तिम्रो प्रतिक्षा गर्दा गर्दै मरेँ भने म
रुमल्लिरहेको हुनेछ मेरो हंस
यतै कतै यही तालको वरपर
त्यतिखेर बुझ्नु पर्नेछ तिमीले
कहिले म बताससँगै हल्लिरहनेछु
कहिले छालका तरङ्गहरुमा तरङ्गित हुनेछु
कहिले घामका किरणसँग मुस्कुराउनेछु
कहिले फेरि म
जूनको आँशु बोकेर शीतसँग झर्नेछु
जसरी पनि म तिम्रै वरपर हुनेछु
एकदिन
मेरो यादमा भौंतारिँदै हिँड्दा
पुग्नेछौ यही तलाउ किनारामा
र टुसुक्क बस्नेछौ
म बसेको यही चुच्चे ढुंगोमा
मेरै यादजस्ता
किरिङ्मिरिङ् मसिना ढुंगाहरु
जब फाल्न थाल्छौ पोखरीमा
छिनमै होसमा आउने
र छिनभरमै बेहोस हुने तिमी
डुब्दै जानेछौ
तलाउजस्तै गहिरो
मेरो प्रेमिल सम्झनाको गहिराईमा
तिमीलाई पर्खिरहँदा
उठे जस्तै अनेकौँ तरंगहरु मभित्र
नाँच्नेछन् अनगिन्ति छालहरु तलाउमा
घुमिरहेको मेरो हंसले
हेरिरहेको हुनेछ यी सब दृश्य
छोएपछि छालहरुले
एक्कासी होसमा आउनेछौ तिमी
र कल्पना गर्नेछौ-
बिस्तारै म तिम्रो छेउमा बसेको
तिम्रो काखमा शिर राखेको
र तिम्रो मायालु स्पर्शले लुटुक्क निदाएको
फेरि हराउनेछ तिम्रो होस्
होससँगै हराउनेछ मेरो याद पनि
एक्लै हुनेछौ तिमी
त्यतिबेला तिमीले गुन्गुनाउनेछौ
मलाई असाध्यै मन पर्ने
नारायण गोपालको उही आवाज-
“यति चोखो यति मीठो
दिउँला तिमीलाई माया
बिर्सनेछन् साराले
पुराना प्रेमका कथा”