जाजरकोट/ शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ७१ पुगेकाे छ ।
रुकुम पश्चिम र जाजरकोटमा गरी ७१ जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएको छ ।
रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको जनाईएको छ । त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी दुई पालिकामा गरी ५३ जना घाइते भएका हुन् । घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
यसैगरी, जाजरकोटको नलगाड नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । वडा नम्बर १ काे सिउरी भन्ने गाउँका १२ जना, कल्पतमा ५ जना र पाली गाउँमा ३ जना गरी २० जनाकाे मृत्यु भएकाे जनाईएको छ । भूकम्पमा परी नालगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहकाे पनि मृत्यु भएकाे छ ।