‘दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु’, ढकालले सोमबार सामाजिक सञ्जालमा भनेका छन्।
ढकालका अनुसार प्रहरीले मैनालीको शव गाडीभित्र पूरै जलेको अवस्थामा फेला पारेको हो। घरमा पारिवारिक तनाव भएपछि उनी सोमबार भाडाको कार लिएर उक्त पार्कमा पुगेका थिए।
भाडामा लिएको उक्त कार पनि जलेको छ। प्रहरीले का बन्द गरेर मैनालीले आफ्नो शरीरमा आगो लगाएको प्रारम्भिक अनुमान गरेको छ ।
मैनालीको शव नर्थ क्यारोलिनास्थित प्रहरीको टोलीले पोस्टमार्टमका लागि लगेको छ। ढकालको निधन भएको पुष्टिसहितको पत्र प्रहरीले परिवारलाई बुझाइसकेको छ ।
आफूलाई समाजसेवीका रुपमा विश्वभर चिनाएका मैनालीले जीवन समाप्त पार्न रोजेको यो कदमबाट नेपालसहित प्रवासमा रहेका नेपाली समुदाय स्तब्ध भएको ढकालले बताए।
मैनाली बेपत्ता भएपछि उनको अमेरिकास्थित घरमा आफन्तको रूवाबासी चलेको थियो। मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित थिए।
उनले नेपालदेखि कयौं अफ्रिकी मुलुकमा समेत पुगेर रगतदान गरेका थिए। उनले नेपाल, भारत, क्यानडा, बेलायत,घाना, मकाउ, बर्मुडा, आयरल्याण्ड, अष्ट्रेलिया, , इक्वेडर, हाइटी, युगाण्डा, थाइल्यान्ड, इथिओपिया, मलावी, रुवान्डा, केन्या, अर्जेन्टिना र मेक्सिको पुगेरसमेत रक्तदान गरेका थिए।
उनी सन् २००० मा अमेरिकन एशोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनमा भाग लिन अमेरिका पुगेका थिए। त्यसपछि उनी अमेरिकमै बस्दै आएका थिए।
उनलाई अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान दिएको थियो। उनले अमेरिकामा विभिन्न तीन सामाजिक संस्था स्थापना गरेर रक्तदान अभियानलाई अघि बढाइरहेका थिए। पछिल्लो समयसम्म उनी यी संस्थामा निरन्तर क्रियाशील थिए।
मैनालीले यसअघि फेसबुकमा लामो स्टाटस लेख्दै पारिवारिक तनावका कारण आत्महत्या गर्न लागेको बताएका थिए।
पहिले उनी न्यूयोर्कमा बस्थे। त्यसपछि नर्थ क्यारोलिनामा सरेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।