धनगढीमा सार्वजनिक सुनुवाइ

मूख्य सडक कालोपत्रे गर्न माग

असल शासन प्रतिनिधि

धनगढी/ धनगढी उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाइ आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६, उर्मामा आयोजना गरिएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उप प्रमुख कन्दकला राना र प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको गुणस्तर र प्रभावकारिता सुधार गर्न प्रतिवद्धता व्यक्त गरे।

सुनुवाइ कार्यक्रममा झण्डै २ सय जना स्थानियहरुको सहभागीता रहेको थियो । जसमा वडा नम्बर १६ का वडाध्यक्ष रामलाल राना र वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालको उपस्थिति रहेको थियो। त्यस्तै उपमहानगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको पनि उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले गरेका थिए भने कार्यक्रम सञ्चालन बासका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए ।

यस्तै कार्यक्रमको प्रतिवेदन प्रस्तुतिकरण बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

सार्वजनिक सुनुवाइमा सहभागीहरुले गुणस्तरिय स्वास्थ्य सेवा, शिक्षामा सुधार, र बाटो कालोपत्रे बनाउने आवश्यकता, कृषिमा अनुदान, मल बीउ उपलब्ध गराउनुपर्ने लगायतका महत्वपूर्ण सवालहरु उठाएका थिए ।

स्वास्थ्य सेवामा सुधार गर्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्ने, शिक्षामा सुधार गरेर गुणस्तरीय शिक्षा व्यवस्था गर्ने र मुख्य सडकहरु कालोपत्रे बनाउन माग सहभागीहरुले गरे ।

कार्यक्रमले धनगढी उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता मूल्यांकन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। सहभागीहरुले उठाएका सवाल र सुझावहरु उपमहानगरपालिकाको भावी कार्ययोजनामा समावेश गरेर सेवा र सुविधामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। यस्तो सुनुवाइ कार्यक्रमले जनताको आवाज सुनिने र उनीहरुको समस्याको समाधान गरिने विश्वास दिलाएको छ ।

  • २४ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech