हिजो, अस्ति जस्तै लाग्छ, हवाई पत्रिकाको चलन चलिरहेका बेला मैले क्लबको बैठकमा हवाई पत्रिका प्रकाशन गर्नका लागि प्रस्ताव गरेको दिन । पछि हवाई पत्रिका नभई भित्ते पत्रिका प्रकाशन गर्ने भनेर निर्णय भई सोही पत्रिकाको निरन्तरता स्वरूप प्रकाशन गर्न थालेको असल शासनले २० वर्ष नाघेको पत्तै भएन ।
२०५७ साल माघ महिनातिर त्यतिखेरको राजनीति शास्त्र असल शासन रेडियो श्रोता क्लबको बैठकले भित्ते पत्रिका प्रकाशन गर्ने निर्णय गरेको थियो । प्रकाशनका लागि भीम भण्डारीको नेतृत्वमा सम्पादन समूह गठन भएको थियो, मैले सहसम्पादकको जिम्मेवारी लिएको थिएँ । प्रजातन्त्रपश्चात् थुप्रै खालका विकृति हाबी हुँदै भ्रष्टाचार व्याप्त भएको महसुस गर्दै प्रजातन्त्र दिवसको अवसरमा २०५७ फागुन ७ गतेदेखि पत्रिका प्रकाशन गर्ने जानकारीसहितको सूचना हामीले महेन्द्र बहुमुखी क्याम्पसमा टाँस्यौं, छोटो समयको अन्तरालमा हामीले प्राप्त गरेको लोकप्रियताका कारण हामीले आशा गरे भन्दा बढी रचना प्राप्त गर्यौं । सबैलाई स्थान दिन नसके पनि धेरैलाई स्थान दिनु हाम्रो बाध्यता थियो । यो बाध्यताले पत्रकारिताको ‘प’ पनि नजानेका हामीलाई फर्साद पार्यो, र त पहिलो प्रकाशन न भित्ते पत्रिका भयो, न त पत्रिकानै । एक पृष्ठमा असल अर्काे पृष्ठमा शासन, एक पृष्ठमा Good Go अनि अर्काे पृष्ठमा Vernance भएर प्रकाशन भयो । व्यवस्थापनको जिम्मेवारी सहकर्मी निर्मल थापाले लिएका थिए, विज्ञापन उठाएर पत्रिका प्रकाशन गर्नु दाँतले ढुङ्गा चपाए जस्तै भयो । पत्रिकाको पैसा तिर्न नसकेर ७ गते विमोचन हुने पत्रिका ८ गते मात्रै भयो, केही पैसा पछि दिने भन्दा सबै पत्रिका जलाई दिने धम्की प्रेस मालिकले दिएपछि सबैले उठाएर पहिलो अङ्कको पैसा तिरेको घटना अझैं ताजै छ । यसरी पहिलो अङ्क प्रकाशित भयो, हामी आबद्ध भएको संस्था प्रो.पब्लिकले हामीलाई बधाई ज्ञापन गर्दै पुरस्कृत गर्यो, यता हामी भने सबै तितरबितर भइसकेका थियौं, किन कि हाम्रो इण्टर लेभलको पढाइ सकिएको थियो ।
मासिक रूपमा प्रकाशन गर्ने योजना यसरी थला परेपछि मेरो नेतृत्वमा २०५८ सालबाट पुनः सो पत्रिका त्रैमासिक रूपमा सुरुवात गर्यौं, जसको सुरुवाती दिनमा अग्रज पत्रकार दाइहरू जयनारायण शाह, झलक गैरेले पत्रिकाका प्रमुख समाचार लेखी दिएर हौसला बढाउनु भयो, त्यसको लगत्तै पत्रकार रूपन ज्ञवालीले पत्रिकाको सम्पादन सहयोगीको रूपमा रहेर सहयोग गरे । यस क्रममा गणेश खड्कालगायतका साथीले सहयोग गरेका थिए । यसले सुरुवातीका दिनदेखिनै जानी–नजानी भ्रष्टाचारविरुद्ध आगो ओकल्न थालिसकेको थियो । यो देशभरबाटै प्रकाशन हुने पहिलो पत्रिका भएकाले देशैभर छरिएर रहेका असल शासन क्लबका साथीले विभिन्न रचना, समाचार, गतिविधि पठाउथे, नियमित रूपमा सामाग्री पठाउने साथीमा कञ्चनपुरका राम ओली, रोल्पाका महेन्द्र रोका शिशिर, तनहुँका आदर्श शाही, नवलपरासीका नरनाथ पाण्डेलगायत थिए । यहीँ क्रममा केही पत्रिका सहयोग स्वरूप प्रो पब्लिकले किन्ने गथ्र्यो ।
पछि गएर यसलाई मासिक बनायौं भने केही समयपछि पाक्षिक र पुनः मासिक हुँदै साप्ताहिक रूपमा निरन्तर प्रकाशन हुँदै आएको छ । लामो समय यसले बुलेटिनको रूपमा जीवन पायो । यस क्रममा यस पत्रिकासँग थुप्रै साथीहरू जोडिए, धेरै सहकर्मीहरूको सहयोग र मेहेनतले आज असल शासन, असल शासन बनेको छ । मलाई सम्झना छ, केही अपवादबाहेकका सबै सहकर्मीहरू अहिले असल पत्रकार हुन सक्षम भएका छन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका सञ्चार माध्यमसँग आबद्ध हुन सफल भएका छन्, यहीँ पत्रिकाबाट पत्रकारिता सुरु गरेर प्रगति गर्ने पत्रकारहरू धेरै छन् । यसलाई हामीले ठूलो उपलब्धिको रूपमा हेरेका छौं । म सँगै पत्रिका प्रकाशन थालनीका लागि कम्मर कस्ने त्यतिखेरका व्यवस्थापक निर्मल थापा अहिले एक स्थापित लेखक बन्न सफल भएका छन्, ‘बिजौला’, ‘युवक’लगायत उनका चर्चित उपन्यास अहिले बजारमा आइसकेका छन्, साङ्ग्रिला डायलग राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादकसमेत रहेका थापाले पत्रकारिताको क्यारियर यहीँ पत्रिकाबाट सुरु गरेका थिए । २०५८ सालमा कार्यकारी सम्पादकको रूपमा कार्य गरेका बालकृष्ण जोशीले नेपालका धेरै सञ्चार माध्यममा काम गरेर अहिले अमेरिकामा छन् । २०५९ सालमा पत्रिकाको व्यवस्थापकको रूपमा काम गरेका पूर्ण थापा अहिले कैलालीको पत्रकारितामा स्थापित छन् । त्यहीँ सेरोफेरोमा पत्रिकामा काम थालेकी सीता बोहराले पत्रिकाको प्रतिनिधि हुँदै, व्यवस्थापक, प्रबन्ध सम्पादकको सफल जिम्मेवारी सम्हालिन् भने अहिले पनि पत्रकारितामा सक्रिय छिन् ।
२०६० सालतिर पत्रिकाको प्रतिनिधि हुँदै सम्पादन सहयोगीको रूपमा काम गरेका ओबिराज आचार्य रेडियो पत्रकारितामा स्थापित भइसकेका छन् भने प्रतिनिधि हुँदै सम्पादन सहयोगी र पछि गएर सहसम्पादक समेत बनेका शम्भुराज रेग्मी राजधानीमा पत्रकारिता गर्दै स्थापित भइसकेका छन् । २०६० सालतिर साना समाचारमा बाइलाइन हाल्दा मसँग झगडा गरेका उमा थापा मगर राष्ट्रिय स्तरका सञ्चार गृहमा सक्रिय हुँदै नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् भने हाल उनी नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छिन् । त्यस्तै साना समाचारमा बाइलाइन हालेकै कारण मसँग झगडा गर्ने सहकर्मी खड्क रावत अहिले पत्रकारितामा सक्रिय छन् । २०६० सालमा रिक्त सहसम्पादकको पदमा ओबिराज आचार्य र शम्भुुराज रेग्मी प्रतिस्पर्धी भएपछि विकल्पको रूपमा सहसम्पादकको जिम्मेवारी सम्हालेका कुमार श्रेष्ठ हाल नेपालगन्जको पत्रकारितामा सक्रिय छन् । यहीँ पत्रिकाबाट पत्रकारिता सुरु गरेका लीलप्रकाश चन्द राजधानीमा पत्रकारिता गरिरहेका छन् भने कमल खत्री नागरिक दैनिकको पश्चिमेली संस्करणका सम्पादक छन् ।
रुकुमबाट प्रतिनिधिको रूपमा काम थालेका राजु लामिछाने, विशेष प्रतिनिधि, सहसम्पादक हुँदै हाल कार्यकारी सम्पादकको रूपमा कार्यरत छन् भने विभिन्न छापा माध्यममा सक्रिय छन् । पत्रकारितामा अब्बल भाइराजा श्रीवास्तब, इश्वर बिक प्रतिनिधि हुँदै प्रबन्ध सम्पादकको जिम्मेवारी सम्हालेका मन भण्डारी, प्रतिनिधि हुँदै हाल कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालिरहेका हेमराज भट्ट, प्रतिनिधिको रूपमा काम गरिरहेका सत्य प्रकाश यादव, छविलाल सुनार यसै पत्रिकाका उत्पादन हुन् भन्दा फरक नपर्ला ।
लामो समय यही पत्रिकामा प्रतिनिधिदेखि सहसम्पादकको रूपमा काम गरेका माधव कार्की, उमा शर्मालगायतले यही पत्रिकाबाट पत्रकारिता थालेका थिए । यहाँ उल्लेख गरिएबाहेक पनि धेरै सहकर्मीहरू छन्, जसले यसै पत्रिकाबाट आफ्नो भविष्य कोरे ।
यस पत्रिकाका माध्यमबाट हामीले भ्रष्टाचारीविरुद्ध धावा बोल्यौं, लुकाइएका, कथिएका सूचना छताछुल्ल पार्यौं, धेरैका गोप्यता भङ्ग ग¥यौं, जसबाट धेरैको निद हराम भयो । सीमित स्रोत, साधन, विज्ञापनको साँघुरो बजारका बावजुद निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिकामा धेरै उतार चढावहरू आए, धेरै बाधा, व्यवधान भए, सहकर्मीहरू आए–गए तर पत्रिका आफ्नो मिसनमा डग्मगाएन, कलम बाङ्गिएन, कलम थाकेन र त यो पत्रिका भ्रष्टहरूका लागि काउछो बन्यो भने सदाचारीको साथी ।
पत्रिका निरन्तर २० वर्षदेखि समाजका विकृति, बेथितिविरुद्ध खरो रूपमा उत्रिरहेको छ भने समाज विकास र परिवर्तनका संवाहकलाई प्रोत्साहित गर्न चुकेको छैन । जागिर लगाई दिने बाहनामा यौन शोषण गर्ने अन्तर्राष्ट्रिय गैससका प्रमुखको नालिबेलीदेखि प्रेमिकाको जन्म दिनमा लाखौंको परियोजना उपहार दिने आइएनजिओका कर्मचारीका कर्ततुहरू सार्वजनिक गर्न पत्रिका पछि सरेन । अस्पतालमा रासलीला हुँदै गर्दाका तथ्यगत समाचारदेखि कार्यालयमा बसी प्रेम पत्र इमेलमार्फत् आदान प्रदान गर्ने हाकिमहरू विरुद्ध औँला ठड्याउनेदेखि अकुत सम्पत्ति जम्मा गरी शहरमा महल ठड्याउने, ठूलो धनराशि खर्चेर नक्कली परीक्षार्थी राख्ने कथित विद्यार्थी नेतादेखि पत्रकारिताको खोल ओढेर दलाली गर्नेलाई समेत असल शासनको कलमले छाडेन ।
गरिबी निवारणका नाममा रकम ल्याएर कुम्ल्याउने गैससकर्मीको प्रवृत्तिदेखि जनताका आँखामा छारो हाली राजनीति गर्ने नेताको शैलीसम्म, एचआइभी एड्स नलागेकालाई सो रोग लाग्यो भनेर दाताबाट चन्दा ल्याएर डलरको खेती गर्ने नामुद डाक्टर, मानव अधिकारवादी हौं भन्नेहरूबाट अर्काको ज्यान लिएका घटनालाई समेत हामीले छाडेनौं । समग्रमा पत्रिकाले जनता ठग्ने ठग, नागरिक झुक्याउने दलाल, कमजोर चेतना भएका जनताको सम्पत्ति चोर्ने चोर, नायकका नाममा रहेका खलनायक, सार्वजनिक सम्पत्ति हिनामिना गर्ने फटाहा र जालीका विरुद्ध पत्रिकाले खोइरो खनेको छ ।
सार्वजनिक सेवा प्रवाहलाई जबरजस्त मागी खाने भाँडो बनाउने सेवा प्रदायक, सार्वजनिक सम्पत्तिको अचाक्ली दोहन गर्ने टाठाबाठा, जनताको अधिकारमा होली खेल्ने अधिकारमा बसेका पहुँचवाला, शक्तिको दुरुपयोग गर्ने शक्तिमा रहेका प्रशासक, जनतालाई झुठा आश्वासन दिएर देश चलाउँछु भन्ने राजनेताविरुद्ध कलमका माध्यमबाट रखवारी गर्नु सहज विषय पक्कै पनि थिएन, हामीलाई थाहा थियो, यो अदम्य साहस मात्रै होइन, ठूलो दुस्साहस हो भनेर । यही असहज बाटोमा पत्रिका लाग्यो र पटक–पटक भएका विभिन्न घटनाले हामीलाई पत्रिकाको कदम फलामको चिउरा चपाए सरह जस्तै भयो तर यात्रा अवरुद्ध भएन, अविछिन्न अघि बढिरह्यो ।
सत्य तीतो हुन्छ, हामीलाई थाहा छ तर अर्काे तथ्य पनि हामीलाई थाहा छ, सत्य यथार्थ हुन्छ, सत्य कसैका लागि तीतो होस् त्यसले केही फरक पार्दैन, तर यथार्थ सार्वजनिक गर्यो भने त्यसले सबैलाई फरक पार्छ । यही मूल मन्त्र हो—असल शासनको । सो क्रममा हामीले कसैसँग सम्झौता गरेनौं, मुकाबिला गर्यौं, सामन्तवादी सामाजिक संस्कार र अधिकारमा बसेकासँग । यो क्रममा म लगायत धेरै साथीहरू माथि साङ्घातिक हमलाहरू भए, कार्यालय घेरियो, विभिन्न खाले प्रलोभन देखाइयो, धम्क्याइयो, पछ्याइयो, अहँ हामी गलेनौं । स्थानीय प्रशासनले पटक–पटक धम्कीसहितको स्पष्टीकरण माग्यो, १ पाने पत्रको उत्तर चार पाने दियौं तर प्रशासनसँग डराएनौं, हाम्राविरुद्ध अदालतमा मुद्दा हालिए, एकाध मुद्दा (त्यो पनि कानुन व्यवसायीको धोकाका कारण) बाहेक सबै मुद्दा हामीलेनै जित्यौं । पत्रिकामा प्रकाशित भएका समाचारका कारण अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय स्तरका छानबिन समितिहरू गठन भए, कतिका जागिर गए, कति सरुवा भए, डिमोसन भए, निलम्वित भए । यसको लेखाजोखा गर्न थाल्यो भने लामो फेहरिस्थ बन्न सक्छ । साराङ्शमा पत्रिकाले सामाजिक सुधारमा टेवा पु¥यायो, भ्रष्ट र अराजकको आत्मसम्मानमा ठेस पु¥यायो । असलहरूको आत्मसम्मान अभिवृद्धि गर्यो ।
भ्रष्टहरूलाई शब्द वाण प्रहार गर्यौं, भित्तामै पुर्यायौं, आकर्षक शीर्षक र फरक लेखाइबाट पाठकको मन जित्न सफल भयौं तर पत्रकारिताको धर्म, मूल्य, मान्यता हामीले कहिल्यै भुलेनौं र भुल्ने पनि छैनौं । जसरी असल उद्देश्यका लागि काँडैकाँडा भएको बाटो हामीले रोज्यौं, त्यस्तै अझैं सयौं वर्ष माइन बिच्छ्याइएको बाटो रोज्न तयार छौं । भ्रष्टहरूको दमित र मक्किएको मनोविज्ञानलाई नाङ्गेझार पार्न तपाईंहरूको नैतिक समर्थनको खाँचो छ, बाँकी भ्रष्टहरूको कथित विलासी जीवनलाई सडकसम्म ल्याउन हाम्रो कलम गोली साबित त हुनेनै छ ।