डा. बद्री पोखरा जान मानेनन् !

स्वास्थ्यकर्मी किन नकार्छन् मन्त्रालयको निर्देशन ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डा. बद्री चापागाईको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पताल पोखरामा सरूवा भएको छ । २०८१ जेठ २३ गते जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले उनको सरूवा गरेको हो ।

डा. बद्रीले भेरी अस्पतालका अतिरिक्त विभिन्न स्वास्थ्य संस्था संचालन गरेको कारण पोखरा जान नचाहेको बताइन्छ । त्यसै कारणले पनि उनले अस्पतालबाट यो समाचार तयार पार्दासम्म रवाना पत्र बुझेका छैनन् ।

मन्त्रालयको सोही मितिमा निर्णय गरेर अस्पतालका फार्मेसी सुपरभाइजर निरीक्षक (छैठौं तह) अविनाश गुप्ता र फार्मेसी सुपरभाइजर(पाँचौ तह) दिनेश दमाई नेपालीको पनि सरुवा गरेको छ । गुप्तालाई औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज र नेपालीलाई गेटा अस्पताल कैलालीमा सरुवा गरिएको हो । अविनाश र दिनेशले भने रवाना पत्र लिएर गइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

किन सरुवा जान चाहँदैनन् स्वास्थ्यकर्मी ?

डा. बद्री त एक प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश डाक्टरहरु मन्त्रालयले आवश्यकताका आधारमा गरेको सरुवालाई सहजै नकार्छन् । कारण उनीहरुले चलाइरहेको व्यवसाय पनि हो । अन्य निजामति कर्मचारीले सरकारी जागिर खाँदासम्म कुनै व्यवसाय वा अन्यत्र काम गर्न नपाइने भएता पनि स्वास्थ्य क्षेत्रमा त्यस्तो नदेखिएको एक कर्मचारी बताउँछन् ।

सरकारी होस् वा प्राइभेट अस्पतालमा त्यहाँ आउने बिरामीसँगको सम्बन्ध विस्तारका लागि मात्र काम गर्ने गरेको पाइन्छ । एक अर्थमा आफूलाई चिनाउन र नाम स्थापित गर्नका लागि मात्र सरकारी अस्पतालको खोल ओढ्ने गरेको बताइन्छ । अधिकांश स्वास्थ्यकर्मीको ध्येय आफूले काम गर्दै आएको अस्पतालका बिरामीलाई क्लिनिकसम्म तान्नु नै रहेको बताइन्छ । स्वास्थ्य क्षेत्रमा यत्रो बेथिति रहँदासमेत सरकारले उनीहरुलाई लगाम कस्न नसक्नु दुखद् हो ।

  • ७ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech