राजनीति गर्ने मान्छे दुई प्रकारका हुन्छन् । एकथरि कुर्सी, पद तथा निर्वाचनको व्यवस्थापन र आफ्ना अनुयायी, कार्यकर्ता र समर्थकहरुको पोषणमा सिपालु हुन्छन् । अर्काथरि सिद्धान्त, नीति र कार्यक्रमको निर्माण तथा वैचारिक अन्तरकृयामा दक्ष हुन्छन् ।
नेपालको राष्ट्रवादी, परम्परावादी र राजतन्त्रवादी राजनीति (right wing politics) लाई वैचारिक रुपले उभ्याउन र त्यसको स्पष्ट भाष्य लेख्नमा राजेश्वर देवकोटाको अविष्मरणीय योगदान रहेको छ ।
राजनीतिक पूर्वाग्रहमा उभिएर इतिहास लेख्नेहरुले राजेश्वर देवकोटाको राजनीतिक र साहित्यिक चेतनालाई राम्ररी छोएर लेख्न नसकेपनि/नचाहेपनि उनी आफ्नै सोपान बोकेर उभिएका एक गहकिला राजनीतिज्ञ र एक सिद्धहस्त लेखक हुन् ।
१७ वर्षकै उमेरमा २००३ सालको जयतु संस्कृतम् आन्दोलनको नेतृत्व गरेर चम्किएका देवकोटा केही वर्ष कांग्रेसमा पनि लागे । तर उनीजस्तो संस्कृतको प्रकाण्ड विद्वान र पूर्वीय सभ्यता तथा संस्कार अनुरुपको जीवन शैली एवम् विचार बोकेका व्यक्ति कांग्रेसजस्तो भौतिकवादी र अर्धवामपन्थी दलमा अटाउने कुरै थिएन । उनले २०१७ सालको राष्ट्रवादी क्रान्तिपछि उनले कांग्रेसलाई छोडेर पंचायतमा प्रवेश गरे । त्यसपछि पंचायतको फराकिलो आँगनमा उनको विद्यता र ज्ञानले समुचित रुपमा फस्टाउन पायो । उनी गोरखाबाट २०१९, २०२४ र २०३८ मा तीन पटक राष्ट्रिय पंचायतको सदस्य चुनिए । श्री ५ वीरेन्द्रको पालमा उनी शिक्षा, खाद्य, कृषि, भूमिसुधार र वन मन्त्रालयमा सहायकमन्त्री पनि भए र मंत्री पनि भए । उनी दुई पटक राष्ट्रिय पंचायतको अध्यक्ष पनि भए ।
इतिहास लेख्नेहरुले ३५ वर्षको उमेरमा सभामुख भएका कृष्णप्रसाद भट्टराईलाई नेपालको सर्वाधिक युवा उमेरमा सभामुख हुने व्यक्ति भनेर उल्लेख गरे पनि राजेश्वर देवकोटाले कोरेको इतिहासलाई भने उल्लेख गरिदिदनैन् । देवकोटा पनि २०२१ साल असारमा ३५ वर्षको उमेर नपुग्दै राष्ट्रिय पंचायतको अध्यक्ष (सभामुख) भैसकेका थिए ।
यो पदीय कुरा भन्दा पनि देवकोटा बौद्धिक चिन्तन मनन र वैचारिक अन्तरकृयामा लाग्ने जीवन्त मान्छे हुन् । श्री ५ महेन्द्रले नेपालको मौलिक राजनैतिक व्यवस्थाको रुपमा पंचायती व्यवस्थालाई उभ्याउन खोजेको प्रयासमा वैचारिक पाटोबाट टेवा पुर्याउने एकजना बलिया स्तम्भ थिए राजेश्वर देवकोटा । उनले २०२४ सालमा लेखेको ‘असल पंचायतको लागि अनिवार्य पाठ’ भन्ने पुस्तक पढेर धेरै युवाहरुले पंचायती व्यवस्थाको सैद्धान्तिक पाटो बुझ्न पाएका थिए । पंचायती व्यवस्थाको वैचारिक धरातललाई बुझेर पंचायतमा लागेकाहरु उनलाई आफ्नो आदर्श मान्थे । उनी पंचायत कालमा भावी प्रधानमन्त्रीको रुपमा पटकपटक चर्चामा आए पनि पदको राजनीतिमा त्यति लिप्त हुने ढङ्ग नभएकोले उनले त्यो अवसर भने कहिल्यै पाउन सकेनन् ।
२०४६ सालको परिवर्तनलाई उनी ‘केही उरन्ठ्याउलाहरुले सोझा राजालाई घेरेर ल्याएको परिवर्तन’ मान्थे । २०५० को दशकमा सर्वोच्चका न्यायाधीशहरुले आफ्नो आस्था भएको पार्टीलाई लाभ हुने गरि कहिले प्रतिनिधि सभा भंग गरेकोलाई ठिक मान्ने त कहिले पुनर्स्थापित गरिदिने निर्णय गर्ने गरेको बेला उनी त्यसलाई ‘गोरु ब्याएको’ संज्ञा दिने गर्थे ।
अहिले धेरैले बिर्सिसके होलान् — पंचायती व्यवस्थामा काम गरेर आएकाहरुले २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेपछि त्यसको सैद्धान्तिक भाष्य लेखेर राप्रपाको वैचारिक बाटो पहिल्याउने मुख्य विचारक राजेश्वर देवकोटा नै थिए। राप्रपाको घोषणापत्र, निति र कार्यक्रम लेखेर राप्रपाको कित्तालाई राष्ट्रवाद, राजसंस्था र परम्परावादसंग जोडिरहने मुख्य व्यक्ति उनै हुन् ।
संसदीय व्यवस्थाको पार्टी राजनीतिमा काम गर्न नजानेर रणभुल्ल परेका राप्रपाका कार्यकर्ताहरुलाई राजेश्वर देवकोटाको एउटा भनाईले ठूलो प्रभाव पारेको थियो — ‘कांग्रेस इतिहासका पाना सुँघेर बस्छ, कम्युनिष्ट भविष्यका सपना बुनेर बस्छन्, बर्तमानमा टेकेर राजनीति गर्ने राप्रपा मात्रै हो’ । विडम्वनाको कुरा राप्रपाले राजेश्वर देवकोटाले लेखेर गएको राष्ट्रवादको भाष्यलाई न राम्ररी आत्मसात गर्यो न त्यस अनुरुप आफूलाई खारेर अगाडि बढाउन सक्यो। देवकोटाको निधन भएपछि नेपालमा राष्ट्रवादको वैचारिक चिन्तन मनन गर्ने मान्छेको खडेरी नै पर्यो ।
शारीरिक रुपले होचा भए पनि राजेश्वर देवकोटा बौद्धिकता, ज्ञान, अध्ययन र प्रखरतामा निकै अग्ला थिए । नेपाली साहित्यमा उनी धेरै राम्रो आख्यान लेखकको रुपमा पनि स्थापित छन् । संस्कृत पढेको हुनाले उनको व्यक्तित्व र लेखनमा पूर्वीय संस्कारको ओज भेटिन्छ । उनी पूर्वीय वाङ्मयका अमर साधक हुन् । आवर्तन, द्वण्द्वको अवसान, पूर्वकथा, पूर्णिमा, डबली जस्ता उनले लेखेका कृतिहरु नेपाली साहित्यमा आफ्नै गहनता बोकेर प्रसिद्ध छन् । उनको आख्यान ‘उत्सर्ग प्रेम’ ले २०४४ सालको मदन पुरस्कार नै पाएको थियो ।
१९८६ सालको असोज २३ गते गोरखा जिल्लाको लिगलिगमा जन्मेका राजेश्वर देवकोटा अहिलेसम्म बाँचेका हुन्थे भने आज ९३ वर्ष पगेर ९४ वर्षमा लाग्ने थिए । तर विधिको विडम्बना ८६ वर्षको उमेरमा २०७२ साल साउन ५ गते उनको निधन भयो ।
नेपालको राष्ट्रवादी राजनीति र मौलिक साहित्यका यी अमर साधकमा ९४ औं जयन्तीको अवसरमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।