मालपोतमा शुद्धिकरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले मालपोत तथा भुमीसुधार कार्यालय नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सरकारी निकायमा हुने भ्रष्टाचारका बिरुद्धमा रखवारी गर्ने, साँकेतिक रुपमा शान्ति पूर्ण बिरोध जनाउने, असल कार्यको प्रोत्साहन र खराब कार्यका बिरुद्ध जनमत सृजना गर्ने र समस्या समाधानका लागि सम्बद्ध निकायको ध्यानआकृष्ठ गर्ने उद्धेश्यले शुद्धिकरण कार्यक्रम गरिएको हो ।

शुक्रवार बिहान १०.०० बजे देखि १०.३० बजे सम्म भ्रष्टाचार बिरुद्धका अभियन्ताहरु भ्रष्टाचार बिरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए । अयिन्ताहरुले हामी असल शासनका हिमायति हौं, हामी भ्रष्टाचार बिरोधी हौं, घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, कार्यालयमा काम लिन आएका सेवाग्राहीलाई सम्मानजनक व्यवहार गरौं, कार्यालय समयको ख्याल गरौं, भ्रष्टाचार गर्नु भएकोछ भने यहाँलाई प्रबेश निषेध, सेवाग्राहीलाई बिभिन्न बहानामा नझुलाऔं, भ्रष्टाचार बिरुद्ध आजै देखि शुरु गरौं, भ्रष्ट कर्मचारीलाई कार्बाही गरौं लेखिएका सन्देशहरु बोकेका थिए ।

सांकेतिक धर्ना पश्चात बास नेपालले नागरिकहरुका तर्फबाट सेवा प्रबाह सुधारका लागि मालपोत तथा भुमी सुधार कार्यालय नेपालगञ्जका प्रमुख यज्ञ पुरीलाई बास नेपालका उपाध्यक्ष शिब कुमार बर्मा, कोषाध्यक्ष कल्पना अधिकारी र निबर्तमान अध्यक्ष रमेश सिटौलाले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको उद्धेश्य माथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बोलेको कार्यक्रममा २० बढि भ्रष्टाचार बिरुद्धका अभियन्ता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बुझाईएको ज्ञापन पत्रमा मालपोत तथा भुमी सुधार कार्यालयमा भईरहेका सबै खालका अनियमितताहरुको नियन्त्रण गर्नुका साथै नियमित रुपमा नागरिकहरुको गुनासो सुनुवाई गर्ने व्यवस्था गर्न, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गर्न, कार्यालयका सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई थप सक्रिय पार्न, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराउन, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्न, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्न, कार्यालयमा नागरिक बडापत्र र गुनासो पेटिकाको प्रभावकारी व्यवस्थापन गर्न, सेवा प्रबाहका नाममा भईरहेको अनुचित कार्यहरुलाई तत्काल बन्द गर्न, सेवाग्राहीहरुसँग सेवा प्रबाह बारे नियमित सार्वजनिक सुनुवाई गर्न र कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन माग गरिएको छ ।

  • १ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech