नेपालगञ्ज ⁄ पश्चिम नेपालकै चिरपरिचत शिक्षण संस्था महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र रहेको छात्रवासको अबस्था दयनिय रहेको छ ।
क्याम्पसको पुरानो भवन वरीपरी र छात्रवासको परिसर घाँसे मैदानमा परिणत भएको सहजै देख्न सकिन्छ क्याम्पस परिसरमा रहेका तीन वटा छात्रवास मर्मत सम्हारको अभावमा भत्किएर क्षतबिक्षत भएको छन् ।
त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हाँसिल गर्न साविकको मध्य र सुदरपश्चिम तथा हालको कर्णाली तथा सुदुरका बिभिन्न जिल्लाबाट आउने बिद्यार्थीहरुको लागि केन्द्रबिन्दु कै रुपमा चिरपरिचित छ । तर सडकबाटै छर्लङ्ग देखीने छात्रवासको घाँसे मैदान र निकै जर्जरपुर्ण अबस्थामा रहेको छात्रबासले सबैलाई गिज्याईरहेका भान हुन्छ ।
छात्रावासको बाहिरको अवस्था जति दयनिय छ त्यो भन्दा छात्रावासभित्रको अवस्था निकै जर्जरपुर्ण रहेको छ । दुरदराजका जिल्लाहरुबाट अध्यन गर्न आएका बिद्यार्थीहरुका लागि भनेर बनाईएका ३ वटा छात्रवास धरापको रुपमा रहेका छन् । छात्रवासको भवन नम्बर २ र ३ काम चलाउ भएपनि १ नम्वर छात्रबास भने प्रयास गर्न लायककै छैन, पूर्ण रुपमा जिर्ण भईसकेको छ ।
झट्ट हेर्दा खण्डहर जस्तो देखीने छात्रवासको भित्री संरचना भने आज हो की भोली भन्ने स्थितीमा छन् । भवनमा रहेका कुनै पनि कोठामा सरसफाई छैन । कोठामा ढोका समेत छैनन्, बिजुलीका तारहरु यत्रतत्र अवस्थामा छ । तर पनि बिद्यार्थीहरु त्यो छात्रबासमा पनि बसिरहेका छन् र सोही छात्रवासमा बस्दै आएका बिद्यार्थी रुपेश चौलाँगाईका अनुसार, बर्षामा पानी चुहेर बस्न सम्म नमिल्ने बताउँछन् ।
छात्रवासमा बस्नका लागि क्याम्पसले कुनै नियम लागु गर्न सकेको छैन, जसको शक्ति, उसैको भक्ति भनेझैं जसले सक्यो, उहि त्यो छात्रबासमा बस्ने गरेको छ ।
क्याम्पस प्रमुखकै भनाई अनुसार, १ नम्बर छात्रवास भवन पुरानो संरचना भएको र बस्ने नमिल्ने भनेर सहरी बिकास कार्यालयले भत्काउन आदेश दिईसकेता पनि हाल सो भवनमा बिद्यार्थीहरु बसिरहेका छन् । बिद्यार्थी नेताहरु बस्ने भवनहरु केही राम्रा भएपनि उनीहरुलाई भोट दिएर जिताउने बिद्यार्थीहरु बस्ने भवन भने जिर्णोद्धारको पर्खाईमा रहेको छ । छात्रवासमा बस्नलाई कुनै मापदण्ड नभएपनि जो बिद्यार्थी नेताहरुको पछाडी लाग्छ उनीहरुलाई नै त्यहाँ बस्ने सुबिधा रहेको स्रोतको दाबी छ ।
घाँसे मैदान र छात्रवासको खण्डहरको बारेमा बुझ्न खोज्दा महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लिलामणि आचार्य भन्छन्– क्याम्पस प्राङ्गण र छात्रवास वरीपरिको घाँस बेला बेला मेसिनले काट्ने गरेता पनि यो पटक काट्न ढिलाई भएकाले त्यसो देखिएको, छात्रवासको भवन पुरानो भएको र भत्काउन पनि आर्थिक श्रोत चाहिने भएकाले समस्या छ । उनी भन्छन् –भवन निर्माणका लागि नेताहरुले आश्वासन देखाएता पनि कतैबाट सहयोग पाउन सकिएको छैन् ।
झण्डै ८ हजार बिद्यार्थीहरुले अध्ययन गरिरहेको यस क्याम्पसको बृद्धि बिकासका लागि नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्टलाई पटक पटक बोलाएर समस्या देखाए पनि समाधान तर्फ पहल नगरेको क्याम्पस प्रमुख आचार्यको भनाई रहेको छ ।
क्याम्पस प्रमुख आचार्या भन्छन् क्याम्पस र छात्रवासको समग्ररुपमा सुधार गर्न बिद्यार्थी नेताहरुले चासो देखाउनुपर्ने आबश्यक्ता रहेको छ ।
क्याम्पसको छात्रबास बस्ने नियम नहुनु र छात्रबासको अवस्था बिजोगपूर्ण हुनु बिडम्वना हो । यस तर्फ क्याम्पस प्रशासन, स्वबियु र सरोकारवालाको ध्यान जान जरुरी छ ।