नरैनापुर/ बाँकेको नरैनापुर गाउँपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप बिहीबादेखि लगाउन सुरु गरिएको छ । जोखिम देखिएका वडाका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइँदै छ । दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकालाई खोप लगाउन अनुरोध गरिएको नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताए ।
हालसम्म नरैनापुरमा १४ जनामा दादुरा देखिएको छ । दादुराकै कारण बाँकेमा एक बालकको मृत्यु समेत भइसकेको छ । नरैनापुरमा तीव्र गतिमा फैलिरहेको दादुरा महामारीे नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।
दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको बताउँदै धर्मगुरु र समुदायसँग छलफल गरेर खोप अभियानमा सहयोग गर्न आग्रह गरिएको जिकिर गरे ।
नरैनापुर वडा नम्बर २ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य शाखाका प्रमुख शाहका अनुसार सबैभन्दा बढी ६–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । दादुरविरुद्धको खोप अभियानको पहिलो दिन नरैनापुरमा २६६१ जना बालबाबालिकाले खोप लगाएको बिवेक पौडेलले जानकारी दिए । पौडलका अनुसार ६ वटै वडामा ११ वटा खोप केन्द्र मार्फत खोप दिने काम सुरु गरिएको छ ।
नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।