रबिना महर्जन, मनमैजु मा.वि., तारकेश्वरकी प्रधानाध्यापक हुन् ।
काठमाण्डौमै जन्मे हुर्के पनि रबिना महर्जनको बाल्यकाल अति कस्टकर र गरिबीमा बित्यो । बुबा र आमा दुबैको जिम्मवारी आमाले मात्र निभाउनु पर्याे । बुबा जाँड रक्सीको कुलतमा फसेका थिए । आमा घरखर्चको जोहो गर्न अरुको घरमा भाँडा माझ्ने र कपडा धुने काम गर्ने गर्दथिन् । आमा जहाँजहाँ काम गर्न जान्थिन उतैबाट फालिएका कापीका पाना सिलाएर कापी बनाएर ल्याउथिन् । कहिलेकाही तिनै सिलाईएकै कापी नपाउदा भने रबिना कक्षाबाट निकालिनु पर्दथ्यो । रबिना कापी नभएर पटक पटक कक्षा कोठा बाहिर निकालिने विद्यार्र्थीमा पर्दथीन् । उनकी आमा हुनेखानेका घरमा काम गर्दथिन् । साहुको घरमा फालिएका खेलौना र पुराना कपडा पाईन्छ भन्ने आशामा उनिपनि आमासँगै पछी लागेर जान्थिन् । भाँडा माझ्दथीन् । पढेर भविष्यमा के बन्ने भन्ने त उनले सोचेकै थिइनन् । किन भने, बिहान खायो भने साँझ खान पाईन्छकि पाईदैन भन्ने टुंगो हुँदैनथ्यो । आधा किलो चामलको १० रुपैयाँ पर्दथ्यो । त्यो पनि नभएपछि उनकी आमा पसलमा झुठो बोलेर डेढ पाउ चामल किन्दथिन् । मन्दिर जानलाई डेढ पाउ चामल किन्दा पसलेले अर्काे प्रश्न सोध्दैन भन्ने उनकी आमालाई लाग्दथ्यो । त्यसैको जाउलो बनाएर आमाले रबिना र उनका भाईलाई विद्यालय पठाउँथिन् ।
रबिना सानोमा पप गित गाउन मन पराउथिन् । उनलाई लाग्दथ्यो, म भोलि गएर गायक पो बन्छु कि ? त्यसपछि उनलाई कराते खेल मन पर्याे, फेरी उनलाई लाग्यो कतै भविष्यमा कराते खेलाडी पो बन्छु कि ? पढाई राम्रै थियो, उनलाई बिज्ञान पद्छु कि जस्तो पनि लाग्यो । त्यो पनि भएन । कापी नभएर कक्षाबाट निकालिदै गर्दा सोच्ने गर्दथिन्, भोली म नै शिक्षक भयो भने कस्तो होला ?
उनले एसएलसी पास गरिन् । विद्यार्र्थी हुँदा कहिले छोड्न पाईएला भन्ने लागेको बिद्यालय, साँचिक्कै छोड्नुपरे पछी गईरहन मन लाग्यो । उनले खालि भएका कक्षामा पढाउन थालिन । एक दिन तात्कालिन प्राधानाध्यापकले महिनाको २७०० रुपैयाँ दिन्छौँ, पढाउँछौ ? भनेर सोधे । गरिबीले थलिएको उनको परिवारको लागि त्यो रकम धेरै ठुलो थियो । उनि पढाउन थालिन् । उनले बाह्र वर्ष सोही विद्यालयमा पढाईन् । गणित बिषयबाट सुरु गरेर बिस्तारै आफ्नो योग्यता अनुसार मार्केटिङ, अर्थशास्त्र र लेखा पनि पढाईन् । उनि बालबालिकालाई मेरो सेरो फेरो पढाउँथिन् । जाँड रक्सि खानु हुँदैन भनेर सिकाउथीन् । विद्यालय नजिकै भट्टीमा रक्सि खाएर उनका बुबा खुट्टा थाम्न नसक्ने गरी निस्कन्थे । धेरै अवस्थामा विद्यार्र्थीको सहयोगमा बुबालाई घर लानु परेको अवस्था पनि थियो । त्यसले उनलाई बढी पीडा दिन्थ्यो ।
भूकम्प लगत्तै उनले शिक्षण अनुमति पत्र परिक्षा पास गरिन् । लगत्तै २०७४ सालमा शिक्षक सेवा आयोग पास गरेपछि उनको पहिलो पदस्थापन च्वादी पब्लिक माध्यमिक विद्यालय, नुवाकोटमा भयो । उनि घर छोडेर पहिलो पटक बाहिर गईन । त्यहाँ कोहि पुरुष शिक्षकले, “फेरी पनि महिलानै आउनुभएछ” भनेको सुनिन् । उनलाई लाग्यो के ग¥यो भने पुरुष सरह भईदो रहेछ । च्वादी पब्लिक माध्यमिक विद्यालय जाँदा उनले त्यहाँका विद्यार्र्थीहरू गणित विषयमा निकै कम्जोर भएको पाईन् । विद्यार्र्थीहरूमा गणित विषयको तहगत आधारभूत ज्ञान पनि थिएन र गणित विषयप्रति रुची पनि थिएन । विद्यार्थीहरूको गणित विषयप्रति रुची बढोस भनेर व्यवहारिक सिकाईलाई आधार बनाएर पढाउन थालिन् । कोणको बारेमा पढाउनु परेमा मैदानमा लगेर कोणका प्रकारहरू अनुसार नै विद्यार्थीहरूलाई राखेर सिकाउन थालिन् । दैनिक रुपमा प्रयोग हुने समानहरू जस्तै तरकारी, दाल, घाँस, धागो आदि प्रयोग गरेर गणितका कोण, समूह जस्ता विभिन्न अध्यायहरू बुझाएर सिकाउन थालिन् । जसले गर्दा विद्यार्थीहरूको गणित विषयमा रुची बढ्न थाल्यो । जुन विद्यार्थीलाई अतिरिक्त कक्षाको आवश्यकता थियो, त्यस्ता विद्यार्थीलाई आफु बस्ने घरमा बोलाएर निशुल्क पढाउन थालिन् । पहिले कमजोर भनिएका विद्यार्थीहरू मध्ये केहिले ९०% अंक सम्म पनि ल्याए भने, ५०% अंक त विद्यार्थीहरूका लागि सामान्य हुन थाल्यो ।
खेतीपातीमा रमाउने विद्यार्थी बिद्यालय आउन थाले
च्वादी पब्लिक माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी बीच निकै कम अन्तरक्रिया हुन्थ्यो । विद्यार्थीहरू पनि नियमित विद्यालय आउदैनथे । उनिहरू पढाई भन्दा बढी खेतीपाती र हाटबजारमा संलग्न हुन्थे । विद्यालयप्रति आकर्षित गर्न रबिनाले विद्यार्थीका अभिभावकलाई भेटिन् । उनिहरुलाई पढाईको महत्व बारेमा बुझाईन् । विद्यार्थीहरूसँग पनि अन्तरक्रिया बढाइन् । विद्यालयमा विद्यार्थीमैत्री वातावरण तयार भयो । गणित भन्ने बित्तिकै दिक्क मान्ने विद्यार्थीहरू नियमित कक्षामा आउन थाले । त्यतिमात्र नभएर उनीहरू अतिरिक्त कक्षा र बिदाको दिन समेत विद्यालय आउन थाले ।
विद्यालयमा कम्प्युटर थिएन । उनले आफ्नो निजी ल्यापटप लगेर विद्यार्र्थीहरूलाई प्रेरणामुलक भिडियोहरू देखाउन थालिन् । भनेको नमान्ने, पढ्न नखोज्ने, अनुशासनमा नबस्ने भनिएका विद्यार्थीहरूमा समेत सकारात्मक परिवर्तन आउन थाल्यो । एक जना विद्यार्थी विद्यालयमा कम उपस्थित हुन्थे । विद्यालय आएको दिन पनि आफ्नै समूह बनाएर हिड्ने गर्दथे । उनको ध्यान पढाईमा हुँदैनथ्यो । उनले उक्त विद्यार्थीलाई उच्च आदरार्थी शब्दले सम्बोधन गरेर अन्तरक्रिया गर्ने र सम्झाउने व्यवहारले धेरै विद्यार्थीमा परिवर्तन आउन थाल्यो । उनलाई होच्याएर बोल्ने, आदर नगर्ने विद्यार्थीहरूले समेत आफै गल्ती महसुस गरेर नियमित कक्षामा उपस्थित हुने र पढाईमा रुची राख्न थाले । त्यसको प्रतिफल नतिजामा पनि देखियो ।
एक वर्षमै प्रधानाध्यापक र “ईमर्जिंग हेड टिचर”
२०७६ सालमा मा.वि तह शिक्षकका लागि शिक्षा सेवा आयोगको परिक्षा पास गरेपछि उनको पदस्थापन काठमाण्डौको मनमैजु मा.वि.मा भयो । उनि त्यहाँको मा.वि. तहको सबै भन्दा कनिष्ठ शिक्षक थिईन् । तात्कालिन प्रधानाध्यापकले अवकाश पाउन थोरै समय बाँकी थियो । उनले रबिनाको पढाउने र नेतृत्व लिन सक्ने क्षमताको आंकलन गरिसकेका थिए । उनले नै रबिनालाई सहायक प्रधानाध्यापकको लागि सिफारिस गरे । त्यस पश्चात मनमैजु आएको १ वर्ष नहुँदै उनले प्रधानाध्यापकको जिम्मेवारी पाईन् ।
उनले प्रधानाध्यापकको जिम्मेवारी पाए लगत्तै कोरोना महामारी पनि फैलियो । विद्यालयमा श्रोत साधनको कमि थियो जसले गर्दा अनलाईन कक्षा सञ्चालन गर्न कठिन भयो । आफ्ना बालबालिकाहरूलाई मास्क लगाएर विद्यालय पठाईदिन अभिभावकलाई अनुरोध गर्दा, उनिहरूले मास्क किन्नुको साटो त्यो पैसाले साँझ बिहान साग किनेर खान पुग्छ भन्ने जस्तो जवाफ पठाउथे । मनमैजु मा.वि.मा प्राय विद्यार्थी निम्न वर्र्गीय परिवारबाट आउने गर्दछन् ।
अनलाईन कक्षा संचालन सम्बन्धि निर्णय गर्न विद्यार्थी, शिक्षक र अभिभावकसँग छलफल गरिन् । घरमा मोबाईल फोन हुने विद्यार्थीहरूलाई अरु १‑२ जना साथी बोलाएर सँगै बसेर पढ्ने वातारण तयार गरिन् । सुरुमा थोरै मात्र विद्यार्थी अनलाईन कक्षामा सहभागी भए । विस्तारै उनिहरूलाई अनलाईन कक्षाको महत्व बुझाउदै गईन । विद्यार्थीको संख्या बढेर ८५% सम्म पुग्यो । सानो कक्षाका बालबालिकालाई भने अनलाईन कक्षा सम्भव नभएर शिक्षकहरूलाई कक्षाको तालिका बनाएर रोल नम्बर अनुसार भौतिक दुरी कायम राखेर विद्यालयमै कक्षा संचालन गर्ने व्यवस्था गरिन् । उनको प्रयासले उक्त विषम अवस्थामा पनि विद्यार्थी पढाईबाट बन्चित हुनु परेन । फलस्वरूप, उनले नगरपालिकाबाट “ईमर्जिंग हेड टिचर” भनेर ज्यापू सरस्वती पदक पाईन् ।
५०० बाट बढेर विद्यार्थी संख्या ८३३ पुग्यो
रबिनालाई आफु पढाउने विद्यालयको गुणस्तर कुनै पनि निजि विद्यालयको भन्दा कम नहोस् भन्ने चिन्ता हुन्छ । त्यसका लागि उनि शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागि परिन् । विद्यार्थीहरूले बाल क्लब गठन गरी त्यसको नेतृत्व आफै लिन थाले । कक्षामा विद्यार्थीले सृजनात्मक क्रियाकलापको अभ्यास गर्नथाले । लेख रचनासँगै नियमित डायरी लेखन कार्यलाई अगाडी बढाए । त्यसले विद्यार्थीको आत्मविश्वास बढ्यो । त्यो कुरा समुदायमा प्रतिबिम्बित भयो । ५०० बाट बढेर विद्यार्थी संख्या ८३३ पुग्यो ।
शिक्षक पनि, अभिभावक पनि
एक जना शिक्षकले आफ्नो जीवनकालमा हजाराँै विद्यार्थीलाई पढाएको हुन्छ । विद्यालयबाट निस्किसकेपछी सबै विद्यार्थीलाई शिक्षकले चिनीराख्न सम्भव पनि हुँदैन । त्यसै गरेर सबै विद्यार्थीले आफुलाई पढाएका सबै शिक्षकलाई सम्झी राख्ने पनि हुँदैन । रबिनामा एउटा गुण छ, जसले गर्दा विद्यार्थीले उनलाई सम्झिरहन्छन । उनि विद्यार्थीको शिक्षक मात्र बन्दिनन् । उनि विद्यार्थीको अभिभावक अनि साथी पनि बनिदिन्छिन् । ज्ञानोदयमा रबिनाले पढाउदाका विद्यार्थी राजीव बिक्रम थापा अहिले पनि कुनै निर्णय लिंदा रविनाको सुझाव लिने गरेको बताउछन् । राजीवलाई रबिना कहिल्यै पनि मेरो शिक्षक मात्र हो जस्तो लागेन । उनले जहिल्येई रबिनालाई दिदि अनि अभिभावक माने । राजीव एक उदाहरण मात्र हुन् । रबिनाले पढाएका विद्यार्थी देश विदेशमा विभिन्न ओहोदामा काम गरिरहेका छन् । जसले आफुले पढाएका थुप्रै शिक्षक मध्ये रबिनालाई हालसम्म पनि आफ्नो आदर्श व्यक्ति र अभिभावक मान्ने गरेकाछन् ।
(महर्जन इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट असल राष्ट्र सेवक कर्मचारीको रुपमा सम्मानित भएकी थिईन् ।)