नेपालगन्ज १ को सार्वजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई गरेको छ ।
वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा वडा कार्यालयले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारीता बिषयक आज सम्पन्न सार्वजनिक सुनुवाईमा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ ।

यसरी गरिएका प्रतिबद्धताहरुमा वडा नम्बर १ र १८ मा पर्ने पर्यटकिय स्थान वाटरपार्कलाई थप ब्यवस्थित र आकर्षक बनाउने, वडाबाट लक्षित बर्ग उत्थानका लागि सञ्चालीत शिपमुलक तालिमहरुको प्रभावकारिता मापन गर्ने, तालिम प्रदान गर्दा सिपलाई ब्यवहारमा उतार्न खोज्ने ब्यक्तिहरुको खोजी गर्ने, वडा नम्बर १ लाई थप हरियाली बनाउने र बृक्षारोपण गरिएका बिरुवाहरुको संरक्षण गर्ने, वडामा रहेका टोल विकास समितिहरुको संस्थागत विकास गर्ने, मस्जित टोलमा बाटो, नाला, ताल निर्माण नभएकोले आगामी आर्थिक बर्षमा सडक तथा नाला निर्माण गर्ने, वडामा रहेको स्पोर्टस एकेडेमी लगायतका स्थानमा लागु औषध प्रयोग गर्ने स्थानको रुपमा परिणत हुन लागेको भन्ने गुनासो आएकाले सो बारे ध्यानाकर्षण गरि लागु औषध निशेधित क्षेत्रको रुपमा विकास गर्ने र सडक अतिक्रमण र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र सोको लागि टोल विकास संस्थाहरुसँग समन्वय गर्ने प्रतिबद्धता गरिएको छ । यसरी गरिएको साझाँ प्रतिबद्धतामा सुनुवाईका सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् भने सहभागिहरुले तालि बजाएर अनुमोदन गरेका थिए ।


बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा स्वागत वडा सदस्य जंगमोहन काँदुले गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा आर्थिक बर्ष २०८०/०८१ को प्रगति प्रतिबेदन प्रश्तुत वडा अध्यक्ष तथा सुनुवाईका प्रमुख जवाफदेहि बक्ता प्रमोद रिजालले गरेका थिए । सुनुवाईको शुरुवातमा सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका जन सम्पर्क अधिकृत माधब कुमार कार्कीले गरेका थिए ।


वडाको समग्र विकासका बिषयमा झण्डै ३ घण्टा चलेको सुनुवाईको खुल्ला सत्रमा सहभागिहरुले वडाको सडक निर्माण तथा स्तर उन्नती, नाला सरसफाई, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सुधार, लक्षित बर्ग उत्थान कार्यक्रम, युवा सशक्तिकरण र खेलकुद लगायतका बिषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । सुनुवाईको क्रममा प्रश्न राख्ने सहभागिहरुले नेपालगन्जका अन्य वडाको तुलनामा वडा नम्बर १ को प्रगति उल्लेखनिय भएको भन्दै वडा समितिको कामको प्रशंसा गरेका थिए । सुनुवाईमा वडा अध्यक्ष प्रमोद रिजाल, वडा सदस्यहरु, वडा सचिब भुविन्द्र प्रसाद कडेंल, टोल विकास संस्थाका पदाधिकारीहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र वडाबासि गरी २२० जनाको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले वडाको सार्वजनिक सुनुवाई कार्यक्रम नियमित सञ्चालन गर्दै आएको छ ।

  • ३ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech