सोच्दै नसोचेको क्षेत्रमा चर्चा बटुल्न योग्य बनाइदिन्छ समयले । कालखण्ड बित्दै जाँदा सोचेको लक्ष्य एकतिर अनि पाइला अर्कोतिर मोडिन्छन् । यात्राका गोरेटोहरु रोजे जस्तै गरी कसैले पाउँदैनन् तर यथार्थ के हो भने समय र परिस्थितिले मान्छेको पहिचान बदली दिन्छ । हामी सबैले चाहेको खुसी र सुखी जीवन हो । विडम्बना यी खुसीका पल भेटाउन नपाउँदै कति सहिद हुन्छन् त कति बाचुन्जेलसम्म ती खुसी पाउँदैनन् । जसले ती खुट्किला टेक्न सके ती सदा सदाका लागि चर्चाका पात्र बन्छन् । यस्तै समय क्रमसँग लड्दा लड्दै हिम्मत बटुल्न सकेकी एक नेतृ हुन बाँकेको खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया बिक । उमेरले ५० औं बसन्त पार गरिसकेकी खजुरा गाउँपालिकाको उपाध्यक्ष पदसम्म आइपुग्दा उनले जीवनका धेरै आरोह र अवरोह पार गरेकी छिन् । एकमाया बिक माथि अनेक दुःख, बर्जपात भएका छन् । नाममा एक भन्ने शब्द जोडिएता पनि उनको योगदान अनेक क्षेत्रमा छन्, जुन चर्चा गर्न लायक छन् । अनि नयाँ पुस्ताका लागि उर्जावान समेत छन् । सम्झन लायक गर्विलो इतिहास छ एकमाया बिकसँग ।
बुवा पदम सिंह बिक र आमा सन्तोषी बिकको कोखबाट विक्रम संवत् २०२८ साल साउन २० गते पृथ्वीमा पाइला टेकेकी एकमायाको जन्म साबिकको पञ्चकन्या गाविस हालको भरतपुर उपमहानगरपालिका चितवनमा भएको हो । एकमाया चौथौ सन्तान हुन् । उनका दुई दिदीबहिनी र दुई दाजुभाइ छन् । एकमाया बिक ४ वर्षको हुँदा २०३१ सालमा पूर्वी चितवनमा ठूलो बाढी आयो । बाढीले खेतीयोग्य जमिन सबै लग्यो । धेरै व्यक्तिहरुले अकालमै ज्यान गुमाए । त्यो राप्ती नदीको बहाव थियो । त्यसपछि घरसमेत गुम्यो । जंगलमा बाँस बस्नु पर्ने अवस्था आयो । त्यतिबेला एकमायाले बुवा आमा र घरपरिवारसँगै कष्टकर जीवन काटिन । त्यसैमा जातीय छुवाछुतको अवस्था धेरै भोगिन । पानी लिन जाँदा सहजै कुवाको पानी लिएर आउन सक्ने अवस्था थिएन । बाढीबाट ज्यान जोगाएको परिवारमध्ये एकमायाको पनि एक थियो । जंगलमा कष्टकर जीवन गुजारेको एकमायाको परिवारलाई नेपाल सरकारले पुनस्र्थापना गराई २०३२ सालमा चितवनबाट बाँकेमा बसाइसराइ गरायो । लमजुङदेखि आएको उनको परिवारसँगै सिङ्गो दलित समुदायको बस्ती चितवन हुँदै बाँके जिल्ला साबिकको वडा नम्बर ५ हाल खजुरा गाउँपालिका वडा नम्बर ३ बसाइँसराइ गरेर आएको हो । तत्कालीन सरकारले पुनर्वासका रूपमा जंगलको बीचमा बसालेको बस्तीमा त्यसै पनि जीविकोपार्जन गर्न कठिन थियो । गाउँभरि पानीको एउटै धारा त्यसमा पनि दलित भनेपछि चरम दमन गर्ने कुसंस्कारले गर्दा एकमाया विकको बाल्यकाल निकै कष्ठकर बन्यो । एकमायाको परिवार सामुदायिक हिसाबले बलियो भएता पनि त्यसबखत हुने जातीय विभेदका कारण सानै उमेरदेखि बिकले चरम जातीय विभेदको अवस्था झेल्नु प¥यो । बाढीले उजाडेको जन्मघरको त्यो बेलाको क्षण एकमायाका मानसपटलमा अझै ताजै छन् । एकमायाको बाल्यकाल अभावमै बित्यो । बाल्यकालदेखि नै जातीय छुवाछुतको नमीठो कथा मुटुभरि सङ्गालेर राखेकी छिन् एकमायाले ।
विभिन्न स्थानमा बसाइँसराइका कारण बिकले ६ वर्षको उमेरमा शिक्षाका लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मनकामनामा भर्ना भइन् । विद्यालयमा पनि हुने जातीय विभेदका कारण विकलाई सानै उमेरमा मानसिक तनाव हुने गर्दथ्यो । विद्यालयमा एउटै कक्षा कोठा भए पनि अलग्गै बस्नुपर्ने बाध्यता थियो । पानी खानको लागि पनि अरूले नदिएसम्म खान नपाउने अवस्थाको सामना गरिन एकमायाले । कक्षा ३ सम्मको अध्ययन नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट पूरा गरेकी विकले त्यसपछिको पढाइ आदर्श माध्यामिक विद्यालय खजुरामा गरिन । अध्ययनका लागि गाउँदेखि शहर आएपछि उनलाई गाउँमा जस्तो जातीय विभेदको सामना भने गर्नु परेन । २०४६ सालको जनआन्दोलनको सुरुवाती केही वर्ष अगाडिदेखि सुरु भएको क्रान्तिले बिकलाई जानी नजानी राजनीतिक यात्रामा प्रवेश गरायो । बिक कक्षा ८ मा अध्ययन गर्दादेखि अञ्जानमै राजनीतिक यात्रामा लागेको बताउँछिन् । बहुदल व्यवस्थाका लागि शिक्षकहरूले गरेको आन्दोलनले राजनीतिक यात्रामा प्रवेश गराएको उनले स्मरण गरिन । उनलाई अध्ययन गर्ने रहर धेरै थियो तर पारिवारिक आर्थिक कठिनाइका कारण उच्च शिक्षा हासिल गर्न पाइनन् । उनलाई सानो हुँदा स्टाफ नर्स पढ्ने रहर थियो । उनी कक्षा ४ मा पढ्दा कक्षा पाँच पढ्ने बालिकालाई स्टाफ नर्स पढ्नको लागि छात्रवृत्ति आयो । त्यतिबेला आफूले पनि अवसर पाउँछु कि भन्ने लाग्यो । तर अर्को वर्ष पनि कक्षा पाँचले नपाएर कक्षा ६ ले प्राप्त ग¥यो । यहीँ क्रम अगाडि बढ्दै जाँदा छात्रवृत्तिका लागि उनको पालो आएन । अभिभावकहरुले नर्सका लागि खर्च गर्न सक्ने अवस्था थिएन । उनले स्टाफ नर्स बनेर काम गर्ने चाहना पूरा गर्न सकिनन् । रहर मेट्नको लागि स्टाफ नर्सले लगाउने घरेलुको धोती सिलाएर धेरैपटक लगाएको उनी बताउँछिन । अनेक आर्थिक कठिनाइका बीच उमेर बढ्दै गयो ।
१९ वर्षको उमेरमा २०४७ सालमा उनले घरजम गरिन । आफ्नो वैवाहिक जीवनलाई प्राथमिकतामा राखेकै कारण उनले आफ्नो राजनीतिक यात्रालाई सक्रियतापूर्वक लैजान सकिनन् । उनका श्रीमान धन बहादुर बिकको घर सल्यान भएता पनि उनी जागिरको सिलसिलामा बाँकेमै थिए । उनका श्रीमानले नेपाल पुलिसमा जागिर गर्थे । प्रहरी सहायक निरीक्षक पदमा कार्यरत बिकसँग बाँकेमै चिनजान पछि बिहे भएको थियो । श्रीमानसँग जागिरका क्रममा रुकुम, जाजरकोट, दाङलगायतका जिल्लामा उनी पनि पुगिन । यहीँ क्रममा २०४९ सालमा उनी छोरीको आमा बनिन् । माओवादी सशस्त्र द्वन्द्वलाई एकमायाले नजिकैबाट देखेकी छिन् । सुरक्षामा खटिएका उनका श्रीमान धनबहादुरसँगको बसाइँले बिकलाई देशमा चर्किएको माओबादी द्वन्द्वलाई नजिकैबाट भोग्न बाध्य बनायो । द्वन्द्वका बेला बिताएका ती कहाली लाग्दा समयले बिकलाई मृत्युको स्पर्श गराउने गरेको उनको मानसपटलमा अझै पनि ताजै छन् । ती पैदल हिँडेका रात, हिडाइँको हरेक पाइलाका त्रास, मृत्युको भयावहमा बिताएका क्षणको सम्झनाले बिक अहिले पनि विक्षिप्त हुने गर्छिन् । २०५४ साल फागुन १२ गतेको घटना बिकले कहिल्यै भुल्न नसक्ने घटना हो । त्यसबेला जाजरकोटको रिम्मामा एम्बुस बिस्फोट भएपछि श्रीमानसँगको सम्पर्कबाट विच्छेद भई नाबालक छोरीलाई काखमा च्यापेर एक घण्टाभन्दा बढीको पैदलै यात्रा गरेर प्रहरीचौकी आएको उनको मृत्यु स्पर्श घटना उनी कहिलै बिर्सिन नसक्ने बताउँछिन् । जाजरकोटबाट आउने क्रममा एम्बुस बिस्फोट भएपछि हामी सबै बिच्छेद भयौं,‘ बिकले भनिन्, ‘श्रीमानसँगको मेरो सम्पर्क टुट्यो, बन्दुक बोकेका माओबादीले फायर पनि गरे, मेरो श्रीमान त्यस घटनाबाट बच्न सफल हुनु भयो । ‘कदम कदममा सङ्घर्षका घटना भोगेकी बिक र उनका श्रीमान् त्यस घटनापछि बर्दिया आए । बर्दियाका विभिन्न स्थानमा बिकका श्रीमानले सुरक्षाको जिम्मेवारी निभाए । तर पनि माओबादीको यातनामा कमी भने आएन । त्यसबखत बिकको परिवारले एकातर्फको दबाब र अर्कोतर्फको यातनाबीच सङ्घर्षमय जीवन बिताउनु पर्यो ।
२०५५ सालमा कान्छी छोरी जन्माइन् । बम र बारुद्धको गोलीको आवाजले झस्कँदै एकमायाले दोस्रो सन्तानलाई संसार देखाइन । समयक्रम चल्दै जाँदा २०५७ साल चैत्र २४ गते उनको जीवनमा नमिठो घटना घट्यो । इलाका प्रहरी कार्यालय नौमुले दैलेखमा माओबादीबाट आक्रमणमा परी उनका श्रीमानले ज्यान गुमाए । त्यतिबेला त्यो घटनामा ३२ जनाले ज्यान गुमाएका थिए । यो घटना हुँदा एकमाया बाँकेमै थिइन । यो घटनापछि एकमायाले साँच्चिकै एक्लो महसुस गर्न थालिन । यो पीडादायक अवस्थालाई एकमायाले मुस्किलले गुजारिन । हिम्मत नहारेर छोरीहरुको मुहार हेर्दे जीवनमा सङ्घर्ष सुरु गरिन । यसपछिको जीवन एकमायका लागि ढु्ङगा चपाउनु जस्तै भयो । एकातर्फ पति वियोग अर्कोतर्फ दुई छोरीको लालनपोषण र शिक्षादिक्षा दिनुपर्ने अवस्था उनको लागि सङ्घर्षपूर्ण थियो । त्यो बेला उनले घरपरिवारको पनि राम्रो साथ र सहयोग पाउन सकिनन् । देशमा चरम द्वन्द्व चर्किरहेका बेला बिकको पारिवारिक जीवनमा आएको त्यो काहाली लाग्दो दिन सम्झँदा बिकका आँखामा अझै पनि आँशु बनी बगिरहन्छन् ।
द्वन्द्वबाट पीडित भएकी बिक आफूलाई एक्लो भएको महसुस गर्न थालिन् । त्यसबखत देशमा एकमाया बिकजस्ता कैयौं महिला दिनहुँजसो विद्युवा हुने क्रम बढ्दै थियो । आफ्नो मनको पीडा भुलाउन र आफूलाई व्यस्त राख्न बिकले आफूजस्तै पीडित, एकला महिलासँगको मेलमिलापलाई प्राथमिकतामा राख्दै गइन् । विक्रम संवत् २०५८÷२०५९ सालदेखि सक्रिय रूपमा द्वन्द्व नियन्त्रणमा खबरदारी गर्ने क्रियाकलापमा संलग्न हुन थालेकी एकमायालाई सबै एकल महिलाले साथ दिँदै गए । यो साथले एकमायालाई हौसला थपिँदै गयो । यो प्रयासपछि २०५९ सालमै बाँके जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी निकायको पहलमा द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल गठन भयो । त्यतिबेला शोभा बिसी अध्यक्ष थिइन भने एकमाया सचिव बनेकी थिइन । त्यसपछि झनै एकमायाका पाइला दोब्बरले सामाजिक काममा होमिए । यसको केही समयपछि नेपालगन्जको धम्बोजीमा बृहत् कार्यक्रम भयो । त्यहाँ उनले राजनीतिबारे वितृष्णा व्यक्त गर्दै भाषण गरिन र राजनीतिकै कारण श्रीमान गुमाउन परेको दुःख व्यक्त गरिन । तर उनको बोल्ने शैलीबारे सबै राजनीतिक दलहरुले मन पराई पार्टीमा आउन आग्रह गरे । तर उनले सबैलाई अस्वीकार गरिन । पछि झुक्काएर आफूलाई अखिल नेपाल महिला संघ बाँकेको सदस्यता दिएको र पछि मात्र एमाले पार्टी भन्ने थाहा पाएको बताउँछिन् । त्यसैले उनी नचाहँदा नचाहँदै पनि राजनीतिमा होमिएको बताउँछिन । राजनीतिक यात्रामा पूर्णबिराम लागेको बिकको जीवनले फेरि राजनीतिक यात्राको शुभारम्भ ग¥यो । काका राजमणि बिकको प्रेरणाले बिकलाई फेरि राजनीतिक यात्रामा ल्याएको बिक बताउँछिन् । सामाजिक रूपान्तरणका लागि पाइला मोडिँदै गर्दा एकमायालाई २०५९ सालमा माओबादीले घेराबन्दीमा राखे । त्यो बेलाको क्षणमा उनले आफू फर्केर आउने नआउने के हो भन्नेमा चिन्ता लागेको बताउँछिन् ।
त्यसपछि विक्रम संव्त २०६० सालमा रातो रङ्ग अभियान सुरु भयो । यो अभियानलाई सफल बनाउन एकमायाले विशेष भूमिका खेलिन । यसका लागि छलफल गर्ने, घरपरिवारलाई सम्झाइ बुझाई गर्ने काममा अग्रणी भूमिका खेलेकी थिइन् । सुरुका दिनमा असहज भएता पनि पछि यो अभियानलाई सबैले सकारात्मक रूपमा लिए । धेरै महिलाको सिउँदो पुछिएको र रातो पहिरन गुमेको अवस्थामा एकल महिलाहरुले सुरु गरेको रातो अभियान सफल पार्न निकै सकस भयो । सुरुमा यो अभियानको सुरुवात बर्दियामा भएको थियो । यसको खबर काठमाडौं पुगेपछि नवलपरासीमा सुरु गरियो । त्यसपछि बाँके हुदै देशैभर चलेको थियो । त्यतिबेला वृद्ध एकल महिलालाई पनि रातो टीका, चुरा र धोती लगाउने कामको सुरुवात गरिएको थियो । रातो चुरा पोते लगाउँदा अरु महिलाहरु जस्तै समान देखिने र सामाजिक रूपमा पनि कसैले हेप्न नसक्ने भन्दै एकल महिलाहरुले थालेको यो अभियानलाई सबैले साथ दिए । मानवअधिकारका लागि एकल महिला समूहसँगको सहकार्यमा एकमायाले ठूला—ठूला समारोह सञ्चालन गर्ने अवसर समेत प्राप्त गरिन् ।
यसै क्रममा विक्रम संवत् २०६० सालमा तत्कालिन टोल विकास संस्था खजुराबाट सम्मानित समेत बनिन । ठूलो समारोहका बीच गरिएको यो सम्मानले बिकलाई अझै सामाजिक काममा रुचि बढायो । यसै वर्ष उनले नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । यसपछि विभिन्न राजनीतिक भातृ संगठन र अन्य सामाजिक संघ संस्थामा सक्रियता बढ्दै गयो एकमायाको । रातो रंगको ताकतकै कारण देशव्यापी रूपमा एकल महिलाले रातो रंगको मान्यता पाउनु सबैभन्दा ठूलो उपलब्धि भएको बिक बताउँछिन् ।
एकमायाले २०६२÷०६३ सालको आन्दोलनमा अहम भूमिका खेलेकी छिन् । त्यो आन्दोलनमा झण्डासहित ब्यानर लिएर अग्रपङ्क्तिमा रहेकी एकमायाले सहिद सेतु बिकलाई गुमाउँदाको क्षण अहिले पनि नमिठो लाग्ने बताउँछिन् । वैशाख ५ गतेको दिनको सहिद सेतुलाई गुमाउँदाको पीडाले सामाजिक परिवर्तनका लागि अझै जागत दिने उनले बताइन् । अहिले पनि सहित सेतुको शालिक भएको स्थानमा पुग्दा अहिले पनि प्रहरीले अश्रु ग्यास फाली रहेको, घाइते भएको र भागाभाग भएको याद गर्छिन । त्यतिबेलाको सेतु बिक चोक जतिबेला पानीमा खाल्डाहरु थिए । घाँस थियो । ढुङ्गाहरु थुपारिएका थिए । तर अहिले सेतु बिक चोक धेरै बद्लिसकेको छ । विकासको गति अगाडि बढेको उनी बताउँछिन् । १९ दिनपछि टुङ्गिएको यो आन्दोलनले देशमा राजनीतिक निकास दियो । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि एकमायाको मनमा पनि शान्ति छाउँदै गयो । विक्रम संवत् २०६४ मा भएको संविधान सभाको निर्वाचन सफल गराउन उनी दिनरात लागि परिन । मुलुकमा शान्ति र सुव्यवस्था होस् भन्ने चाहन्थिन एकमाया ।
उनीसँग आफ्नै हक अधिकारका लागि पनि सरकारसँग लड्नु परेको अविस्मरणीय घटना पनि विकको मानसपटलमा ताजै छन् । तत्कालीन सरकारले २०५५ वैशाख ५ गते द्वन्द्व पीडितका बालबच्चाको शिक्षाका लागि छुट्याएको अनुदानका लागि उनले गरेको सङ्घर्ष सह्रानीय छ । द्वन्द्व पीडित एकल महिला भएर पनि सरकारले गरेको निर्णय बमोजिम अनुदान पाउन विकले खजुरादेखि काठमाडौंसम्म गरेको कठिन यात्रा उनी सधँै सम्झने गर्दछिन् । द्वन्द्वकालमा बसमा गरेका यात्रा, खाना पानीको अभावमा बिताएका रातहरू, काठमाडौंमा गरेका धर्ना, तत्कालीन अर्थमन्त्रीसँग भएका प्रतिशोधका गाथाहरूले उनलाई निडर एकल महिलाका रूपमा प्रतिस्थापन गर्दछ । यसका साथै मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको सफलता पनि बिकको जीवनको ठूलो उपलब्धि हो । यसका साथै राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक सदस्यका रूपमा छिन् भने मानव अधिकारका लागि महिला एकल समूहमा केन्द्रीय सदस्य छिन् । फरक फरक खालका राजनीतिक अवस्थालाई नजिकैबाट नियालेकी एकमाया विक्रम संवत् २०७७ सालसम्म आइपुग्दा एक कुशल नेतृत्वका रूपमा परिचय बनाइसकेकी छिन् । एकमाया बिक भन्ने बित्तिकै साहसिली र आटिली राजनीतिज्ञ महिलाको रूपमा परिचय बनाउन जति सङ्घर्ष गर्नु प¥यो त्यति नै आनन्द अहिले उनलाई मिलेको छ । घरपरिवार र दुई सन्तानबाट खुसी छिन एकमाया । आफूले चाहना हुँदा हँुदै पनि स्टाफ नर्स पढ्न नपाए पनि ठूली छोरीलाई अहिले नर्सिङ क्षेत्रमा प्रवेश गराएकी छिन् । छोरीले नर्सिङ क्षेत्रमा काम गरिरहेको दृश्य हेर्न मन लागे पनि समय अभावले हेर्न भने नभ्याएको उनी बताउँछिन् । उनकी सानी छोरीले भने होटल म्यानेजमेन्ट पढिरहेकी छिन् । अहिले एकमायाको परिचय देशैभरि छ । उनले विदेशमा भारतको भ्रमण गरेकी छिन् भने नेपालका पूर्वदेखि पश्चिमका जिल्लामा अधिकांश जिल्लामा भ्रमण गरिसकेकी छिन् । हिजोको गरिबी, अभाव र सङ्घर्षलाई स्मरण गर्दै भावी पुस्ताले त्यो अवस्था झेल्न नपरोस् भनेर जनप्रतिनिधिका रूपमा खटिरहेकी छिन् एकमाया बिक । जीवनमा सबैभन्दा सुखीको क्षण एममायालाई आफ्नो कामको मूल्याङ्कन स्वरूप स्थानीय तहको निर्वाचनमा टिकट पाएको र विजयी भएको लाग्छ । विजयी भएपछि थप जिम्मेवारी बढेको उनी बताउँछिन । सामाजिक तथा राजनीतिक क्षेत्रमा चर्चा कमाएकी एकमायाले भविष्यमा महिला तथा ज्येष्ठ नागरिकको सेवामा समय खर्चने सोच बनएकी छिन् । विभिन्न आरोह अवरोहलाई सामना गर्दै अनवरत रूपमा लागिपरेकी एकमायाको जीवनमा थपिएका अनेक आयाम निरन्तर र सफल रहनु । शुभकामना ।