मानव जीवनलाई सङ्घर्षको पर्यायका रूपमा थोरै व्यक्तित्वहरुले मात्र लिने गर्छन् । मानिसले जीवनभर सत्कार्यका लागि सङ्घर्ष गर्नुपर्छ । आशावादी जीवनदृष्टि बोक्न सक्नु पर्छ, समस्याबाट कहिल्लै पलायन हुनु हुँदैन र समस्या समाधानका निम्ति सदा क्रियाशील रहनु पर्छ भन्ने मान्यताका जीवन्त उदाहरण हुन् वरिष्ठ साहित्यकार सनत रेग्मी । लेखनमा मानवतावादी भाव र चिन्तन प्रस्तुत गर्ने रेग्मीको लेखन तथा व्यवहारमा मानवता प्रचुर मात्रामा छ । साहित्यले समयानुकूल समाजको चित्रण गर्नुपर्छ भन्ने धारणा अनुसार नै रेग्मीले साहित्य सृजना गर्दै आइरहेका छन् । समाजका मूल्य, मान्यता र विकृतिबाट जुन किसिमको नैतिकता र मूल्यको द्वन्द्व तथा सङ्कट उत्पन्न हुन्छ, त्यसको चित्रण उनका रचनामा पाइन्छ । साहित्य क्षेत्रमा सर्जकले अक्षरमा बोलेर आफ्ना अनुभूति, संवेदना र विचारलाई व्यक्त गर्ने हुनाले ती सबैलाई गहन रूपमा बुझेर सर्जकलाई चिन्नु निकै कठिन कार्य हो ।
सनत रेग्मीको व्यक्तित्व कुनै एक क्षेत्र र परिधिमा मात्र सीमित नरही विभिन्न क्षेत्रमा फैलिएको बहुआयामिक छ । साहित्य, रानीतिक, सामाजिक, सांस्कतिक कला आदि विविध क्षेत्रमा क्रियाशील सनतले यी विविध क्षेत्रमा आफ्नो परिचय दिँदै सफल सहभागिता र सक्रियता देखाएका छन् । सनत रेग्मी विविध व्यक्तित्वमध्ये सबैभन्दा महत्वपूर्ण साहित्यिक व्यक्तित्व हुन् । नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका उनको व्यक्तित्व विविध आयाममा बाँडिएको छ । सनत रेग्मीको साहित्यिक व्यक्तित्वको मूल परिचय नै कथाकार व्यक्तित्व हो । २०२३ सालमा पञ्चामृत पत्रिकामा प्रकाशित समाजकी छोरी शीर्षकको कथा नै उनको पहिलो प्रकाशित नेपाली कथा हो र यसैबाट नै उनको कथा यात्रा प्रारम्भ भएको थियो । उनको लेखनको आरम्भ कविता विधाबाट भए पनि उनको रुचि, सक्रियता र निरन्तरता भने कथा विधामा बनेको देखिन्छ ।
२०२४ सालमा ६ ओटा कथाको सङ्ग्रह रहेको मातृत्वको चित्कार कथा कृतिको प्रकाशन हुनुले उनको साहित्यिक लनशीलता र झुकाउ कथा विधामा रहेको प्रमाणित हुन्छ । २०२५ मा अर्को कथाकृति प्रकाशित भएपछि रेग्मी राष्ट्रिय स्तरका कथाकारको रूपमा स्थापित हुन पुगे । २०३५ सालमा उनको तेस्रो कथा सङ्ग्रह दिनान्त प्रकाशित भयो । यसैक्रममा यिनको बन्द कोठाहरुको सहर (२०४५) कथा सङ्ग्रह दस वर्षको अन्तरालमा प्रकाशित भएको थियो । १५ वटा कथा समेटिएको यस कृतिसम्म आइपुग्दा उनले समसामयिक धाराका प्रतिनिधि कथाकारका रूपमा आफ्नो पहिचान स्थापित गराइसकेका थिए । रेग्मीको बन्द कोठाहरुको सहर शीर्षकको कथा बि.ए.को पाठ्यक्रममा समेत समावेश भएको छ । कथा विधामा आफ्नो छुट्टै पहिचान र पृथक प्रवृत्ति बनाई सकेका रेग्मीको पाँचौ कथाकृतिका रूपमा लछमनियको गौता (२०५१) प्रकाशित भयो । यस्तै प्रज्ञा—प्रतिष्ठानले प्रकाशन गरेको सत्य उनको उत्कृष्ट कथा सङ्ग्रहको रूपमा रहेको छ । २०५४ सालमा प्रकाशित यस कृतिले सनतको साहित्यक यात्रालाई उत्कर्षमा पु¥याएको थियो । सफल कथाकारका रूपमा उनी नेपाली साहित्यमा परिचित मात्र होइन प्रतिष्ठित समेत भएका छन् । यसैगरी प्रज्ञा प्रतिष्ठानबाट नै २०६० सालमा सनत रेग्मीका प्रतिनिधि कथा शीर्षकमा प्रकाशित कथा सङ्ग्रह यिनको सातौं कृतिका रूपमा रहेको छ । यसैगरी उनको पछिल्लो कथा सङ्ग्रह स्मृति दंश र अन्य कथाहरु हो ।
कविता विधाबाट सर्वप्रथम साहित्यिक गोरेटो समाएका सनत रेग्मीको साहित्यिक यक्तित्व अन्तर्गत कवि व्यक्तित्व पनि हो । उनको २०१७ मा प्रकाशित हिन्दी कविता पहिलो कविता हो भने नेपाली भाषामा २०१९ सालमा नौलो पाइला पत्रिकामा नारी शीर्षकको कविता प्रकाशित भएको थियो । सनत रेग्मी कथाकार र कवि मात्रै नभई निबन्धकार तथा संस्मरणकार हुन् । बहुआयामिक व्यक्तित्वका धनि रेग्मी अन्तर्वार्ताकार पनि हुन् । समकालीन कथा लेखनमा विशिष्ट साहित्यकार भएका कारणले रेग्मीसँग थुप्रै साहित्यकारहरुले विभिन्न समयमा अन्तर्वार्ता लिएर विभिन्न साहित्यक पत्रिकामा प्रकाशित गरेको पाइन्छ । यसै सन्दर्भमा २०६६ सालमा सनत रेग्मीका अन्तर्वार्ताहरुको सङ्ग्रह सनत रेग्मीःसिर्जन संवाद नामक कृतिको प्रकाशन भएको थियो । यस्तै अन्य कृतिहरु पनि प्रकाशित भएका छन् । रेग्मीको सम्पादनको क्षेत्रमा समेत उपस्थिति र भूमिका महत्वपूर्ण छ । रेग्मीको अर्को महत्वपूर्ण पाटो प्राज्ञिक व्यक्तित्व हो । नेपाली भाषा साहित्यका क्षेत्रमा उनले देखाएको सक्रियता तथा योगदानको मूल्याङ्कन र उनको प्राज्ञिक क्षमताको कदर गर्र्दै सरकारले २०५६ सालमा नेपाल प्रज्ञा—प्रतिष्ठानको प्राज्ञ सदस्यका रूपमा नियुक्त गरेको समय जीवनको महत्वपूर्ण कालखण्ड भएको उनी बताउँछन् ।
साहित्यकार सनत रेग्मीको जन्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ गगनगन्ज टोलमा वि.सं. २००४ साल असोज ६ गते भएको हो । निम्न मध्यम वर्गीय परिवारका उनी पिता गोपाल शर्मा रेग्मी तथा माता लीलादेवीको जेठा सन्तान हुन् । सनतका हजुरबुवा चुडामणि रेग्मी संस्कृत साहित्यका प्रकाण्ड विद्वान थिए । यसैगरी सङ्गीत, वाद्यवादन, अभिनय आदि सांस्कृतिक क्षेत्रमा अभिरुचि राख्ने उनका पिता गोपाल शर्मा रेग्मी पनि केही समय अर्थात् २००७ साल अघि शिक्षक पेसामा नै आबद्ध थिए । पुख्र्यौली घर गोरखाको घ्यालचोकमा भए पनि हजुरबुवा चुडामणि रेग्मीका पालामा नेपालगन्ज बसाइ सरी आएकाले उनको जन्म नेपालगन्जमा नै भयो ।
शिक्षित एवम् संस्कारयुक्त परिवारमा जन्मिएका रेग्मीको बाल्यकाल रमाइलोसँगै बित्यो । सानैदेखि उनको अध्ययनमा रुचि थियो । परिवारको पहिलो सन्तानका रूपमा जन्मिएका रेग्मीले आफ्ना हजुरबुवाको अगाध माया र स्नेहका साथै परिवाका सबैबाट अत्यन्तै ममतापूर्ण साथ पाए । बुवा, हजुरबुवाले पढेका पुस्तकहरुको प्रभाव र ती पुस्तकको सङ्कलन प्रतिको रुचिले पनि उनको बाल्यकाल साहित्यिक क्षेत्रमा प्रवृत्त भएको हो । रेग्मीेको शिक्षादिक्षाको प्रारम्भ सर्वप्रथम घरबाट नै भयो । उनले पारिवारिक वातावरणमा नै उच्च किसिमको शैक्षिक पृष्ठभूमि प्राप्त गरेका थिए । उनलाई शिक्षा आर्जनका लागि कुनै कठिनाइको सामना गर्नु परेन । उनले घरमै अक्षरारम्भ गर्ने सौभाग्य प्राप्त गरे । औपचारिक शिक्षा स्थानीय विद्यालयमा नै लिएका रेग्मी प्रारम्भिक अवस्थामा नै हजुरबुबाले सुनाउनु भएको हितोपदेश तथा पञ्चतन्त्रको कथाले यिनको बालहृदयमा गहिरो प्रभाव छोडेको थियो ।
२०१३ सालमा बुवा गोपाल रेग्मीले खोल्नु भएको पुस्तक पसलमा बुबाको सहयोगी भएर काम सघाउन थालेका उनी पाठ्यक्रमका पुस्तकमा भन्दा अन्य पुस्तकमा नै बढी रमाउन थाले । कक्षा ४ मा पढ्दै गर्दा सनतको विविध कारणले शैक्षिक स्थिति सन्तोषजनक नदेखिएपछि २०१६ सालमा संस्कृत शिक्षा आर्जनका लागि भारतको वैद्यनाथ धामको गुरुकुल आश्रम गएका थिए । वैद्यनाथ धामको गुरुकुल आश्रममा हितोपदेश, लघुकौमुदी र अमरकोशको अध्ययन प्रारम्भ गरेका सनत त्यहा“ पनि निर्धारित पाठ्यपुस्तकका अतिरिक्त अन्य क्रियाकलापमा पनि सक्रिय रहे । सृजनशील स्वभावका सनतलाई कौमुदीका सूत्र, अमरकोश हितोपदेशका श्लोकहरुको घोकन्ते विद्याले विरक्त बनाए पनि यसै बीच विद्यालयको वार्षिक उत्सवमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम भई बिहारका तत्कालीन मुख्यमन्त्री विनोदानन्द झाका हातबाट स्वर्णपदक प्राप्त गर्न सफल भएका थिए । महर्षि दयानन्द सरस्वतीको व्यक्तित्वले अत्यन्तै प्रभावित बनेका उनले त्यहीँबाट प्रकाशित मराल साहित्यक पत्रिकामा आफ्नो हिन्दीमा लेखिएको रचना पनि छपाए । नेपालगन्ज फर्किएर नारायण माविमा पा“च कक्षामा भर्ना भएका सनतले यहीँबाटै २०२५ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । यसै बीचमा २०२४ मा यिनकोे प्रथम कथासङ्ग्रह मातृत्वको चित्कार कथासङ्ग्रह प्रकाशित हुनुले उनको रुचि पढाइमा भन्दा साहित्य लेखनमा ज्यादा भएको उनको अनुभव छ । एसएलसी उत्तीर्ण भएपछिको २/३ वर्ष राजनीतिमा सक्रिय रहेका उनले निजी अध्ययनमै भारतको युपी बोर्डबाट २०३४ मा आइए उत्तीर्ण गरेको र २०३१ मा हिन्दी साहित्य सम्मेलन इलाहावादबाट ‘साहित्यरत्न’ को उपाधि प्राप्त गरेको देखिन्छ । यसपछिका वर्षमा भने सनत पढाइमा भन्दा साहित्यिक, राजनीतिक र अन्य क्षेत्रमा नै बढी सम्बद्ध र क्रियाशील देखिन्छन् । २०२८ सालमा दाम्पत्य जीवनमा बाँधिएका सनतको वीरगन्ज गहवाटोल निवासी माधवप्रसाद भट्टराई तथा मिथिला भट्टराईकी एक मात्र सन्तान प्रभा भट्टराईस“ग विवाह भएको हो । २०२८ सालदेखि २०५६ सालसम्मको करिब अठ्ठाइस वर्षको समयसम्म उनीहरुलाई सन्तान सुखको अवसर भने प्राप्त भएन । आफ्ना साहित्यिक कृतिहरुलाई नै सन्तानका रूपमा स्वीकार गरेका सनतले आफ्नो सम्पूर्ण ध्यान नै साहित्यिक गतिविधिमा केन्द्रित गरेका थिए । तर उनीहरुको धैर्यता र सहनशीलतापछि २०५६ सलामा छोरीको जन्म भयो । झण्डै बाउन्न वर्षको उमेरमा पिता बनेका सनतले यो क्षणलाई निकै खुसीको रूपमा लिन्छन् ।
बाल्यावस्थादेखिकै पारिवारिक पृष्ठभूमिका कारण पनि उनमा सामाजिक व्यक्तित्वको विकास हुँदै गएको देखिन्छ । नया“ मुलुको रूपमा विकसित हुँदै ग्एको आवादी र बस्ती विस्तार हुँदै गएको नेपालगन्जको परिवेशमा बसाइ सरेर आएका उनका हुजुरबुवा र बुवाले यस क्षेत्रको सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । समाजकै शिक्षित वर्ग र प्रबुद्ध वर्गका रूपमा चिनिने रेग्मी परिवारको सम्पर्क नेपालगन्जका प्रत्येक स्तीका झुपडीदेखि महलसम्मका मानिसमा थियो भने यी सबै प्रकारका मानिसहरु रेग्मीको घरमा आवत—जावत गरिरहन्थे । किशोरावस्थादेखि नै विभिन्न सामाजिक गतिविधिमा रुचिका साथ संलग्न हुन रुचाउने सनत २०२३ सालमा जनजागृति सङ्घ बाँकेको सचिव तथा जनसेवा पुस्तकालयको स्थापना गर्नुले पनि प्रारम्भिक अवस्थाको समाज सेवाप्रतिको धारणा र सक्रियतालाई पुष्टि गर्दछन् । यसैगरी २०३२ देखि नेपाल रेडक्रस सोसाइटी बाँकेका सहमन्त्री र पछि मन्त्रीका रूपमा समेत रहेका सनतले आफूलाई समाजसेवी व्यक्तित्वका रूपमा क्रियाशील बनाएका छन् । २०३२ देखि नै महेन्द्र पुस्तकालय नेपालगन्जमा संलग्न रहेका रेग्मीले यस संस्थामा रहेर पनि प्रशस्त काम गरेका छन् । २०३४ देखि २०५२ सम्मको १८ वर्षको समय सो संस्थाको सचिव पदमा रही उनले आफ्नो कार्यकुशलता र समाजसेवाप्रतिको निष्ठालाई प्रस्तुत गरे । नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान र शिक्षा मन्त्रालयको सहयोगमा विभिन्न संस्थाको सौजन्यसमेत उपलब्ध गराई २०४१ सालमा नेपलगन्जमा कवि शिरोमणि लेखनाथ पौडेलको शतवार्षिकी समारोह कार्यक्रमलाई भव्यताका साथ पश्चिमाञ्चलकै अपूर्व र ऐतिहासिक समारोहका रूपमा सम्पन्न गराउनुबाट पनि उनको सामाजिक व्यक्तित्व प्रभावकारी रहेको प्रष्ट हुन्छ ।
२०३२ सालदेखि सामाजिक क्षेत्रमा सक्रियता बढाएका रेग्मीले महेन्द्र पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल ललितकला संस्था, भेरी साहित्य विकास समिति आदि सङ्घ संस्थामार्फत् साहित्य र समाजसेवालाई समन्वयन गर्दै यस क्षेत्रमा अग्रणी भूमिका खेलेको देखिन्छ । उनी २०५० मा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भई पछि केन्द्रीय उपाध्यक्षसम्म भएका थिए । यसैगरी २०४७ सालतिर नेपाल ललितकला संस्थान, बा“केको कार्यकारी सदस्य तथा नेपाल मानव अधिकार सङ्गठन बा“केको सभापतिको जिम्मेवारी समेत उनले पाएका थिए । यसक्रममा यिनले २०४८ देखि २०५१ सम जिल्ला शिक्षा समिति बा“केको सदस्य तथा महेन्द्र माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भई शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण कार्य गरेका सनतलाई समाजसेवी व्यक्तित्वको पहिचान दिन सकिन्छ । यसैगरी उनी नेपाल रेडक्रस सोसाइटीमार्फत् सामाजिक विपत्ति तथा बाढी डुबान र आगलागी जस्ता दैवीप्रकोपका घटनामा सक्रियताका साथ उद्धार कार्यहरुमा संलग्न रहे । उनले गरेको सेवाकार्यहरुको कदर र प्रशंसा गर्दै गृहमन्त्रालयले २०५० मा दैवीप्रकोप पीडितोद्वारा पदकले सम्मानित गरेको थियो ।
सनत रेग्मीकोे राजनीतिक क्षेत्रमा समेत त्यत्तिकै सक्रिय छन् । राजनीतिक क्षेत्रमा पद प्राप्तिका दृष्टिले उनी त्यति सफल नदेखिए पनि राजनीतिक संलग्नताले उनको जीवनमा महत्वपूर्ण मोड ल्याएको छ । २०२३ सालमा नेपाल विद्यार्थी सङ्घ नारायण माध्यामिक विद्यालयको सभापतिमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रा आरम्भ भएको हो । सोही समयताका अर्थात् २०२६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको निर्देशनमा उनी तरुण आन्दोलनमा समेत सक्रिय रहेको र २०२७ मा नेपाल विद्यार्थी सङ्घको स्थापना भएपछि रेग्मी सो सङ्घको प्रथम केन्द्रीय उपाध्यक्षका रूपमा निर्वाचित भएका थिए । २०३४ सालमा वि.पी.अमेरिकाबाट फर्केपछि पटनामा भएको सम्मेलनमा नेपालगन्ज क्षेत्रका प्रतिनिधिका रूपमा रेग्मीको सहभागिता, २०३५ मा नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा बाबागन्जमा गठित नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेका सदस्य, जनमत सङ्ग्रहको समयमा उनले देखाएको सक्रियता, पटकपटकको जेल यात्रापश्चात् सहसचिव र पछि २०४२ मा सचिव भएपछि सनतको राजनीतिक व्यक्तित्व अझ उचाइमा पुगेको देखिन्छ ।
२०४६ को जनआन्दोलनमा रेग्मीले पार्टीको निर्णय बमोजिम भूमिगत रूपमा सक्रियतापूर्वक जिल्लाको नेतृत्व गरेका थिए । साहित्य र राजनीति दुवैलाई एकै साथ अगाडि बढाउँदै सनत २०४८ मा सहासमिति सदस्य र केन्द्रीय प्रचार तथा सञ्चार समितिका सदस्यका रूपमा समेत मनोनित भएका थिए । २०४९ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको सभापतिमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रा उचाइमा पुगेको देखिन्छ । २०५१ सालको मध्यावधि निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार बनाइएका रेग्मी विजयी बन्न सकेनन् र आफ्नै पार्टीभित्रको अन्तर्विग्रहका कारण उनी थोरै मतले मात्र पराजित बन्न पुगेका थिए । २०५६ सालसम्म नेपाली राजनीतिमा क्रियाशील रहेका सनत रेग्मी यसपछिका समयमा भने राजनीतिक क्रियाकलापमा भन्दा साहित्यिक गतिविधिमा बढी संलग्न भएका छन् । यसैकारण उनको राजनीतिक व्यक्तित्व एकपटक उत्कर्षमा पुगेर अपसर्जनतिर लागेको कुराले रेग्मीलाई जीवनको गहिराइमा पुग्न बहु सोचाइलाई विकसित गराउँदै लग्यो । तर राजनीतिक क्षेत्रमा अझै पनि उनको चासो र सहयोग अन्तर्मनमा जीवितै छ । भौतिक उपस्थिति कायमै छ । सकेको सहयोग गरिनै राखेका छन् ।
विभिन्न नयाँ ठाउँहरुको भ्रमण गरी त्यहाँको आन्तरिक तथा बाह्य सुन्दरताको अवलोकन गर्नु साहित्यकार सनत रेग्मीको प्रमुख रुचि र सोख हो । उनी स्वदेश तथा विदेशका नयाँ ठाउँहरुको भ्रमण गर्न रुचाउँछन् । उनले विभिन्न उद्देश्य र प्रयोजनका लागि भ्रमण गरेका छन् । छिमेकी देश भारतको धेरैपटक भ्रमण गरिसकेका उनले भारतीय सीमा नजिक बसोबास भएका कारणबाट मात्र होइन अध्ययनका क्रममा र अन्य राजनीतिक, व्यापारिक, व्यावहारिक आदि विविध कारणबाट समेत भारतका विभिन्न ठाउँको भ्रमण गरेका छन् । भारतको प्रमुख सहर दिल्ली, कलकत्ता, लखनउ, दार्जिलिङ, आगरा, इलाहावाद, उदयपुर, जयपुर, माउन्ट आबु आदिको भ्रमण गरेका छन् भने रेग्मीले अमेरिकाको भ्रमण पनि गरिसकेका छन् । यसैगरी वैदेशिक भ्रमणकै क्रममा रेग्मीले सन् १९९७ मा नेपाली प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी भई अमेरिकाको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए । अमेरिकाबाट फर्कने क्रममा हङकङको पर्यटकीय भ्रमण पनि गरेका थिए । यसैगरी वैदेशिक भ्रमणकै क्रममा रेग्मीले सन् १९९३ मा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट जापानको अध्ययन भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए । जापानको दस दिने भ्रमणबाट रेग्मीले धेरै कुराको जानकारी प्राप्त गर्नुका साथै धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकन पनि गरेका थिए । बेल्जियमको १५ दिने भ्रमणसमेत गरेका रेग्मीले युरोपको भ्रमणलाई पनि महत्वपूर्ण सिकाइको रूपमा लिएका छन् । रेग्मीले २०६८ मा म्यान्मार (बर्मा) मा नेपाल म्यान्मार कुटनीतिक सम्बन्धको ५० औँ वर्षका अवसरमा आयोजित बृहत् काव्य महोत्सवमा प्रमुख अतिथिका रूपमा भाग लिने अवसर पाएका थिए । सर्वप्रथम उनलाई साहित्यिक पत्रकार सङ्घले २०४९ मा मैनाली कथा पुरस्कारद्वारा पुरस्कृत गरेको थियो । यसैगरी उनलाई नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले आफ्नो स्वर्ण जयन्तीका अवसरमा साहित्य साधनाका लागि सारस्वत सम्मानले सम्मानित गरेको थियो । उनी प्रजातान्त्रिक स्रष्टा समाजबाट दोस्रोपटक साहित्यिक योगदानको कदर गर्दै गोपालप्रसाद रिमाल सम्मान २०५५ द्वारा सम्मानित भए । २०५३ मा उनलाई प्रदान गरिएको राष्ट्रिय प्रतिभा पुरस्कार अत्यन्तै महत्वपूर्ण देखिन्छ । २०५४ सालमा गणेश दुवाल खिलकुमारी प्रतिभा पुरस्कार पनि प्राप्त गरेका छन् । २०५५ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, २०५६ मा साहित्य सम्मान, २०५८ मा प्रतिभा सम्मान, २०६५ मा विजयश्री पुरस्कार, २०६६ मा दीपगोविन्द पुरस्कार, २०६८ मा चेतना सम्मान, २०६९ मा साहित्य साधना सम्मान, २०७० मा भवानी भिक्षु सम्मान पुरस्कार आदि विभिन्न सम्मान र पुरस्कारहरु पनि प्राप्त गरेका छन् । उनका बारेमा लेखिएको अभिनन्दन ग्रन्थ सनत रेग्मीः सृजन सन्दर्भ २०६४ पनि प्रकाशित भएको छ । नेपाली साहित्यको एक कुशल शिल्पार, आधुनिक नेपाली साहित्यमा औ“लामा गन्न सकिने सीमित उर्जाशील स्रष्टाहरुको पङ्क्तिमा उभ्याउन रेग्मीले गरेका प्रयास अनुकरणीय छन् । उल्लेखनीय आख्यानकार, नेपालगन्जको समकालीन साहित्यका एक जीवन्त इतिहास, आधुनिक नेपाली कथा साहित्यका सशक्त व्यक्तित्व सनत रेग्मी सामान्य परिवारबाट पृथक व्यक्तित्व निर्माण गर्न सफल बनेका छन् ।
७३ वर्षीय रेग्मीको आगामी जीवन थप सुखद् बनोस् शुभकामना ।