परसपुर स्वास्थ्य चौकीकोे आम भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुर स्वास्थ्य चौकीको आम भेला सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा सञ्चालित स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम अन्तर्गत आज आम भेला गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा प्रदान गरिने बिभिन्न सेवाहरु र सामुदायिक स्वास्थ्य सम्वन्धि क्रियाकलापहरुका वारेमा समुदायलाई जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको आम भेलामा उपस्थित सहभागीहरुले स्वास्थ्य संस्थाको आफ्नै भवन भएता पनि सेवाग्राहीको पायक पर्ने ठाउँमा नभएको, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, आमा समुहको बैठक बस्नका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने, परसपुर स्वास्थ्य संस्थाको कार्यालयको भौतिक निर्माण गर्नुपर्ने, प्रर्याप्त महिला स्वास्थ्य स्वयंसेबिका थप गर्नुपर्ने, आमा समुहको बैठक बस्दा कोही पनि बैठकमा सहभागी नहुने गरेको, स्वास्थ्य चौकीमा औषधी अभाव हुने गरेको, स्वास्थ्य संस्थाका कर्मचारीहरुको ब्यवहार राम्रो भएको लगायतका सुझाव राखेका थिए ।

सामाजिक परीक्षणको क्रममा स्थलगत अवलोकन, स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारीहरु र स्वास्थ्य चौकीका कर्मचारीहरु सँगको बैठक बाट आएका कुराहरुका साथै समुह केन्द्रित छलफलबाट आएका तथ्यहरु सहितको प्रतिवेदन सामाजिक परीक्षक माधव कार्कीले प्रस्तुत गरेको आम भेलामा परसपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख भवानी कार्कीले स्वास्थ्य चौकीको प्रगति तथा सेवाको तथ्याँक सहितको प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

आधारभुत स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १७ का अध्यक्ष लक्ष्मण प्रसाद बर्माको अध्यक्षतामा सञ्चालन भएको आम भेलामा स्वागत तथा सामाजिक परिक्षणको उद्धेश्यमाथि बास नेपालका निर्देशक हेमराज भट्टले प्रकास पारेका थिए भने बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेका थिए ।

 

  • १३ असार २०८१, बुधबार प्रकाशित

  • Nabintech