कैलाली/ लस्करै निलो टिनले छाएका अनि व्लकले बनेका स—साना दुईकोठे घरहरु । टाढैबाट देख्दै रमाईलो लाग्ने दृश्य धुरजन्ना नमुना बस्तिको हो । यो बस्तिलाई सुकुम्बासी शिविर पनि भनिन्छ । यो शिविर कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा पर्छ । यो बस्ति बि.सं २०७५ साल असाढ महिनामा बसेको हो । बस्तिमा ६४ घरधुरी छन् र झण्डै ५ सय भन्दा बढी जनसंख्या छ ।
टाढैबाट हेर्दा रमाईलो लाग्ने, बस्तिका प्रत्येक घरभित्र अनेकौँ पीडाहरु लुकेर बसेका छन् । प्रत्येक घरभित्र आ—आफ्ना छुट्टा छुट्टै कथा र पीडा छन् । शिबिरमा बस्ने १४ वर्षकी दिपा दमाईको परिवार माटोबाट बनेको र खरले छाएको घरमा बस्छन् । दिपाको पहिलेको घर डोटी हो । बिगत ४ वर्ष देखि यस शिविरमा बस्दै आईरहेका उनीहरु पहाडको पुख्यौ घर, खेत पहिरोले बगाएपछि उनीहरु तराई झरेका थिए ।
बिद्यालय जानु अघि दिपा ।
दुई दाई, तीन दिदी र दुई जना भाई गरि जम्मा ८ जनाको परिवार रहेको दिपाको तीन दिदी र दुई दाईको बिवाह भईसकेको छ । अहिले उनको परिवारमा उनी, उनकी आमा, दुई साना भाई गरि जम्मा चार जना छन् । बिवाह गरेका उनका दुई दाईहरु आफ्नो परिवार सहित अलग्गै छुट्टिएर बसेका छन् । दाईहरुलाई आ—आफ्नै परिवार पाल्नमै ठिक्क छ ।
पहाडमा हुँदा पनि उनको घरबास र थोरै बारि मात्रै थियो । उनकी आमा अरुको खेतबारीमा काम गरेर मेलापात गरेर र उनका बुवा पनि अरुको खेतबारी खनजोत गर्ने काम गरेर गुजारा चलाईरहेका थिए ।
“पहिलेको जमानामा यस्तो थिएन । स्रोत साधनको पहुँच पनि थिएन । पहुँच भए पनि चेतना र आर्थिक अभाव थियो । जसका कारण परिवार नियोजनका साधनको प्रयोग नगरेकाले वर्षेनि बच्चा जन्मिए । आठ छोराछोरी त अहिले छदै छन् । कति त खेर गए ।” उनकी आमा मनसरा दमाईले भनिन् ।
वर्षेनि बच्चा जन्मिदा परिवारको आकार पनि ठुलो हुँदै गयो । उनीहरुलाई साँझ बिहानको छाक टार्न मुस्किल हुन थाल्यो । गाउँमा पाईने कामले परिवार पाल्न निकै गाह्रो हुन थाल्यो । यसरी परिवार धान्न गाह्रो भएपछि आज भन्दा १२ वर्ष अगाडी उनका बुवा रोजगारीका लागि भारत तिर गए । तर अहिले सम्म पनि फर्किएका छैनन् ।
“सबै भन्दा कान्छो छोरा पेटमा हुँदा कमाउन भनि भारत तिर हिडेका श्रीमान अहिले छोरा १२ वर्षको भईसक्दा पनि फर्किएका छैनन् । कति त यति धेरै बच्चा जम्माउँदा गलेको मेरो शरिर त्यसैमाथि श्रीमानको चिन्ता र छोराछोरीहरुलाई कसरी लालनपालन गर्ने भनेर गलिसकेको छ । मेरो आँखा कहिले पनि ओभाना हुदैनन । रातदिन आँशु बगिरहन्छन् ।” उनकी आमा भन्छिन्— “८ जना छोरा छोरीहरुलाई कसरी हुर्काए भन्ने कुरा मलाई मात्र थाहा छ, कति दिन र रात मैले सडकमा भोकै प्यासै बिताए, आफुले नखाएर छोराछोरीलाई हुर्काए, अझै संघर्ष गरिरहेकै छु ” ।
दिपाकी आमा साँझ बिहानको छाक टार्न अहिले पनि अरुको खेतबारीमा ज्यालामजदुरी गर्न जान्छिन् । आमा दिनभरी अरुको खेतबारीमा काम गर्न जाँदा दिपा भने घरको काम अनि भाईहरुलाई खाना खुवाउने र विद्यालय पठाउने गर्छिन् । उनको यो दिचर्या जस्तै बनेको छ ।
बिद्यालय जानु पूर्ब पंतिकारसँग दिपा ।
दिपा १४ वर्षको हुँदा समेत उनी अहिले सम्म विद्यालय गएकी थिईनन् उनी बस्ने बस्ति नजिकै विद्यालय छ । त्यहि विद्यालयमा उनका भाईहरु र बस्तिका अरु बालबालिकाहरु पनि पढ्न जान्थे तर दिपा भने अहिले सम्म विद्यालय गएकी थिईन्न ।
के दिपालार्ई विद्यालय जान मन लाग्दैन ? उनले केही महिना अघि भनेकि थिईन्— “लाग्छ लाग्न त तर परिवारमा कमाउने आमा मात्रै हुनुहुन्छ, आमा बिहानै ज्याला मजदुरी गर्न अरुको खेतबारीमा जानु हुन्छ साना भाईहरुलाई मैले नै हेर्नु पर्छ, अनि मलाई पढाउन आमासंग पैसा पनि त छैन ।”
दिपाको अवस्था थाहा पाएपछि उनलाई युनिसेफको सहयोगमा बास नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा लैंगिक हिंसा न्युनिकरण परियोजना अन्र्तगत उनलाई मनोबिमर्श सेवा प्रदान गरियो । उनीसँगको छलफलमा उनलाई सहयोग भएमा पढ्ने उनले बताएपछि विद्यालय भर्ना गर्नका लागि भनेर युनिसेफको सहयोगमा बास नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा लैंगिक हिंसा न्युनिकरण परियोजना अन्तरगत उनलाई आर्थिक सहयोग प्रदान गरियो ।
सोही आर्थिक सहयोगको रकमबाट यसै वर्ष देखि उनी कक्षा २ मा भर्ना भएकी छिन । १४ वर्ष सम्म कहिले पनि विद्यालय नगएकी दिपा अहिले नियमित विद्यालय जाने गरेकी छिन् । अहिले उनले आफ्नो नाम समेत लेख्न सिकिसकेकी छिन् । तीन चार वर्षकै उमेरमा पाउनु पर्ने ज्ञानको दियो पाउन दिपाले १४ वर्ष कुर्नु पर्यो ।
१४ वर्ष पछि अहिले दिपाको जीवनमा ज्ञानको दियो बलेको छ । पहिले मलिन देखिने दिपाको मुहार अहिले निकै हसिलो र खुशी देखिन्छ । उनकी आमा मनसरा दमाईले बासद्घारा प्रदान गरिएको सहयोगले अन्धकार भएको छोरीको जीवनमा ज्योती छरिदिएकोमा बास नेपाल र युनिसेफलाई निकै धन्यवाद दिईन् । साथै आजसम्म कसैले पनि आफुलाई आर्थिक सहयोग नगरेको भन्दै बास नेपाल उनको जीवनमा अभिभावकका रुपमा आएको उनले बताईन् । सहयोग जीवनभरी नबिर्सिने पनि बताईन् ।
दिपालाई विद्यालय पठाउनका लागि बस्तिका कोपिला बोहोरा र राजेश्वरी ढुगांना लगाएतको निकै सहयोग गरेका छन् । दिपा त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । हाम्रो समाजमा अझै यस्ता धेरै बालबालिकाहरु छन् । जुन अहिले पनि आधारभुत शिक्षाबाट बञ्चित छन् ।
के अझै पनि बालबालिकाहरुले सजिलै शिक्षाको पहुँच सम्म पुग्न १४ वर्ष नै कुर्नु पर्ने हो त ?