नर्सिङ पेसाको गरिमा र आवश्यकता समाजमा दिनप्रतिदिन बढ्दो छ । यो पेसा त्यति सजिलो पेसा भने होइन, यो पेसा अँगालेकालाई दिनरात बिरामीको सेवामा नै सम्पूर्ण समय बिताउनु पर्छ । सेवामुखी भावना र स्वचालित गुण हुनुका साथै समयसापेक्ष उपकरण सम्बन्धी ज्ञान हुनु पर्छ । त्यस्तै, गर्मी,जाडो, घरपरिवार, चाडपर्व केही नभनी पेसाप्रति चौबीसै घण्टा खटिनु पर्छ । यही सेवामा २४ वर्ष बिताइसकेकी भेरी अञ्चल अस्पताल नेपालगन्जका नर्सिङ निर्देशक दुर्गा लक्ष्मी श्रेष्ठले राम्रो सफलता हात पारेकी छिन् । सानोमा डाक्टर बन्ने सपना बोकेकी दुर्गाको जीवनमा नमिठो तुसारो पर्न गयो । बुवा ज्यानकाजी श्रेष्ठ र माता मोहन कुमारी श्रेष्ठको कोखबाट जन्म लिएकी दुर्गा सानैदेखि जिज्ञासु स्वभावकी थिइन् । आठ कक्षामा पढ्दै गर्दा बुवाको मुत्यु भयो । बुवाले संसार छाडेपछि दुर्गाको जीवनमा जिम्मेवारीहरु थपिँदै गए । दुर्गाको बुवा ३७ वर्षको उमेरमा बिते । आमा अहिले ६७ वर्षकी छिन् । उनका बुवा कृषि अधिकृत थिए । अध्ययनको सिलसिलामा म्याक्सीकोमा पुगेका बुवाको मृत्युको खबरले दुर्गाको जीवनलाई असहज बनाइदियो । बुवाको मृत्युपश्चात् उनको भविष्यको लक्ष्य बद्लियो । डाक्टर बन्ने सपना नर्सिङमा परिणत भयो ।
२०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनका पाइला नर्सिङ क्षेत्रमा होमिए । यो क्षेत्रमा उनले मन लगाएर अध्ययन गरिन । उनले नर्सिङको पढाइमा स्नाकोत्तर तह पूरा गरिसकेकी छिन् । पढाइ सक्ने क्रममा उनले नेपाल विद्या भूषण प्राप्त गरिन । नेपालमै पहिलो स्थान प्राप्त गरेको खुसीले उनलाई थप ऊर्जा मिल्दै गयो । अहिले उनले पिएचडी अध्ययनका लागि तयारी गरिरहेकी छिन् । उनले जागिरको सिलसिलामा वैदेशिक भ्रमण र कार्य अनुभवको अवस्था नियाल्ने अवसर प्राप्त गरेकी उनले तालिमका लागि सिंगापुर, नयाँ दिल्ली र थाइल्याण्डको भ्रमण गरेको बताइन् । भेरी अस्पतालमा आइसकेपछि उनले सूप्रबल जनसेवा श्री तृतीय पुरस्कारसमेत प्राप्त गरी सकेकी छिन् । यो पदक प्राप्त गरेपछि दुर्गालक्ष्मीमा अझै आट र साहस बढ्दै गयो ।
पहिला उनलाई जति काम गरेता पनि कसैले नदेख्ने र अरुले नगर्दा पनि के नै भएको छ भनेर मनमनै तर्क गर्ने गर्थिन् । जब उनले राष्ट्रिय स्तरको पदक प्राप्त गरिन त्यसपछि कामको मूल्याङ्कन हुने रै’छ भन्ने कुराले आत्मविश्वास बढाउँदै गयो । यही आत्मविश्वासले नै दुर्गाको पहिचान अहिले देशभर छ । नर्सिङ क्षेत्रमा प्रवेश गर्दा उनले आफूले यति धेरै मान सम्मान पाउँछु अथवा यति धेरै सफलता हासिल गर्न सक्छु भन्ने सोचेकी थिइनन् । आज तिनै दुर्गा काम गर्दै जाँदा सबैका लागि उदाहरणीय बनेकी छिन् । उनको कामप्रतिको लगनशीलता र मेहनतले नर्सिङ पेसामा आउनेका लागि र काम गरी रहेकालाई हौसला मिलेको छ ।
दुर्गालाई सुरुमा प्युठानमा नर्सिङ क्षेत्रको लागि काम सुरु गर्दा काहली लाग्दो दृश्यलाई नजिकबाट नियाल्न पुगिन । एक सुत्केरीलाई जबरजस्ती घरमै सुत्केरी गराउँदा अवस्था निकै कमजोर भएपछि दुर्गाको पहलमा बुटवलसम्म उपचार गराउने वातावरण तय भयो । अप्रेशनपछि ती महिलाको ज्यान जोगियो । त्यो समयमा दुर्गाले पहल नथालेको भए अवस्था कस्तो हुन्थ्यो भन्ने कुराको अनुमान दुर्गालाई मात्र थाहा छ । उनले त्यस समयदेखि नै सुरक्षित मातृत्वका लागि पहल थाल्न सुरु गरिन । मातृ मृत्युदर घटाउन सुधारका पक्षहरु खोज्न थालिन । यही खोज र कामप्रतिको लगनशीलताले दुर्गालाई पेशाप्रति सन्तुष्ट पनि बनायो । कोरोना भाइरसको अवधिमा नियमति चेकजाँच नगराउँदा सुत्केरीहरुको मृत्युदर बढ्दै जाँदा दुर्गा निकै चिन्तित बनेकी थिइन । उनी बालविवाहका कारण सुत्केरीको मुत्यु भएको कुरामा दुःखी छिन् । साथै घरपरिवारले पनि गर्भवती महिलालाई सोही अनुसार सम्मान गर्नुपर्ने उनको भनाइ छ । त्यसैले दुर्गाले सामाजिक चेतना बढाउनु पर्ने कुरामा जोड दिँदै आएकी छिन् । उनले २०५४ साल ६ महिना ६ गते प्युठान जिल्लाबाट अस्थाई नर्सिङ सेवा सुरु गरेता पनि २०५४ सालबाट स्थाई रूपमा सोही जिल्लाबाट सेवा सुरु गरिन ।
गोर्खा जिल्लामा जन्मिएकी दुर्गाको बिहे पनि प्युठान जिल्लामा भयो । उनका श्रीमान व्यापारिक क्षेत्रमा छन् । श्रीमानको राम्रो सहयोग छ दुर्गालाई । श्रीमानको साथ र सहयोग पाउँदा दुर्गाले नर्सिङ क्षेत्रमा सोचे अनुसारको सेवा प्रवाह गर्न सकेकी छिन् । नर्सिङ पढ्ने बेला गाउँघरमा छोरी बिग्रिए नर्सिङ पढेर, छोरा बिग्रियो कमर्श पढेर भन्ने गरिन्थ्यो । तर उनले यो भनाइलाई वास्ता गरिनन् । आफ्नो जीवनको लक्ष्यप्रति अडिग बनिरहिन् । निरन्तर काम गरिरहिन । यो उपलब्धि र कामका लागि सकारात्मक सोचाइ नै प्रमुख रहेको उनी बताउँछिन् । काम गर्ने क्रममा आउने समस्या र अवस्थाहरुलाई सकारात्मक ढंगबाट सुल्झाउँदै जानु पर्ने उनको भनाइ रहेको छ । उनलाई अहिले पनि याद आउँछ उनकी दिदीले तिम्रो जीवनका ३ वटा सकारात्मक पक्ष अर्थात् सबल पक्ष लेखेर देऊ भनेको कुरा । त्यस दिन रातभर निदाउन सकिनन् उनी । रातभर तीनवटा सबल पक्ष खोजी रहिन । त्यसपछि उनलाई महसुस भयो हामीले गरेका कामबाट आत्मसन्तुष्टि र खुसीको लेखाजोखा गर्नु पर्ने रहेछ भन्ने कुरा । त्यस दिनदेखि दुर्गााले जीवनको परिवेशलाई र आफ्नो योजनालाई सामाजिक जीवनसँग जोड्न थालिन् । काम र जिम्मेवारीले दुर्गालाई समयभन्दा अगाडि नै परिपक्क बनाई दियो । सानो उमेरमा सहसचिव तहको उपाधि पाउँदा दुर्गालाई सुरुमा धेरैले पत्याएनन् । तर आज दुर्गाले कामले सबैको मन जितेकी छिन् । आफ्नो पदको गरिमा बढाउन सकेकी छिन् । नेपालमै आफ्नो छुट्टै पहिचान बनाउन सकेकी छिन् । जीवनमा आउने सङ्घर्षलाई सहजै स्वीकार गर्ने आट र साहस दुर्गामा छ ।
दुर्गाको पहलमा अस्पतालको सुधार गर्ने प्रयास भइरहेको छ । शान्ति मन्त्रालयसँगको समन्वयमा अर्थो रिहा प्रोजेक्ट भेरी अस्पतालमा ल्याउन दुर्गा सक्षम भइन् । यो योजनामा अस्पतालका सबै कर्मचारी र व्यवस्थापन पक्षले सहयोग गरे उनलाई । फलस्वरूप द्वन्द्वपीडितका लागि उपचारको व्यवस्था मिलाउन सहज भयो । यो सँगै अन्य रोग विशेष उपचारको व्यवस्थापनको क्षेत्रमा पनि राम्रो काम गर्न सकेको अनुभव उनी सँग छ । दुर्गा जस्ता नर्सिङ प्रशासक धेरै जन्मनु पर्छ । यस्तो आट र साहस धेरैले बढाउनु पर्छ । त्यसपछि मात्र नर्सिङ क्षेत्रको सुधार र सेवालाई प्रभावकारी बनाउन सकिन्छ । दुर्गाले भविष्यमा समाजसेवा गर्ने सोच बनाएकी छिन् । उनको अवकाशपछिको जीवनमा समाजिक सेवा गर्ने सोच सफल बनोस् । शुभकामना ।