के बाँकी रहन्छ र अरू ? विश्वास टुटेपछि !
नबचाऊ अब हे ईश्वर ! मलाई,सबै लुटेपछि !!
एक्काइस वर्षको हाम्रो जीवन यात्रा अचानक टुङ्गिएको थियो । सुबोधसँग मेरो यात्रा तय गर्दा म मात्र १६ वर्षको थिएँ । धेरै पढ्ने मेरो सपनालाई तिलाञ्जलि दिएर म बुवाले कन्यादान गरिदिएको केटा सुबोधसँग पराइ घरमा गएकी थिएँ । बुवासँग बिन्ती पनि गरेको थिएँ, मलाई विवाह गर्नु छैन । म विवाह गर्दिनँ । तर बुवाले सुन्नुभएन । छोरी मान्छेले ठूलो मान्छेले भनेको कुरालाई काट्नु हुँदैन भनेर गाली गर्नुभयो । त्यसपछि छोरी भन्ने शब्दको अर्थ खोजेको थिएँ । जन्म घरलाई छोड्नुपर्ने भएकै कारण छोरी भनिएको रहेछ ।
सुबोधसँग विवाह गर्दा निराश थिएँ अब जीवन सकियो कि ? जस्तो लाग्थ्यो तर जीवन यति सजिलै सकिँदो रहेनछ । त्यति सजिलै सकिएको भए त्यो दिन किन आउँथ्यो र ?
सोह्र वर्षमा विवाह भएपछि सत्र वर्षमा छोरी जानवी जन्मेकी थिई । जेठी छोरी जन्मिएपछि म धेरै रोएँ किनकि म आफूले जस्तो दुःख पाउने छोरी मान्छेलाई जन्मदिनु थिएन तर सोचेजस्तो जीवन कहाँ हुन्थ्यो र ? त्यो पछि पनि अर्को छोरी नै जन्मियो ज्योति । सुबोध प्रहरी जवान थिए । उनी प्रायः आफ्नो डिउटीमा जान्थे । कहिलेकाहीँ आउँदा हाम्रो व्यवहार उनलाई केही पनि थाहा हुँदैनथ्यो । उल्टै नानाथरी गाली गर्ने, छोरीहरूलाई पनि देखि नसहने गर्थे । चार महिना ६ महिनामा कोठा आउँदा पनि कस्तो छ तिमीलाई भनेर सोधेनन् । उल्टै कहाँ के के कमी कमजोरीहरू छन् त्यहीँ कोट्याउथे र झगडा गर्थे ।
जानवी र ज्योति ठूलो हुँदै थिए । उनीहरूको पालनपोषणमा मलाई धेरै नै समस्या परिरहेको थियो । पैसा कहिलेकाही पठाउथे त्यो पनि एक–एक रूपैयाँको हिसाब दिनुपथ्र्याे । सुबोधको बारेमा अरूले के के कुरा सुनाउथे, घरमा अर्को श्रीमती र बच्चाहरू छन् भनेर पनि भन्थे । उनको घर पूर्व मोरङतिर हो रे तर उनले म र मेरा छोरीहरूलाई कहिल्यै घरमा लिएनन् । कहिलेकाही घरको कुरा ग¥यो भने गाली गलौज गर्थे र भन्थे, आइमाई भएर धेरै बढ्ता बोल्ने होइन ।
एक दिनको कुरा हो । घरमा मेरो फुपूको छोरा रञ्जन आएको थियो । म दुख सुख कुरा गर्दै ऊ सँग बसेकी थिएँ । छोरीहरू खेल्न गएका थिए । सुबोध अचानक आइपुगेछ । तब उसले मेरो फुपूको छोरालाई देखेपछि उसको रूपरेखा नै फेरियो । एकाएक ऊ आगो जस्तो भयो । को हो ? के हो ? केही पनि नसोधेर मलाई तथानाम गाली गर्न थाल्यो । फुपूको छोरा रञ्जन छक्क परेर हेरिरहेको थियो ।
उसले भन्यो, तँ चरित्रहीन महिला होस् । तेरो चरित्र राम्रो छैन भन्ने कुरा त भट्टीवाली कान्छीले सधैं भन्थी तर आज प्रत्यक्ष मैले देखें । रंगे हात पक्रिन पाएँ ! बद्मास ! मैले तलाई सुख सयलमा राखेको भनेको त यस्तो गर्दिरहिछस् । तँ अहिले नै निक्ली हाल मेरो कोठाबाट ! यति भनेर आफ्नो बेल्ट खोलेर हान्न थाल्यो । फुपूको छोराले छुटाउन खोज्दा उसलाई पनि हान्यो । भिनाजु म त जानवी र ज्योतिको पढाइको बारेमा कुरा गर्नलाई आएको थिएँ । तिम्रो नजरमा सबै कुरा गलत हुन्छ ? कुरा नबुझेर यस्तो व्यवहार गर्नु राम्रो होइन । त्यति भन्दा पनि सुबोधले मलाई कुट्न छोडेन । भिनाजु त पागल रहेछन् भनेर ऊ कोठाबाट निक्लेर गयो ।
त्यसपछि पनि उसले मलाई गाली गर्न र हान्न छाडेन । म घरमा नहुँदा को कोसँग सुतिस् । यत्रो वर्षसम्म म त भ्रममा रहेछु । जहाँ जहाँ काममा गइस् त्यहीँ त्यहीँ तैले अवैध सम्बन्ध राखेकै रैछस् । आज भट्टीवाली कान्छीले मेरो आँखा खोलिदिई । उसले भट्टीमा पसेर नशा पिएर भन्दा पनि भट्टीवालीका विषालु कुरा पिएर आएको रहेछ । उसलाई मदिराको नशा पनि लागेको थियो । छोरीहरू साँझसम्म पनि घरमा आएनन् । उसले मलाई कुट्दा कुट्दा म उठ्न नसक्ने भएँ । अन्ततः के प्रमाण छ ? अरूको कुरा सुनेर किन यस्तो व्यवहार गर्छौं ? भनेर के सोधेको थिएँ । झनै ठूलो दाउरो समाएर हिर्कायो । म मुर्छित भएँ र जमिनमा लडें त्यस उप्रान्त, उसले मलाई छोडेर गयो ।
शरीरमा धेरै ठाउँबाट रगत बगिरहेको थियो । मेरा दुवै खुट्टा नै नचल्ने गरेर भाँच्चिएका थिए । असहय पीडामा छट्पटिँदै म लडिरहेको थिएँ । धेरैपछि छोरीहरू
घरमा आउँदा मेरो त्यस्तो अवस्था देखेर आत्तिएर खुब रोए । सुबोध मेरो त्यो हालत गराएर तत्काल नै कोठा छोडेर गयो । अस्पताल जानलाई पैसा थिएन । त्यो अकल्पनीय दुखाइ र पीडा सहनु सिवाय अरू विकल्प पनि थिएन ।
त्यसपछि मेरा छोरीहरूले मलाई स्याहारसुसार गरे । अरूको घरमा भाँडाकुँडा माझ्ने, पुछा लगाउने काम गरेर पनि मलाई एक पेट खुवाएर पालेका छन् । म हिँड्न सक्दिनँ । उसले चिरपटले हानेर दुवै खुट्टा नै भाँचिदिएको रहेछ । उपचार नपाएर पनि होला दुवै खुट्टा सुकेर दाउरा जस्तो भएका छन् । टेकेर उठ्न, हिँड्न र केही गर्न सक्दिनँ ।
ठूलो छोरी २१ वर्षको भएको छ । उसको नागरिकता बनाउनु पर्ने छ । मसँग विवाहा दर्ताको कागज पनि छैन । पढाइ छोडेर काम गर्दै गरेकी जानवीलाई देख्दा उसको भविष्यको बारेमा सोचेर दुःख लाग्छ । सानी छोरी पनि सोह्र वर्षकी भइसकिन् । ठूलो छोरीले नै म र बहिनीलाई हेरचाह गरेको छ । सानी छोरी पढ्दै छ । म लाचार आमा, उनीहरूले कतिबेला खान देलान् र खाउला भनेर कति दिन बाँच्नु ? मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ ।
–लालमति बुढामगर,
नेपालगन्ज, भुजइगाँउ