वडा नम्वर ४ को सार्वजनिक सुनुवाइ, सहभागिहरुका प्रश्नै, प्रश्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ४ ले पहिलो पटक वडाको सार्वजनिक सुनुवाइ गरेको छ ।

बास नेपालको सहजिकरणमा वडाले पहिलो पटक शनिवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

२ सय बढि सहभागिहरुका बिचमा वडाध्यक्ष गोपाल पुनले सहभागिहरुका दर्जनौं प्रश्नहरुको उत्तर दिए ।

पहिलो पटक सार्वजनिक सुनुवाई भएकाले सहभागिहरुले वडा प्रति आक्रोश, असन्तुष्टि मात्रै पोखेनन्, वडाको समग्र बिकासका लागि सुझाव, सल्लाह दिदैं वडाका जनप्रतिनिधिहरुबाट आशा, अपेक्षा राखे ।

कार्यक्रमका सहभागिहरुले सरसफाई, बिकास निर्माण माग गरे, उनीहरुले वडामा बिभिन्न बिकृति, बिसंगति बढ्दै गएको उल्लेख गर्दै बिसंगति, बिकृति नियन्त्रण गर्न अनुरोध गरे ।

चार घण्टाको दोहोरो सम्वाद पछि दुई पक्षिय सहमतिमा सार्वजनिक सुनुवाइको अन्तमा ९ बुँदे सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

घोषणा गरिएका प्रतिबद्धताहरुमा वडाले प्रदान गरेका सेवा, सुबिधा बारे भईरहेको सूचना प्रबाहलाई प्रभावकारी बनाउने, वडामा रहेका द्धन्द्ध पीडित, एकल महिला, दलित तथा सिमान्तकृत बर्गका लागि आगामी आ.ब.मा बजेट बिनियोजन गर्ने, वडाका बिभिन्न टोलहरुमा बढिरहेका बिकृतिहरु बिरुद्ध बिशेष अभियान सञ्चालन गर्ने, लागु औषध बिरुद्ध बिद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने, वडाको समग्र बिकासका लागि वडामा बिज्ञ समूह गठन गर्ने रहेका छन् ।

यसैगरी व्यक्त गरिएका अन्य प्रतिबद्धताहरुमा कन्या माविको कक्षा ८ मा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने, सडक बत्तिको उचित प्रबन्ध गर्ने, बिद्युत रोड देखि शिब पार्वति टोल हुँदै सुर्जिगाउँ सम्म जाने सडक आगामी आ.ब.मा कालो पत्रे गर्ने, नेपालगञ्ज बसपार्कमा खानेपानीको उचित व्यवस्था गर्ने, बिकास निर्माणामा पछि परेको भट्टा टोलमा नाला निर्माण गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्ने, बालबालिकालाई प्राथमिकता राखि बालअधिकारका क्षेत्रमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।

जारी प्रतिबद्धताहरुमा अध्यक्ष गोपाल पुन, वडा सचिव नेवलाल घर्ति, वडा सदस्यहरु रुमिता श्रेष्ठ, उत्तम सिंह सिजापती, मो. सलिम मुसलमान, रेवती दमाईंले हस्ताक्षर गरेका छन् । कार्यक्रममा वडा प्रहरीका प्रतिनिधि टेक बहादुर शाह, स्वास्थ्य संस्थाका डाक्टर शंकर के.सी. लगायत सहभागि थिए ।

कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा स्वागत वडा सदस्य मो. सलिम मुसलमानले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए । कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले बर्हिगमन अभिमत र नागरिक प्रतिबेदन पत्रको नतिजा प्रस्तुत गरेका थिए ।

 

  • १६ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech