म त जन्मेको दिन देखि नै दुःखी रहेछु नि, ७ महिनामा जालो भित्र जन्मेको रे , ५/६ महिनाको हुन्जेल यो मर्छ भनेर सिंकाले लिटो खुवाउथे रे !
चरम गरिवीको कारण बाल्यकालमा भोगेका पीडा, गरिव भएकै कारण जीवनको हरेका पलमा परेको अभाव भनेर साध्य छैन । कति दिन भोक भोकै बसियो, चित्राले बनाएको घरमा, घर भित्र पानी पसेर, पानीकै आलमा सुतेका दिन, चप्पल सम्म लगाउन नपाएर १० कक्षा सम्म विद्यालय गएका दिन, स्कुलमा फिस तिर्न नपाएर परिक्षा दिन नपाएका दिन, १७ ठाउँ टालेर सिलाएर लुगा लगाएका दिन, नयाँ लुगा र धान भात दशैंको बेला मात्र खान र लाउन पाएको दिन, भोकले ज्यान बचाउन बारीको भिताको चिम्टा माठो डल्लो पारेर खाएका दिन अझै ताजै छन् ।
अलि उमेर पुगे पछि घरको आर्थिक अबस्थाले बाध्यताले भएर विदेशी भुमिमा बेचिएर, विदेशीहरूको गाली र कुटाई खादै ५०-६० डिग्रीको घाममा दिनको १२ देखि १४ घण्टा खाडिको देशमा २०-३० मिटर मुनि खाडमा पसेर बेल्चा हानेका रूदै रूदै महिनाको २०, ३० हजार कमाउँदाका दिन, त्यसै बेला नेपालमा मेरो घरमा आगलागी भएर सम्पुर्ण नष्ट भएको खबरले मुर्छा परेको समय अझै मेरो मुटुमा आगोको ज्वालो भएर बगि रहन्छ ।
नेपाली सेना र भारतिय सेना भर्ति भएर पाएको दुःख र गाली आझै मेरो कानमा गुन्जि रहन्छ । घरमा छुट्टी गएको बेला माओबादी (जनमलेसिया र लालसेना) बाट ३ पटक सम्म अपहरणमा परि २० वाटै औंलाका नङमा पिन काँटी ठोकेर पुस, माघको बेला हाप पेन्ट, सेन्डो, हात डोरिले बाँधेर, आँखामा कालो पट्टी लगाएर खालि खुट्टा राती जंगलको बाटो हिँड्न लगाएर पछाडीवाट लात्ति र मुक्का प्रहार गर्दै बाँसको भाटाले हाल्दै मुखमा आए जति गाली गर्दै हिँडाएर ७ दिन पछाडि मर्यो भनेर मलाई नालिमा फाल्देर हिँडेका थिए । पछी बाँचेर घर आएको पल सम्झिदा मेरो मुटु फुटेर आउँछ ।
अन्तिम अबस्था भएर मेरो र परिवारको जीवन बचाउन घरमा राखेको सोलर ८ हजारमा बेचेर ३ जना नानि श्रीमती सहित ५ जनाको परिवार रातिनै भागेर काठमाडौं आएका थियौँ । काठमाडौं आइपुग्दा नै ८ हजार सकिएर बिजोग भएर गाउँकै भाई होम गौतम र मेरै मीत लोक बहादुर तामाङको शरणमा पुगेका थियौं । त्यस पछि परिवार पाल्न संघर्ष गर्नु परेको थियो । ३ दिन लगाएर १ ट्रक बालुवा भर्दा ८ सय कमाई हुन्थ्यो। अरूले फालेका खानेकुरा खाएर, अरुले फालेको लगाएर हप्तौसम्म बाटोको गल्लि गल्लि सुतेको सम्झने गर्दछु । विदेशमा बसेर कामको सिलसिलामा ५ पटक सम्म कार दुर्घटना परेको छु, ३ पटक सम्म अप्रेसन गरेर पनि अझै सम्म संघर्ष गरिरहेको छु । यस्तै सम्झेर कहिलेकाही मलाई यो धर्तिमा किन जन्म दियो भगवान भनेर रूने गर्छु ।
(थापा हेम एन्ड माया फाउन्डेसनका अध्यक्ष हुन् ।)