कस्ताे अपत्यारिलो छ है जिन्दगी।
जे साेच्छाैं त्याे हुँदैन तर जे कल्पना पनि गरेका हुँदैनाैं त्यही भइदिन्छ।
यस्तै अपत्यारिलो र अप्ठ्यारो छ मेराे जीवन कहिले एकै तरिकाले अघि बढेन। सानैदेखि सुखैसुखमा हुर्केकी म। जसलाई दु:ख के हाे, पीडा के हाे केही थाहा थिएन।
सम्पन्न परिवार थियो। बुवा शिक्षक हुनुहुन्थ्यो अनि म त्यही विद्यालयकी अब्बल केटी । सबैले धेरै माया गर्थे।
गाउँभरिका नै सबै मेराे तारिफ गर्थे। सरहरू पनि भन्नु हुन्थ्याे कि- नानी तिमीले हाम्राे नाम राख्नेछाै।
म नि ठूल्ठूला सपना बुनेर बस्थें।
किशाेरावस्थामा पुगेपछि मलाई हाम्रै कक्षाकाे एउटा केटा मन पर्न थाल्याे।
उसकै कल्पनामा डुब्न थालें तर भन्ने हिम्मत जुटेन किनभने म बाहुन अनि ऊ क्षेत्री।
हाम्राे सम्बन्ध अगाडि बढे पनि कसैले स्वीकार्दैनन् साेचेर मैले आफ्नाे पहिलाे प्रेमकाे आभास मनमै दबाएर राखें।
पछि म त्याे स्कुल छाेडेर राम्राे उच्च शिक्षाको लागि तराई झरें।
पछि थाहा पाए कि त्याे केटा र मेरी एकदम मिल्ने साथी एकअर्कालाई मन पराउँछन् रे।
मलाई त छाँगाबाट खसेजस्ताे भाे तै पनि सम्हालें।
एकचाेटि फेसबुकमा एउटा केटाले प्रेम प्रस्ताव राख्याे।
मैले नि स्वीकार गरें किनभने म एक्ली भएकी थिएँ। पछि थाहा भयाे कि त्याे केटासँग नि बिहेवारि नहुने रहेछ।
मेराे घरपरिवार सधैं धेरै कट्टर थियाे। आमाले सधैं भन्ने गर्थिन् कि- छाेरी हाम्राे इज्जत् तेरै हातमा छ त्यसैले केही गर्नु अघि साेच्नू।
तर म त उसकाे मायामा डुबिसकेकी थिएँ। सँगै जीवन बिताउने सपनाहरू सजाएका थियौं तर आफ्नाे खुसीभन्दा आमाबुवाकाे इज्जतलाई राेजें र अर्कैसँग बिहे गरे।
शरीर अरूसँग भए नि मन त उसैसँग थियो।
कति दिनरात उसलाई सम्झी रून्थें। बिहे त गरें तर श्रीमानको माया कहिल्यै पाइनँ।
मेराे श्रीमान र उनकाे परिवारका अरू सदस्यहरूले खाेजेकाे जस्ती असल, सबै काममा निपूर्ण परिनँ। त्यसैले बिहे भएकाे ४ वर्ष भइसक्दा पनि अहिलेसम्म कसैको मन जित्न सकिनँ।
न त श्रीमानले बुझ्छन्, न त काेही अरूले नै। अस्ति धेरैपछि पहिलाको ब्वाइफ्रेन्डसँग दुखेसो पाेखेकाे, उसले नि भन्याे – त्याे बेला बिहे गरिहाल्याै अब जे छ त्यसैमा चित्त बुझाउन रे। उसकाे माया नि त्यहीसम्म रहेछ!
कस्तीबाट कस्ती बनें म।
‘के साेचेथें जिन्दगीमा के/के भयाे आज’ भन्ने गीत याद आउँछ।
सानाेमा सबैकी आँखाकी नानी थिएँ म, आजकल कसिंगर भएँ।
धेरै नरमाइलो लाग्छ जब कसैकाे पनि साथ र माया पाइँदैन।
कतिखेर त लाग्छ कि न श्रीमानले माया गर्छन् न त पूर्वप्रेमीले नै गर्छ, न त घर परिवारले नै अनि कसकाे लागि बाँचू म? बिहे गर्दा त साेचेकी थिएँ कि जस्ताेसुकै परिस्थिति आए पनि सहुँला, आमाबुवाकाे संस्कारमा आँच आउन नदिउँला तर आमाबुवा धेरै गाह्रो हुने रहेछ कसैकाे मायाबिना जिन्दगी बिताउन।
हुन त मेराे श्रीमान एकदम राम्राे हुनुहुन्छ। उहाँलाई भेटेपछि तारिफ नगर्ने कमै हाेलान्।
धेरैजसाे समय समाजसेवामै बिताउनु हुन्छ। मैले मेराे पूर्वप्रेमीलाई भुलाउने काेसिस गरेर उहाँलाई अपनाउने काेसिस धेरैचाेटि गरें तर उहाँलाई ममा कुनै चासाे छ जस्ताे लाग्दैन।
कहिल्यै त्यस्ताे खास अनुभव गराएनन्। कस्ताे भाग्य रहेछ मेराे।
कसैकाे पनि माया नपाइने।
न त केही बन्न सकें। सबै सपनाहरू अधुरै रहे। चाहेकाे जस्ताे केही गर्न सकिनँ। न त साेचेकाे केही पूरा भयाे।
अब त लाग्छ कि छिट्टै याे संसारबाट बिदा मिले हुन्थ्याे। किनभने म थाकिसकें सबै कुराबाट। सबैलाई खुसी दिन खाेज्दाखाेज्दै आफ्नै भागकाे खुसी नि सिद्धिएछ।
– सेतो पाटी अनलाइनबाट साभार