आमाको हात समातेर सडक छेउमा हिँडिरहेको थिएँ । आमाको साथमा भए पछि निश्चिन्त रूपमा हिँड्न सक्थे । दुनियाँका कुरासँग प्रवाह थिएन । शनिबारको दिन थियो । स्कुल जानु नपर्ने भएकोले आमालाई मैले नै अनुरोध गरेको थिए । बाहिर सहरमा घुम्न जाऊ भनेर । बुवाले त जतिबेला पनि घुमाउन लैजानु हुन्थ्यो तर आमाको हात समातेर निश्चिन्त घुम्नुको मजा नै बेग्लै हुन्थ्यो । मलाई त्यहीँ मजा चाख्नु थियो ।
आमाको साथमा हिँडिरहेको म अचानक आमाको हातबाट छुटेपछि छेउमा नजर गयो त आमा रक्ताम्य भएर सडकमा लडिरहेको देखें । आमा आमा भनेर कराउँदै म नजिक गएँ । आमालाई एउटा ठूलो ट्रकले ठक्कर दिएको रहेछ । आमा छट्पटिँदै हुनुहुन्थ्यो । आमा सामान्य घाइते हुनुभएको थियो । सडकमा छट्पटाइ रहनुभएको आमालाई देखेर ट्रक ड्राइभरले आफ्नो गाडी ब्याक गरेर ल्यायो र हेर्दाहेर्दै उहाँलाई किचिमिची पारिदियो । म झन्डै दौडेर बाँचे । नत्र म पानि आमासँगै कच्याक कुचुक्क हुन्थे ।
आमा छट्पटाउँदै उठ्ने कोसिस गरिरहनुभएको थियो तर त्यो ट्रक ड्राइभरले किचेर मारिदियो । सडकमा एकैछिनमा मान्छेलेहरुको भिडभाड भयो । म स्तब्ध र निःशब्द आमा–आमा भन्दै रोइरहेको थिएँ ।
हेर्दाहेर्दै आमा लासमा परिणत हुनुभयो । बुवालाई पनि खबर पुगेछ । एकछिनमै आइपुग्नु भयो । उहाँको आँखामा पनि आँसु भरियो । सानो भाइ मात्र पाँच वर्षको थियो । म बाह्र वर्षको थिएँ । भाइले खै के कति बुझ्यो आमा–आमा भन्दै एकछिन रोयो र चुप लाग्यो । ट्रक ड्राइभरको मालिकले क्षतिपूर्ति दिने कुरा गरेपछि सहमति भयो । लास उठाइयो र विधिवत् रूपमा काजकिरिया गरियो । तेह्र दिनसम्म घरमा धेरै मान्छेहरु आउने जाने गरिरहे तर आमा मात्रै कुनै पनि दिनमा आउनु भएन । आमा साइनो सधैंको लागि सकियो । म र भाइ टुहुरा भयौं ।
आमा बितेको दुई महिना जति बुवाले जसोतसो हामीलाई साथ दिनुभयो । त्यसपछि बिस्तारै बुवा रक्सी खाएर एकदमै बेहाल अवस्थामा घरमा आउन थाल्नुभयो । पछि पछि त घरमा आउनै छोड्नु भयो । कुनै दिन घरमा आएर मलाई बेहोस हुने गरेर कुट्नु हुन्थ्यो । मानौं आमाको हत्यारा म नै हुँ ।
स्वर्ग जस्तो घर मरुभूमिमा परिणत भयो । घरमा खानेकुरा केही थिएन । बैंकले गाडी तानिसकेको थियो । घर लिलाम हुने सूचना टाँसिसकेको थियो । खानाको लागि घरमा अनाज थिएन । धेरै दिन हामी दाजुभाइ भोकभोकै रात कटाएर बस्यौं ।
हजुर आमाले हाम्रो बिजोग भएको कुरा सुनेर आफ्नो घरमा लिएर जानुभयो । मामा माइजुहरु विदेशमा बस्नुहुन्थ्यो । बुढी हजुर आमासँग बसेर धेरै दिनको भोक मेटेर बस्यौं । उहाँसँग पनि धेरै दिनसम्म बस्न लेखेको रहेनछ । दैव संयोग एक रात सुतेको सुत्यै हजुर आमाले पनि हामीलाई छोडेर जानुभयो ।
मामा माइजु आउनु भएन । हामी फेरि एक्लो भयौं । भाइ सानै थियो । आफू र भाइको लागि पनि केही त गर्नै पथ्र्याे । काम दोज्दै खोज्दै जाँदा जाँदै एउटा मोटरसाइकल ग्यारेजमा सरसफाइ गर्ने र चिया बनाउने काम गर्न पाएँ । ग्यारेजमा काम गरेबापत एक हजार रुपैयाँ पाउन थाले । त्यो कमाइ नै मेरो जीवनको ठूलो आधारशिला बन्न पुग्यो । बस्नको लागि हजुर आमाकोमा आश्रय छँदै थियो । खाना जुटाएर भाइलाई पढाउनेसम्मको पैसा पु¥याउनु पर्ने जिम्मेवारी मेरै भयो ।
आमा भन्नुहुन्थ्यो निरन्तर चुहिने पानीको बुँदले पनि बलियो पत्थरलाई खियाउन सक्छ । साँच्चै रहेछ । काम प्रतिको मेरो निरन्तरता र लगाव देखेर बिस्तारै मेरो तलब पनि बढ्दै गयो र जिम्मेवारी पनि थपिँदै गयो । म आफ्नो निरन्तरता र जिम्मेवारीबाट कहिल्यै पनि बिचलित भएन । भाइले दस कक्षासम्म पढ्यो । त्यसपछि उसले पनि काम सिक्न थाल्यो । इलेक्ट्रोनिक काममा विशेष रुचि भएकोले उसले त्यहीँ कुरा सिक्यो । पछि बाइक र गाडीका सम्पूर्ण पाटपुर्जाहरु बनाउन सक्ने विलक्षण प्रतिभा ऊ भित्र फष्टाउँदै गयो । फलस्वरूप उसको धेरै ठाउँमा माग हुन थाल्यो ।
म आफूले सबभन्दा पहिले काम गरेको शोरुमको मालिकले मलाई आफ्नो सम्पूर्ण जिम्मेवारी दिएर डिभी भिसामा अमेरिका जानु हुने भयो । त्यसपछि सबै कुरा मलाई नै जिम्मेवारी दिनु भयो । मेरो साथमा लक्ष्मण जस्तो कर्मठ भाइ थियो । फलस्वरूप एक वर्षभित्रमा मालिकलाई दिनु पर्ने दुई करोड रुपैयाँ चुक्ता गरेर आफ्नो मात्रै एकलौटी बनाउन सफल भयौं । आजका दिनसम्ममा हामीले धेरै कारोबार गरिसकेका छौं । हाम्रा आफ्नै धेरै शोरुमहरु छन् । धेरै जनालाई काम दिएकाछौं । असंख्य परिवारको चुलो बलेको अवस्था छ ।
जीवन सङ्घर्ष हो । यो अथक सङ्घर्ष अझै चलिरहेको छ र चलिरहने छ ।
–रिसव यादव/जनकपुर