चीन बिकासको सन्दर्भमा यति आक्रमक छ कि त्यसको लेखाजोखा गरि साध्य छैन । बाओसान देखि लिजिङ्बा पहाड पुग्नलाई एक घण्टा लाग्छ । उपत्यका जस्तो छ बाओसान भने लुजिङ्बा पहाडनै हो । यती छोटो बाटोमा तीन वटा सुरुङ् मार्ग पार गर्नु पर्छ । २ मिनेट देखि ५ मिनेट सम्म एउटा सुरुङ्को यात्रा गर्न समय लाग्छ ।
नेपालमा पुल नदि, खोला र खोल्सामा मात्र बनाईन्छ भने यहाँ बाटो सिधा बनाउनका लागि भिमकाय अग्ला पुलहरु बनाईदो रहेछ । बाटो बनाउने नाममा डोजर लगाएर मोडै, मोड बनाउँदै भिरालो बाटो बनाईन्छ नेपालमा ।
यहाँ सिधा बाटो बनाउनका लागि सिधै पहाडलाई छेडेर सुरुङ् मार्ग निकाल्ने, बाटो भिरालो हुने सम्भावना देख्ने बित्तिकै पुल बनाउने ९नेपालमा पुल सिधा हुन्छन् भने चीनमा बाङ्गो पुल पनि बनाईन्छ र ६ देखि ८ लेन सम्मको सडक बनाउने चिनियाँ बिकासे मोडल अनुकरणीय छ ।
लिजिङ्बा पहाड चीनबाट बर्मा जाने बाटोमा पर्छ । खतरनाक नुजियाङ उपत्यका पार गरेपछि आउने उक्त भीरलाई अहिले उत्पादनयोग्य बनाईएको छ । लुजियाङबाको उक्त भीरका कैयौं हेक्टर जमिनलाई बगैंचा बनाईएको छ । उक्त ठाउँमा कफी र केरा खेती गरिएको छ । उक्त क्षेत्रमा दाई, लिसु, मियाओ, यी र हान चिनियाँहरू बसोबास गर्छन् ।
कफी उत्पादनमा विश्वको २२ औं स्थानमा रहेको चीनले कफी उत्पादनमा लिएको आक्रामक रणनीतिले चाडै माथिल्लो स्थानमा उक्लिने निश्चित छ । नेपालका खेती योग्य जमिनहरुमा खेती नगरेर खाली छन्, चीनका भीर, पाखाहरुमा खेती गरेर बिश्वभर उत्पादनहरु निर्यात गरिन्छ ।
लुजियाङ्बाको तल सुन्दर नुचियाङ नदी र लामो, अग्लो भिमकाय पुल छ । किनारमा व्यवस्थित बस्ती छन् । ती बस्तीहरुको वरिपरि रहेका फाँटहरुमा पनि तरकारी खेती गरिएको छ ।
आफ्नो नाममा जमिन नहुने चिनियाँहरुले बहालमा लिएर खेती गर्ने गरेका छन् । सरकारले दिने अनुदान, सरकारलेनै गरिदिने बजारिकरणले कृषकहरु उत्साहित भएर कृषिमा लाग्ने गरेका छन् । यस उपत्यकामा गरिएको कफी र केरा खेतीमा सयौं स्थानीयले रोजगार पाएका छन् । यहाँको उप्तादन चीनका विभिन्न देशहरु लगायत बिश्वका विभिन्न देशहरुमा निर्यात हुने गरेको कृषकहरु बताउँछन् ।