कुनमिङ्, चीन/ बिकसित राष्ट्र चीनको दक्षिणी प्रान्त युन्नानको कुनमिङ सहरमा रहेको पाङ्लोङ्ग नदी पर्यटकीय स्थल हो । कुनमिङको पाङ्लोङले काठमाडौंको बामगती नदिको झल्को दिन्छ । फरक यति छ – पाङ्लोङ सफा, मममोहक छ, बाग्मती सरसफाइ उन्मुख छ ।
९० लाख बढी मानिस जनसंख्या रहेको कुनमिङबासीका लागि मात्र होईन बिश्वभरबाट यहाँ पुग्ने पर्यटकहरुका लागि एक पटक पुग्नै पर्ने नदि हो- पाङ्लोङ । जो सहरको बिचबाट स्पर्ष गर्दै निरन्तर बगिरहेको छ । चीनको दक्षिण-पश्चिममा रहेको यो नदिलाई स्थानीयहरु कुनमिङकी आमा भन्छन् । बढ्दो सहरीकरण र जनसंख्याका कारण पाङ्लोङ पहिले फोहर, दुर्घन्धित थियो। बिच सहरबाट बग्ने भएका कारण सो नदि फोहर थियो कुनै बेला । तर अहिले त्यस्तो छैन । सो नदिलाई कुनमिङको स्थानीय नगर सरकारले प्राथमिकतामा राखेर सफाई मात्र गरेको छैन, नदिलाई आकर्षक र मनमोहक बनाउँदै छ ।
पाङ्लोङ, उहुआ र गुआन्डु जिल्ला हुँदै उत्तरबाट दक्षिणतिर अघि बढेको यो नदी युन्नानकै विशास ताल मध्येको एक टियान्ची तालमा गएर मिसिन्छ। पश्चिमको लियाङ्गवाङ्ग पर्वतमा मुहान रहेको यो नदी अजिइङ्ग र लायन पर्वत श्रृंखला हुँदै कुनमिङको सहरबीचबाट अघि बहन्छ । सहरका हजारौं मानिस र पर्यटकहरुको जीवनसँग जोडिएको यो नदी कुनै बेला सहरी प्रदूषणको सिकार भएपनि अहिले सो प्रदुषणबाट मुक्ती पाउँदैछ । सन् १९९० को दशकमा देशकै कुरुप युन्नानको टियान्ची ताल सफाइसँगै पाङ्लोङमा पनि सफाई शुरु गरिएको बताईन्छ । नगर सरकारको नेतृत्व, स्थानीयहरुको अग्रसरतामा शुरु गरिएको सफाई अभियानले अब मुर्त रुप लिदैछ । सोही अभियानका कारण पाङ्लोङ अहिले घुम्ने गन्तव्य बनेको छ। उता टियान्ची ताल पनि स्वच्छ तालको रुपमा रुपान्तरण भई पर्यटकको केन्द्र बनिरहेको छ।
कुनमिङ सहर छिचोलेर बग्ने पाङ्लोङको फोहोर टियान्ची ताल सम्म पुग्न नदिने गरिएको सरसफाईका कारण पाङ्लोङ र टियान्ची पर्यटकीय स्थल बन्न सफल भएका छन् ।
अहिले यो नदीमा दिउँसो बोटिङ र राती बोटिङ बस पनि चल्ने गरेको छ, बोटिङमा स्थानीयहरु रमाउने गरेका छन् । यो नदीको आकर्षण दिउँसो भन्दा राती बढ्छ ।किनकी राती नदि वरपर विभिन्न रङ्गका बत्ति झलमल्ल बल्छन् । नदि राती दुलही जस्तै सजिन्छ । नदिको पानीलाई मोटरबाट लिफ्टिङ्ग गरेर पुल माथिबाट निरन्तर झर्ने फोहरा र त्यसकै पृष्ठभुमिमा बल्ने सप्तरङ्गी बत्तिले नदि लोभलाग्दो हुन्छ । त्यो सुन्दरतामा पर्यटकहरू सम्झना स्वरुप तस्वीर लिने गर्दछन् ।
नदीका दुवै किनारमा संरक्षित बगैंचा छ जहाँ थरी थरी फूलदेखि रुखहरु छन्, बन जस्तै लाग्ने उक्त क्षेत्रमा विभिन्न चराचुरुङ्गीहरुको चिरबिराहटले मनलाई चङ्गा बनाईदुन्छ । उक्त हरियाली क्षेत्रको बीचमा पार्क र प्रदर्सनस्थलहरु छन् । सुरक्षाका लागि प्रहरी बिटहरु छन् । दुबै किनारमा गगनचुम्बी महलहरु छन् ।
बिस्तारै बहने पाङ्लोङ किनारमा साँझपख जेष्ठनागरिकहरु टहलिन आउँछन् । सम्साझै जम्मा हुने उनीहरु आ-आफ्नो समूहमा स्थानीय संस्कृती झल्किने नाचहरुमा मस्त हुन्छन् । अवेर राती सम्म नाच्नु, रमाउनु उनीहरुको दिनचर्या हो । नदी किनारमै खुल्ला जिम केन्द्र छ, जहाँ बिहान र साँझ व्यायाम गर्नेहरुको तातीनै लाग्छ । त्यसैगरी मर्निङ र इभिनिङ वाकका लागि व्यवस्थित पैदल मार्ग पनि बनाईएको छ। नदिको किनारमा विद्युतीय स्कुटर र साइकल कुदाउने अलग्गै लेन र पार्किङको उचित प्रबन्ध गरिएको छ । प्राकृतिक मनमोहक उक्त नदि क्षेत्र थकान मेटाउने गन्तव्य मात्र होईन, साथीभाइ भेट्ने जक्सन पनि हो ।
यो क्षेत्रमा बिहान, साँझ मात्र होइन दिउँसो पनि त्यत्तिकै भीडभाड हुन्छ । दिउँसो स-साना बच्चाहरु भएका रोजगार व्यक्तिहरुका बच्चा डुलाउन आउने चाईल्ड केयर किपरहरुको ठुलै जमघट हुन्छ । दिनभरी उनीहरु बच्चालाई यहाँ आएर घुमाउने, रेखदेख गर्ने गर्दछन् । नदि क्षेत्रमा नि;शुल्क वाईफाई व्यवस्था भएकाले पनि धेरैजसो यहाँ सामाजिक सन्जालमा रमाउन पनि आउँछन् । यस क्षेत्रमा नियमित रुपमा विभिन्न प्रदर्सनीहरु भईरहेका हुन्छन् ।
काठमाडौंमा बागमती, विष्णुमती र हनुमन्ते जस्ता नदी सफाईका लागि थालिएको सरकारी र गैरसरकारी अभियानले सार्थकता नपाउँदा यता पाङ्लोङले मारेको फड्को नेपालका लागि प्रेरणा हुन सक्दछ । किन नेपालले अन्य देशका असल अभ्यासहरुलाई अनुशरण गर्दैन ?
एउटा नगर सरकारले फोहर पाङ्लोङ्लाई सफाहराभरा पाङ्लोङ् बनाउन सक्दछ भने नेपालको राजधानीमा रहेको बाग्मतीलाई सिङ्गो देशको सरकारनै लाग्दा पनि सफा बाग्मती बनाउन सकिँदैन र ? ईच्छाशक्तीनै नभएर बाग्मतीले आफ्नो असली अनुहार देखाउन नपाएको हो कि प्रश्न अनुत्तरित छ ।