वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली),२४ असार/ कैलालीका सामुदायिक वनहरुमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएको छ ।

वन्यजन्तुलाई पानी खानका लागि सहज होस् भन्ने उद्देश्यले जिल्लाको मोहोन्याल गाउँपालिका स्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले दिएको जानकारी अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको एकिकृत भू–परिधी व्यवस्थापन आयोजना अन्तर्गत पोखरी निर्माण गरिएको हो । आयोजनाले पोखरी निर्माणसंगै कैलालीको कर्णाली कोरिडोरमा बिभिन्न कार्यहरु गरेको छ ।

कर्णाली कोरिडोर अन्तर्गत जिल्लाको लम्किचुहा र टिकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिने गर्दछन् । आयोजना अनुरुप चिसापानी, लम्कि र टिकापुर सव डिभिजन वन कार्यालय मार्फत कामहरु गरिएको ठाकुरले बताए ।

एकिकृत भू–परिधी व्यवस्थापन आयोजना लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कम्दि जैविक मार्गका साथै सुदूरपश्चिम प्रदेशको ब्रम्हदेव जैविक मार्ग कञ्चनपुर र कैलाली जिल्लाको कर्णाली जैविक मार्गमा कार्यान्वयन भई रहेको आयोजनाका फिल्ड व्यवस्थापक प्रकाश थापाले जानकारी दिए ।

थापाका अनुसार, यो आयोजना ग्लोबल इन्वाइरोनमेन्ट फेसिलिटी (जी.इ.एफ) र वर्ल्ड वाइल्डलाइफ फण्ड (डब्लु.डब्लु.एफ) को सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मार्फत नेपालको तराई भू–परिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविकमार्गको संरक्षणमा सञ्चालन भईरहेको छ ।

कर्णाली कोरिडोरमा आयोजनाले सिमसार र घाँसे मैदान व्यवस्थापन, वन्यजन्तु उद्दार तालिम तथा उपकरण वितरण, नर्सरी निर्माण तथा विरूवा उत्पादन, वन डढेलो व्यवस्थापन गोष्ठी तथा औजार हस्तान्तरण, वन उद्यम र जीविकोपार्जन सम्बन्धी विभिन्न क्रियाकलापहरू डिभिजन वन कार्यालय पहलमानपुर मार्फत सञ्चालन गरेको उनले बताए ।

सोहि उद्देश्य अनुसार वन्यजन्तुका लागि पोखरी निर्माण, वन डढेलो व्यवस्थापन सम्बन्धी उपकरण हस्तान्तरण, विभिन्न तालिम गोष्ठी, वन उद्यम तथा जीविकोपार्जन सम्बन्धी क्रियाकलापहरू गरेको सव डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पुर्ण कुमार बिष्टले बताए ।

घाँसे मैदान निर्माण संगै लम्कि सव डिभिजन वन कार्यालय र टिकापुर सव डिभिजन वन कार्यालयमा बिरुवा उत्पादन गरिएका छन । लम्किमा १ लाख र टिकापुरमा ७० हजार अम्बा, बकाईना, गोलमोर, सितलचिनि, निम, अमला, सागुन, कपोक, सिमल, कोईराल, श्रीखण्ड, पारिजात, कागती जातका बिरुवा उत्पादन गरिएको सव डिभिजन वन कार्यालय लम्किका प्रमुख शेर बहादुर भण्डारीले जानकारी दिए । यो आयोजना जिल्लामा ५ बर्षका लागि लागु भएकोमा अहिले ३ बर्ष पुरा भईसकेको छ ।

  • २५ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech