बेलाबेलामा को पत्रकार कस्को पत्रकार र कुन दर्जाको भन्ने विषयमा पत्रकारिता गर्नेहरुमा छलफल हुँदै आएको छ तर खास यसको यहीँ नै प्रष्ट जवाफ र निष्कर्षमा भने पुग्न सकिँदैन । तर यो बहसको पेचिलो विषय हो जस्तो लाग्छ यद्यपि यिनै कुराहरुको विषय उठाउने हरु नेतृत्वमा पुग्दा यी विषयहरू त्यतिकै ओझेलमा पर्छन् ।
दैनिक पेसागत रुपमा पत्रकारिता गर्नेको त खासै चर्चा नै हँुदैन उनीहरुको दर्जाको त कुरै छाडौं । दिनभरि रेडियोमा समाचार पढ्नेहरू, समाचारमा जनआवाज लिन गल्ली गल्ली चोकमा रेकर्डर लिएर अन्जान मानिस सँग जनआवाज लिनेका अनुभवले त पत्रकारको दर्जा नै पाउँदैनन् उनीहरुका समाचारले स्पेस पनि खासै पाउँदैन झनै तलबको कुरा त के गर्नु खाना खाए खाजा खान पुग्दैन तै पनि मिडिया हाउसले कहिँ नपाएर काम गर्न आएजस्तो व्यवहार गर्छन यसले श्रमजीवी पत्रकारहरु पेसागत रुपमा टिक्न सकस परेको छ । आज बजारमा रेकर्डर लिएर निस्केका र दैनिक रेडियोमा आवाज बेचेका साथै एउटा उर्जावान उमेर खर्चेकाहरुले कहिल्यै राष्ट्रिय मिडियाको आँखामा पर्दैन र जिल्लाको संवाददाता समेत बन्न मिडियाले उनीहरुलाई प्रथामिकता दिँदैन अनि यो खालको परिपाटीमा एउटा सामान्य पत्रकारले कसरी पेसामा निरन्तरता दिन सक्छ लहडमा पत्रकार हुने र बाध्यतामा छाड्ने पेसा पत्रकारिता बन्दै गएको छ ।
१० वर्ष रेडियोमा सक्रिय पत्रकारिता गर्दै आएकाहरु अहिले सामान्य १५÷२० हजार पारिश्रमिककै लागि गर्दै आएको पत्रकारिताको बिट मार्न पुग्नु साहै्र पीडादायी स्थिति छ । यस्ता तमाम समस्याको विषयमा न पत्रकारको साझा संगठन मानिएको पत्रकार महासंघ बोल्छ न पार्टीका भातृ पत्रकार संगठन नै नेतृत्वमा एजेन्डा बनाउँछन् अनि कसरी एउटा तल्लो लेबलको पत्रकार पेसागत रुपमा टिकिरहन सक्छन् त यो आम पत्रकारको बहसको विषय बन्नु पर्दैन ?
अहिले अनलाइन न्युज पोर्टल हुनेहरु चाहिँ खाँटी पत्रकार जस्तो गरिरहेका छन् न त्यो अनलाइन सूचना विभागमा दर्ता हुनुपर्छ न इजाजतपत्र नै लिनुपर्छ आधिकारिक होस् न होस सामान्य लिङ्क बन्ने बित्तैकै एक दुईवटा सनसनीपूर्ण समाचार हालेर नक्कली भ्युज देखिने अनलाइन सञ्चालन गर्ने नै सकली पत्रकार हुन त ..! यो विषयमा बहस हुनु जरुरी छ अर्काथरि जिल्लामा राष्ट्रिय मिडियाको संवाददाता हुनेवाला चाहिँ वरिस्ठ र अग्रज पत्रकार हुने र एउटा समाचारको स्रोतलाई अर्कै बनाउने र सत्य तथ्य कुरा मिडियामा ल्याउनु भन्दा पहिले नै समाचार लेख्दै छु यस्तो लेख्छु यसरी लेखेर भोलि तिम्रो चरित्र नै सखाप पार्छु यति दिने भए देऊ नत्र फेरि भनेर थर्काउने धम्काउनेहरु पो अहिले खोज पत्रकार बनिरहेका छन् । यसले पत्रकारिताको आचारसंहिताको धज्जी उडाएको कसले नियन्त्रण गर्ने र पेसागत मर्यादा कसले कायम गर्ने यस्तो पत्रकारिताको विकासले कस्तो जवाफदेहिता र पारदर्शिता साथै आम नागरिकको सूचनाको हकलाई सुसूचित पार्ला ?
लेखकः बास बाग्मती प्रदेश संयोजक हुन् ।