नेपालको सन्दर्भमा कर्णाली प्रदेश तथा सुदुर पश्चिम क्षेत्रमा छाउपडि प्रथा अधिक मात्रामा रहेको पाइन्छ। यसले सामाजिक रुपमा अन्धबिश्वासको जरा गाडेको छ। परिबर्तनको लागि धेरै जनचेतना का कार्यक्रम तथा अभियानहरु संचालन गरिएता पनि पूर्ण रुपमा हटाउन सकिएको छैन। महिनावारी संसारभरि निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने शारीरिक तथा जैविक प्रक्रिया हो यसो भए पनि यसप्रति बनाइने दृष्टिकोण, मूल्यमान्यता, बुझाइ र गरिने व्यवहार विभिन्न देश, समाज र संस्कृति अनुसार फरक फरक भएको पाइन्छ । महिनावारी हुँदा महिलाको यौनाङ्गबाट करिब ४ दिनसम्म रक्तस्राव हुन्छ । महिनावारी किशोरावस्था (करिब ११-१५ वर्ष) बाट सुरु भई करिब ४५ वर्षसम्म रोकिन्छ ।
यसरी रक्तश्राव हुनुलाई रजस्वला हुनु, मासिक धर्ममा हुनु, महिनावारी हुनु भनिन्छ । महिनावारी १ महिनामा करिब १ चोटि गरी १ वर्षमा करिब १३ पटक हुन्छ । एकजना महिला आफ्नो जीवनकालको करिब ३० वर्ष अवधिसम्म महिनावारी हुन्छिन् । यो समय महिलाको सबैभन्दा सक्रिय जीवन अवधि पनि हो । महिलाले मासिक धर्म करिब ७ दिनसम्म बेहार्नुपर्छ । तीस वर्षको अवधिमा एक जना महिला करिब ३९० पटक महिनावारी हुन्छिन् । छाउपडीलाई घरदेखि टाढा अलग्गै बसोवास गराइन्छ । छाउपडी बस्ने ठाउँलाई छाउगोठ वा छाउखुल्लो भनिन्छ । प्रायः छाउगोठ वा छाउखुल्लो गोठभन्दा पनि जीर्ण, साँघुरो, अध्यारो, ओसिलो र असुरक्षित हुन्छ किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ । जङ्गली तथा पाल्तु जनावर, सर्प, किरा सहजै भित्र छिर्न सक्ने हुन्छन् । त्यसैले छाउपडी महिलाहरु सर्पदंशबाट अकालमा ज्यान गुमाइरहेका छन्, दीर्घ रोगी बनिरहेका छन् । छाउगोठभित्र निसास्सिएर गला घोटेर प्राणपखेरु त्यागिरहेका छन् । बलात्कृत भइरहेका छन् । उनीहरुले सम्मानपूर्वक बाँच्न पाउने हकको आफूजस्तै बलात्कृत हुनुपरेको अवस्थालाई टुलु-टुलु हेर्नुपरेको छ ।
यस्तो अवस्थामा यहाँ छाउगोठ भत्काइँदैछन्, वर्षौंदेखि तर छाउपडी प्रथा जस्ताको त्यस्तै छ । यहाँ छाउगोठको भौतिक आधारहरु माथि आक्रमण गरिँदैछ जसले गर्दा छाउपडी अझै दर्दनाक, अमानवीय, अकल्पनीय पीडा बेहोर्दैछन् किनकि उनी अब छाउगोठको सहाराबाट खुला आकाशको भरोशामा उत्रिएका छन् । यद्यपि वर्षौंदेखिको छाउगोठ भत्काइने नित्यकर्म अजस्र चलिरहेको छ तर छाउगोठको गुँढगम्यको गमन तथा अन्तर्य खोज्न लागिपरिएको छैन ।
यहाँ छाउपडीको यस्तो हाललाई छाउपडी प्रथा करार गरिन्छ । छाउपडी कुप्रथा भनिदैन तर यसलाई फौजदारी अपराध दर्ज गरिन्छ । यहाँ छाउपडी प्रथालाई प्रथा मान्नेको ठूलो झुण्डछ जुन झुण्ड सामाजिक निर्णयमा निर्णायक भूमिका लिन्छ । उनीहरु छाउपडी प्रथाका धेरै सकारात्मक पक्ष भएको देख्छन् । त्यसो हो भने सकारात्मक पक्षहरुको निक्यौल गरी नकारात्मक पक्षहरुको उन्मूलन गर्न किन आवश्यक कदम चालिइदैन । यदि यो हरहालत र हरतरहले कुप्रथा हो भने पनि यसलाई सबैको मानसपटलमा त्यही कुरा सञ्चारित गर्न किन सकिएको छैन ? यससँग सम्बन्धीत सकारात्मक पक्ष तथा नकारात्मक पक्षहरुको चिरफार किन गरिइँदैन ? सामाजिक कुप्रथाको रुपमा यसले समाज र सामाजिक आस्थालाइ नकारात्मक प्रभाव पारेको देखिन्छ। मानिस जतिजति चेतनशील हुदै गयो उति नै परिबर्तन हुनु स्वाभाविक हो, तर छाउपडि जस्तो अन्धबिस्वासको बिकल्पको रुपमा विवेक हुनु जरुरी देखिन्छ।