आमाको अँगालो, कोमलता र मातृत्वले बाल्यकाल भरिपूर्ण हुन्छ । त्यसैले त बच्चाहरु आमाको काखमा निर्धक्कसँग निदाउँछन् । तर त्यही सन्तान ठूलो भएपछि आमालाई लत्याउँछन् । रुवाउँछन् र चटक्कै बिर्सन्छन् ।
पन्ध्र वर्षमा बुवाले मेरो विवाहा गरिदिनु भयो । विवाहापछि माइतीघर पराइ भयो । त्यसै पनि मेरी आफ्नी आमा हुनु हुन्थेन । कान्छी आमा भएको घर मेरो लागि सधैं बिरानो जस्तो थियो । गाडीमा खलासी गर्ने पूर्व खोटाङको केटाको पछाडि लगाएर बुवाले मलाई पठाउनु भयो । बुवाले जहाँ जोसँग पठाउनु भयो त्यहीँ कर्म घर सम्झेर बस्नुप¥यो । खलासी श्रीमान् कहिले पश्चिम उत्तर दक्षिण घुमिरहन्थे ।
खोटाङको गाउँमा एउटा सानो घर थियो त्यही घरमा लिएर छोडे । बुढा भएका सासू, ससुरा हुनुहुन्थ्यो । उहाँहरुको सेवा गरेर बस्नु मेरो काम भयो । त्यही कुरा सजिलो होस् भनेर विवाहा गरेर लिएका रहेछन् । म भन्दा बाह्र वर्ष जेठा श्रीमान, उनलाई घुम्न फिर्न रमाउन धेरै रहर थियो । मलाई एक्लै छोडेर गाडीमा नहिँड । सँगसँगै साथमा बसेर केही गरौं भन्दा पनि उनलाई कहिल्यै लागेन ।
एक वर्षपछि पेटमा बच्चा आयो म गर्भवती भएँ । कलिलो उमेरमा गर्भवती हुँदा मन आत्तिएको थियो । श्रीमानलाई यति कुरा सुनाएर बिन्ती गरें कि अब बाहिर नजाऊ यतै बसेर सँगै केही गरौंला । अब एकपटक मात्रै गएर हिसाब किताब गरेर आउँछु अनि जान्न भनेर हिँडेका श्रीमान कहिल्यै फर्केर आएनन् । धेरै समयपछि खबर आयो गाडी पल्टिँदा उनको मृत्यु भएको रहेछ । यो खबरले स्तब्ध बनायो । सारा संसार अँध्यारो भयो । म कसरी बाँचें ? म आफैंलाई थाहा छैन । तर बाँचें ।
बुढी सासू आमाले ढाडस दिनुभयो । पेटको बच्चाको लागि पनि बाँच्नु थियो । गर्भमा टुहुरो भएको बच्चाको लागि पनि बाँच्ने हिम्मत गरें । ९ महिनापछि छोरा जन्मियो । सासू, ससुरा खुसी हुनुभयो । म भने रोइरहें । एक्लो जीवन भएको भए त जहाँ जतासुकै गए पनि जसरी पनि बाँच्न सक्थे । अब यो बच्चालाई कसरी पालनपोषण गरुँ ? यस्तै प्रश्नचिह्न मनमा उठी रहे तर पनि त्यो सानो नाबालक सन्तानको लागि पनि मैले सङ्घर्ष गर्नुपर्ने थियो । मुटुमाथि ढुंगा राखेर पनि निशब्द बाँचिरहें ।
अरुको मेलापात नगरे खान पुग्दैनथ्यो । काम गर्ने एक्लो शरीर थियो । बुढा सासू, ससुरा केही गर्न नसक्ने । छोराको अनुहार हेरेर जस्तोसुकै दुःख पीडा पनि भुलेर बाँचिरहें । भोलिको सहारा छोरा सम्झेर उज्याला दिनहरुको आशा गरिरहे । सासू, ससुरा दुई वर्षको अन्तरमा यो धर्ती छोडेर जानुभयो । धेरै बच्चा खेर गएर बुढेसकालमा बाँचेको सन्तान, एउटा मात्रै छोरा पहिला बित्दा कुन बुवा आमाको मन भावविह्वल हुँदैन र ? त्यही पीडाले गर्दा पनि होला उहाँहरू चाँडै बित्नुभयो ।
त्यसपछि झनै समस्या पर्दै गयो । छोरालाई पाल्न पढाउन के के गरिन ? धेरै ठाउँ भारी बोकेर ज्याला मजदुरी गरेर छोरालाई पढाए, लेखाए, सक्षम बनाए । आशा र भरोसा त्यहीँ थियो कि, बुढेसकालमा सहारा बन्नेछ । छोराको मुख हेरेर नै सारा जिन्दगी बिताउँछु ।
भर्खरको कलकलाउँदो उमेर पनि त्यसै खेर फाले । छोरा छब्बीस वर्षको भयो । राम्रो बैंकमा नाम निकालेर जागिर खाने भयो । विवाहा पनि ग¥यो रे । नातिनी पनि छ रे । तर उ आउँदैन । काठमाडौंमा बस्छ । म उसैको पिरले गर्दा रोगी भएँ । पिसाब बन्द हुने मुर्छा पर्ने हुन थाल्यो । धेरै समयसम्म त्यस्तै हालत भइरह्यो ।
शरीर अशक्त भएपछि त बाँच्ने रहर पनि हराउँदै जाने रहेछ । म मर्न भनेर एकदिन मेटासिट खान आटेको थिए । एकजना गाउँका दाइले देख्नुभयो । मर्न दिनुभएन । मलाई आफ्नो गाडीमा राखेर उपचार गराउन लैजानुभयो । बयालीस वर्षकी म साठी वर्षकी जस्ती बुढी देखिन्थे । डाक्टरले उपचार गरेपछि शरीर अलि सन्चो भयो । दाइले केही लगानी गरेर नौबीसेमा सानो कटेरो बनाएर चिया नास्ता बनाउने पसल खोलिदिनुभयो । चिया नास्ता बनाउने मेरो कटेरो बिस्तारै बढ्दै गयो । आउने जाने मान्छेहरु गाडीबाट ओर्लेर चिया खाएर जान्थे । पछि बिस्तारै सेल रोटी, खीर अचार र अन्य नास्ता बनाउन थालें ।
नौबीसेमा फुलमती दिदी भनेपछि नचिन्ने कोही पनि छैन । सातजना काम गर्ने दिदीबहिनीहरु आजभोलि होटेल काम गर्छन् । काममा व्यस्त भएपछि चिन्ता कम भयो । चिन्ता नै नभएपछि रोगबाट छुटकारा मिल्यो । म अहिले यति धेरै दिदीबहिनीको सहारा बनेको छु । निष्ठुरी सन्तानलाई सम्झिँदा मन अमिलो भएर आउँछ । बाटोमा हिँड्नेहरुले धेरैपटक मधुसुदन सरको आमा हुनुहुन्छ भनेर नमस्कार गर्छन् । मान सम्मान गर्छन् । कस्तो निष्ठुरी छोरा रै‘छ भनेर कतिपयले कुरा गर्न खोज्छन् । तर म अनुरोध गर्छु, भयो खाटा बसेको घाउलाई नकोट्याऊ । अब म सबै कुरा भुलेर बाँच्न चाहन्छु ।
–फूलमाया जैसी, नौबीसे