एक कठोर मनभित्र कुनै पनि हालतमा प्रेम पलाउन सक्दैन । जबसम्म त्यो मन परिवर्तन हँुदैन । किनकि प्रेम कोमलता र सरलतामा फुल्ने फूल हो, त्यसैले मानिस जति कठोर बन्दै जान्छ त्यति नै प्रेम ऊ बाट टाढा हुँदै जान्छ ।
एकदिन मेलामा भएको उसको र मेरो भेट लम्बिएको थियो । उसले मलाई आफ्नो दिदीबहिनी भन्दा पनि धेरै आत्मीय प्रेम गर्न थाली ।
एकदमै व्यस्त सहरमा आफन्त भन्नेहरु खाली साइनोमा मात्रै सीमित रहन्थे । सरकारी इन्जिनियर श्रीमान् सधैं घर भन्दा बाहिर अभ्यस्त रहने भएकोले सबै कुरा मेरै काँधमा थियो । जिम्मेवारीको भारीले थिचिएका मेरा कतिपय सपनाहरू अधूरा थिए ।
बुवा आमाको इच्छा विपरीत विवाहा गरेको हुनाले मलाई माइतीघरमा जान पाउने अधिकार थिएन । ठकुरी खानदानको आफ्नै रवाफ थियो । बुवाले मलाई पढाइ लेखाइ गरेर ठूलो मान्छे भएको हेर्ने रहर थियो । बुवा आमाले आफ्नो सन्तानको लागि देखेका अनगिन्ती सपनाहरूलाई लत्यायर मैले आफूभन्दा तल्लो जातको केटासँग विवाहा गरें । बुवा आमाले बेवास्ता गरेपनि मलाई केही पीर लागेन किन कि इन्जिनियर केटा , अत्यन्तै समझदार प्रखर थिए । त्योभन्दा पनि बढी मलाई अत्यधिक माया प्रेम र विश्वास गर्थे ।
म पनि आफ्नो जीवन साथीलाई धेरै विश्वास गर्थें । दुनियाँका यावत कुराहरूसँग मलाई सरोकार थिएन । उनको सफलता र खुसीको लागि सदैव कामना गर्दै जीवन निर्वाह गरिरहेकी थिएँ । एक छोरा र छोरीको लालनपालन, पढाइ लेखाइ, खानपिन र सम्पूर्ण व्यवस्थापनमा समय बितेको पत्तै भएन ।
छोरा कलेज पढ्ने भयो । छोरीले ब्याचलर सकाएर एक प्राइभेट कम्पनीमा काम गर्न थालिसकेकी थिइन् । घर परिवार र सन्तानको लागि मैले आफ्ना सपनाहरूलाई तिलाञ्जली दिएको थिए । रहर त मलाई पनि थियो, चट्ट परेर एक उच्चस्तरीय अफिसर लेबलको जब गर्ने । पढेलेखेकै थिएँ । एउटा उच्चस्तरीय काम गर्नको लागि कमी त केही पनि थिएन ।
परिवारको खुसी नै आफ्नो खुसी सम्झेर रमाउने कोसिस गरिरहें । इन्जिनियर श्रीमानको तारिफसँगै कुरा काट्नेहरु पनि धेरै थिए । म आफूले उनलाई कहिल्यै पनि कुनै अविश्वास र शंकाको दृष्टिकोणले हेरिन । उनको स्वतन्त्रता माथि आँैला उठाउने चेष्टा गरिन ।
मेलामा भेट भएकी साथीको नाम बुनु थियो । मसँग अत्यन्तै मिल्ने साथी बुनु मेरो घरमा आइरहन्थी । उसको र मेरो सम्बन्ध नङ र मासुको जस्तै थियो । हेर्दा सुन्दर रूप रङ्ग र शीलस्वभाव भएकी बुनुमा खै के कमीकमजोरी थियो या उसको श्रीमानमा केही त्यस्तो थियो उसले श्रीमानसँग डिभोर्स गरेर एक्लै बसेकी थिई । उसलाई डिस्टर्व गर्ने कोही नभएकोले पनि होला ऊ मेरो घरमा प्रायःजसो आइरहन्थी ।
बुनु मेरो श्रीमानसँग नजिक भएको कुरा त मलाई थाहा थियो तर मेरो अधिकार नै खोस्ने गरेर नजिक होली भनेर कल्पनै गरेको थिएन । मेरो श्रीमानलाई मेरै अगाडि उसले गरेको हस्तक्षेप जस्तो हावीपन मलाई मन परिरहेको थिएन । तर पनि साथी हो मजाक गर्छ सोचेर आफैंलाई सम्हालें । केही वचन लगाएन ।
भनिन्छ, कुनै पनि सम्बन्ध र व्यक्तिलाई आँखा चिम्लेर विश्वास गर्नु हुँदैन । सही रहेछ । एकदिन उसले मेरो बराबरको हक माग्न मेरो घरमा आई । म छलाङ्गाबाट खसेजस्तो भएँ । उसले आफ्नो पेटमा तेरो श्रीमानको बच्चा हुर्किरहेको छ र यसलाई अब उसले बाबुको नाम दिनुपर्छ भन्न थाली ।
श्रीमानको शिर झुकेको झुक्यै भयो । उनले मेरो नजरमा नजर राखेर कुरा गर्नै सकेनन् । म स्तब्ध भएँ । त्यो धोका, त्यति ठूलो विश्वासघात होला भनेर कहिल्यै सोचेन । म दुनियाँ संसार त्यागेर उनको लागि सारा जीवन अर्पण गरेकोमा ग्लानिले पग्लिरहें ।
जसको लागि बाआमा दुनियाँलाई चुनौती दिएर चटक्कै भुलेर उसलाई सारा संसार ठानेर जीवन समर्पित गरेकोमा आफैंप्रति ग्लानि भइरह्यो । बुनुको पेटमा बच्चा भएको कुरा डाक्टरले सही साबित गरेपछि उसलाई स्वीकार्नै पर्ने भयो । किनभने उसले त्यो गल्ती गरेको अवश्य थियो । नत्र अस्वीकार गर्न सक्ने थियो ।
मेरो वर्षौंदेखिको आस्था भरोसा र विश्वास टुटेको छ । कुनै पनि व्यक्तिले सबै कुरा आँखा चिम्लेर भरोसा गर्नु हुँदैन रहेछ । हरेक कुरामा विश्वास र शंका दुवैको नजरले हेर्नुपर्ने रहेछ ! टुटेको मन लिएर म चुपचाप बाँच्ने कोसिस गरिरहेकी छु ।
–नम्रता ठकुरी, नेपालगन्ज