नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को किंगरियनपूर्वामा फोहोर मैला ब्यवस्थापन सम्बन्धी समुदाय स्तरीय अभिमुखिकरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको भएपनि विकासबाट पछाडी परेको उक्त समुदायमा स्थानीयहरुको सहभागितामा असार १६ गते अभिमुखिकरण छलफल गरिएको हो । फोहोरमैला ब्यवस्थापन, शिक्षा लगायत बिषयमा समुदाय बासिहरु सचेत नहुदा उक्त समुदाय पछाडी पर्दै आएको छ । टोलका महिला, पुरुष, युवा, बालवालिका गरी झण्डै ७५ बढीको सहभागितामा फोहोर मैला ब्यवस्थापनमा समुदाय बासिको भूमिका, शौचालयको उचित प्रयोगका फाईदा, बृक्षारोपाणले हुने फाईदा, समुदायलाई कसरी सफा र स्वच्छ राख्ने, प्लाष्टिकको प्रयोग न्यूनीकरण लगायतका बिषयमा जानकारी गराईएको थियो ।
जानाकारी पश्चात सहभागिहरुले आवश्यक सचेतना तथा पुरानै बानी ब्यवहारका कारण समुदायमा परिवर्तन आउन नसकेको बताएका थिए । सबै टोलहरुमा विकासका लागि टोल विकास समिति गठन गरिएको भएपनि हाल सम्म किंगरिनपूर्वामा समिति गठन हुन नसकेको गनासो गरेका थिए । टोल विकास समिति हुदा सजिलो हुने भन्दै स्थानीय सरकारलाई टोल विकास समिति गठन गरिदिन समेत अनुरोध गरेका छन् । कतिपय परिवारको निकै कम मात्रै जग्गा जमिन रहेकाले चाहेको जति काम गर्न नसकेको उनीहरुले भनाई थियो । फोहोर मैला ब्यवस्थापन तथा प्लाष्टिकको प्रयोग न्यूनीकरणका बिषयमा धेरै जानकारी भएको बताउदै उनीहरुले सकभर आफ्नो घर परिवार आफै सफा राख्ने बताएका थिए ।
समुदाय स्तरीय अभिमुखिकरणमा फोहोर मैला ब्यवस्थापन, गरिरहेका अभ्यास, आगामी दिनमा गर्नुपर्ने सजगता, प्लाष्टिकको प्रायोग न्यूनीकरण लगायतका बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, नगर स्तरीय मेलमिलाप समिति संयोजक, बास नेपालका केन्द्रीय उपाध्यक्ष सामाजिक अभियन्ता शिब कुमार बर्मा, नाईसका उपाध्यक्ष शोभा थापा मगर, कोषाध्यक्ष राष्टि बुढा मगर र सदस्य गिता बिकले जानकारी गराएका थिए ।
युरोपियन युनियनको सहयोग, रेसटलेस डेभलपमेन्ट नेपाल, क्रियशन, यूथ इनोभेसन ल्यावको समन्वय र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नाईस नेपालगन्जद्धारा सञ्चालीत सुन्दर नेपालगन्जका लागि युवा पैरबी कार्यक्रम अन्तरगत उक्त अभिमुखिकरण गरिएको हो । नाईसले कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिका विभिन्न समुदायमा समुदाय स्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।