धर्मका व्यापारीको उपभोक्ता नबनौं….

खगेन्द्र गिरि कोपिला

सकारात्मक हुने लहडमा अमिल्दो र नकारात्मक कुरोलाई राम्रो भन्नु पनि सत्यमाथिको घात हो।

तपाईं हाम्रो घर छेउमा, शहर बजार बस्तीतिर कसैले सुसज्जित मण्डप बनायो, चर्को चर्को गरेर माइक बजाएर हरिकिर्तन गर्‍यो भन्दैमा त्यहाँ गएर ढोगी हाल्नु हुन्न। त्यहाँ हाम्रो वैदिक धर्मको मूल्यमान्यताकै अपमान गरिरहेका पण्डितहरूले विधि नपुर्‍याएर कर्म गरिरहेका पनि हुन सक्छन्।

कसैले मीठोमीठो शब्दमा सुसज्जित मञ्चमा बसेर प्रवचन दिदै श्रीकृष्ण भगवान र श्रीरामको कथा सुनायो भन्दैमा त्यहाँ गएर ताली बजाइहाल्नु हुन्न। उसले घुमाउरो भाषामा वैदिक सनातन धर्मैकै गरिमा खस्काइरहेको हुन सक्छ। हाम्रै आराध्ये भगवानलाई हाँसोको पात्र बनाइरहेको पनि हुन सक्छ।

सनातन वैदिक धर्मको नाम लिदै, दुई चार वटा मन्त्र भट्याउँदै, यज्ञ हवन गर्दै कसैले नाँचगान बजान गर्न लाग्यो भन्दैमा त्यहाँ गएर दान दक्षिणा दिइहाल्नु पनि हुन्न। यसो गर्नेहरू धर्मको नाममा पैसा बटुल्नेहरूको झुण्ड हुन पनि सक्छ।

सेता पहेला वस्त्र लगाएर, लामालामा चन्दन लगाएर, वरिपरि चेलाचेलीहरूको हुलले घेरिएर, खुट्टामा ढोग्न लगाएर, मञ्चमा बसेको कुनै वाक्पटु वाचकले -“आउनुहोस् धर्मको रक्षा गरौं” भने पनि पत्याइहाल्नु हुन्न। किन कि उसले त्यही मञ्चमा हिन्दु धर्ममाथि घात गर्ने कुपात्रलाई सम्मान गरेर माल्यार्पण गरि बसालेको पनि हुन सक्छ।

कसैले भजन किर्तन गरेर माइक बजायो र चर्को चर्को स्वरमा हिन्दु धर्मको जयकारा लगाउँदै ताली पिट्न लगायो भने पनि ताली पिटिहाल्नु हुन्न। त्यसरी लहडमा ताली पिट्न लाग्ने हो भने त्यही मञ्चबाट कुर्लेर भाषण गरिरहेको कुनै नास्तिक र धर्म विरोधी नेताको भाषणमा पनि ताली पिट्नु पर्ने हुन सक्छ।

हिन्दुहरु उदार हुन्छन् जसले जे भने पनि पत्याइहाल्छन्। जहाँ गए पनि टाउको निहुर्‍याइहाल्छन्। जसले जे भने पनि ताली बजाइहाल्छन्। त्यही भएर हिन्दुहरूको भावनामाथि खेल्नेहरू यस्ता अनेक लीला गरिरहन्छन्।

धर्म भीड र हुलमा खोज्ने होइन एकान्तमा मनन गर्ने विषय हो। तसर्थ अब त को ठिक को बेठिक भन्ने कुरो पनि छुट्याउनै पर्ने भैसक्यो। मञ्च सजाएर हरिकिर्तन गर्नेहरू सबै हिन्दु धर्मका हितैषी नहुन सक्छन्।

सकारात्मक हुने नाममा जहाँ पायो त्यही नढोगौं। जसले जे बोल्यो त्यसैमा ताली नबजाउँ।

कन्सर्ट र महोत्सव जस्ता तथाकथित धार्मिक सभाको उद्देश्य हिन्दु धर्मको हित गर्नु नभएर पैसा कमाउनु मात्रै हुन्छ। धर्मका व्यापारीलाई दान दिएर पैसा खेर फाल्नु भन्दा बरु घरमा कुश दिन आउने, नाग टाँस्न आउने, सराद्धे गर्न आउने ब्राह्मणलाई दक्षिणा दिउँ, बरु खप्तड स्वामी, योगी नरहरिनाथ र स्वामी प्रपन्नाचार्यका पुस्तक किनौं पढौं र ज्ञानामृत गरौं।

धर्मको नाममा चटक देखाउनेहरूलाई @highlight नगरौं …
धर्मका व्यापारीको उपभोक्ता नबनौं….

  • १५ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech