शाखाको सह–सचिवदेखि प्रदेश संयोजकसम्म

बास यात्रा

पाण्डव पुजारा

वि.सं २०७३ साल माघ १६ गते । समय दिउँसो १२ बजे । कैलालीको कबर्ड हल । बिहानको पारिलो घाम । गोलबद्धरूपमा बसेका ८/९ जना मानिसको भेला । अनि एक जनाले बागेश्वरी असल शासन क्लब (बास)को विषयमा बताइरहेको दृश्य मेरो मानसपटलमा अहिले पनि ताजै छ । स्नातकमा पत्रकारिता विषय बढिरहेको हुनाले पनि मलाई मान्छेहरूसँग सम्पर्क बढाउनुपर्छ । आफूमा भएको कला प्रस्तुत गर्नुपर्छ भन्ने मानसिकता थियो र अहिले पनि छ । यही मनसाय, योजना र भोकले मलाई कैलालीमा युवा र युवाको विषयमा बहस तथा पैरवी गर्दै आउनु भएका ठाकुर प्रशाद करिया प्रधान दाईसँग भेट भयो ।

उहाँसँगको भेटनै मलाई बासको सम्पर्कमा आउने विषय कोशेढुङ्गा बन्यो । नभन्दै बासको कैलाली शाखा पुर्नगठन गर्नुपर्छ भनेर केन्द्रबाट आउनु भएका सरहरूसँगको भेट त्यही कभर्ड हलमा भयो । उहाँहरूसँग भेट्ने, छलफल गर्ने र बासमा जोडिने महत्वांक्षा बोकेर भाई सन्तोष रोकाया र म साइकल कुदाउँदै कबर्ड हलतर्फ हुइँकिएको त्यो दिन मेरो लागि अविस्मरणीय छ ।

कबर्ड हलमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र उपनिर्देशक हेमराज भट्टसँग भेट भयो । कभर्ड हलमा ८/९ जनालाई जम्मा पारेर बासको विषयमा बताउने उहाँहरू नै हुनुहुन्थ्यो । अब बास कैलालीको शाखा गठन हुने भयो । लक्ष्मी जैशीको अध्यक्षतामा कार्यसमिति बन्यो । सो कार्यसमितिको उपाध्यक्ष बन्नुभयो, तारा कुमारी भाट । सचिवमा चिरञ्जीवी छेडाल, सहसचिवमा म आफैं, कोषाध्यक्ष ऋचा पनेरु र सदस्यहरूमा सन्तोष रोकाया, कमल साउँद, विकास पाठक र दिपेन्द्र चौधरी चयन भयौं ।

त्यो दिन मैले ठूलो उपलब्धि हाँसिल गरेको महसुस गरें । म एउटा प्लेटफर्म चाहन्थे । त्यो प्लेटफर्मको प्रदान गरेको थियो बासले । सोही कार्यसमितिमा बसेपछि बासका बारेमा बुझ्ने र अरुलाई पनि बुझाउने भरपुर प्रयास गरें । बासले दिएको अवसरको सकेसम्मको सदुपयोग गरें । कैलालीमा आफुलाई चिनाउने र बास अभियानलाई बिस्तार गर्ने गतिलो माध्यम मेरो लागि निर्माण भएको थियो ।

मेरो जिम्मेवारी सहसचिवको भएपनि टिमसँग छलफल गर्ने, नियमित सम्पर्क गर्ने र जिल्लामा भएका गतिविधिमा आफूलाई सरिक बनाए । म बासमा जोडिएको एक सातापछि हामीले कैलालीको घोडाघोडी तालमा बैठक राख्यौं । बैठकमा आगामी योजना तथा कार्यक्रमका विषयमा घनिभूतरूपमा छलफल भयो । सोही बैठकले एउटा नाराको सिर्जना गर्यो । नारा थियो, ‘कैलालीमा बास भ्रष्टाचारको नास’ ।

त्यसपछि बनें अध्यक्ष

बासको कैलाली शाखा गठन दुई वर्षपछि अर्थात् २०७५ माघ २ गते नयाँ कार्यसमिति बन्यो । त्यो दुई वर्षको अवधिमा मैले आफूलाई धेरै स्तरोन्नति गरिसकेको थिएँ । मेरो सक्रियताको सम्मान गर्दै साथीहरूले मलाई अध्यक्षको रूपमा प्रस्ताव गरे । म सर्वसम्मत रूपमा बास कैलालीको अध्यक्ष बनें । अब झन् जिम्मेवारी थपियो । टिमका साथीहरूसँग भेटघाट, छलफल र भ्रष्टाचारविरुद्धका कार्यक्रमहरु नियमित आयोजना गरियो ।

त्यो बिचमा कैलाली सचिव चिरञ्जीवी छेडाल, प्रेस संयोजक सन्तोष रोकाया लगायत साथीहरू मिलेर बासलाई एउटा महान अभियानकारूपमा अगाडि बढायौं । भ्रष्टाचार न्यूनिकरणका लागि विभिन्न शैक्षिक संस्थाहरूमा कार्यक्रम आयोजना गर्यौं । त्यो दौरानमा गरेको मिहिनेत र संघर्ष मेरो जीवनको ठूलो पाठ र सिकाइ बनेको छ । एउटा सिंगो टीम भएपनि बिस्तारै साथीहरूको सक्रियता घट्दै गयो । तर, म थाकिनँ । प्रेस सल्लाहकार सन्तोष रोकायाले कार्यक्रम सञ्चालन गरेर म आफैं सभापतिको रूपमा कार्यक्रममा बसेको, आफैं अथितिहरूलाई पानी ल्याउनेदेखि कार्यक्रमका लागि कुर्सीहरू टाउकोमा बोकेर कार्यक्रम स्थलमा पुर्याएको ती क्षणहरू मेरो लागि अविस्मरणीय दस्तावेजजस्तै बनेका छन् ।

कैलालीका विभिन्न विद्यालयका प्राचार्यहरूलाई आग्रह गरेर विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराएको पलहरू पनि जति भनेपनि जति लेखेपनि अपूरो हुन्छन् । कैलालीको धनगढी, गोदावरी र घोडाघोडी लगायत क्षेत्रमा हामीले भ्रष्टाचारविरुद्ध युवाहरूलाई सहभागी गराएर वत्तृत्वकला, हाजिरीजवाफ र वादविवाद लगायत कार्यक्रमरू गर्यौं । हुन त हामी आफैं पनि विद्यार्थी थियौं । तर, घरबाट पढाइ खर्च भनेर पठाएको पैसालाई बासको कार्यक्रम गरेर सकायौं । विभिन्न स्थानीय तहमा बास नेपालका पर्चा पम्पलेटहरू पुगे । स्थानीय तहमा आएका जनप्रतिनिधिहरूको मानसपटलमा बास भन्ने संस्था छिराउन सफल भयौं । परिणामस्वरूप वि.सं.२०७६ सालमा बास कैलाली शाखा देशभरका शाखाहरूमध्येमा उत्कृष्ट शाखाकारूपमा सम्मानित भयो ।

कामको प्रशंसा गर्दै पुनः अध्यक्ष

शाखा विस्तार हुँदाको बखत सहसचिव बनेको मलाई कामको प्रशंसा गर्दै साथीहरूले अध्यक्षको रूपमा प्रस्ताव गरे । एक कार्यकाल अध्यक्षको रुपमा काम गरेपछि पुनः साथीहरूले तिमी नै अध्यक्ष बन्नुपर्छ भनेपछि कैलाली शाखाको अध्यक्ष पुनः म नै बनें ।

२०७७ चैत्र १९ गते मेरो नेतृत्वमा पुनः शाखा गठन भयो । उपाध्यक्षमा दिपिका सोप, सचिवमा चिरन्जीबी छेडाल, सहसचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा यशोदा बराल भयन भए भने प्रेस संयोजकमा फेरि सन्तोष रोकाया दोहोरिए । कार्यसमितिको सदस्यमा चित्रराज भट्ट, चुडामणी दाहाल, बसन्त महर, मेघा गुरुगं, प्रिया बिक, सुस्मिता श्रेष्ठ, धमेन्द्र खड्का, दिपेश जोशी, दिनेश शाही, मनिस बिक चयन भए ।

समितिको सल्लाहकारमा उमीद बागचन्द, प्रेम प्रशाद ढुगाना, ठाकुर प्रशाद करिया प्रधान र लक्ष्मी जैशी मनोनित भए । नयाँ कार्यसमिति गठनको कार्यक्रममा बागेश्वरी असल शासन केन्द्रिय कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, कार्यवाहक कोषाध्यक्ष दिला शाह र बासका कार्यक्रम संयोजक शुद्ध चौधरी, सुचनाको हकका लागी राष्ट्रिय सञ्जालका धनगढी अध्यक्ष चन्द्रकान्त पनेरु लगायतको उपस्थिति थियो ।

कैलाली शाखाको दोस्रो कार्यकाल पनि सफल रूपमा निर्वाह गरियो । ठूलो लगानी र आर्थिक कोष भएका संघ संस्थाले गर्न नसकेका कामहरू हामीले गर्यौं । कैलाली जिल्लाको विभिन्न तह तप्कामा बासलाई पुर्यायौं ।

जिल्लापछि प्रदेशमा फड्को
वि.सं २०७६ माघ २४ र २५ गते नवलपुर स्थित गैंडाकोटमा बसेको बास नेपालको ३५औं पूर्णकालिन बैठकबाट मलाई बास नेपालको सुदुरपश्चिम प्रदेश समितिको सह–संयोजकमा र सदस्य सचिवमा बास डोटीका अध्यक्ष गणेश मौनीलाई मनोनित गरियो । यसले मलाई थप जिम्मेवारी थपिएको महसुस भयो । आफ्नो सञ्जाल विस्तार भएको आभास भयो । थप कामहरू गर्न मलाई प्रोत्साहन मिल्यो । त्यतिबेला बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मी जैशी थिए ।

कैलालीको अध्यक्ष र प्रदेशको सहसंयोजकको जिम्मेवारी थपिएपछि अब बासलाई सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि विस्तार गर्नुपर्छ भन्ने योजना बनायौं । सो समयमा विश्व महामारीका रूपमा फैलियो कोरोनाको सन्त्रास थियो । त्यहीबीचमा बास कैलाली शाखाले पीडितहरूको घाउमा मल्हम लगाउने प्रयत्न गर्यो । ठाउँ–ठाउँमा मास्क र स्यानिटाइजर वितरण गर्यौं । सोही समयमा म बझाङ पुगें । बझाङमा तरुणा जोशीको अध्यक्षतामा शाखा गठन गरियो ।

कोभिडको समयमा सामाजिक सञ्जालमार्फत् जनचेतना मुलक सन्देशहरु फैलाउन आफूसँगै साथीहरूलाई पनि परिचालन गरें । विभिन्न समयमा अनलाइन बैठकहरू राखेर कोरोनाबाट ग्रसित साथीहरूको मनोबल बढाउने काम गरियो भने अनलाइनबाट नै विभिन्न जिल्लाका शाखा तथा उपशाखा गठन गर्ने काम पनि भयो । कोरोना भाइरसको महामारी पश्चात् म आफैं कञ्चनपुरमा गएर पुस्कर पन्तको अध्यक्षतामा शाखा गठन गरें । अहिले बासको कञ्चनपुर शाखाले पनि उदाहरणीय काम गरिरहेको छ । यस्ता विषयहरूले ठूलो खुसी मिल्दो रहेछ ।

सुदूरपश्चिम प्रदेश संयोजक
२०७८ चैत्र १८ र १९ गते बास नेपालको ९औं महाअधिवेशनमा सहभागी हुनका लागी म नेपालगञ्ज गएको थिएँ । बास कैलालीको अध्यक्ष र प्रदेशको सहसंयोजक भएका कारणले सहभागी हुनु मेरो जिम्मेवारी थियो । देशैभरबाट बास नेपालका साथीहरू उपस्थित हुनुहुन्थ्यो । त्यसले पनि मेरो नेटवर्क बढाउनका लागि थप प्रभावकारी काम गर्यो ।

कैलाली र सिंगो सुदूरपश्चिम प्रदेश समितिले गरेको कामको प्रशंसा देशभरका साथीहरूबाट सुन्दा कति आनन्द र खुसी मिल्दो रहेछ, त्यो पनि मैले अनुभव गरें । १८ र १९ गते भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने थियो । मैले सोचेको थिइनँ कि म सुदूरपश्चिमको संयोजक बन्छु भनेर । तर, मनोनयन दर्ता गर्दाको बखत देशभरका साथीहरू र केन्द्रका सरहरूले पनि तिमी बास सुदूरपश्चिम प्रदेशको संयोजक बन्नुपर्छ भनेपछि मैले उहाँहरूको प्रस्तावलाई अस्वीकार गर्न सकिनँ । मैले मनोनयन दर्ता गरेँ । मेरो मात्रै उम्मेदवारी पर्दा म स्वतः सुदूरपश्चिम प्रदेशको संयोजक बनें ।

त्यसले मलाई थप उर्जा थप्यो । थप नयाँ काम गर्ने अवसर आएको मैले महसुस गरें । म संयोजक भएकोमा प्रदेशका शाखा तथा उपशाखाका अध्यक्षहरू खुसी हुँदै प्रदेश कार्यालयमा स्वागत गर्न आएको क्षण म कसरी भुल्न सक्छु । बास नेपाल र बास नेपालमा आवद्ध साथीहरू मेरो लागि एउटा घर र घरका परिवारभन्दा कम महत्व छैन ।

म प्रदेश संयोजकमा निर्वाचित भइसकेपछि मैले कैलालीको जिम्मेवारी चिरञ्जीवी छेडाललाई हस्तारन्तरण गरें । अब मेरो लक्ष्य एकमात्र थियो, प्रदेशभर बासलाई विस्तार गर्ने । त्यही योजना र रणनीतिअनुसार काम अगाडि बढाएँ । जिल्ला शाखाका अध्यक्षहरूसँग नियमित छलफल गरें । शाखाहरूमार्फत् विभिन्न जिल्लामा उपशाखा गठन भए । अहिले प्रदेशका विभिन्न ९ शाखा र १५ ओटा उपशाखा गठन भएका छन् । उपशाखा बिस्तार हुने क्रम अझै जारी छ ।

शाखा संगै उपशाखाहरूको कारण सुदूरपश्चिम प्रदेशमा बासका बारेमा छलफल तथा बहस हुन थालेको छ । अहिले सुदूरपश्चिमका टोल, गाउँ, सडक, सहर र सदनमा पनि बास नेपाल गुञ्जिन थालेको छ । नागरीकहरूमा भ्रष्ट्राचारविरुद्ध आवाज उठाउनुपर्छ भन्ने चेत पलाएको छ । जनप्रतिनिधिहरूमा भ्रष्टाचार गर्नुहन्न भन्ने संकल्पको अभ्यास बढेको छ ।

बासको मान, प्रदेश सरकारको सम्मान
सुदूरपश्चिम प्रदेशको संयोजक भएपछि धेरै कामहरू भए । तिनै कामहरूको मूल्यांकन गर्दै बास केन्द्रिय समितिले पुरस्कृत गर्नेदेखि सुदूरपश्चि प्रदेश सरकारले समेत सम्मान गर्ने कामहरू भए । बासको २२औं वार्षिकोत्सबमा सुदूरपश्चिम प्रदेश अन्य प्रदेशर्लाइ पछि पार्दै उत्कृष्ट प्रदेशका रूपमा पुरस्कृत बन्यो । त्यो क्षण मेरो लागि अझै पनि अविस्मरणीय छ ।

मेरै नेतृत्वमा कैलाली शाखा पनि देशभरका शाखाहरू मध्ये उत्कृष्ट शाखाका रुपमा पुरस्कृत भएको थियो । म सुदूरपश्चिम प्रदेशको संयोजक हुँदा पुनः कैलाली शाखा नै उत्कृष्ट बन्यो । मेरा लागि त्यो भन्दा ठूलो विषय केही थिएन । २०७९ सालमा कैलाली शाखाका अध्यक्ष चिरञ्जिवी छेडालले उत्कृष्ट भएको सम्मान र पुरस्कार ग्रहण गरेका थिए ।

आफ्नो संस्थासँगै बाहिरबाट पनि रिकगनाइज हुँदा धेरै खुसी मिल्दो रहेछ । त्यो खुसीको अनुभुती गर्ने अवसर मैले पनि पाएको छु । कामको सिलसिलामा म काठमाडौं थिएँ । २०८० असार १५ गते एक बिहान युवा परिषद् सुदूरपश्चिमबाट फोन आयो । बास नेपाल सुदूरपश्चिम सम्मानित हुँदैछ, तपाईं नेपाली पोशाकमा कार्यक्रममा आउनु होला । त्यसले मलाई थप हौसला प्रदान गर्यो । मैले सम्मान पाउनेबारे सबै साथीहरूलाई खबर गरें ।

२०८० असार १६ गते शनिबारको दिन । धनगढी रिद्धीसिद्धी प्यालेसमा युवा परिषदको सम्मान कार्यक्रम । युवा सशक्तिकरण तथा नेतृत्व विकास, युवा सहभागिता र परिचालनको क्षेत्रमा उल्लेख्य योगदान गरेवाफत बास नेपाल सुदूरपश्चिम प्रदेशलाई सम्मान गर्दै गर्दाको त्यो पल अहिले सुनाइ नसक्नु छ ।

२०८० मंसिर २४ गते बास नेपालको २३औं बार्षिकोत्सव समारोहमा बास नेपालका ७७ जिल्ला शाखामध्येबाट मैलै नेतृत्व गरेको प्रदेशको डोटी शाखा उत्कृष्ट शाखा उत्कृष्ट भएको छ । यसले पनि मलाई थप काम गर्न प्रेरणा र प्रोत्साहन मिलेको छ । बास नेपालको २३औं बार्षिकोत्सव कार्यक्रमै देशभरीका फिल्ड कर्मचारीमध्येबाटे सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा कार्यरत तेज बोहरा उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित हुँदा उहाँभन्दा बढी म खुसी भएको छु ।

प्रदेशमै पहिलो सम्मेलन
२०७९ मा बर्दियाको ठाकुरद्धारमा भएको पुर्णकालीन बैठकले सुदूरपश्चिममा युवा सम्मेलन गर्नुपर्छ भन्ने निर्णय गर्यो । तर, कसरी गर्ने ? म आफैं अलमलमा परें । केहि समयपछि टिमले चिन्ता लिनु पर्दैन, हामी छौँ भनेर साथ दिए पछि आँट आयो । लगत्तै साँझ मैले प्रदेशका कर्मचारी र बासका पदाधीकारीहरु सँग छलफल गरें । छलफलबाटै सम्मेलन आयोजक समिति गठन गर्यौं । डोटी शाखाका अध्यक्ष गणेश मौनी समितिको संयोजक बने ।

सम्मेलनका लागि समिति नै गठन गरेपनि साथीहरू बिचमा सेलाए । भनिन्छ नि, ‘अवसर र सूर्योदयमा एउटै समानता छ, ढिलो गर्नेलाई यसले पर्खदैन ।’ मैले यो सम्मेलनलाई सुदूरपश्चिममा बासको अभियानलाई चिनाउने एउटा गतिलो र प्रभावकारी मञ्च ठानेको थिएँ । दिनप्रतिदिन साथीहरूसँग छलफल गर्ने । कामको अपडेट लिने काम गरिरहेँ । सम्मेलनको १५ दिनअघि बासका साथीहरूलाई कार्यविभाजन गर्यौं ।

सम्मेलनका लागि प्रपोजल बनाउने, विभिन्न ठाउँमा प्रपोजल ईमेल गर्ने, निमन्त्रणा पठाउने, अथितीहरूसँग भेटघाट गर्ने काम निरन्तर गरियो । २०७९ भदौ २५ गते शनिबारको दिन, ओमप्यालेसको गेटदेखि सभाहलसम्म बासका पर्चा, पम्पलेट सँगै विभिन्न उर्जादिने सन्देशले भरिभराउ । धनगढीको चौराहमा भ्रष्टाचार विरुद्धका अभियान्ताहरुको भिड । त्यो तस्वीरले अहिले पनि मेरो मन लोभ्याउँछ ।

विभिन्न संघ संस्था, युवा, नागरीक समाज, अगुवा तथा विद्यार्थीहरुको उपस्थितिमा धनगढीको चौराहदेखि मुख्यमन्त्री कार्यालय हुँदै कार्यक्रम स्थलसम्म भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण ¥यालीको आयोजना गर्यौं । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहरा प्रमुख अथितीको रूपमा उपस्थित भए । नेपाल सरकारका पूर्व सुचना आयुक्त कृष्णहरी बास्कोटाको पनि कार्यक्रममा सहभागिता रह्यो ।

२ हजारभन्दा बढी युवाहरूको सहभागितामा सम्मेलन समापन भयो । कार्यक्रममा बोल्दै मन्त्री बोहराले सुदूरपश्चिम प्रदेशलाई सुु–शासन समृद्धि र भ्रष्टाचारमुक्त प्रदेशका रूपमा एक नम्बरमा ल्याउने दावी गरे । हामीले कार्यक्रममा भ्रष्टाचार विरुद्ध २० बुँदे घोषणपत्र जारी गर्यौं । सो कार्यक्रमले सुदूरपश्चिममा बास नेपाललाई चिनाउन ठूलो टेवा पुगेको मेरो बुझाइ छ ।

सोही अवसरमा बास नेपालको सुदूरपश्चिम समितीको कार्यसमितीलाई पुर्णता दियौँ । जसको सह–संयोजकमा कुबेर खड्का, सदस्य सचिवमा गणेश मौनी, र सदस्यहरुमा तेज बोहरा, सुशिला धामी, तारा ओझा, सिर्जना ऐडी, पुस्करराज पन्त, सरिता थापा, रेजिना टेलर, राकेश दयाल निर्वाचित हुँदाको क्षण बयान गरिनसक्नु छ ।

बास : एक लत
शाखा तथा उपशाखाका साथीहरूबाट पाएको माया प्रेमले मलाई बास एक लत बन्यो । हरेक दिन बासका बिषयमा सोच्न बाध्य बनायो । दैनिकरूपमा साथीहरूको बासबारेको जिज्ञासा मेटाई दिनु मेरो दैनिकी बन्यो । सुदूरपश्चिममा बासलाई कसरी बलियो बनाउने र भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम कसरी गर्ने भन्ने बिषयमा योजना बनाउँदै मेरो दिन बित्न थाल्यो ।

जसरी मानिसलाई खाना आवश्यकता हुन्छ, खानाको भोक लाग्छ, त्यसरी नै मलाई दैनिक रुपमा बासको भोक लाग्न थाल्यो । बासको भोक मेटाउन बासका साथीहरुलाई शाखा तथा उपशाखाको गतिविधीबारे सोध्दै र प्रदेशका योजना सुनाउँदै नेटवर्क बिस्तार गर्ने प्लेटफर्म बास बन्यो ।

बास नेपाल सुदूरपश्चिम प्रदेशमा विभिन्न जिल्ला शाखा तथा पालिकामा उपशाखाहरु रहेका छन् । जसमा हरेक शाखा तथा उपशाखाहरुमा ७ देखि १५ जना सम्मको कार्यसमिति रहेको छ । शाखा तथा उपशाखाका पदाधीकारीहरुमा म जहिले पनि उर्जा देख्छु, अनुशासन, धैर्यता अनि परिवर्तनको हुटहुटी देख्छु । अहिले बासका हरेक साथीहरूमा म आफूलाई देख्छु ।

बासको विस्तार संगै सुदूरपश्चिम प्रदेशका हरेक शाखा तथा उपशाखाका पदाधीकारीहरूलाई अहिले विभिन्न संघ संस्था तथा सरकारी कार्यालयले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागिताको लागि निमन्त्रणा दिने गरेका छन् । बास नेपालका पदाधिकारी तथा कर्मचारीहरूले भ्रष्टाचारविरुद्धका आवाज तथा सुशासनका आवाजहरू विभिन्न कार्यक्रम मार्फत् उठाइरहेका छन् ।

मेरो बुझाईमा बास : एक अभियान
मैले बासलाई एक अभियानका रुपमा लिने गरेको छु । बासले गर्ने हरेक कार्यक्रममा समाज परिवर्तनको स्वरूप झल्किरहेको हुन्छ । जबसम्म हामी बस्ने समाजमा भ्रष्टाचारको अन्त्य हुँदैन, तबसम्म बास नेपालले त्यसकाविरुद्ध आवाज उठाइरहन्छ । समाजमा कतातिर जाँदैछ भन्ने विषय पनि बासले अनुगमन गरिरहेको हुन्छ । समाजमा सुशासन कायम गर्ने, युवाहरूमा जागरूकता ल्याउने काम बासले गरिरहेकोले यो एक अभियान हो, यो अभियान निरन्तर चलिरहन्छ ।

बास एक परिवार हो । जसरी एउटा परिवारमा अभिभावक, दाजुभाई, दिदिबहिनीहरू हुन्छन् । त्यसरी नै बासमा आवद्ध साथीहरू एकरू एक घरका परवार सरह काम गरिहनु भएको छ । बासले गर्ने हरेक क्रियाकलापमा सकरात्कता छ । बासले असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिंसा न्यूनिकरण, सामुदायिक सशक्तिकरण, सञ्चार र संस्थागत विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । यी कामहरूलाई बासका सबै साथीहरू र आमनागरीकले निरन्तरता दिनुपर्छ ।

एउटा भनाई छ, ‘विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नुअघि आफ्नो परिवार बदल, अनि परिवार बदल्नुअघि आफुलाई बदल ।’ यहि भनाइलाई आत्मसाथ गर्दै अब हामीले समाजमा सुशासन कायम तथा भ्रष्टाचारको अन्त्य गर्न आफूबाट सुरु गरौं अनि मात्र परिवार, समाज र देशमा सम्वृद्धि सम्भव छ ।

(पुजारा बास नेपालका सुदूरपश्चिम संयोजक हुन् ।)

 

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech