधबैंसे व्यक्ति मेरो नजिकै आएर मलाई सोधे, “ए भाइ के खोजेको ? अघिदेखि नै तिमीलाई यतैतिर धेरै चक्कर लगाएको देखिरहेको छु । कहाँबाट आएको ? कहाँसम्म जाने हो ?”
मलाई औडाहा भएको थियो । मनको भाव कतिबेला ? कोसँग पोखुँ जस्तो लागेको थियो । उक्त अधबैंसे व्यक्तिसँग मैले आफ्ना सबै कुराहरू बिस्तारै बताउँदै गएँ । काठमाडौंमा केही काम खोजिदिन पनि अनुरोध गरें । विदेश गएको र दलालले दिएको दुखका कुरा सबैलाई सुनाए । आफूले जसरी पनि यतै काठमाडौंमा केही काम गर्न पाए घरमा परिवारलाई केही पनि खबर नगर्ने आफू विदेशमै भएको बताउने कुरा गरें । उक्त व्यक्तिले हाँस्दै मलाई तलदेखि माथि सम्म हेरें । म अलमलमा परेर उसलाई हेरें । उक्त व्यक्तिले आफूसँग साथमा जान आग्रह ग¥यो । केही काम खोजिदिने प्रतिबद्धता पनि ग¥यो । बेलुका उसको घरमा गएर बसें । खानपिन मेजमानी भयो । बिहान सम्बन्धित कामवाला व्यक्तिसँग भेटघाट हुने भयो । काठमाडौंमा भोलि पाइने जागिर कस्तो होला ? भनेर म धेरैबेर सोचिरहेको थिएँ । धेरै दिनदेखिको भोको म आनन्दले खाएर सुतें । उसको घर आलेसान महल जस्तो थियो । धेरै दिनपछि म ढुक्कले निदाएँ ।
भोलिपल्ट उसले भने अनुसार जागिरको लागि भेट गराउन लग्यो । म उसको पछि पछि लागेर गएँ । केही समयपछि एकजना महिलासँग भेट भयो । उनले सरासर एउटा सुन्दर घरमा लिएर गइन् । घरको भव्यता सुन्दरता र सजावटले मलाई चकित बनायो । अत्यन्तै आकर्षक विदेशी स्टाइलमा बनाएको घरमा कुनै कुराको पनि कमी थिएन । मैले सोचेको थिए, कुनै कम्पनीको मालिक्नी हुनु पर्छ या कुनै संघसंस्थाको प्रमुख हुनु पर्छ, या सरकारी निकायको प्रभूत्व व्यक्ति हुनु पर्छ । तर उनी अरू केही नभएर भूपू इन्डियन लाहुरेको श्रीमती रहिछिन् । जे होस् मलाई काम र पैसासँग सरोकार थियो ।
उनको र मेरो कुराकानी भयो । उनले धेरै कुराहरू केही भनिनन्, “काम गर्छौं म कहाँ” उन्ले भनिन् । “हजुर मेम म जे पनि काम गर्छु । म एकदम अप्ठ्यारोमा परेको छु ।” एकै स्वासमा आफ्नो सम्पूर्ण कुरा व्यक्त गरें । उनले भनिन्, पैसाको चिन्ता नगर, तिम्रो जीवन मालामाल हुन्छ । तर मैले भने अनुसार सम्पूर्ण काम हुनु पर्छ ।” हस् मेम मैले जवाफ दिए ।
हो तबदेखि म बलात्कार भएको छु । हर रात उनलाई यौन सुख दिनु पर्ने ! खान बस्न र मासिक तलब एक लाख भन्दा बेसी नै हुन्छ । म हर महिना एक लाखै तलब पूरै घरमा पठाउँछु । आमा र श्रीमती घरमा खुसी छन् । नानीले राम्रो बोर्डिङ स्कुलमा पढेकी छ । मैले आफ्नो सत्यता किन भनुँ ? म पुरुष भएकै कारण समाजले मलाई यो जिम्मेवारी दिएको छ कि, घर परिवार बालबालिका सबैलाई तैले खुसी राख्नु पर्छ । त रुनु हुँदैन । हर हालमा तैले परिवारको खुसी समेट्नु नै पर्छ ।
जबदेखि मेरा बाध्यताले मलाई बलात्कृत बनायो म पनि आफ्ना सर्तहरू राख्दै गएँ । उनलाई यौन सुख मिल्न थालेपछि मलाई क्रमशः उनले काठमाडौंको मेन चोकमा भएको घर जग्गा मेरो नाममा पास गरिदिइन् । गाडी र अन्य सुविधा सबै भरपुर छ । घरमा आमा र श्रीमतीले सोचिरहेका छन्, विदेशमा त आहा ! मालामाल रहेछ ! तर, मैले जे जति पाए पनि, मनको खुसी पाउन सकेको छैन । धेरै बाध्यताले थिच्दा आफ्नो आमा जस्तो उमेरको महिलासँग अस्तित्व लुटाउँदै गर्दा एउटा पुरुष कसरी खुसी हुन सक्छ र ? हर रातमा आफ्नो पुरुषत्व स्खलन गर्दै गर्दा मेरा आँखाहरू रोएका छन् । मन फाटेर हजारौं टुक्रा भएको छ । मनले हर साँझ प्रियसीको साथ खोज्दै गर्दा म कतै जबर्जस्ती लुटिएको छु ! हुन त ऊ पनि महिला हो तर उसमा न आमाको गन्ध छ न मेरो प्रियसीको सुगन्ध छ ! छ त खाली पैसाको खेल बुलन्द छ । म लाचार पुरुष ! हर साँझ लुटिँदै गर्दा पलपल मरिरहेको अनुभव गर्छु ! सत्ताइस वर्षको लक्का जवान म कुनै दिन शिथिल हुन्छु ! मन नै थाकेपछि शरीर कसरी सक्रिय हनु र ? तब म जबरजस्तीमा परेको छु । चोट खाएको छु । चुरोटका बल्दा ठुटाहरूले पोलिएको छु । म अस्तित्व गुमाएको पुरुष हुँ । म मेरो देशले बेवास्ताले लत्याएको पुरुष हुँ ! परिवारका खुसीका खातिर आफ्नो आस्था र पुरुषत्व गुमाएको पुरुष हुँ …!
बेनाम पुरुष, काठमाडौं , नेपाल