हरेक बिहानी सबैका लागि बिशेष हुन्छ, बिहानपखको समयलाई शुभ समय पनि मानिन्छ । म व्यक्तिगत काम बिशेषले साउन ३० गते बिहानै नेपालगञ्जको चारवाहिनि गएको थियो । स्थानीय शान्ति समिति, बाँकेका संयोजक तेज बिक्रम शाहले मलाई फोन गरे र भने दुःख खवर सुन्नु भयो, म झसंग भएँ । मैले सुनेको छैन भन्न नपाउँदै अलि मधुरो स्वरमा भने नयन जिको बिद्युतको करेण्ट लागेर हिँजो निधन भएछ, म खंग्रङ्ग भएँ, अपत्यारिलो थियो खवर तर बास्तविकतालाई कस्लेनैं नकार्न सक्छ र ? नियतिको खेल न हो, एक छिन अघि भएको मान्छे एकै छिनमा हुँदैन ।
जानकारी भए अनुसार म तेजबिक्रमजीलाई भेट्न वी.पि.चौक तिर गएँ । उनको निधन वारेको विवरण सुने, सबै स्तव्ध थिए, उनको पार्थिव शरिर राखिएको नेपालगञ्ज मेडिकल कलेज म जान सकिन । सुर्खेतरोड स्थित उनको निवास वाहिर थुप्रै व्यक्तिहरु जम्मा भएका थिए मलिन अनुहार लिएर । चिनेका साथिहरुसँग भेटें । यो सबैका लागि दुःखद खवर थियो, जे नुहनु थियो, त्यो भईसकेको थियो । अव उन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु र उनको योगदानलाई अविश्मरणिय बनाउनु बाहेक अरु कुनै बिकल्प हामीसँग थिएन ।
लागु पदार्थ बिरुद्ध बिगत एक दशक बढि देखि सक्रिय रावलको नेपालगञ्ज –१३ सुर्खेतरोड घरमा करेन्ट लागेर निधन भएको थियो । अघोषित लोडसेडिङ्गको मारमा परेको नेपालगञ्जवासीका लागि घर–घरमा ईन्भर्टर जोड्नु बाध्यता भईसकेको छ । त्यहि बाध्यताले अन्ततः नयनजीको ज्यान लियो । उनले घरमा जोडेको ईन्भर्टरले काम गर्न छाडेपछि लगातार कराउन थाल्यो । चर्काे गर्मि छल्न नुहाउँदै गरेका नयनलाई ईन्भर्टर कराई रहेको सूचना परिवारका सदस्यले दिएपछि उनी भित्र पसे र ईन्भर्टरको ज्याक निकाल्न थाले । ज्याक निकाल्दै गर्दा बत्ति आयो र त्यहि बक्तिको करेण्टले नयनजी माथि आक्रमण गर्यो रछाडेन । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लैजाँदै गर्दा उनले हामी सबैलाई छाडेर अञ्जान गन्तव्यमा प्रस्थान गरे ।
कसले सोचेको थियो, शारिरीक रुपमा मात्रै नभई सामाजिक योगदानमैं अग्लो उचाईका नयनजी हामी सबैलाई छाडेर यति चाँडै जालान् भनेर । हँसिलो व्यवहारका धनि नयनजी नहुँदाको अभाव हामी सबैलाई सधैंभर खड्किरहनेछ । लागु पदार्थ बिरुद्ध बाँके जिल्लामा क्रियाशिल गैर सरकारी सँस्था चेन्ज टिम र रिकभरिङ्ग नेपालको कार्यक्रम संयोजकको रुपमा बिगत लामो समय देखि कार्यरत रावल लागुऔषधमा फसेका युवाहरुलाई उपचार गर्ने र युवा पुस्तालाई लागुऔषधमा फस्न नदिने सामाजिक अभियान चलाउदै आएका थिए । ४३ बर्षिय रावलको निधनले लागु पदार्थ बिरुद्धको एक कुशल अभिभावक महसुस सबैलाई भएको त छ नैं । समाजको एक असल व्यक्ति गुमाएको महसुस सबैलाई भएको छ ।
सामाजिक क्षेत्रमा लागेर समाज सेवा गर्ने उनको कुनै उद्धेश्य थिएन, समय र परिस्थितीले उनलाई सामाजिक कार्यमा डोर्याएको थियो । बाल्यअवस्था उनको लागि सुखद भएता पनि किशोरावस्था उनको त्यति सुसद हुन सकेन । जुन कुरा बुझ्न उनलाई एक दशक लाग्यो । एक दशक लामो समय उनले साथिसँगिको लहैलहैमा अनुत्पादक रुपमा बिताए । त्यहि कार्यलाई उनले मोजमस्तिको रुपमा बुझे । लागुपदार्थ जस्तो कुलतको दल–दलमा फसे । परिवार, समाजको लागि मात्रै बोझ बनेन्, उनलाई आफ्नै जिन्दगि आफैलाई बोझ लाग्न थाल्यो तर यो क्रमले लामो समय लिएन । जसको क्रमभँगता गराईदियो आईएनएफद्धारा नेपालगञ्जमा सञ्चालित डिएआरसि नामक पुर्नस्र्थापना केन्द्रले । जसबाट उनले नयाँ जीवन पाए ।
उनीजस्तै नयाँ जिन्दगि लिएर समाजमा पर्दापण भएका सहयात्रीहरुद्धारै स्थापित भयो –परिवर्तन समूह (चेन्ज टिम) । नाम अनुसारकै साँच्चिकै परिवर्तन भएका व्यक्तिहरुको संलग्नतामा सुरु भएको थियो –परिवर्तन समूह । जसको नेतृत्वमा अरु साथिहरुलाई राखेर नयन जी व्यवस्थापनमा खटिए । उनी यसरी खटिए कि उनले त्यसलाई सँस्थागत रुपनैं दिन सफल भए । जो व्यक्ति कुनैवेला त्यहि लागुपदार्थको साझेदार बनेको थियो, त्यहि व्यक्ति भोगेर, बुझेर लागुपदार्थ बिरुद्धको पहरेदारको रुपमा समाजमा उच्च प्रतिबद्धताका साथ अगाडी आयो । जसलाई सबैले रोल मोडलको रुपमा लिए ।
उनी धेरै आशा विहिन, कुलतमा फस्न पूगेका, बाटो बिराएका, थाहा नभएका व्यक्तिहरुको प्रेरक व्यक्तित्वको रुपमा समाजमा स्थापित हुँदै गए । दुव्र्यसनलाई अपराधको रुपमा नभएर रोग र समस्याको रुपमा लिनु पर्दछ भन्ने बिचार बोकेका रावल असाध्यै परिपक्कताका साथ लागु पदार्थ बिरुद्ध लागेका थिए । २०२९ असोजमा नेपालगंज— १३ मा जन्मिएका रावल लागु पदार्थ बिरुद्धको संस्था रिकभरिङका माध्यमबाट यो क्षेत्र हेर्थे । विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा समेत काम गरेका रावल लामो समय देखि यहि क्षेत्रमा क्रियाशिल थिए ।
गलत बाटोमा लागेका ब्यक्तिलाई समाज र साथिभाईहरुले गर्ने ब्यवहार र हेर्ने दृष्टिकोण नकारात्मक मात्रै नभई अपमानित समेत हुनुपरेको गुनासो बिभिन्न कार्यक्रममा उनले गर्थे ।
२०६६ माघ ४ गते नेपालगंजमा स्थापना भएको रिकभरिङ्ग नेपालको संयोजक भएर सामाजिक कार्य सरुवात गरेका रावल सधैं समन्वयकारी भूमिकामा रहन्थे । कैयौं लागुपदार्थ प्रयोगकर्ताहरुलाई पूर्नस्थापना केन्द्रमा पठाएर जीवन परिर्वतन गर्नको लागि पहल चालेका उनलाई उनीहरुको सुरक्षित भविष्यको चिन्ता हुन्थ्यो । उनीहरुलाई पुर्नस्र्थापना पश्चातको जीवनलाई कसरी सघाउने उनलाई सधैं यो बिषयमा चिन्तन गरेको पाईन्थ्यो ।
लागु पदार्थ सेवनकर्ता रोगी भएको बताउने रावल लागु पदार्थ प्रयोग गरेर स्वास्थ्य बिग्रिएका ब्यक्तिलाई जेल होईन उपचार गराउनु पर्दछ, र उपचार गर्न पाउनु उसको अधिकार हो भन्ने मान्यता राख्दथे ।
लागु पदार्थ प्रयोग गर्ने मान्छेलाई सबैले अपराधिको दृष्टिकोणले हेर्ने सामाजिक परिवेशका कारण उनीहरु मानसिक तनावमा फस्ने, समाजबाटै अलग हुनु पर्ने गरेको उनको अनुभव थियो । उनको अगुवाईमा लागु पददार्थ बिरुद्ध काम गर्ने संस्थाहरु बिचको सहकार्य बढ्नुका साथै लागुपदार्थ बिरुद्धको अभियान सशक्त भएर अघि बढेको थियो ।
प्रायः जीवनमा असफल भएका, प्रेममा, परिक्षामा असफल भएका व्यक्तिहरु लागु पदार्थमा फस्ने गरेको अनुभव बटुलेका नयन मिजासिलो, हक्कि स्वभावका थिए । जे भन्नु छ त्यो कुरा अगाडीनैं गर्थे । शारिरिक रुपमा हुष्ट, पुष्ट, अग्लो जीउज्यानका थिए । बुलन्दित आवाज थियो, कुशल नेतृत्व सिप थियो उनमा । त्यहि भएर सयौं युवाहरु जो लागु औषधको दल–दलमा फसेका थिए । उनीहरु उनकै आडभरोशामा लागुपदार्थको दलदलबाट उन्मुक्ति पाउन मौखिक उपचार लिईरहेका थिए । त्यहि मेथाडोन पद्धति कुशलतापूर्वक सञ्चालन गरेका कारण उनी पछिल्लो समय अझ बढि चर्चित र लोकप्रिय थिए ।
उनीसँगको मेरो चिनजान भएको करिव एक दशक पूग्न थाल्यो । मैले उनलाई कहिल्यै निराश र नकारात्मक देखिन । जहिले उत्साहित हुन्थे उनी । भेट्ने बित्तिकै अभिवादन गर्ने र आफ्नो कामका बारेमा कुरा गरिहाल्ने बानी भएका नयनजी सँग थुप्रै कार्यक्रम र अभियानहरुमा सहकार्य गर्ने काम मैले गरेको छुँ । उनी एउटा साँच्चिकै सहयात्रीको व्यवहार गर्थे । बिश्व एड्स दिवस मनाउने सन्दर्भ होस् या लागु पदार्थ बिरुद्धको दिवस मनाउने सन्दर्भमा होस् उनको उत्साह र प्रतिबद्धता अरु भन्दा फरक हुन्थ्यो । सामुहिकतामा बिश्वास गर्थे उनी । सबैलाई समेटेर काम गर्नु पर्दछ भन्ने मान्यता उनमा थियो । उनी पदको हिसावले उनले काम गर्ने संस्थाको प्रमुख हुन् । तर उनमा त्यो दम्भ कहिल्यै देखिएन । हरेक कार्यक्रमको निम्तो दिन कार्यालयहरुमा आफै पत्र बोकेर जान्थे । कार्यक्रममा आईदिन अनुरोध गर्थे, कार्यक्रम हुनु पूर्व फेरी फोन गरेर सम्झाईहाल्थे । म आवद्ध भएको संस्थाको कार्यक्रममा उनी अक्सर आउँथे र म उनले आयोजना गर्ने कार्यक्रमहरुमा प्रायः पूग्थें, आफू जान नसके, अन्य साथिहरुलाई पठाउँथे ।
२०७३ असारमा म आबद्ध सँस्थाले नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा युवा लक्षित कार्यक्रम अन्र्तगत लागु पदार्थ बिरुद्ध कार्यक्रम सञ्चालन गर्दा उनसँग समन्वय गर्ने मौका मैले पाएको थियो । उनले हामीलाई धेरै सजिलो गरि सहयोग गरेका थिए । १/२ वटा गतिविधि सँगै मिलेर पनि काम गरेका थियौं । समन्वयमा समयमा काम हुनु पर्दछ भन्ने मान्यता राख्थे उनी । उनी सकभर मोटरशाईकिलमैं काठमाण्डौं पूग्थे । पछिल्लो पटक उनी काठमाण्डौं गएको बेला मेरो उनसँग फोन सम्पर्क भएको थियो । सम्भवतः असार २५/२६ गते उनसँग भएको कुराकानीनैं सम्भबतः अन्तिम भयो । काठमाण्डौंबाट फर्केपछि भेट्ने उनको र मेरो मोवाईल सल्लाह सधैंका लागि अपूरो भयो । फोनमा भएको कुरा बमोजिम उनले काठमाण्डौंबाटै जुलाई ११ मा मेरो फेसबुक मेसेञ्जरमा २ जना पुर्नस्र्थापित लागुपदार्थ प्रयोगकर्ताहरुलाई व्यवसाय सञ्चालनको लागि सहयोग गरिदिने बारेको पत्र पठाएका छन् । जुन मेरो लागि अविश्मरणिय छ । कैयौं पटक उनसँग मेरो चिया गफ भएको छ तर पछिल्ला दिनहरुमा उनको र मेरो चिया गफ भएन । जुन दिन घटना घट्यो, त्यो दिन म वीपिचौक स्थित गण्डकि चिया पसलमा बेलुकी जानै लागेको थिएँ त्यहि वेला साथि टी.एस. ठकुरीको फोन आयो र उनले अर्काे ठाउँमा बोलाए रम त्यहाँ गईन । त्यहाँ गएको भए नयनजीसँग भेट हुनेरहेछ उनी त्यहाँ गएका रहेछन् । जुन कुरा पछि थाहा भयो, पछि थाहा भएर के गर्ने पछुताउनु शिवाय ।
उनको निधन भएको २ दिन पछि उनको अन्तिम दाहसँस्कार भयो, बर्दियाको भादा नदिमा उनको अन्तिम दाहसँस्कारमा सामाजिक क्षेत्र लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुसँगै सरिक भई अन्तिम श्रद्धाञ्जलि दिने काम गर्दै गर्दा उनका वुवा मिन बहादुर रावल छोराको निधनबाट जत्तिको मर्माहित देखिन्थे, सबै क्षेत्रका धेरै साथि छोराले कमाएकोमा अचम्मित पनि देखिन्थे । अन्तिम दाहसँस्कार हुँदा पानी पर्दा धर्मात्मीको स्थान लिएको विश्वास गरिन्छ, त्यहि बेला अचम्म तरिकाले बर्षा भएको थियो ।
उनको निधन भएको आज तेह्र दिन भईसक्यो, सिँगो बाँकेको सामाजिक क्षेत्र स्तव्ध छ, त्यति मात्र होईन, उनको कपाल काट्ने राज, उनलाई चिया दिने नेपालगञ्जका धेरै दिदिबहिनी, उनले गरेका राम्रा कामहरुका बारे समाचार लेख्ने पत्रकार, उनीसँगै लागु पदार्थ प्रयोगकर्ताहरुको उपचारमा सँलग्न चिकित्सक, उनको आडभरोशामा रहेका तमाम युवा, उनको अभियानलाई साथ दिने सहयात्रीहरुका आँखा ओभाएका छैनन्, शोक मग्ननैं छन्–उनलाई नजिकबाट चिन्नेहरु ।
अन्तमा दिवंगत रावल प्रति चिरशान्तिको कामना गर्दछु । शोकाकुल परिवार प्रति हार्दिक समवेदना । उनले समाजलाई दिएको योगदानलाई सधैं स्मरण गरौं । उनी भौतिक रुपमा हामी माझ नरहेतापनि उनको छाया, उनको काम र योगदान कहिल्यै टाढा हुनेछैन, हाम्रै वरिपरी रहनेछ । उनको कार्यलाई अजर, अमर राख्न उनको नाममा अक्षय कोष खडा गर्न जरुरी छ । जसबाट उनले चाहेका, सोचेका कामहरु पूरा गर्न सकियोस्, आउनुहोस् नयनजीको सम्झनामा अक्षयकोष खडा गरि सामाजिक कार्य गरौं ।
(२०७३ साल साउनमा प्रकाशित यो आलेख रावलको पूण्यतिथीको दिन पुनः प्रकाशित गरिएको छ -सम्पादक)