काउन्सिलले शनिवार बिहान राष्ट्रपति निवासमा आयोजना गरेको बिशेष समारोहका बिच लामिछाने प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०८० बाट पुरस्कृत हुनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नगद पुरस्कार सहित प्रमाणपत्र र दोसल्लाले उहाँलाई सम्मान गर्नुभएको थियो ।
पत्रकारितामार्फत राष्ट्रलाई पुर्याउँदै आएको योगदानको कदर गर्दै उहाँलाई पुरस्कृत गरिएको हो ।
विगत दुई दशकदेखि पत्रकारितामा संलग्न लामिछानेले असल शासन मासिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । त्यसपछि जाजरकोट सन्देश, जनआस्था साप्ताहिक पत्रिका मार्फत पत्रकारितामा जोडिनुभएको थियो ।
बास नेपालको आयोजनामा संचालित पत्रकारिता तालिमबाट तालिम लिएर पत्रकारिता शुरु गर्नुभएका वहाँ खोज पत्रकातितामा रुचि राख्नुहुन्छ ।
असल शासन पोष्ट साप्ताहिकको रुकुम प्रतिनिधि हुँदै विशेष प्रतिनिधि, सहसम्पादकको जिम्मेवारी सम्हाल्दै साप्ताहिक र असल शासन डटकमको कार्यकारी सम्पादकको जिम्मेवारीमा लामिछाने हुनुहुन्छ ।
साहित्यिक पत्रकारिता मार्फत मूलधारको पत्रकारितामा जोडिनुभएका लामिछाने हाल गोरखापत्र दैनिक, उज्यालो रेडियो तथा अनलाईन, मूलपाटी डटकम, असल शासन साप्ताहिक लगायतका संचार माध्यममा कार्यरत हुनुहुन्छ ।
उहाँसँगै प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सञ्चारकर्मी र व्यक्तित्वहरूलाई सम्मान गरेको छ । काउन्सिलले १६ जनालाई सम्मान गरेको छ ।
गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई
यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई दिइएको छ । यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राइलाई प्रदान गरिएको छ । १ लाख ५१ हजार राशीको गोपालदास र १ लाख १० हजार राशीको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नुभएको हो ।
प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, काभ्रे, राममणि दाहाल, र मकवानपुर माधवसिंह धामी कञ्चनपुरलाई दिइएको छ । प्रेस काउन्सिल शसक्त सञ्चारकर्मी पुरस्कार सागर पण्डित र चुडामणी भट्टराईलाई दिइएको छ । यस्तै यसवर्षको भाषागत पत्रकारिता पुरस्कार धनुषाबाट प्रकाशित हुने आँजुर द्वैमासिकलाई प्रदान गरियो भने काठमाडौँबाट प्रकाशित हुने हिमाली गुँरास द्वैमासिकलाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार दिइएको छ ।
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गरियो । युवा पत्रकारिता पुरस्कार १९ जना, महिला सशक्तिकरण पत्रकारिता पुरस्कार ६ जना र समावेशी पत्रकारिता पुरस्कार ७ जनालाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कार फोटोपत्रकार केशवराज थोकर र कलापत्रकार नेमिस गौतमलाई दिइएको छ ।
यसवर्षको प्रेस काउन्सिल नेपाल उत्कृष्ट कर्मचारी पुरस्कार शाखा अधिकृत विष्णु शर्मा लम्साल र मिडिया अनुगमनकर्ता प्रेमचन्द्र बडुलाई प्रदान गरिएको छ । यस्तै कर्मचारी प्रोत्साहन पुरस्कार वरिष्ठ प्रशासन सहायक लक्ष्मी पौडेल र कार्यालय सहयोगी मनोजकुमार मण्डललाई दिइयो । २० वर्ष सेवाअवधि पुरा गरेको अवसरमा यसवर्षको दीर्घसेवा पदकबाट कुचीकार रमा द्योलालाई सम्मानित गरिएको छ ।